Skip to content

जंगला मूलुक (लघु कथा )


केटाकेटी उमेर ५ बर्ष पुग्न २/३ महिना बाँकी हुँदै बा ले मलाई पहाडबाट मधेश झार्नु भयो । त्यो बेला बा र म मात्र मधेश झरेका थियौं । आमा दाजु दिदी बैनीहरू सबैजना पहाडमा नै हुनुहुन्थ्यो ।

त्यो बेला मधेश भनेपछि सबै जना डराउथे, हो पनि मधेशबाट पहाड फर्कन बच्नु पर्थ्यो । बाँचे पनि औलोको शिकार भएर पहाडमा थलिएर मर्नु पर्थ्यो औलोको उपचार असम्भव थियो । साथै जंगला मुलुक बाघ भालु जंगली जनवार सर्प आदि समेतले आक्रमण गरेर मर्थे कति मान्छेहरू । त्यसैले होला गाउँ घरमा मधेश जाने कुरा गर्दा सबै जना नजानु भन्ने सल्लाह दिन्थे । म केटाकेटी भए पनि ती सबै कुराहरूको हेक्का राख्थें ।

मावली बा ले मेरा बा लाई “हिम्मत गर्नु पर्छ आफू नमरी स्वर्ग देखिन्न” भनेको अहिले हो जस्तो लाग्छ । बाँकी भगवान भरोसा । त्यो जंगला मुलुकमा बास्तवमा ज्यान जोगाउन कठिन नै थियो । मधेश झरेको २ दिनपछि मधेशमा बा ले किनेको घरमा एक जना थापा दाई लाई मलाई जिम्मा लगाएर पहाड फर्कनु भयो । त्यो जंगला मुलुकमा एक्लै छोडेर जानु भो केही दिनकै लागि भए पनि मलाई चैं डर थियो तर बा ले अराएको मान्छेको बा जत्तिक्कै बिश्वास मैले गर्नु नै मेरो पितृ धर्म थियो !

आज सम्झन्छु त्यो इतिहास त्यहाका बाघले जोत्दा जोत्दै गरेका गोरुहरू हलो जुवा बाट खोलेर पानी खान जाँदा खोलामा मारेको, मयुर, नील गाई, जंगली घोडाले हाम्रो बाली खेर नष्ट गरेको अनि ती थापा दाई लगायत अरु काम गर्ने दाइहरूले ढ्यांग्रो ठोकेर, राँको बालेर जंगली जनावरहरू खेद्नु हुन्थ्यो ।

हिजोको त्यो रमाइलो जंगला मुलुकमा श्यालको झुण्ड एकातिर बस्थ्यो , हरिण मृग हरु एउटा जंगलमा हुन्थे बाँदरहरु रूख माथी हुन्थे , चरा चुरुंगी हरुले बन जंगल लाई नै मोहक बनाइरहेका हुन्थे शिकारी जनावर हरु शिकारको लागि जतिबेला पनि ढुकी रहन्थे/ हरेकले आफ्नु ज्यान जोगाउन जान्नु पर्थ्यो कोहि फुर्तिसाथ कुदेर ज्यान बचाऊथे , कोहि लुकेर ज्यान जोगाऊथे यस्तै थियो त्यो जंगला मुलुक को स्वतन्त्रता /

त्यो बेला जंगला मूलुकमा डर त्रास सँगै कति आनन्द आउँथ्यो त्यो अब दन्त्य कथा जस्तो भएको छ । त्यो पछि बर्षै पिच्छे पहाडबाट झर्ने साथै धेरै पहिले बिदेसिएर जानु भएका बन्धुहरूको मेरो गाउँमा पुन : प्रवेश हुन थाल्यो । बस्तीहरू बढ्दै गए, जंगलहरू फाँडिए, हरियाली घट्दै गयो, जंगली जनावरहरू हराए, गोठ घरहरूको बिकाश भयो, त्यहीका काठहरूबाट घरहरू बने, गाई बस्तुलाई त्यहीको जंगल चरन भयो ।

यसरी विकाशको क्रम बढ्यो, जंगलहरू खेतीमा परिणत भए । यसरी मेरो जंगला मुलुक गाउँ बन्यो, गोरेटाहरू, पैनीहरू बने साँगुरिँदै गयो मेरो गाउँ मेरो बस्ती, आबश्यकताहरूको लगामले कति पलायन पनि भए कति विदेश लागे । म पनि बिदेसिएको धेरै बर्षपछि आफ्नो गाउँ फर्किएँ ।

म फर्किएँ आफ्नो गाउँ तर त्यहाँ आफ्नो गाउँ हराएको पाएँ त्यो पुन : जंगला मुलुक भएछ । सहर नामाकरण भएछ मेरो गाउँको । खेतीहरू मरुभूमिमा परिणत भएछन् । घडेरीको चलनले सबै खेतबारीहरू बाँझै रहेछन । सुगम क्षेत्र कंक्रिटको जंगलमा परिणत भएछ । हिजोको जंगला मुलुकमा भन्दा अरु डर लाग्दा जनावरहरू जन्मिएछन् । हिजोको औलो र जंगली जनावरबाट बच्न भन्दा गारो भएछ । मेरो हिजोको जंगला मुलुक कंक्रिटको त्यो महा जंगलमा परिणत भएछ – त्यो जंगला मुलुक हिजोको इतिहास भन्दा डर लाग्दो भएछ ।
मेरो हिजोको स्वार्थ रहित जंगला मुलुक आज स्वार्थले भरिएको आधुनिक जंगला मुलुक भएछ ,
आजको मेरो आधुनिक जंगला मुलुक हिजोको समूह जस्तै झण्डा हरुमा बिभाजन भएछ , छालाको रंग र उचाई गोलाईमा बिभाजन भएछ , कोइली र काग एकै ठाउ हुन्थे तिनीहरु छुट्टीए छन् , लामो चूचो छोटो चुच्चोमा तिनीहरुको समूह बनेछ एक आपसमा ठुङ्गा ठुन्ग गरेर मर्न थालेछन /, मेरो प्यारो जंगला मुलुक मेरो गाउँ मेरो बस्ती !

Leave a Reply

Your email address will not be published. Required fields are marked *