Skip to content


खबर्दार सुने नेता, देशबिक्रि भयो भने
देशको निम्तिमा फेरी, देशबासी उठेभने

आँधीबेरी चलाएर, सागरै उर्लिए सरी
ताकेर टाउको तिम्रो, हान्नेछन् फेर बेसरी

न तिम्ले सक्तछौ थेग्न, कस्ले सुन्छ गुहार नै
छाड्ने छैनन् तिनै जन्ता, हेर्ने छैनन् मुहार नै

बालबृद्ध सबै जम्मा, एकै गट्ठा भएभने
आँटेर बेसरी लड्दै, आँधी जस्तै चले भने

तिम्रो त टोकरी उठ्छ, नयाँ दिन उदाउँछ
भिखमङ्गा सरि हुन्छौ, नाङ्गेझार बनाउँछ

जन्मिसक्छ यहाँ यौटा, महाँपुरुष राष्ट्रमा
अनि मात्रै दिगो शान्ति, प्राप्त हुन्छ समाजमा

सम्विधान यहीं बन्छ, स्वराष्ट्र नै दरो बने
नयाँ नेतृत्वले फेरी, नयाँ देश बनाउँने

त्यो बेला चाउरी पर्छौ, मरिचै सरि चाम्रिइ
यस्तो कुकृत्यले तिम्रो, शीर ठाडो हुदैन है

एकता गर्नुको सट्टा, जातिय फुट ल्याउंछौ
छक्याइ जनतालाई, संविधान् के बनाउँछौ ?

पोलेकोछ सबैलाई, आफ्नै जातिय रागले
रट्छौ सहमति ब्यर्थै, स्वार्थ बोकी घमण्डले

तिम्रो मुहारमा थुक्क, थुकका पर्दछन् छिटा
सेवक देशको बन्छौ, पशु नै बन्दछौ कि ता !

२०६७।१०।२१

छन्द :- अनुस्टुप
आठ अक्षरको एक पाऊ
पहिलो र तेश्रो पाऊमा पाँचौं अक्षर् ह्रस्व छैटौं देखि सबै दिर्घ |
दोश्रो र चौथो पाऊमा पाचौं अक्षर् ह्रस्व छैटुं दिर्घ सातौं ह्रस्व आठौं अक्षर् दिर्घ |
सुरुका चार अक्षर् भरिसक्य दिर्घ भए राम्रो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *