Skip to content


खोजी पैसा नहिड बटुवा, यो छ आफै नजाती
बाटो हिड्दा अति असजिलो, हेर फर्कि पछाडी
पैसा ठूलो नभन कहिले, हुन्छ है यो बिषालू
हेर्दा झट्टै नजर यसको, लट्ठ पार्ने नसालु

देख्तै पैसा नजरकतिको, तेज आफैँ बडेको
कस्ले धेरै धनबटुलने, आज होडै चलेको
सारा मान्छे नगद बटुली, संग्रहैमा जुटेको
उठ्ने गिरने दमछ यसमै, हेर दाँजेर यस्को

लाजै बेगर् अरुकन छली, ढाँटी चोरी छुपाई
पैसा धेरै नलिनु अहिले, दुष्टले देख्छ भाइ
पैसा दुष्टी जगतभरमा, यो छ सारै पिपासा
हुन्नन् पैसा मनुज सँगमा, बड्छ सारै निरासा

स्वास्नी, छोरा अरु परिजनै, बन्न सक्छन् बिराना
घम्सा घम्सी दिनदिन हुने, ताक्न थाल्छन् निसाना
पैसा पाजी घर झगडिया, दिन्दिनै बड्छ त्रास
साँच्चै पैसा नभइनहुने, के छ यस्को निकास ?

पैसा धेरै नटिप मनुवा, देबता नै पुकारी
पाए पैसा अझ खुस भई, उफ्रदै हिड्छ फेरि
पैसा धेरै नभइकन यो, जिन्दगी नै निसार
पैसा धेरै जब हुनगयो, बन्छ आफैँ शिकार

चिन्ता बड्ने मनबिच यहाँ, शान्तिको हुन्न बास
मान्छे पैले अलमल हुदै, बन्छ आफैँ हतास
अन्धो , लाटो, अपढ, शठ जो, बस्छ पैसा सयारी
बच्चा, बृद्धा, सबजन उसै, बोक्न हुन्छन् तयारी

माग्नेलाई परपर सरी, छैन भन्दै हकारी
भोकै बस्छन् उदर नभरी, मात्र भर्छन् भकारी
धन्को धेरै अथक निधीको, रास आफै भएनी
निन्द्रा दिन्नन् चयनमनमा, शान्ति दिन्नन् कतैनी

यै पैसाले जलन मनमा, दिन्छ पार्दै सखाप
पैसा पापी अभय नहुने, त्रासको मात्र बास
पैसा टोकी निलनु नहुने, ब्यर्थ बस्छन् थुपारी
गोजी, थैली, अझकति छ यो; बक्स, ब्याँका, लकारी

लेउ थोरै उदर भरने, ठिक्क मात्रै खटाई
धेरै साँच्ने चलन नगरे, हुन्छ आफ्नो भलाई
पैसामा नै नभुलनु अझै, हुन्न राम्रो कसैको
पैसा नै हो मनुज जनमा, शत्रु बन्ने सबैको

छन्द :- मन्दाक्रान्ता
गण :- म भ न त त गु गु

Leave a Reply

Your email address will not be published. Required fields are marked *