Skip to content

रामे (लघु-कथा)


लगभग बाह्र वर्षको थियो रामे उसका बा आमासँग पहाडदेखि मधेश झर्दा । त्यो बेला मेरा बा जमिन्दार थिए । उनीहरू कंगाल । ‘बस्ने ठाउँको बन्दोवस्त नहुञ्जेल झुप्रो हालेर बस्दै गर्नु’ भनेर बाले एकटुक्रा जमिन दिएका हुन् । नौलो ठाउँ । उनीहरूका चिनजानका मान्छे पनि थिएनन् । अधियाँमा खेतबारी खनजोत गर्नु भन्दै जग्गा पनि दिए ।

मेरा बाले गरेको गुणलाई रामेका बाले महानताको संज्ञा दिएका थिए । ‘होइन, जोसँग छ उसले नहुनेमाथि दया गर्नुपर्छ । यहीं हो असल मानवको कर्तव्य र धर्म । यति गर्न सक्यो भने बद्री केदार गैरहनु पर्दैन, बुझ्यौ ?’ भन्थे बा । साँच्चै उनी दयालु थिए । रहँदै बस्दै जाँदा हामी एउटै परिवारका सदस्य सरह घुलमेल भयौँ ।

खेलेर खाने बेलैमा बाले मेरो विवाह गर्दिने निधो गरे । विवाहको घर आउने जानेको भीडले खचाखच थियो । त्यही भीडमा मिसिएर कुम कुममा टालेको दौरा भिरेर नाकभरि सिँगान च्यापेको रामे पनि उपस्थित थियो ।

म डोलीमा बसी पराई घरतिर लागेँ । उसले पनि बिदाइको हात हल्लायो ।

हेर्दाहेर्दै बाले भएको जग्गा जमिन जुवा र तासमा हानेर कंगाल भए । क्रमश : दिनहरू व्यतित हुँदै गए ।

एकदिन मध्यान्हमा मान्छेको कोलाहल र घामको तातो वाफले इन्तु न चिन्तु भई सहिद गेट अगाडि माइक्रोको पतिक्षामा उभिरहेकी थिएँ म । उति नै बेला रातो झण्डा फहराउँदै रामेलाई बोकेर पजेरो सिंहदरबारतिर सोझियो । टाइ र शुटमा ठाँट्टिएको रामेको बयान गरेर साध्य थिएन । उसलाई देखेर म पछाडि छाडेर आएका ती व्यथित अवस्था र समयलाई मनमनै खेलाएर स्तब्ध भएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *