Skip to content


माथि-माथि उडिरहेका
एक हूल ब्रह्मकुमारी मेघका सेता-सेता टुक्राहरू !
कुन बाँझो धर्तीलाई भिजाउनु छ ?
आकाश हेर्दै पर्खिबसेको कुन किसानलाई खुसी लिएर जानु छ ?

तल, कहीँ दूरबाट
गोरेटो/बाटो र राजमार्ग-राजमार्ग
मोड र घुम्ती, अनेक-अनेक स्टेसन पार गर्दै आएको
आश्रमको झ्यालबाहिर चुपचाप हेरिबसेको, यायावर म ।

यहाँ वैराग्यको पछ्यौरी फर्फराइरहेको बार्दली मन
मध्याह्नमा झमझम झरीको सितार
हावाहूरी, रूखपातको भरत नाट्यम्
कुनै वृक्ष नभएको तर चट्टानै-चट्टानको जैनमुनि पहाड
सन्न्यासी घाम वा एकदम लाओत्से मौनता !

त्यो खट्खट्/खट्खट् रेलको त उहीँ छोडेर आएको हुँ
स्टेसनमा, उहीँ छोडेको हुँ, मध्यरातको चहलपहल
निद्रा नै ब्यूँझाउने ध्वनि, चिया/पानी/कफी, कफी !
दृश्यहरू, भेट/बिदाइ/अंकमाल
मानिसहरूको ओहोर-दोहोर/संवाद र छुट्नुअघि हल्लिरहेका हात ।

लिएर आएको हुँ केवल एक स्मृति
कि कसले हेरेको थियो टोलाएर टे्रनको झ्यालबाहिर
अनि, ओर्लेर एक्लै हराएको थियो, व्यस्त भीडमा ?

को हुँ म ? आएको कहाँबाट ? र, जानु छ कुन सफर ?
कुन बाटो ? कुन टे्रन ? कुन स्टेसन ?
यो कुन बास हो मैले बसेको ? कुन यात्रा हो मैले हिँडेको ?
कतै शुभ संकल्प मनमा- प्रेम, शान्ति र धैर्यको फैलिरहेछ प्रकाश !

एउटा मौन यात्राभित्रतिर यो आत्मालाई
झरीले पखालेर गएको कञ्चन आकाश हुनु छ अब !

नेपाल साप्ताहिक, अंक ५११
२०६९ भाद्र १७

Leave a Reply

Your email address will not be published. Required fields are marked *