Skip to content

दुर्घटनाको मेरो अनुभव

  • by


अचेल दुर्घटनाका खबर सामान्य भएका छन् । दुर्घटनाका खबरले मानवीय संवेदनासमेत उत्पन्न गर्न छाडेको छ । मानिसले ज्यान गुमाउने क्रम भने बढ्दै गएको छ । मैले भोगेका दुईवटा दुर्घटनाको अनुभव यस्तो छ ।

कुरा २०६७ असोजको हो । अघिल्लो वर्ष मेरो जीवनमा दुईवटा सुखद परघिटना भएका थिए । पहिलो,

मैले नयाँ काम सुरु गरेको थिएँ, बाग्लुङ क्याम्पसमा । दोस्रो, बिहे गरेर पारविारकि जीवन सुरु गरेको थिएँ । यी दुवै कामपश्चात् म काठमाडौँ गएको थिइनँ, खासै काम नपरेकाले । विवाहको उत्सव हामी बूढाबूढीले पोखरामा मनाएका थियौँ । असोजमा विश्वविद्यालयको परीक्षा थियो । गाउँबाहेक बुटवल मात्र देखेकी जीवनकी सहयात्रीलाई काठमाडौँ घुमाउने अवसर पनि त्यही परीक्षालाई बनाएँ । बाग्लुङबाट काठमाडौँ हिँड्दा सहकर्मी साथीहरू पनि एउटै गाडीमा थियौँ । थोरै लज्जाबोध पनि भएको थियो किनभने म मात्रै थिएँ, जीवनसंगिनी लिएर हिँडेको ।

दुर्घटनाकै कारण त्रिशूली आफैँमा चर्चित थियो, त्यसैले मुग्लिनबाट उता लागेपछि मैले उनलाई गाडीको क्याबिनमा लिएर गएँ र त्रिशूली देखाउन थालेँ । निडर स्वभावकी उनी त्रिशूली हेर्दा निकै उत्साहित भइन् । कुरनिटार, धार्केदेखि आफूले जानेसम्मका ठाउँको परचिय दिँदै मैले उनलाई काठमाडौँ पुर्‍याएँ । तर, काठमाडौँ भित्रिँदा अवस्था सुखद रहेन । थानकोट चेकपोस्टको केही अगाडि एउटा ट्रकले मोटरसाइकललाई ठक्कर दिएछ र यातायात अवरुद्ध भएछ । हामी पुग्दा केही मिनेट मात्र भएको रहेछ, घटना भएको । मोटरसाइकल चालक पुक्लुक्क सडकमा ढलेका थिए, रगतको भल बगिरहेको थियो । उनलाई उठाउन कोही पनि जागरुक भएका देखिएनन्, कारण उनको मृत्यु भइसकेको धेरैको विश्वास थियो । सबै प्रहरीको प्रतीक्षामा थिए । अँध्यारो अवस्थामा एक वृद्ध आमा र श्रीमतीको हात समातेर म हिँडेरै कलंकी पुगेँ ।

भर्खरै काम सुरु गरेकाले मैले कामबाट बिदा माग्न सकिनँ । दुई-तीन दिन मात्र क्याम्पस सञ्चालन हुने थियो, त्यसपछि दसैँको बिदा सुरु हुन्थ्यो । दुई-तीन दिन भए पनि काम गर्नुपर्छ भनेर मैले श्रीमतीलाई बुटवल पठाएँ, आफू बाग्लुङ हिँड्न तयार भएँ । श्रीमती नयाँ ठाउँबाट जानुपर्ने भएकाले उनलाई पहिल्यै गाडी चढाएर बुटवल पठाएँ । अनि, दाइको मोटरसाइकलको पछाडि बसेर गोँगबू बसपार्क गएँ । बसपार्क पुग्दा बाग्लुङ जाने बस स्टार्ट भइसकेको थियो । काउन्टरमा गएर टिकट लिएपछि दाइ बिदा हुनुभयो, म गाडीमा गएर बसेँ । केही बेरमा गाडी हिँड्यो ।

स्वयम्भू आइपुग्दा केही ट्राफिक प्रहरीले गाडी चेक गर्दै थिए । हाम्रो गाडीलाई पनि साइड लगाइयो । चालकले गाडी अलि पर लगेर रोके, एक जना ट्राफिक प्रहरी पछिपछि आइरहेका थिए । चालकले परैबाट ५० रुपियाँको नोट फ्याँकिदिएर गाडी कुदाए । ट्राफिकले त्यो टिपेको त मैले देखिनँ, गाडीको हुँइक्याइँका कारण । तर, मन नराम्ररी कुँडियो । नपरेर होस् या नगरेर होस्, मैले आजसम्म घूस खुवाएको थिइनँ र खुवाएको पनि देखेको थिइनँ । मलाई लाग्यो मुलुक कसरी बन्ला? यस्तो अवस्था छ । प्रहरीको दायित्व यही हो र? नागढुंगाको ओरालो झर्दै गर्दा मेरा मनमा यस्तै प्रश्न खेले । आफू पनि घुस्याहाको साक्षी भइयो भनेर मन नराम्ररी दुख्यो । ओरालोमा जाम थियो तैपनि गाडीको स्टार्ट बन्द हुन्थ्यो । गाडीका कन्डक्टर र अरूले गाडी धकेल्थे । मैले सहयात्रीहरूसँग यसले पोखरामाथिको उकालो तान्दैन समेत भनेँ । धार्केनेर गाडी पेट्रोल पम्पमा पस्यो । तर, पम्पनेर नपुग्दै स्टार्ट बन्द भएपछि कन्डक्टरले सबैलाई ओर्लन लगाएर गाडी धकेल्न लगाए । तर, म भनेँ उनीसँग बाझेँ, “म तिम्रो गाडी घचेड्न आएको कि यात्रा गर्न !” अरू यात्रीले धकेलेर गाडीलाई पम्पनेर पुर्‍याए । खाजा खायौँ, गाडी पुनः अगाडि बढ्यो । अलिअलि झकाउन लागेको रहेछु, अचानक गाडी त कुनातिर गएर उत्तानो पर्‍यो । म उभिन पुगेछु । पहिलो सिटमा बसेको थिएँ । मैले यात्रुहरूलाई कोही अप्ठ्यारोमा हुनुहुन्छ भनेर सोधेँ र बाहिर निस्किएँ । बाहिर निस्किँदा ड्राइभर र उसका सहयोगी विपरीत दिशाबाट आएको गाडीमा चढेर भागिसकेका थिए । तर, हामीले पुलिसलाई खबर गरी उनीहरूलाई समात्न लगायौँ । मानिसहरू रोइकराइ गरे पनि कसैलाई केही भएन । हामी अर्को गाडीमा चढेर बाग्लुङ आयौँ । पुलिसले ड्राइभर र उसका सहयोगीलाई पनि लिएर आयो र हामीले पैसा पनि फिर्ता पायौँ । सामान्य दुर्घटनामा परे पनि श्रीमतीको चिन्ताले बाटोभरि जिब्रो टोकिरहेँ । ओम गुरुङका भाइ गंगा पनि त्यहीँ रहेछन्, उनीसँग चिनजान त्यही दुर्घटनापश्चात् भयो ।

मेरो दुर्घटना अनुभव यत्तिमै सीमित रहेन । ०६८ मा पनि त्यो दोहोरयिो । २८ कात्तिकमा म परीक्षा दिएर काठमाडौँबाट बाग्लुङ फर्कँदै थिएँ । बिहानको १० बजिसकेको थियो । बहिनी र दाइको बस्ने आग्रहलाई अस्वीकार गर्दै कलंकी आएर पोखराको गाडी चढेँ । कपाल पछाडि बाँधेका चालक थिए, उनको गाडी हुँइकाइ तीव्र लाग्यो । तापनि, यात्रा त गर्नैपर्‍यो । बाटोमा गाडी बदल्ने कुरा त्यति सहज र व्यावहारकि हुँदैन । म ड्राइभरपछाडिको सिटमा बसेको थिएँ । सँगै बसेको साथीलाई झ्याल खोल्नुपर्ने, मलाई झ्याल लगाउनुपर्ने । मैले सहज उपाय रोजेँ र गाडीको ६ नम्बर सिटमा गएर बसेँ । एक जना बिरामी आमा हुनुहुन्थ्यो, झ्यालतिर । वीर अस्पतालमा उपचार गराएर फर्किएको उहाँलाई धार्केभन्दा केही अगाडिसम्म मात्र जानु थियो । उहाँलाई वान्ता हुँदो रहेछ । प्लास्टिक खोजिदिने, झ्याल खोलिदिने गर्दै उहाँसँगै यात्रा गर्दै थिएँ । धार्केमा खाना खायौँ, गाडी अगाडि बढ्यो । ड्राइभरको स्वभावले मेरो मन ढुक्क थिएन । धार्केमा त उनले मलाई त्यहीँ छाडेर गाडी हुँइकाएका थिए । तर, पछि चिच्याएर भेट्टाएको थिएँ । त्यसभन्दा अगाडि ड्राइभरको छेउमा एक जना महिला बसेर मस्कीमस्की गफ गरेको मैले देखेको थिएँ । मनमा चिसो पसेको थियो । तापनि, चुपचाप यात्रा गर्नैपर्थ्यो । ती महिला पनि नजिकै झर्दै थिइन्, भाडा थोरै तिरेका आधारमा मैले अनुमान लगाएको थिएँ । धार्केमा खाना खाएपछि उनी ढोकाछेउमै उभिएकी थिइन् । ड्राइभरले भने बोलाइरहेका थिए । उनले ड्राइभरको आग्रहलाई अस्वीकार गर्न सकिनन् र उनकै छेउमा बस्न पुगिन् । अलिअलि आँखा लाग्न लागेको रहेछ । हामी चढेको बस विपरीत दिशाबाट आइरहेको ट्रकमा ठोक्कियो, धार्केअगाडि चालिसे भन्ने ठाउँमा । त्यस क्रममा मेरो खुट्टाबाट जुत्ता खसेछ भने मुख अगाडिको सिटमा ठोक्किएर नाथ्री फुटेछ । गाडीबाट झर्नु नै सुरक्षित हुने ठानेर निस्कन हतार गरेँ । एक जना महिला सिटहरूबीचको बाटोमा लडिरहेकी थिइन्, उनलाई नाघेर म बाहिर निस्केँ । मुख र नाकबाट रगत बगिरहेको थियो । अरू सबै यात्री बाहिर निस्कँदा पनि ड्राइभर भने गाडीमै अड्किएका थिए । मलाई उनको पटक्कै माया लागेन । पछि स्थानीयहरू आएर उनलाई गाडीबाट निकाले । उनी खुट्टा गयो भन्दै थिए ।

एक जना सज्जनले हामीलाई आफ्नो कारमा राखेर काठमाडौँ लगिदिए । ड्राइभरसँग मस्का लगाउने अधबैँसे महिला पनि मसँगै कारमा काठमाडौँ फर्किन् । उनलाई चिनेजानेका मान्छे त्यहाँ भेटिए तर उनी मुख लुकाउँदै भागिन् । काठमाडौँ गएर उपचार गरी अर्को दिन मात्रै म बाग्लुङ फर्किएँ, बहिनीका साथ ।

ठूलो मानवीय क्षति भएका सवारी दुर्घटनाका खबर सुन्दा आफैँ पनि कुनै दिन समाचार त बनिने होइन भन्ने चिन्ताले मलाई अहिले पनि पिरोल्छ । के गर्ने गाडी नचढी भएन?

नेपाल साप्ताहिक, अंक ५१३
२०६९ भाद्र ३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *