Skip to content

मार्क्सवादको एउटा असल पक्ष – ‘प्रतिभाप्रवाह’ शृङ्खला ६० औँ

  • by
NirveekRai-07


त्रिचन्द्र कलेजको पुरानो भवनको तेस्रो तलाको कौसीमा सहभागीहरू पर्खिरहेको । जाँदो असोज-कात्तिकको अन्तिम शनिवार उक्त कार्यक्रम हुन नसक्नुमा दसैँतिहारको अनावश्यक लामो बिदाको कारण जिम्मेवार भएको प्रसङ्ग संयोजक हरिगोविन्द लुइँटेल र खेम थपलियाबीच चल्यो ।

मैले बोलेँ, “असोजअन्तिम हप्ताको शनिवार कविता भन्ने तोडले म यहाँ बड्किएर आ’को । चालचुल न भा’कोले हिस्सिएर फर्केँ । बूढियाले भनी – मान्छेलाई दसैँ लागेर घटस्थापनादेखि राजधानी छाडिसके तपाईँलाई चैँ खाइ न पाइ कविता सुनाउने चासो ।”

“पूर्णविराम र म आ’का थियौँ । अरु न आ’कोले हामी पनि त्यत्तिकै फर्क्यौँ ।” खेमले प्रष्ट्याए ।

“नेपालमा जस्तो अरु कुनै पनि देशमा चाडको यति लामो बिदा छैन । यति लामो बिदा कटौती गर्नै पर्ने हो, ”हरिगोविन्दले तर्क ठड्याए ।

मैले मौका छोपेँ, “तपाईँजस्तो हिन्दू धर्मवालम्वी र उपध्याय बाहुनले ‘नवयुवा’ को दसैँविशेषाङ्कमा लेख लेखेको पढेपछि झन् दसैँ नमनाउने मेरो धारणालाई ठूलो राहत मिलेको छ । गोरेबहादुर खपाङ्गीको जनमुक्ति पार्टिले दसैँ नमान्नुको स्वार्थ केवल राजनीति थियो । मैले त दसैँ मात्र होइन तिहारसमेत मान्न छाडेको ३ वर्ष भैसक्यो । त्यसको प्रमुख कारणहरूमा आफू हिन्दू नभएको र लामो चाडले अलमल्याई समय खेर जाने भा’कोले हो । कसैले मलाई माओवादी भन्छन् । कसैले खर्चबाट जोगिन खोजेको, कसैले हिन्दूधर्म विरोधी । एउटा लिम्बू साथी (भानु येङदेन) ले मलाई उल्टै धार्मिक सहिष्णुताको प्रवचन दियो ।”

“खर्च जोगाउनु पनि पर्छ,,” हरिगोविन्दले बोल्दा मैले थप राहत पाएँ । उनले व्याख्या लम्ब्याउँदै थिए, “दसैँतिहारको मात्रै होइन हिन्दूधर्मको अन्य विकृतिहरू हटाउने आँट गर्नु पर्छ । अब लौ हेर – निनु चापागाईँ र मजस्तो ननाच्ने मान्छेलाई देउसीमा नचाएर पैसा झार्ने प्रवृत्ति सा¥है खत्तम । हामी कहिल्यै ननाच्नेलाई नचाएर कार्टुन बनाई सास्ती दिए । अर्कोतिर त्यो मगन्ते काइदा हो । त्यसैले देउसी बन्द ग¥यौँ । तर मृत्युसंस्कार हटाउनु चैँ बडो कठिन काम । मराउजस्तो बेलामा संवेदनशीलताले छुँदो रै’छ । काजकृया पूरा नगर्ने मन बनाउन जो कोहीले नसकिने । के गर्ने !”

देउसी खेल्न छाडेको कारण (जो ‘नवयुवा’ को दसैँविशेष) मा हरिगोविन्द लेख्छन्, ‘मुलुकले धर्मनिरपेक्षता अँगालेपछि साझा संस्थाहरूले मुलुकको अनेक थरी धार्मिक परम्परामध्ये कुनै एक थरीको परम्परा मात्र मान्ने गरिनु हुन्न । यो मामलामा सरकार र साझा संंस्थाहरू साँच्चै निरपेक्ष रहनु पर्छ भन्ने मान्यताप्रतिको प्रतिबद्धता । अर्को कारण हो, धार्मिक चाडको नाममा माग्न जाने संंस्कृति वा परोक्ष दबाब दिएर रकम असुल्ने संस्कृतिप्रतिको वितृष्णा ।” यी दुवै कारण पढ्न भेट्दा पट्टेर जङ्गलको बाटो एकलै हिँडिरहँदा कुरा मिल्ने व्यक्तिको साथ पाएजस्तो मलाई आनन्द गरायो । कुरीतिको विरुद्ध उभिने मार्क्सवादको एउटा राम्रो गुण हो ।

छिन्ताङ (इन्द्र ठिङ) ले पुरानो कुरा निकाले, “यस्तो मान्छे प्रगतिशील साहित्यिक कार्यक्रम आ’को भन्दै पहिलो दिन तपाईँ यस्तो भेसमा आ’को देख्दा अचम्म लाग्यो । तर पछिल्तिरको कपाल कटाइ ‘एम’ भा’कोले चैँ हाम्रै मान्छे लाग्यो ।” उनी माओवादीको साहित्य वा सांस्कृति फाँटको जिम्मेवार व्यक्तित्वले मेरो कपाल कटाइ ‘एम’ लाई ‘माओइस्ट’ ठानेकोमा मलाई हाँसोले फर्क्यायो । मेरो कपाल कटाइलाई धेरै जनाले अनेक अर्थ केलाए । तर ‘माओइस्ट’ भन्ने अर्थ लगाउने उनी मात्रै एक जना होलान् ।

सत्य पहाडी (विधायिका) ले ‘सन्तान’ (लाल सलाममा दरो हात उज्ज्याउँदै) तिलक चाम्लिङले गीत, युवराज नास्तिकले ‘नमस्कार अतिक्रमणको’, केशव सिलवालले ‘घाम डुब्नु अघि’, अशोक सुवेदीले ‘छेपारो’, रामचन्द्र न्यौपानेले ‘देशको माया’, ‘गणतन्त्र समानुपातिक’, कुशल बोगटीले, ‘दुःखका कुराहरू’, लक्ष्मी नापितले, ‘¥याली अपेक्षा’, भरत लामाले ‘कमरेड प्रचण्ड’, सीता शर्माले ‘पुरानो घाउ बल्झिरहन्छ’ र राजभाइ जकमियाले (नेपाल भाषामा) कवितावाचन गरे ।

राजभाइ जकमियाले तयार गरेको गीति कथा ‘खरायो र सिंह’ को प्रोजेक्टरमा छायाङ्कनसहित प्रस्तुत । प्रचलित कथालाई राजनीतिकरण गरिएकोले छुट्टै महत्व राखेको । गोपालकुमार मैनालीले मुक्तकको झुत्ताहरू खोले । जस्तै – ‘भ्रम’, ‘बिन्ती’, ‘पि. आर.’, ‘मित्रता’, ‘सत्ता’, ‘तीतो सत्य’, ‘छिमेकी गणतन्त्र’, ‘अनुरोध’, ‘म मानहानी गर्दैछु’ ।

मेरो नाम फुकिँदा अचेल म नधकाउने र नहडबडिने भएको छु । कविता सुनाउनु भन्दा अघि छ्यास्स भूमिका बुन्ने मन गरेँ । भूमिका छोटो र चोटिलो बुन्ने पनि कला चाहिन्छ । भूमिका नबुन्नुको लागि उत्घोषकले करफ्यु लगाउँदा लगाउँदै पनि त्यसको विकासको लागि पेलपाल गर्नु ठीक मान्छु । भूमिकाले श्रोतालाई कविताको भाव बुझ्न सजिलो पार्छ ।

“नेपालको राजसंस्थालाई फाँसी त दिइएको छ तर उभिन्डो झुन्ड्याई फाँसी दिएको जस्तो ।” यो मैले मेरो कविता ‘खेलाँची पाराको फाँसी’ मा बुनेको भूमिका हो ।

हरिगोविन्दले वाचित रचनाहरूको समीक्षा बके, “अधिकांश स्रष्टाहरूले राजनीतिक नेतृत्वप्रति खबरदारी गर्दैछन् । सत्य पहाडीले थप विद्रोहको खाँचो बताइन् । तिलकको वाचनशैली कम प्रभावकारी । केशव सिलवालले राजनीति विषयको कविता भए पनि अति कलात्मक ढङ्गले प्रस्तुत गरे । जस्तो– अमेरिकी साम्राज्यवादलाई सर्पको जिब्रो मान्नु । अशोक सुवेदीको कवितामा भावभन्दा शैली कमजोर हुँदाहुँदै पनि सम्भावना राम्रो । धेरै कुरामा गोपाल मैनालीको मुक्तकहरूले व्यङ्ग्य गरेको । वैरागी जेठाको अमूर्त शैली । निर्भीक राईको कविताले राजसंस्थाबाट हुने प्रतिरोधको डरको चित्रण गरेको र प्रतीक निकै राम्रो हुँदाहुँदै पनि छोटकरीमा ट्वाक्क भन्न नसकेर कविता लामो भएको । चउचेस्कु कम्युनिस्ट नेता हो । उसको बारे उहाँले बुझेरै लेखेको हो कि नबुझी हो ? उसको बारे विरोधीले फैल्याएको अफवाहको पछि लाग्नु हुँदैन । बुझेर लेखेको हो भने उहाँको मतलाई पनि सम्मान गर्नै पर्छ ।”

चउचेस्कुलाई मैले दिएको उदाहरणको प्रसङ्ग समीक्षकले नबुझी समीक्षा गरे । चउचेस्को राम्रो वा नराम्रो पक्ष जे भए पनि उसको मृत्युवरण सद्घामको मृत्युवरण (फाँसी) जस्तो पीडाजनक थिएन भन्ने मेरो भनाइ थियो । कम्युनिस्ट नेतालाई चाहिँ नकारात्मक उदाहरणमा लिनै नहुने भन्ने धारणा पक्षपातपूर्ण हुन्छ । जे होस् उनले मेरो नयाँ प्रतीकलाई राम्रो मानेकोमा र मेरो विचारलाई सम्मान गर्ने वचन दिएकोमा खुसी हुँदै उनको फराकिलो सोच वा समन्वयवादी धारणाप्रति नतमस्तक छु ।

जकमियाको गीति कथाबारे टिप्पण्ी गर्दै हरिगोविन्द बोले, “सुन्दर चित्रहरू समावेश भएको । पाखण्डको राम्रो चित्रण । ‘आँसु बगाएर पीडितहरूलाई मुक्ति मिल्दैन, बुद्धि लडाउनु पर्छ’ भन्ने सन्देश कथाले बोकेको । शत्रु पनि बाठो भइसकेको । अबका पीडकलाई खरायोेले झैँ झुक्याउने प्रस्ताव राखेमा ‘त्यही खरायोले सिंहलाई झुक्याए झैँ त होला’ भनी अघिबाटै षड्यन्त्रको पर्दाफास गर्छ । त्यस कारण पीडकहरूले रणनीति फेर्नु परेको । पीडकहरूको प्रतिरोधक शक्ति पनि पहिलेभन्दा बढेको ।”

त्यत्रो साउन्ड सिस्टम, स्क्रिन, प्रोजेक्टर, ल्यापटप ल्याई गीति कथा प्रस्तुत गर्ने जकमियाको उत्साहलाई मानेँ । पर्दामा खरायो र सिंहको रङ्गिन चित्र हेरेर जाज्वी अलमलिएकी । नत्र ‘छिटो जाउ पापा ’ भन्ने तिनको अनुरोधले मलाई बेचैनीमा जाक्थ्यो ।

रविन्द्र घिमिरेले भीडबाट प्रतिकृया गरे, “राजालाई चैँ गजबले दनक दिनु भएछ ।” मेरो वाचित कविताको मूल अभिप्रायसँग उनको भनाइ नमिले पनि त्यति प्रतिकृयाले खुसी भई उजालिएँ ।

लामो र दाउरे मान्छे कवि भरत लामा भएको कुरा छिन्ताङबाट थाहा पाएँ । कलेज परिसरको ढोकादेखि बाहिरिँदै गर्दा मैले उनलाई बुझेँ, “ रेडियोनेपालमै जागिर ?”

“सुरुमा पनि म त्यहाँ थिइनँ ।”

“अनि अहिले केमा ?”

“माओवादीको उपत्यका सांस्कृतिक समितिमा छु ।” क्यासिनोमा पसेर टाट परेको कहानी बताउने कुनै बेलाको भरत लामा त्यस्तो समितिमा आबद्ध भएको सुन्दा अनौठो मानेँ । दुःख पाएर विकल्प खोज्दा माओवादी दलमा मान्छे छिर्ने गरेको त्यस्तो धेरै उदाहरण पाइन्छ ।

२०६४ पुस १७, जनवरी, २००८

Leave a Reply

Your email address will not be published. Required fields are marked *