Skip to content

दशैं हो यो कि दशा जीवनको ?


दशैं आउला खाउँला पिउँला रे ! के खाने के पिउने ? गोजी रित्तो छ, बैंक ब्यालेन्स सुन्ना छ, कमाई छैन, घर आमाका आँखा कुर्दै छन राह उसका! भन्छ उसलाई पढेको मान्छे समाजले, गर्दछ ऊ गन्थन अनेक, तर छैन सुधी कमाईको ।”के गरी जीवन बिताउँछस प्यारा तैंले ?”- बुवा प्रश्न गर्नुहुन्थ्यो कहिले – काँही । भन्थ्यो – “संसार ठुलो छ, केही त गर्न सकिएला नि; सकिएन भनें खेत – बारी त छदैं छन नि, हल चलाउँला, मकै गोडुलाँ, किन पीर मान्सिन्छ तँपाई ?”

हातमा डीग्री बोकेर हल चलाउने कुरा, मक्कै गोड्ने कुरा सम्झिदाँ, लज्जाबोध हुन्छ उसलाई, आजकाल । उसको नामाकरण बुवा-आमाले बद्री भनेर गरेका थिए । उमेर उरालोतर्फ ढल्किदैं छ, स्नाकोत्तर उत्तीर्ण गरेको ६ महिना बित्यो, प्रत्येक महिना कामको खोजीमा हिड्दा-हिड्दा उसका गोडा थाकेर विश्राम गर्न चाहन्छन, मगज रन्थनिएको छ र समयको सानो खुड्किलो जो आँउदै छ अगावे, यौटा तिक्तता बोकेको छ बद्रीका लागि त्यसले । सपना सारा, कोरा कागतझै- हावाको एक लहरलाई पछ्छ्याएर अनाम गन्तब्यतर्फ बढिरहेका छन ।

बद्री सोच्दछ – “के छ र मसँग जो म घर जाउँ ? न जागिर छ न धन ! आउनु जानुको खर्च मात्र तर आमाको आसा ऊपर कसोरी कुठाराघात गर्न सक्छु र म ? कसोरी व्यवस्था गरुँ यस दशैंको खर्च म ? पुड्के साहु रिसाएको छ मसँग । मेरा लागि उसको घरको ढोका बन्द भएको छ । चमेली साहुनीले भएभरको आमदानी थिएटरमा लगानी गरेकी छे । चम्पाले केही मदत गर्ली कि ?”

अनामनगरनेर चम्पा साहुनीको घर पुग्दछ बद्री ।

“आइज बद्री! आज धेरै पछी सम्झियिस त मलाई । केही विशेष थियो ?”

“विशेष त के हुनु साहुनी! दशै आयो, घर जानु पर्ने, रुपैयाँ एक छैन, यसो सहयोग गरिदिनोस भनेर आको ।”

“हेर बद्री उसो त यो चाड-बाडको बेला म रुपैयाँ दिन्न कसैलाई, तर तँ मेरा लागि अरुजस्तो हैनस । तेरो दुख मैँले बुज्दछु तर सैकडा- २०को दरले मात्र ८००० दिन सक्छु मैंले । चाहिन्छ भने लगेर जा, चाहिदैन भनें ….”

बद्रीका नयन अनायास नै चम्किए, मानौं बिहेमा दक्षिणा स्वरूप सासु आमाबाट उसले पाएको हो त्यो रुपैयाँ ।

दशैं आउन अब ३ दिन बाँकी छ; यसपालिको दशैंको गर्जो टर्यो, बद्रीलाई । उसले टिकट कटायो । घर जाने तयारी पुर्ण भयो । साझ पाँच बजेको थियो, नयाँ बसपार्कनेर चुरुटको धुँवासंगै आफ्नो सारा व्यथा पनि उसले उडायो । फोनको घन्टी बज्यो, फोन उठायो उसले-“बद्रीजी बधाई छ ।”

बद्री हक्क न बक्क भयो, के को बधाई होला यो ? -मन भित्र प्रश्न उब्जियो ।

“तँपाइ को हो र के को बधाई दिदै हुनुहुन्छ मलाई ?”

“तँपाई वीर दैनिकीको उप-सम्पादक नियुक्त हुनुभएको छ, र यो दशैंको विशेष रेपोर्टिङ तपाईबाट होस भन्ने हाम्रो चाहना छ; र, तपाईं भोलिबाटनै अफिस आउनुहोस! ”

फोन काटिन्छ । बद्री मुस्कुराउन चाहन्छ तर सक्तैन; दुई वर्ष भयो- घर आमाले प्रत्येक वर्ष उसको बाटो कुरेर बस्नुभएको । यसपाली पनि त्यस्तै हुने हो कि ?

बद्री नदीको मध्य भागमा डुङ्गा खियाउँदै, कुन किनारमा पुगुँ भनेर विचारमग्न छ…… ।

3 thoughts on “दशैं हो यो कि दशा जीवनको ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *