परदेशी मनलाई कहाँ पो आउथ्यो दशैँ र तिहार,
सम्झन्छु बसी लाला र बाला हँसिलो मुहार ।
पोहोरको दशैँ सम्झदा आँखा रसाए टलपल,
दशैँ र तिहार ती बाबाआमा सम्झन्छु झल्झल ।
टिकामा थाप्ने त्यो मेरो निधार पसिनाले रुझेको,
यो दशैँ तिहार नआए हुन्थ्यो खै मन बुझेको ।
आमाले सोध्छिन हे छोरा दशैँ मनाईस कसोरी,
आमालाई ढाटे मनाए भनि मन रोयो बेसरी ।
पोहोर साल आमाले टिका लाइदेको निधार,
झल्यास्स भई छामेछु हातले नगरी बिचार ।
टिकाको ठाउँमा पसिना रहेछ पुछ्दछु हातले,
दशैँ र तिहार कहाँ बुझ्थ्यो हरे निर्दयी जातले ।
प्रियसी सोध्छिन हे मेरो राजा के खायौ बिहान,
एक टुक्रा रोटी दुई घुट्की पानी सधैको रुटिन ।
के खाने भनि बनाइ खुवाऊथ्यौ बज्दथे ती चुरा,
यो दशैँ पनि बित्ने भो फेरि सम्झदै ती कुरा ।
मन छिया छिया पर्दै जहिले बस्न कहाँ छ मन,
बालबच्चा सँगै रमाउदै बस्थें भइदेको भए धन ।
जसरि जहाँ बसेको भए नि उदेश्य छ एकै,
धन कमाइ आफ्नो घर फर्कौ साथी रमाइलो छ उतै ।
जति छ पीडा सबैको उस्तै परदेशी मनको,
निस्ठुरी अनि निर्दयी रहेछ जात यो धनको ।
मनको पीर पोखेँ है साथी दुई शब्द कोरेर,
भुल भए माफ माग्दछु हजुर दुई हात जोडेर ।।
बडो सुन्दर कविता; अरु पनि
बडो सुन्दर कविता; अरु पनि एस्तै रचना पढ्न पाइयोस् | धन्यवाद !!!!!!!