अझै पनि अशान्ति र अन्योलको भेल
अझ कति चलि रहन्छ देश टुक्र्याउने खेल ?
हिमाल, पहाड, तराईको लेखोजोखो छैन
यो देशको माटो अब कतै चोखो छैन
भागबण्डा गरीसके हिमाल, पहाड, तराई
यतीमेरो यतीतेरो भन्छन् कराइ कराइ
कती तिन्का आफन्त छन् कति कति पराइ
पराइ भई आफ्नै घरमा बस्नु पर्ने डराइ
पूर्ब तिर लिम्बू भन्छन् कोशीपारी खम्बू
तामाङसालिङ भन्छन् कतै; कतै राज्य तमू
गण्डकीको क्षेत्र मेरो, कर्णालीको तेरो
भन्छन् कोही, एउटै पार्छौँ मधेश सेरोफेरो
कोही भन्छन् चुरेभावर, दिन्नौँ कसैलाई
मेचीकाली एकैछत्त पार्छौँ यसैलाई
जाती, क्षेत्र, भाषा–भाषी सबै आफैँ बोल्ने
आफ्नो बुता भएसम्म अरुलाई नै पेल्ने
सयौँ जात, कयौँ क्षेत्र लेख बेँसी खोँच
अल्प सङ्ख्या, अल्प जाती, सबै आफैँ सोच
राज्य कस्लाई चाहिन्दैन र ? चाहिएर हुन्न
देश एउटै हुनुपर्छ, बाँडिएर हुन्न ।
कस्को भागमा कति पर्छ ? कति कस्लाई दिने ?
सकेसम्म भ्याए सम्म आफुमात्र छिन्ने
नगराँ है यस्तोकाम देश टुक्र्याउने
एकएक जोड्नुपर्छ सबै ढुक्क हुने
२०६४ । ९ । १२ ईटहरी—५