Skip to content


छोरोको पढाइको नतिजा हेर्दै प्रोफेसर मरहठाले विचार गरे । आफूले अंग्रेजी साहित्य पढियो । मेरा किताबहरू पनि स्नातक र स्नातकोत्तर तहमा पढाई हुन्छन् । छोरोलाई पनि अंग्रेजी विषयको भाषा विज्ञानमा विद्यावारिधि गराएर राम्रा किताब लेख्न लगाउँछु । मैले आफैं गाईड गरे भनें कसो नकोर्ला त केटाले ?

छोरोले स्नातक तह पहिलो वर्षदेखि नै यता उता गर्न थाल्यो । घरमा ढिलो आउने, एकोहोरिने, तुरुन्तै रिसाउने जस्ता लक्षण देखिन थाले पछि प्रोफेसरकी श्रीमती चिन्तामा डुबिन् । प्रोफेसरले उमेरमा कसैलाई यस्तै हुन्छ भनेर पहिले त्यति वास्ता गरेनन् । घरमा आमा-बाबुलाई नै काट्ने र मार्ने कुरा गर्न थाले पछि प्रोफेसर उसको पछि लागे ।

एक साँझ प्रोफेसरले एउटा साँगुरो गल्लीमा शरीरको रगत सुकेर जीर्ण भएका एक हूल झुसिले सिद्रे केटाहरू बीचमा बसेर आफ्नो छोराले धुवाँ उढाउँदै गरेको देखे । पाखुराभरि प्वाल-प्वालै पारेर कूलतमा फँसेको छोराले प्रोफेसरकी श्रीमतीलाई शरीरमा मट्टीतेल खन्याए जस्तै भयो । उसलाई सुधार गृहमा राखे । त्यहाँ पनि केटाले काम काटेन । अन्ततोगत्वा: पशुपतिको स्लेश्मान्तक बनमा एउटा साधुको कुटीमा लिएर गए ।

केटाले साधुलाई दण्डवत गरे पछि “प्रकाण्ड विद्वान भव:” भन्यो । प्रोफेसरलाई सान्त्वना दिदैँ साधुले भन्यो, यसलाई “कान्चिपुरम् महा-बिध्यापिठका एक हजार आठ स्वामी सरस्वती महाराज” भन्दा पनि ठूलो विद्वान बनाउँछु भन्दै आकाश पाताल जोड्यो । प्रोफेसरले साधुका अपत्यारिला कुरा सुनेर आफ्नै अनुहारमा एकछिन अमिलो घोप्ट्याए ।

केटोलाई हेर्दै साधुले भन्यो, “बेटा ! बाबाजी साथ में हें फिकर करनेका कोही जरुरत नही ।” कालो रंगको चकलेट जस्तो दिदैँ भन्यो, “यो संजिवनी बुटी खाऊ, सब ठीक हुन्छ ।”

केटाले संजिवनी बुटी खाएपछि वरिपरीका ठूला वस्तुहरू साना हुदै घुम्न थाले । आकाश पृथ्वीतिर ओर्लिए जस्तो देख्यो । आफू बसेको ठाउँ घुमेर कहाँ-कहाँ पुग्यो र अन्त्यमा सबै गोलाकार देख्यो ।

साधु बिग्रिएका बच्चाहरूलाई मात्र सुधार्ने काम गर्दैनथ्यो । बिहे गरेको धेरै बर्षसम्म पनि सन्तान नभएकाहरूको बाँझोपन खतम गरिदिन्छु भन्थ्यो ।

यतिकैमा एक जोडी सन्तान नभएका उपचार गराउन आए । अँध्यारोमा कसैले नदेखी महादेवको पूजा गर्नुपर्छ भन्दै ती महिलालाई साधुले भित्र लग्यो । केही समयपछि ती महिला छरपस्ट कपाल अनि लत्पतिएको लिपिस्टिकमा भुईंतिर हेर्दै बाहिर आइन् । उनको लोग्नेको अनुहार मणि झिकेको सर्प झैं भयो ।

रातो झर्झराउदो अनुहार लिएर भित्र पसेको साधु शान्त हुँदै बाहिर आएर शरीरमा यता उता भएको खरानीलाई पुन: लेपन गर्दै भन्यो, “आओ बेटी ! बाबा से आशिर्वाद लेलो ।”

महिला अगाडि बढिन् । साधुले महिलाको टाउकोमा हात राख्दै जोडसँग भन्यो, “पुत्रवती भव: …।”

एल एन सुवेदी ‘हस्ती’

Leave a Reply

Your email address will not be published. Required fields are marked *