Skip to content

” ल यो तातो पानी खुरुक्क खाउ त !! ” एक बिहानै कान नै झर्ने गरी चर्को चर्को बोलीमा भ्यागुतो जस्तै ट्वार-ट्वार गर्दै श्रीमतीको कोठा भित्र आगमन भयो |
” छिटो उठ भन्या…” अलि घुर्किपूर्ण बोलीमा फेरी अलिकिती ट्वारट्वाराहट पोखियो |
” शरीर भित्रको toxins हरु पखालिन्छ, बोसो पगाल्छ तातो पानीले , कहिल्यै रामदेव हेरे पो थाहा हुन्छ, टि.भी खोल्यो भने की क्रीकेट की फूटबल अनि कताबाट उम्रिन्छ त ज्ञान-गुनका कुरा दिमागमा ?” यस्तै फत्फताउदै तातो पानी खाट नजिकैको टेबलमा राखेर भान्छा तिर सवारी भयो उहाँको | मेरो ओठ खुशीले मुसुक्क मुस्कुरायो | बिद्यार्थीलाई गोरुधुलाई गर्ने मास्टरले कक्षामा पाठ नगर्नेलाई लस्करै पिट्दै गर्दा, अचनाक आफ्नो पालो आगाडी नै पियुन दाइले घन्टी बजाउँदा ” लौ बचियो आज ” भनेजस्तै हुन्थ्यो, श्रीमतीले मलाई कोठामा एक्लै छोडेर जाँदा | चाहे १० इन्चीको भित्तापारीको भान्छामा नै किन नहोस् |

कहिले काहीँ यस्तो लाग्छ मानौं म ज्वरोले इन्तु न चिन्तु भएको तर पनि तितो सिटामोल खान नमान्ने दुई बर्षे बालाखा हुँ, अनि उनि मेरी आमा | तातोपानीले शरीरमा के गर्छ मलाई थाहा छैन, तर पनि बिहान बिहान अलि अलि गर्दै घाँटिमा एक गिलास तातो पानि खोत्याउनु मेरो बाध्यता हो | त्यति नगरी चिया पाइँदैन | भक्तहरुले बरदान पाउने आशामा कठिन तपस्या गरेजस्तै, खल्लो तातो पानि आन्द्रामा बगाउनु मेरो तपस्या थियो , उनि मेरी भगवान थिईन, चिया मेरो बरदान | यसरी नै दिन बढ्दै थिए | दुरभाग्यबस मेरो भुँडिको गोलाई पनि |

मेरो मनमा एक रत्ति पनि बिश्वाश थिएन कि बिहान-बिहान तातो पानी पिएर घ्यम्पो घट्छ भन्ने कुरामा | यदि यो साँचो हुँदो हो त भैंसी किन मोटा हुन्थे ? डुँड भरी तातो कुँडो पिउने गाई-भैंसी त स्याल जस्तो हुनुपर्थ्यो, तातो पानी नपिउने घोडा-गधाहरु चैं गैँडा जत्रो हुनुपर्थ्यो | सधैं चियापान समारोहामा मात्रै ब्यस्त हुने हाम्रा नेताका भुँडि किन त्यति ठुला ? आखिर चिया पनि एक प्रकारको तातो पानी नै त हो नी |

ठुलै हिम्मत अनि आँट बटुलेर अब देखी म बिहान-बिहान तातो पानी नपिउने निर्णय गरेको कुरा आजकै दिनमा श्रीमतीलाई सुनाउने दृढ अठोट गरें | हदै होला एकछिन रिसाउली, साह्रै गरिछे भनी एक कुचो झटार्ली, ढुङ्गा-मुढा अनी डाडु-पनियो त पक्कै पनि गर्दिन होली, सासु-ससुरा गौरवशाली-क्रान्तिकारी नेता भएका भए त त्यै पनि बेर थिएन तर ससुराली खलक जम्मै मास्टरी पेसामा थिए | यस्तै सोच्दा सोच्दै उनि कोठा भित्र टुपुल्कियिन |

मैले बिनम्रतापुर्बक भने – ” बुडी, अब देखि म तातो पानी पीउँदिन है ! खै यो भुँडि घट्ला भन्दा त झन् बढेको बढ्यै भयो, नाइटो र मेरुदण्डको बिचमा हावा भरेको भकुण्डो जस्तो फुलेको फुल्यै छ |”

उनि एक्कासी मलिन हुँदै , मसिनो बोलीले भनिन – ” हो बुढा, तिम्रो कुरा ठिक हो | ”

मेरो पीडाको सुनुवाई भएकोमा मन खुशी ले गदगद भयो|

यतिकैमा उनको बाक्य तन्कियो – ” एक गिलास तातोपानीले तिमीलाई नछुने रैछ, भोलि देखि तिमीलाई दुई गिलास, अनि प्रणायाम, अनुलोम-बिलोम, योगा पनि गर | अबदेखि चिया खायौ भने फेरी …..” भन्दै दह्रो मुड्की मेरो चुच्चो नाक तिर तेर्साइ |

मैले पनि लुत्रुक्क परेर सहमतिको मुन्टो हल्लाउदै फेरी एक गिलास तातोपानी मेरो भकुन्डे भुँडीभित्र खोत्याएँ |

2 thoughts on “तातो पानी ( लघुकथा )”

  1. nice one… ..can u give
    nice one… ..can u give me some idea abt how a standard story poem should be…..
    i hav ability of imagination bt i lack the gud way of presentation….

  2. अति सुन्दर हास्य रसले
    अति सुन्दर हास्य रसले भरिपुर्ण रचना। पढ्दा साह्रै अानन्द अायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *