Skip to content

देश, बुद्ध र दुर्योधनहरू

  • by


कसले भन्छ हँ ?
यो देश
बुद्धको देश हो
गलत !
सरासर गलत !

यो त
काजी भीम मल्लले
मृत्यु पुरस्कार पाएको,
जंगबहादुरको कोत पर्व हुँदै
हिंसाको रगतले नुहाएर
१७ हजार वलीले ढाडिएको
हिंउदको अजिँगर झै
आरामसाथ निदाएको
देश पनि हो ;

अहिले एउटै भय छ
कहिले व्यँझिने हो ?

बहुलाएको राजनीति
निर्वस्त्र सरकार
जारी गर्छन सरकारी प्रवक्ता !
असत्य र बक्रशैलीका शन्देस
देशवासीका नाममा,
सँधै भट्ट पुजारीले
प्रसादसँग आशीर्वाद साटेर
भट्याएको मन्त्रजस्तै
केवल !
उनैका लागि
जनताको भोग खान
शहीदको वलि चढाएर
धेरैले शासन चलाएको
देश हो यो ।

कठै कहाँ हुनु
यो देश बुद्धको ।

यो देश
बुद्धको देशै होइन
बुद्धले टेकेको भूमिमात्रै हो
बुद्धको पाइला भएर मात्रै हुदैन
बुद्धत्व छैन यहाँ –
त्यसैले, यदाकदा
शकुनीको पासामा चलेको देश हो यो
यादवहरू साक्षी बसे पनि
यदुवंशी कृष्णहरूको देश होइन यो
जहाँ पासामा गडवडी भएपनि
निरीह कृष्ण !

कहिलेसम्म हो कुन्नि ?
दुर्योधनले जवर्जस्ती चलाउन खोजेको
देश हो यो
अनि फेरि
महाभारत हुनसक्छ यहाँ कुनैपनि वेला
त्यसैले –
कसले भन्छ हँ ?
यो देश बुद्धको देश हो
सरासर गलत !

वरु अलि अलि यो सही हो
यो देश अलि अलि
शकुनिहरूको पनि हो
दुर्योधनहरूको पनि ।

–दीपेन्द्र “अपजसी”
वागलुङ, हाल– ओस्टण्डे, बेल्जियम

Leave a Reply

Your email address will not be published. Required fields are marked *