Skip to content


सम्बोधन कुन शब्दले र कसरी गर्छन्, त्यो त मलाई थाहा छैन बुढा ! म त सिधा मान्छे । सिधै कुरा गर्छु । उसबेला गाममा खाएको गुन्द्रुक र मकैको भात यसबेला खुब याद आइरहेको छ । त्यो पल्लाघरे कान्छी बज्यैले दिएको मोहीको त झन् कुरा गरेर साध्यै छैन । कति हो कति आउँछ याद । फेरि “खान नपाएकी कस्ती गालपारा आइमाई रहिछे यो त । मान्छेले सुनेर के भन्लान ?” नभन है तिमीले ? देशै त आज अति पीडक स्थिति र अवस्थाबाट गुज्रिरहेको छ । यस्तो बेलामा अरुले के भन्लान भनेर म हाम्रो राष्ट्रिय खानालाई कसरी भूल्न सक्छु ? दुई दिन मलमल लगाएर त्यो हिजोको भाँग्रो यति छिटो कसरी भूल्न सक्छु ? हेर सुख लुक्छ । तर दु:ख कहिल्यै लुक्दैन । तिमीले मास्टर बाबुलाई लेख्न लगाएर पठाएको चिट्ठी मैले पाएँ ।

तिम्रो चिट्ठी हातमा पर्दा मेरो हर्षको सीमा रहेन । खुशीका आँशुले गह टम्म भरिए । तर एउटा कुरामा अत्यन्तै दु:ख पनि लाग्यो । दु:खको कुरा के भन्छौ भने तिमीले माया प्रितीका कुरा त भुसुक्कै भुलेछौ । तँलाई कस्तो छ ? बुढी समेत पनि भनेनछौ । शायद आफूलाई लेख्न नआएर लाज मानेका हौला । खालि “महँगी बढेको छ । पैसा जतिसक्दो चाँडो पठाएस्” भनेर लेख्न लगाएछौ । यो पैसा भन्ने कुरा पनि गज्जबको रहेछ बा ! आफन्त सबैसँग नाता तोड्नुपर्दा पनि रत्तिभर सुर्ता नहुने ।

हिजो त मसँग पैसा नभएर यसको नसा कस्तो हुन्छ ज्ञान थिएन मलाई । आज बल्ल पो थाहा पाएँ पैसाले अशान्ति मच्चाउने कुरा त ।

तिम्रो चिट्ठीको जवाफ म पनि कनिकोथी लेख्दैछु । मैले चिट्ठी लेखेको देखेर परदेशी छोरोले दु:ख पाएर आफ्नो बुवाआमालाई यसरी चिट्ठी लेखेछे रे “पैस पठल त बचल नत्र भक मरल ।”

“तेरोपनि चिट्ठी सोही पाराको होला, है सुन्तली ?” भनेर साथीहरू मलाई गिल्लाएर हितिती हितीती हाँस्छन् । उनिहरु हाँसेकोमा मलाई रत्तिभर दु:ख लागेको छैन । मैले यहाँ आएर के कुरा सिकें थाहा छ बुढा ? आफ्नो काम आफैंले गर्नुपर्छ रे । अरुको भर परेर बस्दा दु:ख पाइन्छ रे । मलाई पनि यी कुरा साँच्चै हुन् जस्ता लागे ।

किन भने हाम्रो देशमा अझैसम्म पनि छोरी मान्छे सानोमा बाउआमाको भरमा । र ठूली भएपछी बुढाको भरमा । बुढाबुढी भएपछि छोराछोरीहरूका भरमा रहन्छे । तर यहाँ त छोरा र छोरी भनेर भेदभाव पनि छैन । के छोरा के छोरी । सबैको एउटै पहिरन छ । छुट्याउँनै नसकिने।

हाम्रो देशमा जस्तो लिबिस्टिक, क्रिम, पाउडर, लिपपोत गरेर आइमाईहरु गफमा दिन बिताउँदा रहेनछन् यहाँ । लिबिस्टिक, क्रिम र पाउडरको उतिविघ्न जरुरी पनि देखिन मैले । फेरि तिमी किन र कसरी भन्छौ होला । किनकि छोरा मान्छेले लगाए जस्तै सर्ट र पाइन्ट लगाएर उनिहरुले जस्तै डटेर काम गरेपछि पो किन चाह्यो त्यो लिबिस्टिक र क्रिम पाउडर ?

बुढा विदेश आएर मैले पनि तिम्रो एउटा समस्याको समाधान गरिदिएकी छु । त्यो के भने मैले पनि यहाँकै पहिरन सर्ट र पाइन्ट लाउन राम्ररी जानीसकें । उसबेला कठै तिमीलाई एक वर्षमा एउटा फरिया मेरो लागि किनेर ल्याउन कति कठिन थियो । फरिया ल्यायो, पेटिकोट नहुने। पेटिकोट ल्यायो, चोलो नहुने । चोलो ल्यायो, चप्पल नहुने । अब तिमी त्यो सबबाट मुक्त भयौ ।

अनि हाम्रो गामघरतिरका स्कुल सधैंको हडतालले बन्दको बन्दै हुन्छ भन्थ्यौ । अचेल हाम्रा दुई भाई छोरा साने र माने गाईबाख्रा लिएर वनतिर जान्छन् भन्थ्यौ । सानै देखि आफ्नो कर्ममा लागेको त खुशीको कुरा हो । किनकि धेरै पढेर बाठा-टाठा भएपछि आफ्नो गामघर फर्किन मान्दा रहेनछन् । सबै अमेरिका, क्यानाडा, लण्डनतिर जाने सल्लाह गर्छन् । र उतै घरजम गरेर आन्नदपूर्वक जीवन यापन गर्ने मीठा मीठा सपना बुन्छन् ।

मेरा साथीहरुले भनेको “म कालो अक्षर भैंसी बराबर भएर त्यो बिजुली बत्ती पानी धुवाँ, धुलो, भएको मेरै गामघर सम्झेकी रे ।” त्यसैले अहिले त मलाई लाग्दैछ, मेरा बुवा आमाले मलाई नपढाएर ठूलो पुण्य गरेछन् । किनकि मैले मेरो गामघर त भूलेकी छुइन । मलाई त मेरो गामघर भूलेर अन्त कतै गएर आन्नदले बसौं जस्तोपनि लाग्दैन ।

म त एउटा सानो घर बनाएर साहुको नाममा बन्धकी परेको त्यो पाखोबारी निखन्न सके खुशी हुन्थें । र गाममा फर्केर आएपछि मैले सिकेको ज्ञान र चेतनाका कुरा जान्न इच्छुक दिदी बहिनीहरुलाई बाँडेर “आत्मानिर्भर हुन जरुरी रहेछ” भन्ने कुराको महत्व बुझाउँछु । “कामको आधारमा मान्छेलाई सानो र ठूलो भन्ने कुरा सानो सोच रहेछ” भन्ने कुराको जानकारि गराउँछु । सकेको सानोतिनो समाजसेवा गरेर आफ्नै गाममा बस्ने छु ।

“यो आइमाई कति बाठी भइछे विदेश टेकेर” भन्ने नसोच है बुढा ? अवसर पाएपछि लाटा पनि बाठा हुन्छन् । हाम्रो देशमा त अवसर, चेतना, शिक्षा नभएर पो आइमाई लाटा भएका त ।

अझ हाम्रो नेताहरुको बुद्दी फर्किदिएर गाम घरको विकाश भएर सबैले गाममानै रोजगार पाए आहा ! कति जाती हुन्थ्यो । भन्ने कुरा म शब्दमा लेख्न सक्तिनँ। गाम घरमै रोजगारको व्यवस्था भएदिए हामी जस्ता मजदुरले आफ्ना परिवार भन्दा टाढा त बस्नुपर्ने थिएन । ल, अब धेरै के लेख्नु ?

फेरि “आइमाईको बाह्र सताइस थाङ्ने गन्थनले टाउको दुख्यो” भनेर नाक खुम्च्याउला तिमी । फेरि चिट्ठी बाचेर सुनाउने मास्टर बावुलाई पनि पढ्न पट्यार लाग्ला ।

अन्तिममा हाम्रा कलेजाका टुक्रा साने र मानेलाई पनि धेरै माया र आशिर्वाद । अनि तिम्रा बुवा आमालाई पनि सम्झना सुनाइ दिन नभुल्नु है ? बुहारी विदेश गएर डलर कमाएर हाम्रो के खालो सारी र भन्नलान । साहुको ॠण तिरी सकेपछि म तिम्री आमालाई फरिया र बाउलाई स्टकोट किन्ने पैसा पठाइदिउँला । गामघरतिर पनि “इस्टमित्र छरछिमेकीहरूलाई सम्झेकी छु” भनेर सुनाइदिनु ।

अनि हाम्रो देशका नेताहरुलाई चाहीँ “जति सक्छौ बन्द हडताल चक्काजाम गर्दानै फाइदा हुन्छ । “किनकि आफ्नो देशमा असुरक्षा र आतंक फैल्याइदिएपछि सबै सुरक्षित स्थानको खोजि गर्दै विदेश सर्छन् । अनि नेताहरूकै एकलौटी राज्य चल्छ । कति आनन्द हुन्छ ? देश कुन मोडतिर जादैछ वास्ता नगरिकन कसरी कुर्सीमा सधैं बस्न पाईन्छ ? त्यतातिर मात्रै ध्यान दिनु रे” भनेर सुनाइदिनु

बाँकी कुरा लेख्दै गरौंला । आजलाई यति नै ।

उही तिम्री प्यारी सुन्तली ।

1 thought on “सुन्तलीको पत्र”

Leave a Reply

Your email address will not be published. Required fields are marked *