“धेरै कचकच नगर । सौता हालिदिन्छु । अनि थाहा पाउँछेस्,” एक दिन गजिन्द्रेले स्वास्नीलाई भन्यो ।
स्वास्नीले ओठ बटार्दै जवाफ फर्काई “मेरो कमाइमा एक थाल हसुरेर उल्टै मैलाई सौता हाल्ने धमास दिन्छौ । हेरौंला म पनि । कुन चै आउँदी रै’छे तिमी जस्ता आवारासँग ।”
“तैंले साँच्चै नपत्याएकै होस् त ? हेरिराख ! तँ भन्दा राम्री भर्खरकी ल्याउनसकिनछु भने मेरो नाम पनि गजिन्द्रे होइन ।”
“लोग्नेको अज्ञानता देखेर स्वास्नी मुसुमुसु हाँसिरही ।”
लोग्ने साँझमा एउटी स्वास्नीमान्छे साथ लिएर घर फर्कियो ।
स्वास्नीले लोग्नेसित आएकी केटीलाई ढोकामै रोकेर एउटा प्रश्न गरी, “यस्तो बेगारी मान्छेसँग तिमी के देखेर आएकी बहिनी ?”
“म पनि बेगारी नै थिएँ दिदी । उहाँले मसँग ‘विवाह गर्ने ? ‘भनेर सोध्नु भयो । एउटा न्यानो साथको खाँचो परिराखेको थियो । त्यसैले दायाँ बायाँ केही नसोची उहाँको पछि लागें ।”
गजिन्द्रेकी जेठी स्वास्नीले सोची, “लोग्नेले राम्रै गरेछ । उसैपनि घरमा एउटी नोकर्नीको आवश्यकता परिराखेको थियो ।”
गजिन्द्रेको आवारापन देखेर एक बिहान कान्छीले हप्काई, “कति डुलेर हिँड्छौ ? सघाए हुन्न घरको काममा मलाई ?”
गजिन्द्रे कड्कियो, “तैंले पनि सौता खोजे जस्तो छ ।”
कान्छीले तुरुन्तै जवाफ फर्काई, “तिम्रो स्वास्नी पाल्ने औकात भए पो मैले सौता पाउँथें । आफू नोकर भएर अर्को नोकरलाई सौता हाल्ने धमास दिन लाज लाग्दैन ?”
गजिन्द्रे त्यो दिन खुब रोयो । आवारा हुनुको पीडामा पछुताउँदै ।