Skip to content

भरियाले कविता लेख्छ


आहा ! कति सुन्दर छ यो युद्धविराम जस्तो विसौनी । सिरसिर बहिरहेको यो हावामा हामी जीवनका सुनौला आशाहरु फिरफिराउँदै उडिरहेको देख्छौं । अझै बाँकी छन् युद्धजस्ता नाकै ठोकिने उकालाहरु । हो त युद्ध सकिएको छैन । युद्धविरोधी क्रान्ति चढिरहेछ यी ढुङ्ग्यान सिँढीहरुमा हामीले चालेका पाइलाहरुजस्तै निरन्तर उकालो । यो उकालो नसकिएसम्म शिखरमा नपुगेसम्म चलिरहनेछ क्रान्ति । जीवन नै रहेछ क्रान्ति । क्रान्ति नै रहेछ जीवन ।
उफ् कति टट्याएको यो थाप्लो । नाम्लोले माडिएर बाक्लिएको यो तालुको छाला र टाउकाबाट नाकसम्म निरन्तर बगिरहेका यी नुनिला पसिनाकाथोपाहरु । साँच्चै कहिले त रुन्छ यो मन । हामी हुस्दा -हाँस्दै रुन्छौं रुँदा-रुँदै हाँस्छौं । यो नै हाम्रो कविता हो । कविता नै हाम्रो जीवन हो र हाम्रो जीवन नै कविता हो । ए ! कवि महोदय के तिमी स्विकार गर्न सक्छौ भरियाले पनि कविता लेख्छ ।
तिमी स्विकार गर या नगर तर भरिया नै वास्तविक कवि हो । किसान नै वास्तविक गीतकार हो । हाम्रो यो आँशु र रगतको दोभानजस्तो जीवन र यो उकालो । हाम्रा पैतालाहरुले खियाएका यी ढुंगाहरु हामीले पाइलामुनि कुल्चिएका डाँडाकाढाँहरु र होचिँदै गएका उकालाहरु । यी सब बिम्बहरु हुन् हाम्रा कविताका । हाम्रा नाकका डाँडी हुँदै बगेका पसिनाका थोपाहरुले यी बाटाभरी लेखिएका छन् सुन्दर कविताहरु । हाम्रा चर्चरी फुटेका पैतालाहरुबाट बगेका रगतहरुले लेखिएकाछन् अजम्बरी गीतहरु । पसिना हाम्रो मसी रगत हाम्रो रंग यी ढुङ्गा माटाहरु हाम्रा कापी । कवि महोदय ! के तिमी यी पसिनाले लेखिएका रगतले रंगाएका कविताहरु पढ्न सक्छौ
हाम्रा थाप्लाहरुमा लादिएका थिए जबर्जस्त नाम्लाहरु । जबर्जस्त बेाकाइएका थिए दासताका भारीहरु । तिमी इतिहासका पानाहरुमा खोज । तिमी वर्तमानका गानाहरुमा खोज । हामीले चुँडालेका छौं दासताका नाम्लाहरु । हामीले दासताका भारीहरुमा मिसाइदियौं बारुदको पिठो । अहिले हामीले बोकिरहेका यी भारीहरुमा हाम्रा निधारबाट झरेका पसिनाका यी थोपाहरुमा नयाँ युगका सपनाहरु फुलिरहेछन् । हामीले लेखेका पसिनाका गीतहरुले नयाँ युगका नायकहरु जन्मिरहेछन् । ए गायक महोदय! के तिमी महसुस गर्न सक्छौ तिमीले गाएको गीत र हामीले गाएको गीतबिचमा बगेको फराकिलो नदी ?
आजकाल हाम्रा नानीहरुले पढ्न थालेकाछन् हाम्रा पसिनाले लेखिएका नयु गीतहरु। हामीले चँुडाएका दासताका नाम्लाहरुको कविता । हामीले बोकेका बारुदहरुका गाथा आजकाल हाम्रा पसिनाका गीतहरु बाँसुरीमा भरेर गाउँदै हिड्न थालेकाछन् हाम्रा नानीहरु । हामीले लेखेका गीत गाउँदै गर्दा घाँटी रेटेर मारिएका शहीद छोराछोरीहरुका सम्झना ताजै छ अझै । तर तिनका रगतबाट जन्मिएका रक्तबीजहरुका यी भिमकाय आवाजहरु र हत्याराहरुको दयालाग्दो रोदन । के तिमी सुनिरहेका छैनौ यो भन्दा सुन्दर कविता भन कुन कविले रच्न सक्छ ?
हत्याराहरुको स्वर्ग निर्माण गर्नका लागि शहीद भएका हाम्रा सपनाहरु आज विपनामा परिणत भइरहेछन् । तर हाम्रा् पसिना पिएर प्यास मेट्नेहरुले कहिल्यै सोच्न सकेनन् हामीभित्र पनि सुन्दर सपनाको फूलबारी छ । हामीलाई उनीहरुले सँधै कुरुप देखिरहे । हामीले तिनलाई सँधैं कुरुप देखिरह्यौं । आजसम्मपनि सुन्दरताको परिभाषा फरक छ । तिमीलाई थाहा छ तिमी कुन सुन्दरता रोजिरहेछौ ?
पारि हिमालमा टल्किएको हिँउको सुन्दरताको बखान गर्दै तिमी कविता कोरीरहँदा यही हिँउले गोडा खाएर लङ्गडो भएको नोर्बुको कविता किन लेख्न सक्दैनौ नोर्बुको गोडा खाने हिँउलाई हामी कसरी सुन्दर भनौं किन हामी तिमी जस्तै त्यो हिमालमा सुन्दरता खोज्न सक्दैनौं तिमीले कहिल्यै विचार गरेका छौ हिमाललाई देखेर रोमान्चित हुनेहरुको संख्या र हिँउका कारण विचल्ली हुनेहरुको संख्याबिच तिमीले कहिल्यै तुलना गरेका छौ अब भन हामी कसरी रमाउन सक्छौं र तिमीले रचना गरेका कविताका बिम्बहरुमा । हामीलाई त हाम्रो पसिनाको रंगमा घोलिएर हाम्रा रगतमा रंगिएर खुल्दै गरेको बिहानको बिम्ब पि्रय छ जति पि्रय छ एउटी आमालाई प्रशव वेदनाको पिडामा जन्मदै गरेको शिशुको ।
हो तिमीलाईजस्तै हामीलाई पनि पि्रय छ जीवन तर च्याऊको जीवन जस्तो बैंशको गीत गाएर हामी पानीभित्रको छाँयाजस्तो काल्पनिकीमा डुब्न चाहन्नौं । हामीसँग शिरीषको फूललाई माया गर्ने पारिजात हामीसँग हिडेपछि गाएका नयाँ गीतहरु छन् । तिमी अझैपनि पारिजातलाई शिरीषको फूलसँग जोडेर बद्नाम
गरिरहेछौ कि प्रशंशा ताकि उनी आफैंले शिरीषको फूललाई च्यात्ने आदेश दिएको हैन र हामी शिरीषको फूल झैं अर्थहीन जीवन बाँच्न चाहन्नौं । सच्चाइ त यो हो कि मानिस भरिया बनेपछि मात्रै जीवनलाई चिन्न थाल्छ । जीवनलाई चिनेपछि संघर्ष संघर्षलाई चिनेपछि पसिना र पसिनालाई चिनेपछि मात्रै ऊ वास्तविक कवि बन्छ । हामी हरपल पसिनामा डुबिरहेछौं । हाम्रो कवितामा पसिनाको बास्ना आउँछ । यदि तिमीलाई हाम्रो पसिना गन्हाउँछ भने हामीलाई तिम्रो कविता गन्हाउँछ । हामीलाई त तिनै कविता पि्रय छ जो दासताको नाम्लो भिराउने कथित मालिकहरु विरुद्ध हाम्रो नशा-नशामा रगत उमालिरहन्छ ।
हामीले हाम्रा थाप्लाहरुमा लादिएका दासताका नाम्लाहरु चुँडाउँदै गर्दा हाम्रा सहयात्रीहरुको रगतले पोतिएकाछन् यी गोरेटाहरु । अझैपनि हाम्रा विरुद्ध तरवारहरुमा साँध लाएर गौंडाहरुमा ढुकिरहेछन् हत्याराहरु । हामी हाम्रो सपनाको संसार नजिकै पुग्दै गर्दा हत्याराहरुको स्वर्ग भत्किदै गइरहेको छ । ति आफ्नो लुटको स्वर्ग जोगाउन हाम्रा बाटाहरुमा धराप थापिरहेछन् । तर हामी त भरिया हौं हाम्ाीसँग हिड्ने कला छ । हामी हाम्रा अनुकूलका बाटाहरु आफैं बनाउन सक्छौं । हामी खाली पुराना बाटाहरुमात्र हिड्दैनौं हाम्रा अनुकूलका नयाँ बाटाहरु पनि हिड्छै्रां । हामी तिनका धरापहरु छल्दै हिड्छौं । हामी तिनले सिर्जना गरेका कालो निशाबिच बल्दै हिड्छौं । हामीसँग हाम्रा साथीहरुको रगतमा भिजेका हाम्रा छोराछोरीहरुका रगतमा भिजेका मशालहरु छन् बाल्दै हिड्छौं । हामीसँग हामीले सुन्दर भविष्यका निमित्त बलिदान गर्न तयार पारेका शरीरहरु छन् हाम फाल्दै हिड्छौं । त्यसैले हामी त्यस्तै-त्यस्तै कविताहरु मन पराउँछौं त्यस्तै-त्यस्तै कविताहरु लेख्छौ्र ।
तर जब तिमी यौवनको सुन्दरता बयान गर्दै कवि गोष्ठीमा वाह! वाह! पाइरहेको पल हामीसँगै उकालो चढेका हाम्रा सुन्दर छोरीहरु बहिनीहरुको अस्मिता लुटिरहेका हुन्छन् गिद्धहरु । यस्तो बेला तिमीले लेखेका सुन्दरताका कविता र हामीले ती गिद्धहरु विरुद्ध थापेको धराप अनि तिनको चिहान खन्न आतुर हाम्रो मनमा कुँदिएका कविता भन कुन सुन्दर हुन्छ यस्तो नवीन यथार्थ तिमीले स्विकार नगरे पनि यो युगको स्विकार हो । यो नवीन सौन्दर्यशाश्त्र हो ।
हामी यो बिसौनीमा छौं । यहाँ बहिरहेको हावा हामीलाई पि्रय छ । तर यो पि्रय हावामा बिषाक्त रसायन घोल्ने प्रयास गर्दैछन् दुष्टहरु । हाम्रो उकाला यात्रा रोकिएको छैन । हाम्रा कविताहरु सकिएका छैनन् । जीवनका हरेक पलहरुमा नवीन कथाहरु भरेर हामी उकालो चढिरहेकाछौ्र । हाम्रा कवितामा नयाँ-नयाँ बिम्बहरु भरिदैछन् । हामी नयाँ -नयाँ बाटाहरु पहिल्याउँदै हिडिरहेका छौं । यस्तो बेला तिमी र हामीबिच मेटिनुपर्ने दूरी झन् बढिरहेको छ । अझै तिमी हामीलाई भरिया मात्रै दख्छौ । भन त किन पढ्दैनौ हाम्रा कविताहरु हो तिमी हाम्रो कविता पढ्न जान्दैनौ र त हाम्रो कवितालाई कविता मान्दैनौ । जहाँ तिम्रो संसार छ त्यहाँ हाम्रो संसार छैन । जहाँ हाम्रो संसार छ त्यहाँ तिम्रो संसार छ्रैन । हामी त संसार साझा हुनुपर्छ भन्छौं । तर तिम्रो सौन्दर्यशाश्त्रले तिमीलाई तिम्रो छुट्टै स्वर्ग छ भन्छ । यहि त फरक छ । तर के तिमी निरो बन्न स्विकार गर्छौ यदि गर्दैनौ भने कसरी सम्भब छ र तिम्रो छुट्टै संसार
हेर उकालो चढ्दै गरेका भरियाका समूहमा बढ्दै गरेका कविहरु र तिमीले कविता बाच्ने गोष्ठीहरुमा घट्दै गरेका कविहरु । के तिमी अझैपनि हामीलाई कवि मान्न तयार छैनौ तर तिम्रो अबुझपनमा हामीलाई दु:ख लाग्छ । वास्तबमा भारी बोक्नु कविता लेख्नु हो र कविता लेख्नु भारी बोक्नु हो । तिमी दुवै गोडाले हिड्ने कुरा स्विकार गर्छौ कि गर्दैनौ यो कुरापनि त्यस्तै हो ।
यो अन्तिम उकालो र नजिकिदै गरेको शिखरको चुचुरो । हामी हाम्रा नानीहरुलाई नवीन कविताहरु लेख्न सिकाइरहेछौं । यो युगको नयाँ उचाईबाट कविलाई भरिया र भरियालाई कवि बनाउन थालिएको नयाँ अभियानलाई के तिमी स्विकार्दैनौ आऊ तिमी पनि सिक नयाँ सौन्दर्यशाश्त्रमा कविता लेख्न र उठौं यो बिसौनीबाट अनि गाऔं एकै श्वरमा-
पसिनाको मसीले पोतेर
भरियाले कविता लेख्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *