परिचय
बादलका बुट्टाहरू गजलसङ्ग्रहका रचनाकार हुनुहुन्छ गजलकार कैलाशकुमार पाण्डे । पाण्डेजीको जन्म बि.सं. २०३० साल बैशाख २८ गते शीर्ष ५, थपला डडेलधुरामा भएको थियो । उहाँको पिताको नाम महेन्द्रदत्त पाण्डे र माताको नाम मनुदेबी पाण्डे हो । पाण्डेजीले राजनीति शास्त्र र समाज शास्त्रमा स्नातकोत्तरको डिग्री हाँसिल गर्नु भएको छ । उहाँको जीवन राजनीति, समाजसेवा, गजल, गीत, कविता, मुक्तक लेखनको साथसाथै विभिन्न पत्र पत्रिका सम्पादनमा समेत समर्पित भएको पाइन्छ । उहाँ विभिन्न संघ–संस्थाहरूमा राजनीति र समाज सेवामा आवद्ध हुनुको साथै साहित्य प्रतिष्ठान डडेलधुरा, समैजी युवा परिचालन केन्द्र डडेलधुरा र जोगबुडा जनपुस्तकालयको अध्यक्ष, प्यास गजल पत्रिकाको आजीवन सदस्य हुनुको साथसाथै आँकलन सप्ताहिक, डडेलधुरा, सौरभ मासिक २०५२, धनगढी, अमरगढी एक्प्रेस सप्ताहिक–२०५५, डडेलधुराको सम्पादन समेत गर्नु भएको छ । पाण्डेजीले आदर्श युवा सम्मान २०५२, आदर्श युवासमाज, धनगढी, कैलालीबाट सम्मानित हुनु भएको छ भने बिभिन्न कविता, निबन्ध, तथा गीत प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल हुनुहुन्छ ।
गजलसङ्ग्रहको संरचना
यो गजलकृतिको संरचनामा जानु भन्दा पहिला गजलको संरचना कसरी हुन्छ भन्नेतर्फ लाग्दा गजलको तुलनात्मक विश्लेषण हुन्छ जस्तो लाग्यो । गजलको रूप संरचना, शास्त्रीयताजस्ता कारणले गर्दा गजलको आफ्नै किसिमको महत्व छ र यसले कविता विधाको एकरूप हुँदाहुदै पनि आफ्नो स्वतन्त्र अस्तित्व कायम गर्न सफल देखिन्छ । गजल भनेको शालीन, सुन्दर र सुकुमार शैलीमा काफिया र रदिफको अनुशासनमा रही संरचना गरिने काव्यिक अभिव्यञ्जन हो । गजलका पत्येक पङ्ंक्तिलाई मिसरा भनिन्छ । पहिलो पङ्क्तिलाई मिसरा ए–उल्ला र दोस्रो पंक्तिलाई मिसरा ए–सानी भनिन्छ । मिसरा ए –उल्ला र मिसरा ए–सानी मिलेर एउटा शेरको निर्माण हुन्छ । शेर भनेको गजलको आधारस्तम्भ हो । पाण्डेजीका गजलका शेर पहिलो कृति भए पनि सशक्त छन्–
समयले कसैलाई पर्खदैन भन्छन्
यौवन र बग्ने खोला फर्कदैन भन्छन् (गजल १, पृष्ठ ७)
समय बलवान छ । आफ्नो गतिमा निरन्तरता छ । नदीलाई रोक्न सक्ने क्षमता कसैसँग छैन । मानवले सिक्न पर्ने पाठपनि यही हो । निरन्तरता नै उच्चाईमा पुग्ने प्रस्थान विन्दु हो । पाण्डेजीका गजलका शेरहरूमा हामीले, सुन्दरता कोमलता, हार्दिकता तथा मिठास पाउन सक्दछौं । पाण्डेजीको शेरको निर्माण र प्रस्तुती सुन्दर रूपमा पस्किएको पाइन्छ । पाण्डेजीका गजललाई सुन्दरता बोधी, हृदयसंवेद्य, भावनात्मक र उत्तमोत्तम छन् भन्न सकिन्छ । यस कृतिमा ४ देखि ७ शेरसम्मका गजलहरू पाइन्छन् तर अधिकांश ५शेरहरूले स्थान लिएको छ । ६५वटा गजलले सजाइएको आवरण सहित ६७ पृष्ठको छ कृति ।
गजल संरचनामा गजलको पहिलो शेरलाई मतला भनिन्छ । मलताको अर्थ उदय हुनु हो । अन्तिम शेरलाई मकता भनिन्छ यसको अर्थ समाप्त हुनुहो । गजललाई मर्मस्पर्शी, प्रभावोत्पादक र स्तरीय बनाउनको लागि मतला र मकतालाई प्रयोगमा ल्याइन्छ ।
काफियाको प्रयोग
गजलको संरचना गर्दा काफियालाई गजलको प्राणको रूपमा लिइन्छ । काफियामा शब्द परिबर्तन त हुन्छ तर स्वर भने परिवर्तन हुँदैन । काफियाको प्रयोग गजलको मतलामा र त्यसपछिका हरेक शेरका दोस्रो पङ्क्तिको रदिफ भन्दा अगाडि गरिन्छ । पाण्डेजीका गजल लेखाईमा काफियाको प्रयोगमा धेरै सावधानी अपनाउनु भएको पाइन्छ–
वसन्तमा फूल फुलाउन माली बनी बस्थे म त
बगैचामा फूलको साटो तीते पाती गोडे मैले (गजल २, पृष्ठ ८)
गजल लेखनमा कुनै लेखकले गजलका शेरहरूमा आफ्नो नाम तथा उपनाम जोडेको पाइन्छ । यसरी नाम तथा उपनाम जोड्ने प्रकृयालाई तखलुसको प्रयोग गरेको भनिन्छ । तखलुसको प्रयोग गर्नु पर्दछ भन्ने त छैन तर प्रयोग गरिएमा राम्रै मानिन्छ । पाण्डेजीका गजलमा अधिकांश गजलहरू तखलुस विनाका पाइन्छन् भने केही गजलमा तखलुस प्रयोग भएको छ –
तखलुस प्रयोगका गरिएका गजलहरू–
रोज्दिनथें माया प्रीति घरवारका कुरा
मोहनी लगाई ‘कैलास’लाई प्रेममा रसायौ किन (गजल ५५, पृष्ठ ६१)
तखलुस प्रयोग नगरिएका गजलहरू
मौका मिले चौका हान्ने यो ठाउँको रीत रैछ
बाजी मार्ने दाउ यहाँ मैले पनि छानेकै छु (गजल ३, पृष्ठ ९)
गजलमा रदिफको प्रयोग –
मतलाको दुबै पंक्तिको अन्तमा र मतला पछि आउने शेरहरूको दोस्रो पंक्तिमा निरन्तर आउने शब्द या (काफिया पछि आउने शब्द वा शब्द समूह (शब्द संयोजन) नै रदिफ हो । यदि रदिफको प्रयोग गरिन्छ भने रदिफ अपरिवर्तनीय हुन्छ । पाण्डेजीले गजलमा रदिफ सहित र रदिफ रहितका गजलहरू प्रयोगमा ल्याउनु भएको छ–
रदिफ रहितका गजलहरू–
बटोभरी देख्दै छु म भत्किएका पुलहरू
हिंड्दा हिड्दै सच्याउँदै छु जिन्दगीका भूलहरू (गजल २१ पृष्ठ २७)
रदिफ सहितका गजलहरू–
गलाकाटको युगभित्र खिचातानी चारैतिर
आगो माथी घिउ थपी द्वन्द्व चर्काउन सिकायौ (गजल ३४ पृष्ठ ४०)
भाषा शैली र लय
गजलले पूर्णता पाउनको लागि माथी लेखिएका गजलका तत्वहरू (मिसरा, शेर, रदिफ, काफिया, मतला र मकता)को प्रयोग राम्रोसँग भएको हुनु पर्दछ । गजलका तत्वहरूको राम्रोसँग संयोजन र प्रयोग गर्न सकिएन भने गजलले पूर्णता पाउन सक्दैन । पाण्डेजी गजलका नियमसँग पूर्ण सहमत देखिनुहुन्छ । पाण्डेजीले गजलका शेरहरूमा प्रयोग गर्नु भएको भाषा सरल छ, सहज छ र मिठासपूर्ण भाषाको प्रयोग गर्नु भएको छ । गजल भित्र नेपाली समाजले प्रयोगमा ल्याइएका उखानटुक्राहरूलाई गजलमा कलात्मकरूपमा प्रयोगमा ल्याउनु भएको छ र पाण्डेजीले गजललाई जीवन्त प्रदान गर्नु भएको छ र बिचार र चिन्तनको कमी पनि छैन । गीत लेखनमा पनि आफूलाई सरिक बनाउने पाण्डेजीका गजल लयात्मक र गायत्मक छन् । गजलसङ्ग्रहमा प्रयोग गरिएका केही उखान-टुक्राहरूलाई उदाहरणका रूपमा हेर्न सकिन्छ – समयले कसैलाई पर्खदैन, यौवन र बग्ने खोला फर्कदैन, घाँटी हेरी हाड निल्नु, मौका मिले चौका हान्नु आदि थुप्रै उखानहरू सरल र सहजरूपमा प्रयोगमा ल्याइएका छन् जस्को कारण कृतिले उच्चाइ लिएको छ ।
गजलमा विविधता
पाण्डेजीको यो गजल कृतिमा विविधता छ र समालोचकहरूले विविध दृष्टिकोणबाट अध्ययन गर्न सकिन्छ । नारीवादी र राष्ट्रवादी चिन्तनको साथै प्रेमप्रणय, सामाजिक विकृति, सीमा अतिक्रमण गरिब धनी बीचको खाडल, गरिबीले चिच्चिएको, शोषणले र सामन्तबाट मिच्चिएको, अधेरोले छोपिएको, माटो, बाटो, आशा–निराशाको पाटोको दुखाई अभावग्रस्तता, घात–प्रतिघात, अन्यौल, कानुनलाई हातमा लिने प्रबृति, कानुनमा कालोकोट, प्रकृति, समयको निरन्तरता, देशको द्वन्द्व र बन्दुकको पड्काई, दयामाया, करुणा, जीवन जगत र ज्ञानप्राप्ति भन्दा बमबारुदको बोकाई, टाउकाको गन्ती, गुटबन्दी आदि धारणा भावनालाई प्रथमिकताका साथमा उठान गरिएका भावपूर्ण अभिव्याक्तिले भरिएको छ गजलसङ्ग्रह । प्यास साहित्य प्रतिष्ठानका अध्यक्ष दीपसागर प्यासीले प्रकाशकीयमा लेख्नु भएको छ – ‘ विविध विषयमा संरचित यी गजलहरूमा जीवनको हर्ष/विस्मात, आशा/निराशा, आँसु/हाँसो, प्रेम/घृणा आदि विषयलाई कलात्मक ढंगबाट चित्रण गरिएको छ ।’
केही गजलका शेरहरूलाई अध्ययन गरौं –
बिराएको बाटो खोज्न कति गाह्रो रहेछँ
जिन्दगी बुझ्दाखेरी यमराजको उधारो रहेछ (गजल १३, पृष्ठ १९)
समयले कसैलाई पर्खदैन भन्छन्
यौवन र बग्ने खोला फर्कदैन भन्छन् (गजल १, पृष्ठ १)
तामस भोजन, माछामासु सुन्दरी र सुरा
कुकर्मको भारी बोकी धामका कुरा गर्नु बेकार (गजल४२, पृष्ठ ४८)
नरीवादी चिन्तन
नरीवादी चिन्तनमा पनि गजलकार सचेत देखिनु भएको छ । आधा आकाश ढाकेका महिलाहरूको जीवन कष्टकर त छँदैछ साथै नारी माथिको दमन, शोषण ठूलो छ । नारी उत्थानका नारा केवल नारामा नै सीमित छन् । बास्तवमा नारीमा प्रवल शक्ति छ, । नारीमा सुन्दरता, कोमलता, घर निर्माणका भारी सजिलै वहन कर्ताको साथ साथै रक्तकाली र क्रान्तिकारी महान गुणले ओतप्रोत हुँदाहुँदै पनि समाजले पाउको जुता सम्झने, बजारमा बनारसी सारी सरह किनबेच गर्न मिल्नेको अवधारणासँग गजलकार सहमत हुनुहुन्न । गजलकारको नारीप्रतिको भावना र धारणा आदरणीय छ र अनुकरणीय छ –
जे–जे संज्ञा दियौ हिजो अव दिन मिल्दैन है
खबरदार है शोसकहरू नारी रक्तकाली हो यो
दबिएर कति बस्ने मुक्ति खोज्ने बेला आयो
दविएर बस्दिन है नारी क्रान्तिकारी हो यो (गजल ३६, पृष्ठ ४२)
अतः गजलकारले समयलाई चिनेर, सामाजिक विकृतिलाई छानेर, गजलको अवधारणलाई जानेर, राष्ट्र राष्ट्रियताप्रति सचेत भएर गजलको निमार्ण गर्नु भएको छ । सुन्दर भाषाशैलीको प्रयोग छ । गजल पठनीय अनुकरणीय छ । सफल गजलकारीताको लागि गजलकारलाई धन्यवाद दिंदै लेखनकर्म निरन्तर अघि जाओस् भन्दै विदा माग्दछु ।
धन्यवाद
सदानन्द अभागी
कावासोती शान्तिचोक, नवलपरासी
२०६९/५/२४