Skip to content


बास्ना नै नआउने त्यो प्लाष्टिकको रातो गुराँसको फूल केवल फूल मात्र हो । त्यो फूल सजाउनलाई हो तर कालो केश होइन न हो हरिया पाखाहरू । त्यो त टेवल सजाउनलाई मात्र हो अनि टेवल माथिको फुलदानी । त्यस फूलको न कुनै रंग हुन्छ न कुनै स्वाद न त कुनै सुगन्ध तर मूल्यवान छ त्यही । त्यही फुलको छ बजार त्यसैको चर्चा अनि त्यही फूल छ सुन्दर । कतिका पेट भराएको छ त्यही प्लाष्टिकको गुराँसले उफ् ! त्यो डाँडा पाखामा फुल्ने गुराँस खैत त्यसको महत्व ? सुगन्ध छर्छ आफ्नो बैंस फुलाएर बोटमा तर कसलाई छ र सुँघ्ने फुर्सद गएर त्यो जंगलको बीचमा । आज टिप्यो भरे ओइलाइजान्छ, खोइ त त्यसको आयु ? बरु त्यही टेबलको गुराँस कति जाती, कति सुन्दर । शोभा बढाएको छ कोठाको अनि हासेरै स्वागत गरेको छ अतिथिको । आजकल यस्तै कृतिम फूलहरूमा जीवन देख्छ मान्छे अनि प्रेम खोज्छ मान्छे ।

दाइ भाडा दिनोस् न। कण्डक्टरको चर्को आवाजले म झस्किदै बोल्छु– कति हो ?

कहाँ पुग्ने दाइ ?

नारायणगढ ।

४७५ दिनोस् न।

अलि बढी भएन र ?

यति नै हो दाइ डिजेलको भाउ बढेको छ अनि प्यासेन्जर पनि कम छन् – उसले आफ्नो विबशता पोख्छ । धेरै विवाद गर्ने पक्षमा म हुँदिन, चाहन्छु ऊ त्यहाँबाट छिटो जाओस् । म नबोली उसलाई पुरै पैसा दिन्छु । हिड्ने बेलामा हातमा लिएको पैसा मिलाउँदै ऊ म तर्फ नहेरी बोल्छ–लामो बाटो टिकट काटेको भए राम्रो हुन्थ्यो । हो त टिकट काट्नु पर्ने मेरो सुद्धि कहाँ हराएछ । म उसलाई पुलुक्क हेर्छु, आँखा चार हुन्छन र मनमनै धन्यवाद दिन्छु टिकट काट्नु पर्ने सुझाब दिएकोमा । अचानक ड्राइभरले झ्याप्प ब्रेक लगाउँछ सायद अगाडी कुनै व्यक्ति/बस्तुले बाटो काट्न खोज्यो, यो मेरो अड्कल थियो । म अघिल्लो सिटमा ठोक्किन पुग्छु, झण्डै मारेको। । मनमनै ड्राइभरलाई गाली गर्छु–गाडी छिटो गन्तव्यमा पुर्याएर कुन भट्टीमा गएर मोज गर्ने बिचार होला । ड्राइभर भर्खरको देखिन्छ । अरु यात्रुहरू पनि ड्राइभरलाई गाली गर्छन् । एकछिन हल्लाखल्ला बढ्छ र हराउँदै जान्छ । जाडोको समय छ, विस्तारै झ्यालको सिसा खुल्छ र चिसो हावा भित्र पस्छ । म सिसा लगाउँछु । सुनसान छ सबै आफैमा ब्यस्त छन् तर म आफ्नै छट्पटीमा हुन्छु । संगैको सिटमा एकजना भद्र व्यक्ति छन् । केही बोल्न खोजे जस्तो देखिन्छन । म उनीतर्फ नजर लगाउँदीन, मेरो अवस्था देख्दा उनले सोचेहोलान् म ठूलो संकटमा परेको छु । हो म ठूलो संकटमा छु, ठूलो सोँचमा छु । जीवन त्यही फूल त रहेछ जुन झर्नका लागि फुल्छ अनि ओइलाउनकै लागि टिपिन्छ । साँच्चै टेबुलमा सजिने फूल जस्तै जीवन भए धेरै समय टिक्थ्यो होला तर जीवन पाखामा फुल्ने गुराँस रहेछ कति बेला फुल्छ र कतिबेला झर्छ पत्तै हुँदैन ।

त्यतिबेला मेरो बसाइ चितवनमानै थियो । उनको र मेरो भेट पनि त्यही भएको थियो सरस्वती मार्फत । सरस्वती मेरो बहीनी अर्थात फूपुको छोरी, उनी बिमला अर्थात् सरस्वतीको साथी । उनीहरू खुब मिल्थे । दुवैको चुइगम चबाउने बानि अनि म अर्थात् मेरो चुइगम चपाएको देख्दा पनि रिसाउने बानी । उनीहरू सँधै चुइगम चपाउथे, म सँधै रिसाउथे । म रिसाउनकै लागि उनीहरू चपाउथे त्यो त मलाई थाहा थिएन । बस यत्ति थाहा थियो मेरो नजरमा ती दुवै जना चुइगम प्रेमी हुन् । सरस्वती अली फरासिलि तर बिमला केही भाबुक । बिमला म सँग बोल्न लजाउथी र त्यत्ति धेरै बोल्न खोज्दीनथी । दुवैले १२ कक्षाम पढ्थे, पढाइमा बिमला अब्बल नै थिई । प्रायगरी हाम्रो भेट भइ रहन्थ्यो किनकि म सरस्वतीको कोठामा जान्थे । उनीहरू सँगै बस्थे । एक पटक म उनीहरूको कोठामा जाँदा बिमला एक्लै थिई । खोइ सरस्वती रु मेरो ठाडो प्रश्न थियो बिमलालाई । बजार गएकी छ–बिमलाको छोटो उत्तर थियो । हुन्छ अहिले म जान्छु भन्दै ढोकाबाट फर्किन लाग्दा बिमला बोलेकी थिई –आउनोस् न अब सरस्वती आइपुग्छे । म त्यही अडिन्छु अनि फर्केर कोठा भित्र पस्छु । यहाँ बस्नोस्–उसले किताब उठाउँदै खाट देखाउछे । म खाटमाथि गएर बस्छु । बिमला चिया बनाउन लाग्छे । म कोठाको चारै तिर नियाल्छु, नियाल्नु पर्ने विशेष कुरा केही थिएन तैपनि औपचारीकता पुरा गर्नु थियो मलाई । दाइको नाम के रे रु बिमला कपमा चिया खन्याउँदै बोल्छे । हुँ। झस्कीन्छु म, तिमीलाई मेरो नाम थाहा छैन र रु मेरो प्रश्न थियो बिमलालाई । बिमलाको अनुहारमा कालो बादल मडारिन्छ, मलाई लाग्छ उसको यो बोल्ने बहाना मात्र हो । त्यतिबेलासम्म मेरो हातमा चियाको कप हुन्छ । म चिया पिउदै बोल्छु–तर मलाई तिम्रो नाम थाहा छ ।

कस्ले भनेको ? बिमला म तर्फ हेर्दै बोल्छे ।

सरस्वतीले–म पनि उसलाई हेरेरै बोल्छु । अब बिमला म सँग खुलेर बोल्न थाली सकेकी थिई, त्यसैबेला उसले भनि–मलाई पनि सरस्वतीले भनेकी ।

के भनेकी सरस्वतीले – म प्रश्न गर्छु ।

तपाईको नाम ।

ए हो र अनि किन सोधेकी त मलाई ?

के – बिमला छोटो प्रश्न गर्छे म सँग । मेरो नाम – म चिया पिउँदै उसलाई हेर्दै बोल्छु । अकस्मात बिमलाको अनुहार अध्यारो हुन्छ, चिया पिउन छोडेर खुट्टाको बुढि औंलाले भुइ कोतर्न थाल्छे । सायद उसले मलाई सोधेको प्रश्न नै भुली नत्र त्यसरी जानेर गल्ती गर्ने थिइन बिमला । ल । ल । सबै जना खाना खान झर्नुहोस्। । गाडी खाना खानको लागि होटल अगाडी लगेर रोक्दा खलासी भाइ कराउँदै रहेको समय रहेछ त्यो । यसोघडी हेर्छु १२ बज्नै लागेको रहेछ, कति छिटो ल्याईपुर्याएछ कुश्मादेखि १२ विसे १ त्यति बेला सँगै सिटमा रहेका मित्र गाडीबाट झरीसकेका हुन्छन् भने अरु यात्रुहरू पनि झर्ने क्रम जारी रहन्छ । मलाई केही खाने मन हुँदैन तैपनि गाडी बाट झर्छु र एउटा पसलमा गएर फ्रुटी किन्छु अनि सिधै सिटमा आएर बस्दै फ्रुटी पिउन थाल्छु । मान्छेले सोचेको सबै पुग्ने भए व्यर्थै किन रुन पथ्र्यो र ? आखिर रुनकै लागि त जन्मिदो रहेछ मान्छे, पिडाकै लागि अनि संघर्षकै लागि जन्मिदो रहेछ मान्छे । हाँसो सुख त केवल पाउन हुन् जो आउँछन् अनि क्षणभरमै हराउँछन्, ।

अचानक एक दिन एउटा नयाँ नम्बरबाट फोन आएको थियो । मोबाइलमा फोन गठाएको पनि थिए तर पनि कोही केहि बोलेको भने होइन । हाम्रो देशमा अहिले समस्या नै यही छ, फोनको घण्टि जान्छ उठाउँदा केहि बुझिदैन । फोन काटेर पुन त्यही नम्बरमा डायल गरे, फोन उठ्यो तर कोही बोलेको आवाज सुनिएन भनौ कोही बोलेन । त्यो दिन त्यत्तिकै भयो, मैले पनि केहि वास्तागरिन आफैमा व्यस्त भए । केही दिनको अन्तराल पछि फेरि त्यही नम्बरबाट फोन आयो । फोन उठाउदै हेल्लो भने तर उताबाट कसैको आवाज आएन । यसो बिचार गरे र झट्ट बोलेको बिमला हो, सञ्चै छौ, बिमला ?

हजुर…. अकस्मात उताबाट मधुर आवाज आयो । अवत मैले चिनिहाले, फोन गर्ने अनि नबोल्ने व्यक्ति त्यही बिमला रहिछ ।

सोधे– आरामै छौ ?

हजुर आरामै छु अनि तपाईनी ? उताबाट आवाज आयो

म पनि आरामै छु अनि भन क छ खबर ?

ठिकै छ आजभोली कता हराउनु भो भनेर सम्झेकी मात्र ।

ए म अलि व्यस्त छु अहिले अलिदिनपछि आउछु तिम्रो कोठातिर ल अहिले फोन राख, हुन्छ भन्दै उसले फोन काट्छे । पागलीकेटी लाज र डर मान्छे म सँग यति भन्दै म एक्लै हासेको थिए त्यो पल । अचानक गाडीको हर्न बज्छ, म झस्किन्छु र यसो हेर्छु सबैजना खानाखाइसकेर ड्राइभरले गाडी स्टार्ट गरेको रहेछ । एकैछिनमा गाडी मोडिन्छ नारायणगढ तर्फ म भने बिमलालाई नसम्झि बस्न सक्दिन । त्यतिबेला बजारमा ग्यासको अभाव थियो । विहानभरी ग्यासको खोजीमा बजार चहारेको थिए तर कतै पाइएको भने होइन । निराश र थकानले गर्दा कोठामा आएर एक गिलास पानी पिएर पल्टिएको मात्र के थिए अकस्तमात मोबाइलको घण्टि बज्यो । हेरे, बिमलाको रहेछ । केहिदिन पहिले बिमलासँग मोबाइलमा कुरा गरेपछि उसैको नाममा उक्त नम्बर सेभ गरेको थिए । आज चिन्नलार्य कुनै गाह्रो भएन र फोन उठाउदै बोले–बिमला…..। उताबाट बिमला बोली आम्मै ! मलाई कसरी चिन्नु भो ? त्यतिबेला मैले भनेको थिए म पनि तिमीलार्य सम्झिरहेको थिए र तिम्रो फोन आइदिए हुन्थ्यो भन्ने थियो मनमा अचानक तिम्रो फोन आयो, अनि तिमी बाहेक अरु को छ र मलाई सम्झिने । बिचैमा बोलेकी थिई बिमला–खाना खानु भो ? नाइ, हेरन ग्यास सकिएछ । बिहानभरी खोज्दा पनि कतै पाइएन अनि त्यसै कोठामा बसी तिमीलाई सम्झिएको । अफ्ठ्यारो नमान्ने भए आउनुन म खाना बनाउँछु सँगै खाउँला । भो तिमीलाई दुख हुन्छ नि । के को दुख हुनु म पनि एक्लै छ, सरस्वती हिजो घर गएकी आइपुगेकी छैन । तपाई आए मलाई पनि सजिलो हुन्छ आउनुन प्लिज…..? उसको अनुरोध पछि म बोलेको थिए हुन्छ ल म आउछु भन्दै फोन राखे । के खोज्छस् कानो आँखो भएको थियो मलाई र म तत्काल कोठाबाट बाहिर निस्कन्छु । बजारबाट तरकारी लिएर सिधै बिमलाको कोठामा पुग्दा बिमला कोठा बाहिर उभिएकी थिई । मैले अनुमान लगाइहाले र मनमनै भने ऊ मेरै प्रतिक्षामा छे । बिमला कोठा भित्र गइ, म पनि ऊ संगसँगै भित्र पसे । तरकारीको झोला टेबलमाथि लगेर राखे अनि सिधै खाटमाथि गएर बसे । यसपटक भने बिमलाले मलाई बस्ने ठाउँ देखाउनु परेन । ऊ पनि म सँग खुलेर बोल्न थालिसकेकी थिई किनकि मेरो मनले उसलार्य जितिसकेको थियो भने ऊ पनि जित्ने प्रयासमा थिई ।

के ल्याउनु भएको झोलामा ? झोलातर्फ फर्केर बिमलाले बोल्छे ।

तरकारी ल्याएको भन्दै उठेर झोलाबाट तरकारी बाहिर निकाल्छु ।

ल मैले त खाना बनाइसकेकी छु । हो र भन्या अनि म आउछु भन्नेविश्वास थियो तिमीलाई–म उसलार्य नहेरीकनै बोल्छु । आउनुहुन्छ भनेर त खाना बनाइसकेकी मैले, अब त्यो तरकारी काम लागेन । त्यतिबेलासम्म ऊ मेरो नजिक आइसकेकी थिई । मैले उसोको कुममाथि हात राख्दै बोल्छु–ल यो सबै तरकारी तिमीलाई । उसले उसकोकुममाथिको मेरो हात हटाउँदै केहि पछि हट्दै बोल्छे–ल खाना खाउँ भन्दै खाना पस्किन थाल्छे । मलाई केही असजिलो लाग्छ किनकि उसको कुममाथि हात राख्नु मेरो गल्ती थियो तर त्यो काम म जानेर गरेको थिइन । बिमला खाटमाथि पेपर बिच्छाउछे र मेरा लागि खाना लगेर त्यही पेपर माथि राख्छे । खोइत तिमीलाई ? मैले सोधेको हुन्छु ।

म पछि खान्छु पहिले तपाई खानु ।

हुँदैन, सँगै खाने आज हामीले । मेरो अगाडी उनी हार मान्छिन र खाना खान लाग्छिन् भने म खाटमा ।

कस्तो लाग्यो मैले पकाएको खाना ? उनी मलाई हेरेर बोल्छिन् । उनको प्रश्न पश्चात गिलासको पानी पिउदै बोल्छु–एकदम मिठो, त्यसमाथि यो गोलभेडा र भाँगो मिलार पिनेको चटनीले त सधैभरी सम्झाउने भो तिमीलाई अनि तिमीले मलाई बोलाई–बोलाई ल्याएर यसरी खुवाएको यो क्षणलाई त म झन चाहेर पनि भुल्न सक्दिन । त्यतिबेला बिमला निकै खुशी भैरहेको मैले देखिरहेको थिए । उसको अनुहारमा पूर्णेको चन्द्र देख्थे म । त्यसैबेला पुन बोलेको थिए म–अँ त्यसमाथि तिम्रो हसिलो मुहारले त झन मेरो निद्रा नै चौपट गराएको छ । यस पटक भने उसले मलाई विस्तारै हेरी हाम्रा आँखा चार भए । तत्काल उसले आफ्ना नजर मेरो अनुहाराट हटाइ र गिलास उठाएर पानी पिउन थाली । पेट भर्न पाएपछि त खुबप्रशंशा फुर्दोरहेछ यस्तै सोचीकी बिमलाले ? म आफैले आफैलाई प्रश्न गर्छु त्यतिबेला । यसपटक भने उसको अनुहारमा पहिलेको जस्तो चमक थिएन । अँ म अलि बढि नै बोले क्यारे तत्काल बिमला तर्फ फर्केर प्रशंग मोड्दै बोल्छु–अँ सरस्वती कहिले आउने रे ?

पिउँदै गरेको पानीको गिलास टेबलमाथि राख्दै बोल्छे बिमला – साँझसम्म आउछे होला …..।

त्यतिबेला मलाई कसैले अठ्याए जस्तो लाग्छ र मेरो एकाग्रता भंग हुन्छ । सँगै सिटमा बसेका मित्रले चिसो हावा भित्र छिरेको कारण झ्यालको सिसा लगाउन खोज्दै रहेछन् । सिसा तानेर मिलाएपछि म तर्फ हेर्दौ बोल्छन् – सरी…. तपाईलाई डिस्टर्ब गरे, के गर्नु त्यो चिसो हावाले सारै दुख दियो । केहि छैन भन्दै पुन म सिटमाथिको हेडसिटमा टाउको अड्याएर आँखाका परेला बन्द गर्छु । आखिर यात्रा रहेछ जिन्दगी जसको कुनै गन्तव्य नै छैन । यो जीवन अनि यो यात्राको गन्तव्य मृत्यु नै हो तर तर मृत्युपछि पनि त यस्तै यात्रा नै होला । त्यो मृत्युलोकमा ? तर यो मनुष्यलोकको जीवन त यौटा यात्रा नै हो जुन यात्रा गर्दाकहिले हुरीसँगै रुमलिनुपर्छ, कहिले चट्टानसँग गएर ठोकिनुपर्छ त कहिले पानी झैं बग्नुपर्छ । हामी यात्राको बिचमा गएर अलपत्र परेका यात्रु हौं, हाम्रो यात्रा कहाँबाट शुरु भयो र अन्त्य कहाँ हुन्छ हामी अनभिज्ञ नै छौं

हुलेर गयौ हावा र हुरी दिलको झ्याल खोलेर,
क्षणभरमै जीवन खरानी भयो विछोडले पोलेर ।

डाँडाको जुन झैं यो मेरो जीवन हरे के गति भो
नहुँदा तिमी झन् शून्य मन सहन अति भो

उसले अर्थात् बिमलाले कविता वाचन गरिसकेर स्टेजबाट आई आफ्नो स्थानमा बसिसक्दा पनि म भने त्यही कविताको पद्यांशलाई सम्झेर ताली पिटिरहेको थिएँ । ओइ के गरेको तिमी ? बिमलाले मलाई कोट्याउँदै बोल्दा म झसङ्ग हुन्छु र बिमलातर्फ फर्किन्छु । बिमला म तर्फ फर्केर हाँस्दै थिई । म भने चारैतिर नजर लगाउँछु । त्यतिबेला स्टेजमा उभिएर कविता वाचन गर्दै थिए एक युवक र सबैको ध्यान आफूतर्फ खिच्नमा व्यस्त पनि देखिन्थे । त्यस दिन म बिमलाको अनुरोधलाई स्वीकार गरी चितवनको एउटा काव्यगोष्ठीमा पुगेको थिएँ र त्यस दिनभर मलाई बिमलाले वाचन गरेको माथि उल्लेखित कविताको पंक्तिले मन छोइरह्यो । साँच्चै कहिलेदेखि यस्ता हृदयस्पर्शी कविताहरू लेख्न थाली बिमलाले ? प्रश्न मभित्रै दबिन्छ । घरिघरि म बिमलातर्फ नजर घुमाउन पुग्दा उसले पनि मलाई नै हेर्न पुग्थी । हाम्रा आँखा चार हुन्थे र मुस्कुराउँथे पनि । हामी त्यस काव्यगोष्ठीमा उपस्थित भएर सँगै बसेका थियौं । हाम्रो मन भनौं मेरो मन बिमलाप्रति समर्पित थियो भने उसको मन पनि म प्रति नै समर्पित छ भन्ने अनुमान लगाउन मलाई कठिन थिएन । सबैको नजर छली म टेबलमाथि रहेको उसको हातका औंलाहरू नजानिँदो पाराले थिच्न पुग्थें भने उसले पनि मलाई चिमोट्न पुग्थी। यसरी लुकामारी खेल्दै तरङ्गित भएका थियौं हामी त्यस कार्यक्रमको अवधिभर । हामीलाई कुनै हतार थिएन तर समयलाई हतार भएछ क्यार रातको ८ बजेतिर काव्यगोष्ठी समापन भयो । सबैसँग बिदा भएर सबैजना बाहिरियौं । ऊ र म सँगैथियौं । सँगै हिँड्दै गर्दा खाना खाने विचारले एउटा होटलमा छिर्यौं । खाना खाएर बाहिर निस्कँदा रात छिप्पिईसकेको थियो । दुई मुटु एक अर्कामा समर्पित थियो । मैले उसका हातका दुई औंलाहरू समातेको थिएँ । चकमन्न अँध्यारो थियो । तर पनि बाटोबाटोमा बिजुलीका खम्बाहरूमा बलेका बत्तीहरूले अँध्यारो हटाउने प्रयास गरिरहेका थिए । मनभित्र उकुसमुकुस भइरहेको थियो । उफ् कति अँध्यारो, अब के गर्ने होला ? सुनसान समयलाई भङ्ग गर्दै म बोल्छु । हो त नि कसरी पुग्ने होला कोठामा ? मेरो समर्थन गर्दै र मलाई हेर्दै बिमला बोल्छे । अँध्यारो छ भन्ने हामी दुबैलाई थाहा छ तापनि दुबै जनाले थाहा नपाए झैं समस्या पोख्छौं ।

कहाँ गएर सुत्ने हो बिमला ? म बिमलातर्फ फर्केर बोल्छु ।

बिमला मलाई नसुने झैं गर्छे । हामी हिँडी नै रहन्छौं । त्यसैबेला म रोकिन पुग्छु । बिमलाको हात मैले समातेको कारण ऊ पनि रोकिन पुग्छे । अलिक नजिक सर्दै म बोल्छु–बिमला । ऊ चुपचाप मलाई हेरिरहन्छे । म उसका हातका औंलाहरू जोडले अँठ्याउँदै बोल्छु–बिमला आज मेरो कोठामा जाऔं ? मैले यति भन्दै गर्दा मेरो मुटु काँपिरहेको म अनुभव गर्छु । उसले कुनै प्रतिक्रिया दिन चाहँदिन । पुनः म बोल्छु–बिमला यति राति भो अब तिमीलाई पनि कोठामा पुग्न गाह्रो हुन्छ, जाआँैं मेरो कोठामा । भोलि सबेरै उठेर फर्किए हुन्छ…….जाऔं भन्दै विस्तारै मेरो हात उसको कम्मरमाथि लगेर राख्छु .।

“भो म त जान्न, फेरि सरस्वतीले थाहा पाइ भने के भन्छे मलाई ? तपाइँ जानु म मेरो कोठामा……” बिमलाको कुरा बीचैमा काट्दै बोल्न पुग्दछु म– “ल के भन्ने सरस्वतीले ? यस्तै बेला त हो नि साथी भनेको काम लाग्ने । सरस्वतीले तिमीलाई केही भनिछ भने म सम्झाउँछु उसलाई तर तिमीलाई एक्लै छोड्दिन म । कि जाऔं हिँड तिम्रो कोठामा, म पनि तिमी सँगै जान्छु ।”

“भो पर्दैन मेरो कोठामा जान”, मेरो प्रस्ताव इन्कार गर्छे बिमला । “त्यसो भए जाऔं मेरो कोठामा भोली सबेरै फर्के हुन्छ”, यति भनेर बिमलाको हात आफूतिर तान्छु र दुबैजना मेरो कोठातर्फ लाग्छौं। गेटमा पुग्दा हामी आएको चाल पाएर भित्रबाट कुकुर भुक्छ । म उसलाई सम्बोधन गरी बोलाउँछु–पप्पी…..। मेरो बोली सुनेर पप्पी भुक्न छाड्छ । हामी विस्तारै भित्र पस्छौं, म गेट बन्द गरिदिन्छु । पप्पी हाम्रो नजिक आइपुग्छ । म उसलाई मुसार्छु । ऊ पुनः फर्केर आफ्नो ठाउँमा गएर बस्छ । त्यतिबेला सम्ममा हामी ढोका खोली कोठाभित्र पुगिसकेका हुन्छौं । म भित्रबाट ढोका लगाउँछु र बत्ती बाल्छु । बिमला ढोका नजिकै उभिएकी हुन्छे र हातका औलाका नङहरू खेलाइरहेकी हुन्छे ।

“आऊ बिमला बस….” म कमिजको टाँक खोल्दै बोल्छु । सायद कहाँ बस्ने भन्ने थाहा नभएर हो क्यार बिमला ढोकानेरै उभिइरहन्छे । म विस्तारै बिमलाको हात समाउन पुग्छु र तानेर खाटमाथि बसाउँछु । बिमलाको त्यो आगमन मेरो त्यस कोठाको लागि पहिलोपटक थियो शायद त्यसैले होला उसलाई केही अप्ठ्यारो भएको अनुभव गर्छु म । बिमलालाई खाटमाथि बसाउँदै गर्दा म पनि बिमलाको सामुन्ने भुइँमा बसिसकेको हुन्छु तर पनि बिमलाको हात भने समातिरहेको थिएँ मैले ।

“यतै माथि बस्नु न” भन्दै बिमला अलि पर सर्छे । हैन ठीक छ भन्दै म आफ्नो शिर लगेर बिमलाको घुडामाथि राख्दै बोल्छु–बिमला तिमीलाई कुनै अप्ठेरो भएको त छैन नि ?

बिमला छ/छैन केही पनि बोलेकी हुन्न त्यसबेला । मैले समातिरहेको उसको दाहिने हात मेरो शिरमाथि ल्याएर राख्छु र विस्तारै उसको हातका औंला टोकिदिँदै बोल्छु– “बिमला तिमीले आज मेरो मन छुने हृदयस्पर्शी कविता वाचन गर्यौ, तिमीले पनि यस्ता हृदयस्पर्शी कविता लेख्छौ भन्ने आज पहिलोपटक थाहा पाएँ । मेरो कुराले बिमला मात्र हाँस्छे । ऊ हाँस्दा बत्तीको प्रकाशले गर्दा पुष्ट गाला टल्किन थाल्छन् । म एकोहोरो भई उसका पुष्ट गाला हेरिरहन्छु । आज म उसलाई केही भिन्न देख्न थाल्छु । मेरो त्यो एकोहोरो हेराइमा बिमला केही लजाउँछे । रात छिप्पिँदै थियो । सुनसान समय, दुई प्राणि एक बन्दकोठामा केही व्यक्त केही अव्यक्त शैलीमा कुराहरू गरिरहन्छौं । “अब त सुतौं भो” निद्रा लागेको अनुभव गर्छु र बोल्छु म । बिमला कुनै प्रतिक्रिया नदिएरै बस्छे । ऊतर्फ फर्केर बोल्छु–“बिमला भोलि चाँडै उठ्नुपर्छ अब त सुतौं होला….. कि नसुतौं ?” मेरो कुराले बिमला मात्र हाँस्छे । मलाई थाहा थियो कि कहाँ सुत्ने अनि कसरी सुत्ने भन्ने समस्या छ उसलाई । त्यसबेला उसलाई सजिलो र खुशी तुल्याउन म बोल्छु– “बिमला तिमी खाटमा सुत म यहीं भुइँमा सुत्छु ल….।” मैले यति भन्दै गर्दा उसले आफ्ना हातले मेरो शिरको कपाल विस्तारै खेलाउँदै बोल्छे “होइन भुइँमा म सुत्छु ।” र अन्त्यमा दुबैजना भुइँमा ओछ्यान लगाई सुत्ने निर्णय गर्छौं । म खाटबाट उठाएर भुइँमा ओछ्यान तयार पार्छु र ओछ्यानमा पल्टिन्छु । बिमला भने खाटको एक छेउमा बसेर मलाई हेर्दै हाँसिरहन्छे । “ए लाटी नसुत्ने ?” म बिमलातर्फ फर्केर बोल्छु । अहँ…. भन्दै टाउको हल्लाउँछे बिमला । म उठेर बत्ती निभाएपछि बिमलाको हात समाउँदै ओछ्यानतर्फ तान्छु ।

बिहान अबेरसम्म सुतिरहेको थिएँ, भाई ! भाई ! भनेर घरबेटी दिदीले कोठामा आएर बोलाउँदा अचानक झस्केर ब्युँझन पुग्छु । घरबेटी दिदीले ढोकाबाट हेरिरहेकी थिइन र बोल्छिन् “आज गेट खुल्लै रहेछ, कसले खोलेछ भनेर सोध्न आएकी ।” उनको कुराले मेरो होसहवास उड्छ र तत्काल ओछ्यानबाट उठ्दै बोल्छु “ए हिजो एकजना साथी आएको थियो अनि बिहान सबेरै उठेर जाँदा गेट खुल्लै छाडेहोला ।” “ए म त रातभर खुल्लै भएछ कि भनेर” भन्दै घरबेटी दिदी त्यहाँबाट जान्छिन् । मेरो मुटु ढक्क फुलेर आउँछ, कतै दिदीले बिमला आएको थाहा त पाइनन् ? झटपट कोठाको चारैतिर नियाल्छु । कतै लुकेकी छ कि भनेर खाटमुनि पनि हेर्छु तर कतै पनि थिइन बिमला । सायद बिहानै उठेर गइहोला, त्यस्तै अनुमान लगाउँछु त्यतिबेला ।

एकदिन साँझपख बाहिरतिर घुम्न निस्केको थिएँ, बाटोमा सरस्वतीसँग भेट भयो ।

‘कता गएर आएकी ?’ सरस्वतीलाई सोधेको थिएँ मैले ।

‘बजार गएर आएकी दाइ’ भन्दै सरस्वती हाँस्दै थिई ।

‘किन हाँसेकी ?’ सरस्वती हाँस्दै गर्दा मैले सोधेको थिएँ । ‘ल हाँस्न पनि नपाउने म ?’ भन्दै झन् हाँस्दै थिई सरस्वती। म नबोली आफ्नो बाटो लागेको थिएँ त्यतिबेला । ‘लौ मारी……..’ बिमलाले केही नभनीकन त सरस्वती यसरी नहाँस्नु पर्ने हो ? भनेर पो के गर्छे र यसले आखिर रुम पार्टनर त हुन् नि, मनका कुरा एक अर्कासँग नसाटेर को सँग साट्ने त ? यस्तै अनुमान लगाउँछु त्यतिबेला ।

त्यसपछिका दिनमा बिमला र मेरो भेट बिरलै हुने गथ्र्यो । कहिले काहीँ उसैले फोन गर्थी र भन्थी–‘किन हो आजभोलि त पराइ हुन खोजे जस्तो छ नि,……. छुच्चो मान्छे ।’ म त्यसै हाँसेर टारिदिन्थें । मेरो हँसाइले बिमलाको चित्त बुझ्थ्यो या बुझ्दैनथ्यो त्यो त मलाई थाहा थिएन, तर जे होस हाम्रो भेट भने कमै हुन थालेको थियो । कहिले काहीँ एकान्तमा म बिमलालाई सम्झन्थें अनि उसले वाचन गरेका कविताका तिनै पंक्तिहरू बल लगाएर भए पनि सम्झने प्रयास गर्थें । एकदिन अकस्मात् बिमलाले फोन गरी । मैले फोन उठाउँदै हेलो भनें तर उताबाट कुनै आवाज आएन । मैले तत्कालै फोन गरेें तर पनि कोही बोलेन । तत्काल सरस्वतीलाई फोन गरेर सोधेँ–‘बिमला कता छिन् ?’

‘अस्तीदेखि घर गएकी हो अझै फर्केकी छैन’

मैले फेरि बिमलालाई फोन गरें, यसपटक भने बिमलाले फोन उठाई र बोली –‘म घर आएकी छु’

‘कहिले फर्कन्छ्यौ बिमला ?’ मैले हतारमा सोध्न पुगेको थिएँ त्यो पल ।

उसले कुनै जवाफ दिन चाहिन पुनः म बोल्न बाध्य भएँ ‘के भो बिमला, कुनै समस्यामा छौ र ?’

त्यतिबेला उसले भनेकी थिई –‘अँ घरमा मेरो विवाहको कुरो चलाएका छन्, म बाध्यतामा परेकी छु, बिहे गर्न के गरुँ ……. ?’ बिमलाको कुराले मलाई केही तर्साएको महशुस गर्छु र म तत्काल बोल्छु –‘तिम्रो बिहे गर्ने विचार भए गरे हुन्छ नि म के पो भन्न सक्छु र ?’ अकस्मात् बिचैमा उसले फोन काट्छे । मैले फेरि उसलाई फोन लगाउँछु तर असफल, त्यतिबेला उसको मोबाइलको स्वीच अफ भै सकेको थियो ।

म आफ्नै समस्यामा थिएँ । मेरो समस्या मुख्यतः गास, बास र कपासको नै थियो । जुन म जस्ता बेरोजगारीहरूको साझा व्यथा हुने गर्छ । के गर्ने अनि कसरी यस समस्यालाई कसरी पार लगाउने ? विदेश जाने कि स्वदेशमै सानो तिनो जागिर खाने ? म यस्तै समस्याभित्र रुमलिएको थिएँ । कहिले नारायणीको पुलमाथि गएर पुलमा ओहोरदोहोर गर्ने गाडी र मान्छे हेर्दैमा दिन बिताउँथे त कहिले चोकचोकमा देखाउने चटक हेरेर दिन बिताउँथे । यस्तै थियो मेरो दिनचर्या । अकस्मात् एकदिन सरस्वतीले फोन गरी र भनी –‘दाइ तपाइँलाई बिमलाले सम्झेकी छ ।’

उसको कुरा सुनेर म शुष्क हाँसो हाँसिदिन्छु र बोल्छु –‘मैले पनि त सम्झेको छु बिमलालाई।’ मेरो कुरा पछि सरस्वती केही झर्के जस्तो गरी बोल्न पुग्छे –‘ल दाइ पनि कस्तो मान्छे, कत्ति कुरा नबुझेको होला …… ’ म केही नबुझे जस्तो गरी बोल्छु –‘भन न त के बुझिन मैले ?’

‘दाइ सरस्वतीको बिहे हुँदै छ’

ए हो र ? मेरो पनि शुभकामना भनिदिनु ल !

अचानक सरस्वती झर्किंदै कठोर भावमा – ‘नाइँ म त भन्दिन तपाइँ आफैं फोन गरेर भन्नुस्’ भन्दै फोन काट्न पुग्छे । त्यसैबेला मैले बिमलालाई फोन गर्न पुग्छु, फोन नलागेको कारण पछि गरुँला भन्दै फोन राख्छु तर पछि त्यो दिन कहिल्यै आएन ।

अर्को दिन सरस्वतीले फोन गरेर भनी ‘दाइ म विहान तपाईको कोठामा गएकी थिए तर तपाई हुनुहुदो रहेनछ ।’

‘के काम थियो र सरस्वती ? म आज अलि टाढा छु।’ जवाफमा उसले भनेकी थिई–‘मेरो त खासै काम होइन, बिमलाले एक पटक तपाई सँग भेट गर्छु भनेकीले उसको साथी भएर गएकी, अँ दाइ बिमलाको पर्सि विहे हुँदै छ तपाईलाई पनि निम्ता छ रे, त्यसैले तपाई जहाँ भएपनि बिहेमा आउनु पर्छ रे, अनिनी दाइ बिमलाले भन्थि तपाई बिना ऊ कहिले पनि खुशी हुन सक्दिने रे ….. यति भन्दीनु है भन्दै बिमला आजै घर गई । म भोली बिमलाको घर जाने हो कि तपाई पनि भोली म सँगै जानुहुन्छ र दाइ ?’

त्यतिबेला मैले सरस्वतीसँग भनेको थिए–‘म भोली जान सक्दिन बरु म समय मिल्यो भने बिहेकै दिन आउछु ल, त्यही भनिदिनु बिमलालाई अनि बिहे कुन ठाँउमा हुदैछ सरस्वती ?’

‘टाँडी भन्ने ठाउँमा होरे दाइ अनि तपाई जसरी भएपनि आउन पर्छ है’ भन्दै फोन राख्न खोज्दै गर्दा पुनः हतारिएर बोलेकी थिई–दाइ सुन्नुहोस्त ?

‘अ भन के भो सरस्वती?’

‘दाइ बिमलाले तपाईका लागि भनेर यौटा चिट्ठी पनि छोडेकी छ । ’

हुन्छनी म तिमीसँग भेट भएर लिउला भन्दै म आफैले फोन राखेको थिए तर बिमलाको त्यस बिबाहमा भने म आफ्नै कारणले गर्दा उपस्थित हुन सकिन । त्यसले गर्दा म अलि दुखित नै थिए ।

एक दिन भरतपुरको उकालो चड्दै गर्दा सरस्वती सँग भेट भयो र शुरुमा उसैले मुख खोली– ‘तपाईलाई बिमलाले सोधेकी थिई । ’

‘एँ के भन्थी र सरस्वती बिमलाले मलाई ?’

‘तपाई त बाटो मुनिको सुगन्ध हिन फूल हो रे, दाइ जुन अब चाहेर पनि बिमलाले मन्दिरमा चढाउन सक्दिन ।’

सरस्वतीको त्यस्तो ठाडो कुराले मेरो मनमा एक प्रकारको कम्पन गराएको थियो तर पनि केही नबोली मात्र हाँसीरहेको थिए ।

‘दाइ तपाई पुलचोक भर्ने होइन ?’

खलासी भाइको आवाजले म झस्कँदै बोल्छु ‘हो’

‘अनि झर्नुहोस न त पुलचोक आइपुग्यो ’ म सिटबाट उठ्छु , संगैका मित्र त्यही बसिरहन्छन् सायद उनको झर्ने ठाँउ आइपुगेको थिएन । म बिस्तारै गाडीबाट झर्छु अनि सरासर अगाडी बढ्छु । एकमनले सोच्छु यतिलामो यात्रा गर्दा सँगैका मित्रले के सोचे होलान् ताकि त्यो यात्राको अवधिभर उनीसँग खासै कुराकानी भएन । म आफ्नै समस्यामा थिएँ भन्दैमा उनी सँगैको त्यो यात्रामा कुराकानीलाई औपचारीकताम पुरा गरेको भएपनि हुन्थ्यो नि ! म त्यसबाट पनि चुके । त्यतिबेला भने मलाई नरमाइलो लाग्यो । त्यतिबेलासम्म म संगमचोकमा आएर ट्याम्फुमा चढिसकेको थिए । ट्याम्फुमा पनि यात्रुहरूको भिड थियो धन्य मैले भने सिट भेटेको थिए । यात्रुहरू ओर्लने र चढ्ने क्रम जारि थियो ।

एक मनले सोचे सरस्वतीलाई फोन गरु, अर्को मनले सोचे अब आइपुगे एकै पटक भेट गर्छु। हिजो साँझ त हो उसले फोन गरेको मलाई । हिजो सरस्वतीले फोन नगरेकी भए सायद आजको यो मेरो यात्राको तयनै हुने थिएन। हतारमा यसरी हिडनै पर्ने बाँध्यता त थिएन मेरा लागि तर पनि सरस्वतीका कुराले मलाई यो यात्रा गर्न बाध्य बनायो र यो यात्राको सुरुवात भयो । धेरै पहिले बिमलाले लेखेको मेरो नाउँको चिठी पनि लिने बिचार गरेको थिएँ सरस्वती सँग तर त्यो चिठी सरस्वतीले आजसम्म राखेकी थिई या थिइन त्यो कुरा भने मलाई थाहा थिएन । त्यही चिठीका लागि भने मैले यो यात्रा गरेको थिइन । सरस्वतीले केही समय पहिले फोनमा भनेकी थिई ‘दाइ तपाई यता तिर नआउने ?’

‘कुनै काम परे आउलानी सरस्वती तर तत्कालको लागि भने आउने कुनै योजना छैन’ मैले यति भन्दै गर्दा सरस्वतीले फोन राखिसकेकी थिई पुनः मैले फोन गर्ने प्रयास गरिन ।

हिजो साँझ सरस्वती अलि हतार र हड्बडाएको जस्तो स्वरमा बोलेकी थिई ‘दाइ बिमला हस्पिटलमा छे, तपाईलाई खुब देख्न मन गरेकी छ एक पटक जसरी भएपनि बिमलाको इच्छा पुरा गराइ दिनुस् न दाइ, प्लिज दाइ मेरो अनुरोध छ ।’ सरस्वतीको कुरा पछि म पनि हतारमा बोलेको थिए ‘के भो र सरस्वती बिमलालाई ?’ उसले यसरी भनेकी थिई बिमलाको बारेमा – ‘बिमला अहिले मृत्यु सँग लडिरहेकी छ सायद मृत्युलाई त अब ऊ जित्न सक्दिन होला १ धेरै समय भै सक्यो ऊ ओछ्यान परेको, शरिर र अनुहार फुलेर चिन्नलाई पनि गाह्रो हुन्छ, सायद तपाईले देख्नु भयो भने पनि चिन्नलाई मुस्कील पर्छ । बाक्य बसिसकेको छ, इसाराले मात्र कुरा बुझ्छे । उसलाई ब्लड क्यान्सर भएको छ दाइ। धेरै डक्टर र हस्पिटलहरूमा पुर्याउँदा पनि निको हुन सकेन र अहिले भरतपुर क्यान्सर हस्पिटलमा मृत्युलाई पर्खी रहेकी छे । तपाई पनि भेट गर्न चाहनुहुन्छ भने आउनुहोस् दाइ अब बिमला हामी सँग धेरै दिन रहने अवस्था छैन ।’ सरस्वती रुन्चे स्वरमा बोलीरहेकी हुन्छे तर ‘बिमलालाई ब्लड क्यान्सर भएको छ, अब ऊ धेरै दिन हामी सँग रहने अवस्था छैन’ यो बाक्यले मलाई छट्पटी बनाउँछ र हड्बडाएको स्वरमा बोल्न पुग्छु ‘म भोली नै आउछु सरस्वती’ र भोली बिहानै बिमलालाई भेट गर्नको लागि भरतपुर क्यान्सर हस्पिटल सम्मको यो यात्रामा निस्केको हुन्छु ।

त्यतिबेलासम्म म ट्याम्पुबाट झरेर भरतपुर क्यान्सर हस्पिटलको गेटबाट भित्र छिरिसकेको हुन्छु । विरामी भेट्न जाने र भेटेर फर्कनेको भिड हुन्छ त्यस हस्पिटलको परिसर भित्र भने कोही रोइरहेका अनि कोही निराश मुद्रामा झोक्राइ रहेका हुन्छन् । त्यसैबेला कदमको फेदमा बसी शितल तापिरहेकी सरस्वती दाइ भन्दै कराउँदै म तर्फ दौडदै आउँछे र गल्र्याम्म अङ्गालो मार्छे । उसका आँखा रुदारुदा थाकेर ओभाए जस्ता अनि फुलेर राता भए जस्ता देखिन्थे ।

‘सरस्वती बिमला कहाँ छिन् त ?’ म एक्कासी सरस्वतीलाई सोध्न पुग्छु ।

‘बिमला १०३ नम्बरको बेडमा छ दाइ ।’

‘जाउँ न त हिड भेट गरौं’ मैले यति भनिरहँदा सरस्वती मलाई झन जोडले कस्न पुग्छे र बोल्छे ‘दाइ बिमलाले हामीलाई छोडेर गई’ सरस्वतीको कुराले अकस्मात रिङ्गटा लागेर आउँछ अनि त्यहीँ छेउको पेटीमाथि थचक्क बस्न पुग्छु ।

‘हो दाइ आज दिउँसो सबा एक बजे तिर उसले यस धर्ती छोडी । हिजो मात्र हो उसले सकी नसकी म सँग तपाईको कुरा गरेकी थिई र मैले उसको इच्छा पुरा गर्नको लागि तपाईलाई फोन गरेको थिएँ । हिजो राति नै तपाई हिड्नु भएको भए सायद उसले तपाईलाई देख्न पाउथी तर तपाईलाई देख्ने उसको इच्छा अधुरो नै रह्यो।’

सरस्वतीको कुराले मेरो हृदयमा कम्पन गराएको थियो । शरिर आफैलाई भारी भएको थियो, के के ले थिचिरहेको अनुभव गरिरहेको थिए । त्यति नै बेला भित्रबाट एक नर्सले स्ट्रेचरमा एउटा विरामी घचेट्दै ल्याई रहेकी थिई । उसका पछाडि तिन चार जना मानिसहरू देखिन्थे । एउटा बृद्ध महिला पनि थिइन् । मैले अनुमान लगाए ती महिला बिरामीकी आमा हुनु पर्छ । सरस्वतीले मलाई हेर्दै विस्तारै बोली ‘दाइ बिमला।’

मेरो मुटु काम्न थाल्यो, बिस्तारै उठे । त्यतिबेला बिमलालाई हाम्रो अघि ल्याई सकेका थिए । उसको अनुहार सेतो कपडाले ढाकीएको थियो । त्यहाँ कुनै रुवावासी थिएन मात्र सन्नाटा थियो । सबैका अनुहार मलिन र उदाश देखिन्थे । धेरै समयको पिडाले होला अनि भोगाइ र दुखाइले होला, रुदा रुदै आँशु सकिएर होला त्यहाँ कोही नरोएका – मैले यस्तै अनुमान लगाए त्यति बेला । बिमलालाई हामीबाट पर पुर्याई सकेका थिए । सायद मुर्दा घरमा लाँदैछन् होला । अब बिमला हामीबाट टाढा भै सकि र उसको मुर्दा शरिर पनि टाढा हुँदै छ । अकस्मात मेरा दुई रोशनीबाट आँशुहरू गुडुल्किन थाल्छन् । म सरस्वतीले नदेख्ने गरी पछि फर्केर आशु पुच्छु तर कहाँ लुक्थ्यो र आँशु ? सरस्वतीले हेरिरहेकी थिई । उसका पनि आँखा रसाउन शुरु गरिसकेका थिए । ‘दाइ’ भन्दै सरस्वतीले मेरो छातीमा आफ्नो अनुहार लुकाउँछे तर मैले भने मुर्दाघर तर्फ लगिरहेको बिमलाको त्यो मुर्दा शरिर हेरिरहेको हुन्छु आँखाबाट ओझेल नपरुञ्जेल ।

साँच्चै बिमला म बाटो मुनिको सुगन्धहिन फूल नै रहेछु, न कसैले टिपेर मन्दिरमा चडाउँछ न कसैले सुघ्ने प्रयास गर्छ । हो बिमला म तिम्रो मन भित्र फुलेर पनि सुगन्ध छर्न सकिन बरु तिमीले नै एउटा यस्तो नाता बल्झाएर गयौ जसलाई म कसरी भुलु ? बिमला र मेरो त्यो भेट नै अन्तिम भेट भयो जुन दिन हामी एउटा काब्य गोष्ठीमा उपस्थित भएका थियौं । त्यही दिन उनले बाचन गरेको कविता म अझै पनि गुन्गुनाई रहन्छु । त्यसै दिन हामी दुईले सँगै रात पनि बिताएका थियौं र त्यसदिन देखि हाम्रो भेट हुन सकेन र उनको बिबाहको निम्तो पाउँदा पनि म उपस्थित हुन सकिन । उनीसँगका विगतहरू एकएक गरी आँखा अगाडी नाच्न थाल्छन् । मलाई त्यहाँ बस्न मन लाग्दैन र त्यसै राति फर्कने बिचार गर्छु । सरस्वतीले भनेकी थिई – ‘दाइ आज हाम्रो घरमा जान पर्छ है, आमाले पनि तपाईलाई देख्न कस्तो मन गर्नुभएको छ’ तर मलाई त्यस चितवनमा बस्न मन लाग्दैन । त्यहाँ बसे भने बिमलाको याद अझ गडेर आउँछ, मलाई उसको सम्झनाले पोल्छ ।

यस्तै बिचार गर्छु र सरस्वतीलाई भन्छु –‘सरस्वती म अर्को पटक तिम्रो घरमा बस्ने गरी आउँछु तर यस पटक भने मलाई कर नगर ल !’

मेरा कुराले सरस्वती स्तब्ध बनेकी थिई ।

‘दाइ एउटा टिकट दिनुस् न’

‘कहाँसम्मको लागि हो ?’

‘बेनीसम्म जानु पर्ला’

‘बेनीसम्म जाने गाडी त छैन, यो गाडी बागलुङ जान्छ । तपाई यो गाडीमा गएर मालढुङ्गामा झर्दा हुन्छ ।’

‘त्यसो भए कुस्मा सम्मको टिकट दिनुस् ।’

मैले पैसा तिरेर टिकट गोजीमा राख्छु र सिटमा गएर बस्छु । यस पटक भने मैले सम्झेर नै टिकट काटेको थिए किनकि बिहान आउँदा कण्डक्टर भाइले लामो यात्रा गर्दा टिकट काट्नु पर्ने सुझाब दिएका थिए । गोजीबाट टिकट निकालेर हेर्छु र पुनः टिकट गोजीमा राख्छु । अचानक सम्झन्छु बिमलाले मेरा लागि भनेर सरस्वतीलाई दिएको चिठी, उफ् ! के काम रह्यो र त्यस चिठीको । तै पनि मेरा लागि लेखिएको चिठी बेवारीसे किन छाड्ने भन्ने बिचारले सरस्वतीलाई सम्झन्छु र मोबाइल झिकेर फोन लगाउने कोशीस गर्छु । अर्को मनले सम्झन्छु – भै गो धेरै पहिलेको कुरा, फेरि सरस्वतीले जतनसाथ नराखेकी पनि त हुन सक्छ । फेरि चिठी सम्झाउँदा सरस्वतीको मन दुख्न पनि त सक्छ । मोबाइल गोजीमा राख्छु र झ्यालको सिसा खोली बाहिर नियाल्छु । चारैतिर भिड, गाडीको भिड, पेटीमा मान्छे ओहोर दोहोर गर्ने र सामान किन्नेको भिड । त्यसैबेला परबाट एक हुल मान्छे यतै आउँदै गरेको देख्छु । हुल विस्तारै मेरो नजिक आइपुग्छ । मलामीको हुल रहेछ भन्ने अनुमान लगाउँछु किनकि दुई व्यक्तिले लास बोकिरहेका थिए । अचानक रिङ्गटा लागेर आउँछ । कतै यो मलामीको हुल बिमलाको लागि त होइन रु नभन्दै पछिपछि सरस्वती पनि महिलाहरूको समूहमा देखा पर्छे । म ती मलामी अनि त्यो लास हेर्न नसकी दुई हातले आँखा छोप्छु । त्यसैबेला काब्य गोष्ठीमा बिमलाले बाचन गरेको कविताको पङ्ति सम्झन्छु –

डाँडाको जुन झैँ यो मेरो जीवन हरे के गति भो ।
नहुँदा तिमी झन सुन्य मन सहन अति भो ।

गाडी कति बेला हिँडेछ पत्तै पाउँदिन, एकै पटक आँखा खोल्दा त रामनगर कटिसकेको थियो ।

घायलश्री पर्वत

Leave a Reply

Your email address will not be published. Required fields are marked *