Skip to content

यौन विकृति कि मानसिक असन्तुलन ?


घटना नं. १
केही वर्ष अगाडि एउटा विद्यालयमा अध्यापन गर्ने सिलसिलामा विद्यालयको नियम अनुसार विहान प्राय सिनियर कक्षाका विद्यार्थीहरूको झोला जाँच गर्नु पर्ने हुन्थो । त्यसैको सिलसिलामा जाँच गर्दै जाँदा विद्यालयमा ल्याउन निशेध गरिएका केही सामानहरू विशेष गरि आइपोड, फोन आदि केही विद्यार्थीले लिएर आएको पाइयो । एउटा विद्यार्थीको झोलामा केही भि.सि.डि. हरू थिए । सामान्य सोधपुछमा उसले साथीले दिएका हिन्दी सिनेमा हुन् भन्यो । उसलाई त्यत्तिकै छाड्ने बिचार आयो र आइन्दा यस्तो नगर्ने सर्तमा छाड्ने मनसायले उसँग बोल्न खोज्दैथिएँ, ऊ कामिरहेको देखेँ । सायद विद्यालयको अनुसाशित विद्यार्थी शिक्षकको कारबाहिमा पर्ने डरले कामेको होला भन्ने ठानी ती सामानहरू आफैसँग राखि विद्यालय छुट्ने बेलामा उसलाई दिने सर्तमा उसलाई कक्षामा पठाएँ ।

दिउँसो तिर कस्ता फिल्म बोकेको रहेछ भनी विद्यालयको सहायक प्रशासकलाई जाँच गर्न लगाएँ । ऊ पनि छक्क पर्‍यो र म पनि कारण ती कुनै हिन्दी सिनेमा नभइकन यौनक्रियाकलापमा लिप्त भएका व्यक्तिहरूको भिडियो रहेछन् ।

घटना नं. २
एउटा नजिकको साइनो पर्ने भाइ गाउँबाट विदेश जाने सिलसिलामा मेरो डेरामा बास बस्न आइपुग्यो । ऊ गाउँको सोझोमा गनिनेहरू मध्येको एक हो । उसको बोलिचाली, मिजास र रहनसहन पनि एकदमै सरल छ । कुनै पनि नयाँ ग्याजेट देख्ने बित्तिकै त्यसको बारेमा जानकारी लिइहाल्ने र चलाइ हाल्ने मेरो खराब आदतको कारण उसको मोबाइल पनि मागेर हेर्न थालेँ । गीतहरू धेरै राखेको रहेछ, भिडियो र फोटोहरूपनि धेरै रहेछन् । फोटोहरू प्राय अर्ध नग्न हलिउड र बलिउडका मोडलहरूका थिए । मलाई अचम्म लाग्यो त्यस्तो विकट ठाउँमा बस्ने एउटा केटोले कसरी त्यस्ता फोटोहरू हाल्यो ? म चकित त त्यो बेला भएँ की जब कोठा नै थर्किने आवाज आउने गरी एक महिला र पुरुष समागममा व्यस्त भएको भिडियो मोबाइमा प्ले भयो । म लाजले केही बोल्न सकिन कारण म परिवारको विचमा थिएँ । ऊ बाहिर गएको थियो, यसैले उसलाई यसको बारेमा केही थाहा थिएन । परिवारका अन्य सदस्यलाई पनि त्यो केको आवाज थियो भन्ने हेक्का भएन । हत्तपत्त बन्द गरेँ र फोन ऊ आएपछि उसलाई दिएँ । मलाई लाग्यो एकपल्ट उसँग कुरा गरौँ तर खै किन हो चुप लागेँ, ऊ भोलिपल्टै विदेसियो ।

यी माथि उल्लेखित घटना त प्रतिनिधि घटनामात्र हुन् । आजभोलि यौनलाई हाम्रो समाजले सहजरुपमा स्विकार गर्न थालिसकेको छ । मनोरञ्जनात्मक पत्रपत्रिकामा छापिने प्राय : अन्र्तवार्ता, लेख यौनसँग सम्बन्धित छन् । यसले कुन बाटो लिइरहेको छ ? भन्ने कुरा खुट्याउन गाह्रो छ ।

आजभोलि पत्रपत्रिकामा यौन हिँसा र बलात्कारका घटनाहरूसँग सम्बन्धित खबरहरू नछापिएको, टेलिभिजनमा प्रसारण नगरिएको दिन पाउन गार्‍हो छ । आखिर किन हुन्छन् यस्ता घटनाहरू ? केले प्रेरित गर्दछ यस्तो क्रियाकलापका लागि ? यसको उत्तर पाउन सोचे जति सजिलो त छैन तर असम्भव भने पक्कै छैन ।

माथि उल्लेखित उदाहरणबाट मैले के स्पष्ट पार्न खोजेको हो भने आजका यूवाहरूको मानसिकतालाई केले कुत्सित बनाइरहेको छ भन्ने कुरा खोज्न बाहिर जानै पर्दैन । पाइलै पिच्छे यस्ता घटना छन् । पत्रपत्रिकाहरू यस्ता कुराहरू खोजिखोजि छाप्छन् । कहाँ कसरी यौन जोडीहरू भेटिए, कसरी उनीहरूले पुलिसको आँखा छले आदि जस्ता कुराहरू खोतली खोतली लेखे पछि यस्तो मौकाको खोजीमा रहेका अन्य जोडी पनि त्यो ठाउँमा नपुग्लान् भन्न सकिन्न ।

प्राकृतिक रुपमा वासनाको परिपूर्तिको लागि लैङ्गिक विविधता ईश्वरीय सृष्टिकै एउटा उत्तम नमुना हो । हुनत एक अर्काको यौन आवश्यकता परिपुर्तीकै लागि मात्र लैङ्गिक विविधता भएको हो भन्नु मुर्खता हो । मानिसमात्र नभएर यस संसारमा जीवित सम्पूर्ण प्राणी तथा बोटविरुवाले पनि सन्तानोत्पादनको लागि यौनको साहारा लिनु पर्ने देखिन्छ, भलै अन्य प्रविधिको विकाश मानिसले किन नगरोस् ।

कुनै पनि विकृतिपूर्ण कार्य गर्ने मानिसलाई जनावरसँग तुलना गरिने यो समाजले बुझ्न नसकेको कुरा के हो भने जनावरहरूले जस्तो अनुशासन पालना गरेका हुन्छन् त्यति मात्र मानिसमा भइदिने हो भने मानिसले मानिसलाई सम्मान गर्न सक्थ्यो । आजको मानिस त्यो पनि विशेषता पुरुष यौनान्धो भइसकेको छ । आजको मिडियाले त्यहि बेच्छ । मिडियाले बेचेको कुरा खपत गर्ने मानिसले आफूले वास्तविक जीवनमा त्यो असम्भव भएपछि दिमागले काम गर्न छोड्नु कुनै नौलो कुरा होइन ।

मानिस कतिसम्म नीच भएको छ भन्ने कुराको प्रमाण भारतमा भएको सामुहिक बलात्कारपछि निर्ममतापूर्वक यातना दिइएकी युवतिको घटनाले प्रमाणित गरिसकेको छ ।

सरकार र समाज यस्ता कुराहरूप्रति आँखा चिम्लिएको जस्तो देखिन्छ, जब घटना घट्छ अनि केही गरे जस्तो गर्छ । तर विकृति रोक्नु छ भने त्यसको मूल जरोमा नै पुग्नु जरुरी देखिन्छ । धार्मिक आस्थामा लागेका मानिसलाई कारबाही गर्ने, समाजबाट बहिष्कृत गर्ने, बोक्सिको नामा दिसा खुवाउने, अन्तजार्तीय विवाह गरेको कारण हत्या गर्ने समाजले यौन विकृतिलाई किन बढावा दिइरहेको छ ?

कारण सरल छ, किनकि समाजलाई त्यही मन परिरहेको छ, त्यसैले त त्यस्ता कुरामा तृष्णा जगाउने मिडियाहरू र तिनका उत्पादन बजारमा खोजीखोजी किन्छ र प्रयोग गर्छ । त्यस्ता सिनेमाहरूले सिनेमा घरहरू भरिएका छन् ।

मानिसलाई यौनान्धो बनाउनमा भूमिका खेल्ने कुरा यिनै मात्र अवस्य होइनन् तर यी कुराले अवस्यनै मानिसलाई मानसिक रोगको सिकार बनाएको छ ।

http://lilwalee.wordpress.com/

1 thought on “यौन विकृति कि मानसिक असन्तुलन ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *