Skip to content


धर्ती कोमल सिर्जनामय बन्यो सत्प्रेरणाको स्थली
साँचो जीवनको नयाँ पन दिने उत्साह उद्बोधिनी
राम्रो स्वच्छ सुगन्ध वायु बहने आयो सुखी मौसम
फर्के उन्नत चाहना जगतमा उस्तै नयाँ भो क्षण ।

बुच्चो वृक्ष रहेन रम्य मुजुरा फर्की बने पल्लव
सिक्रो छैन कतै बुटो र लहरा पाई नयाँ यौवन
मैला पात झरेर नूतन भए उद्यान आभा फिर्यो
हाँसोको अनुहार तुल्य वनको सद्भाव शोभा खुल्यो ।

हल्लाई कर प्यार पूर्वक दिने सङ्केतको चुम्बन
हो वा सुन्दर भाव दर्शित हुने आलोक आलिङ्गन
चारै तर्फ खुलेर नर्तन गरी उत्साह फैलाउँदै
आए झैं छ वसन्त याम किन के मैबाट बोलाइदै ।

गर्छन् भुन्भुन माहुरी कति चरा सङ्गीत भर्छन् डुली
नाच्छन् मत्त मयुर कोकिल कला छर्दोछ आफैं खुली
हो यो सुन्दर साधनामय सफा आलोक छर्ने पला
मान्छेमा अमरत्व जागृत हुने सद्भावको आँकुरा ।

सेतो रक्तिम वैजनी रङ दिने सानन्द सञ्जीवनी
पैलो भौतिक सृष्टिको मधुरिमा सौन्दर्य आल्हादिनी
छोई पावन पालुवा म यसमा अम्लान शोभा भरौँ
धोई कल्मष कल्प कल्प रहने सत्कर्म रेखा रचौँ ।

देख्दा नूतन पालुवा मन अझै ताजा बनी आउँछ
उठ्छन् उन्नत कल्पना र दिलले सङ्गीत बर्साउँछ
नाचौँ झट्पट भन्छ अन्तर यसै चल्छन् सबै इन्द्रिय
माटाको ममता रहेछ यसमै जीवन्त ज्योतिर्मय ।

केदार न्यौपाने

मधुपर्क २०६९ साउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *