Skip to content

नगेन्द्रराज रेग्मीको स्रष्टा सम्वाद

  • by


दुई वा बढी व्यक्तिहरूबीचको वार्ता, संवाद, संवार्ता, कुराकानी, वातचित, सवाल–जवाफ प्रश्नोत्तर, छलफल, अन्तरक्रिया आदिलाई अन्तर्वार्ता भनिन्छ । कुनै पनि क्षेत्र वा विषयमा केन्द्रित रहेर कसैको अभिमत, दृष्टिकोण, मनोभावना र विचार (मनका कुरा) बुझ्नु नै अन्तर्वार्ताको अभीष्ट हुन्छ । प्रायोजित वा आकस्मिक अन्तर्वार्ता लिखित अथवा मौखिक दुई किसिमका हुन्छन् । कुनै उमेद्धारलाई जागिरको सिलसिलामा लिइने अन्तर्वार्ताका अतिरिक्त साहित्य, संगीत, कला, खेलकुद, राजनीति जस्ता विविध क्षेत्रका प्रभावशाली व्यक्तिहरूका अन्तर्वार्ता रेडियो, एफ.एम., पत्रपत्रिका जस्ता सञ्चारका माध्यमहरूले प्रशारण एवम् प्रकाशन गरिरहेको पाइन्छ । अन्तर्वार्ता दिने व्यक्तिको मनलाई सार्वजनिक गर्नु भन्दा पनि सरोकारवालाहरूलाई सुसूचित र जानकारी गराउदै मानसिक खुराक प्रदान गर्नु महत्वपूर्ण कुरा हो । अन्तर्वार्ता दिने व्यक्ति दुधालु गाई भएकाले अन्तर्वार्ता लिने व्यक्ति त्यो क्षेत्रको जानकार र दुहुन सिपालु एवम् दक्ष हुनुपर्छ । अन्तर्वार्तामा प्रश्नोत्तर र प्रस्तुतिका शैली पनि विविध खालका हुन्छन् ।

साहित्यिक अन्तर्वार्ताको कुरा गर्दा २०२३ सालमा उत्तम कुँवरले ‘स्रष्टा र साहित्य ’ प्रकाशित गरी मदन पुरस्कार समेत प्राप्त गरेका थिए । बालकृष्ण समदेखि इन्द्रबहादुर राईसम्मका ३५ जना आधुनिक साहित्यकारहरूलाई समेटेर प्रकाशित ‘स्रष्टा र साहित्य’ नै आधुनिक साहित्यमा अन्तर्वार्ताको कोसेढुङ्गा हो भन्न सकिन्छ । त्यसपछि परशु प्रधान, जयदेव भट्टराई, श्रीओम श्रेष्ठ लगायतका अन्तर्वार्ताकारहरूका विविध अन्तर्वार्ता–सङ्ग्रहहरू आएका छन् । एकव्यक्ति अन्तर्वार्ता–सङ्ग्रहहरू त कति छन् कति ! यसरी हेर्दा अन्तर्वार्ता पनि साहित्यको महत्वपूर्ण पाटो (विधा) बनिसकेको अवस्था छ । यसै कारणले आजका अधिकांश साहित्यिक पत्रपत्रिकाहरूले अन्तर्वार्तालाई स्थान दिएको पाइन्छ । अतः अन्तर्वार्ताको महत्व र उपयोगिता स्वतसिद्ध भएको छ ।

नेपाली साहित्यको अनुसन्धान, सम्पादन र समीक्षाको क्षेत्रमा युवापुस्ताका सिद्वहस्त साधक हुन्–नगेन्द्रराज रेग्मी । यिनै अथक अन्तर्वार्ताकार रेग्मीले २०४० सालदेखि २०६८ सालसम्म साहित्य, संगीत, कला र सम्पादन क्षेत्रका वरिष्ठदेखि कनिष्ठसम्म विभिन्न उमेर समूह (८०–४२ वर्ष) का ४० प्रतिभाहरूसित लिइएका अन्तर्वार्ताहरूको सद्य प्रकाशित सँगालो हो– स्रष्टा सम्वाद । बी.एन. पुस्तक संसार प्रा.लि. काठमाडाँैद्घारा २०६९, भदौमा प्रकाशित समीक्ष्य अन्तर्वार्ता सँगालोमा ज्ञबाट शुरु भै ज्ञमै (ज्ञानमणि नेपालदेखि ज्ञानेन्द्र विवशसम्म) अन्त्य भएका ३३ जना प्रतिभाका मनोभावहरू विविध शैलीमा प्रस्तुत गरिएका छन् । पछिल्लो लघुवार्ता खण्डमा ‘केही साहित्यकार व्यक्ति अभिव्यक्ति’ भनेर डा.धु्रवचन्द्र गौतम, शैलेन्द्र साकार, डा. वानीरा गिरि, विश्वविमोहन श्रेष्ठ र दिनेश अधिकारीलाई उभ्याइएको छ भने अर्को ‘केही सम्पादक व्यक्ति अभिव्यक्ति’मा नगेन्द्रराज शर्मा, डा. विष्णुविभु घिमिरे र शरच्चन्द्र वस्ती समाहित छन् । अत्यधिक अन्तर्वार्ताहरू श्रुति, आइतवार, खोटाङ पुकार, उन्नयन, साहित्यिक पत्र, वाङमय, अन्तर्बोध, हलेसी, मुहूर्त जस्ता विविध पत्रपत्रिकाहरूबाट साभार गरिएका छन् र सातओटा मात्र अप्रकाशित र बिनामितिका देखिन्छन् ।

सङ्गृहीत अन्तर्वाताहरू मध्ये एकजना विदेशी–डा. माइकल हट (बेलायती) , मात्र एकजना महिला–डा. वानीरा गिरि (लघुवार्ता) र चारजना दिवङ्गत–वासु शशी , धनुषचन्द्र गौतम, शङ्कर कोइराला एवम् गोपालराज मैनाली जस्ता व्यक्तित्वहरू हुनुहुन्छ । यिनका अतिरिक्त सँगालोमा समाहित अन्य प्रतिभाहरूमा–बच्चु कैलाश, काशी राई, शरदकुमार भट्टराई, परशु प्रधान, जसराज किराती, शैलेन्द्र साकार, राधेश्याम भट्टराई, अच्युतरमण अधिकारी, हीराधन राई, डा.माधव भट्टराई, डा.बमबहादुर जिताली, यज्ञनिधि दाहाल, डा.विष्णु राई, प्रल्हाद पोखरेल, गोविन्द गिरी प्रेरणा, ध्रुव मधिकर्मी र जीवराज घिमिरेको उपस्थिति देखिन्छ । उमेरगत ज्येष्ठताका क्रममा स्रष्टा सम्वाद भित्र समाहित हरि मञ्जुश्री, विष्णु आभूषण, नारायण वाग्ले, डा.दुबसु क्षेत्री, जयदेव भट्टराई, चमा थुलुङ, युवराज नयाँघरे, रामविक्रम थापा र डा.धनप्रसाद सुवेदी अन्तर्वार्ताकार नगेन्द्रराज रेग्मीको स्वेच्छिक छनोटमा परेका छन् । जसराज किराती, गोपालराज मैनाली, शरदकुमार भट्टराई लगायतका केही प्रतिभाहरूका दुई वा बढी अन्तर्वार्ता समेटिनुले अन्तर्वार्ताकारले यी व्यक्तित्वहरूलाई विशेषः प्राथमिकता दिएको देखिन्छ भने कवि एवम् कथाकार शैलेन्द्र साकारलाई अन्तर्वार्ता र लघुवार्ता दुबै खण्डमा समावेश गरिएको पाइन्छ । ४०मा १७ जना खोटाङे प्रतिभाहरू अन्तर्वार्ताकारको चयनमा पर्नुलाई नगेन्द्रराज रेग्मीको गृहजिल्ला–मोहलाई अन्यथा र अस्वाभाविक मान्न सकिन्न । अन्तर्वार्ता सँगालो स्रष्टा सम्वाद मा समाहित १७ जना खोटाङे सर्जकहरू मध्ये खोटाङमै बसेर सिर्जनारत चारजना (जसराज किराती, विष्णु आभूषण, रामविक्रम थापा र चमा थुलुङ) मात्र हुन् । अरु १३ जना त जन्मले मात्र खोटाङे हुन्–खोटाङले जन्माएर राजधानी अन्भाएका मान्छेहरू ।

अन्तर्वार्ता दिने व्यक्तिको विशेष भनाइलाई शीर्षक बनाएर फोटो राखिएको छ र त्यो फोटोमुनि संक्षिप्त परिचय । केही मननीय र विचारोत्तेजक कथनहरू टिप्नु पर्दाः मसँग मसी छैन भने रगतले कविता लेख्छु–वासु शशी । साहित्य विकासका लागि विदेशी कन्सल्ट्यान्ट नझिकाउनुहोस्–डा.माइकल हट । मुर्दाको दाह्री जुँघा खौरेर कति हलौं, कति गह्रौं–गोपालराज मैनाली । राज्यले साहित्यलाई कुनै अङ्ग नै मानेको छैन–शैलेन्द्र साकार । जुन कविमा शाश्वत चेतना र भावना हुन्छ, उसका कविता दीर्घजीवी हुन्छन्–डा.बमबहादुर थापा जिताली । साहित्यमा मात्र लागेर बाँच्न सकिँदैन भन्नेहरुका लागि म चुनौती हुँ–हरि मञ्जुश्री । म नुन–तेल र टोपी–भोटो किन्नलाई साहित्य लेख्दिनँ–डा.दुबसु क्षेत्री । म निबन्धमा सम्झौता नगर्ने लेखक हुँ–युवराज नयाँघरे । कविहरुको पेट र मुख नभइदिए हुन्थ्यो–रामविक्रम थापा । साहित्यिक पुरस्कार फेसन र व्यापार हो–डा.धनप्रसाद सुवेदी श्रमिक । प्रत्येक पीडा नै सुखका अनुभूति हुन्–ज्ञानेन्द्र विवश । साँच्चिकै प्रतिभा कसैले मारेर मर्दैनन्–नगेन्द्रराज शर्मा ।

मदन , साझा, मोती, राष्ट्रिय प्रतिभा, सिद्विचरण जस्ता विभिन्न राष्ट्रिय पुरस्कारबाट सम्मानित यी अन्तर्वार्तादाताका अन्तर्मनका अनुभूतिहरू पाठकलाई जानकारीमूलक र घतलाग्दा मानसिक खुराकहरू लाग्छन् । अन्तर्वार्ताकारको दीर्घकालीन मिहिनेत र खोज प्रसंशनीय र उदाहरणीय लाग्छ । ‘अहिले हामीमाझ वहाँ हुनुहुन्न ’ भन्नुभन्दा दिवंगत प्रतिभाको निधन भएको मिति नै उल्लेख गरिएको भए अझ जानकारीमूलक हुने थियो । स्रष्टाको संक्षिप्त परिचयका साथमा ठेगाना (सम्पर्क नं. र इमेल एवम् बसोबास) राखिएको भए सुनमा सुगन्ध हुन्थ्यो । अप्रकाशित (पूर्व) अन्तर्वार्ताहरूमा अन्तर्वार्ता लिइएको मिति र स्थान पनि दिएको भए पाठकलाई तत्कालीन घटना र परिवेशको आकलन गर्न सजिलो हुन्थ्यो । अगाडिको विषयक्रममै मुद्रा–राक्षसका भरमार छपाइ–त्रुटीहरूले पहिलो गाँसमै ढुङ्गा लागेको आभास हुन्छ । यस्ता केही कमी–कमजोरी भएता पनि वार्ताकार नगेन्द्रराज रेग्मीको यो अथक प्रयास नेपाली अन्तर्वार्ता साहित्यको क्षेत्रमा सार्थक, प्रशंसनीय र महत्वपूर्ण लाग्छ । अतः रेग्मीको स्रष्टा सम्वाद पठनीय, मननीय, सङ्ग्रहणीय, जानकारीमूलक र साहित्यिक मानसिक खुराकपूर्ण भएको मान्न सकिन्छ ।

कृति ः स्रष्टा सम्वाद (अन्तर्वार्ता सँगालो)
लेखक ः नगेन्द्रराज रेग्मी (अन्तर्वार्ताकार)
प्रकाशक ः बी.एन.पुस्तक संसार, काठमाडौँ
संस्करण ः प्रथम, २०६९, भदौ पृष्ठसङ्ख्या ः २२४
मूल्य ः रु.२२५ । –

–रामविक्रम थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *