Skip to content

सेतो धरती : मेरो पर्गेटोरी


“सास फेर्नजस्तो सजिलो अरु केही हुँदैन क्यारे !”

“सास फेर्नजस्तो अप्ठ्यारो पनि अरु केही हुँदैन क्यारे !”

दार्शनिक लाग्छन् अमर यी वाक्यहरुमा । आफ्नो दार्शनिक चिन्तनलाई कथाको रुपमा उतारे जस्तो । तर यो वास्तविकता होइन रहेछ । जीवन दैनिक भोगिन्छ, त्यही भोगेको जिन्दगीको कथा रहेछ उनको ‘सेतो धरती’ ।

अनेकौँ रङ्गहरुले रङ्गिएको रङ्गिन कथा पो रहेछ उनको यो कृति । सेतो रङ्ग पवित्रताको रङ्ग हो । उनको यो कृति कति निश्छल, कति पवित्र रहेछ ! सागर रहेछ डुबुल्की मार्नेहरुको लागि ।

यो सागरमा म डुबिरहेँ । समय स्थिर रह्यो । मानौँ म समयसुन्यतामा उनले तयार गरेको संसारमा निःशब्द उडान भरिरहेको छु । आँखा अगाडि देखा पर्छिन् मेरी आमा । उपन्यासकी पात्र तारामा म उनैलाई देख्छु । आँखा रसाउँछन् ।

पुगेको रहेनछु मेरै आमाको अन्तस्करणमा अझसम्म । अमरले नै पु्र्याए मलाई त्यहाँ । आँखा रसाएर आउँछन्, भक्कानो फुट्छ प्रत्येक पानाहरुमा । हृदय चसक्क घोचेको भान हुन्छ । आँखाबाट रसाएका पानीको मुलले हृदयको अवस्था जाहेर गरिरहेको छ सायद ।

हृदय धोइएको छ भित्रभित्रै । हृदयको धुलाइपछि निचोरिएर निस्किएको सावुन मिश्रित पानी जस्तो । म भित्रै देखि धोइएको छु । मृत्यु पर्खनुपरेको छैन पर्गेटोरीको लागि । म निश्चिन्त धोइएको छु । सेतो भएको छु, हिँउ झैँ । सेतो धरतीको सेतो रङ्ग झैँ ।

www.lilwalee.wordpress.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *