Skip to content


मेरो युवावस्थामा एकपटक एउटा सन्तसँग सानो डाँडा पछाडि भएको उनको शान्त बगैँचामा भेटेर सद्गुणका प्रकृतिको बारेमा कुरा गर्दैथिएँ कि त्यसैबेला एउटा लुटेरा थकित मुद्रामा खोच्याउँदै डाँडा काटेर आइपुग्यो । बगैँचामा आउनासाथ सन्तको अगाडि घुँडा टेकेर भन्न थाल्यो, “महाराज, म आराम चाहन्छु ! मेरा अपराध मलाई भारी भयो ।”

अनि ती सन्तले उत्तर दिए, “मेरो अपराध पनि मलाई भारी भएको छ ।”

अनि त्यो लुटेराले भन्यो, “तर, म त एक चोर र लुटेरा हुँ ।”

अनि ती सन्तले उत्तर दिए, “म पनि त एक चोर र लुटेरा हुँ ।”

अनि त्यो लुटेराले भन्यो, “तर, म त एक हत्यारा हुँ र ती सबैको रगतको चित्कार मेरो कानमा गुञ्जीरहेछ ।”

अनि ती सन्तले उत्तर दिए, “म पनि त एक हत्यारा हुँ र मेरा कानमा पनि धेरै मानिसहरूको रगतको चित्कार गुञ्जन्छ ।”

अनि त्यो लुटेराले भन्यो, “मैले त अनगिन्ती अपराधहरू गरेको छु ।”

अनि ती सन्तले उत्तर दिए, “मैले पनि असङ्ख्य अपराधहरू गरेको छु ।”

त्यसपछि त्यो लुटेरा उठ्यो र एकतमासले सन्तलाई हेरिरह्यो । उसको आँखामा आश्चर्यको भाव प्रष्ट देख्न सकिन्थ्यो । त्यसपछि उसले हामीलाई छोड्यो र छिटो छिटो गर्दै तलतिर झऱ्यो ।

त्यसपछि मैले सन्ततर्फ फर्केर सोधेँ, “आफूले कहिल्यै नगरेको अपराधको दोषी आफूलाई किन बनाउनुभयो ? देख्नुभएन, उसले हजुरलाई विश्वास नगरिकन फर्क्यो ?”

अनि ती सन्तले उत्तर दिए, “हो अहिले उसले मलाई विश्वास गर्दैन तर उसले आनन्दको अनुभुति गरेको छ ।”

त्यसैबेला त्यो लुटेराले गाएको गीत टाढा कतै सुनियो, र उक्त गीतको प्रतिध्वनीले पुरै उपत्यकालाई आनन्दित बनायो ।

२०६९ आश्वीन २४
क्यालिफोर्निया
खलील जिब्रानको कथाः The Saint
अनुवाद कर्ताः एकदेव अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *