Skip to content

ओझेलको साहित्य : ट्रकसाहित्य

  • by


कागजमा छापिएका अक्षरहरूलाई मात्र साहित्य मान्ने हाम्रो सनातनी परम्परा छ । विद्युतीय साहित्यले मान्यता पाइसकेको आजको उत्तराधुनिक जमानामा बल्ल ट्रकसाहित्यको चर्चा, परिचर्चा, खोजी र सङ्कलन हुन थालेको पाइन्छ । हाम्रा पहाडी गाउँघरका बाँससाहित्य, चौतारासाहित्य र चिहानसाहित्य अझै बेखवर छन्, ओझेलमा छन्, पर्दाभित्रै छन् । यिनको चासो, खोजी र सङ्कलन गर्न जाँगर चलाउने कसले ? जनजिब्रोका मार्मिक र हृदयस्पर्शी खाँटी साहित्य त यस्तै बाँस, चौतारा र चिहानहरूमा पाइन्छ । पहाडी गाउँका बाँसका घनाहरूमा प्रेम, विरह, रोदन, आमन्त्रणका युवा ढुकढुकीहरू छताछुल्ल पोखिएको पाइन्छ । पहाडी गाउँका बाँसका घनाहरूलाई त स्थानीय साहित्यिक पत्रपत्रिकाहरू नै मान्न सकिन्छ । यस्ता बाँससाहित्यमा अक्सर प्रेमका पुजारीहरूको कथा र प्रेमका भीखारीहरूको व्यथा हुन्छ । युवापुस्ताका अन्तरभावनाले भरिपूर्ण यस्ता बाँसका घनाहरू काटेपछि बाँससितै बाँससाहित्य पनि ढल्छ र बाँससितै मर्छ । पहाडी गाउँघरमा मृतकको नाममा वरपिपल रोपिन्छ र ढुङ्गा खोपेर चौतारा लाइन्छ (बनाइन्छ ) । वार्धक्य मनका परिपक्व विचारहरू ढुङ्गामा र काठमा खोपिन्छ । मृत्यु, समवेदना र स्मृतिका जीवन्त विम्बहरू यस्ता चौताराहरूमा धर्म र सँस्कृतिको पहिरनमा हाँसिरहेका हुन्छन् । बटुवा–यात्रीले मन लागे पढ्छन् नत्र अमूक भएर बसिरहन्छन् यस्ता चौतारासाहित्य पनि । पानी, घाम र हुरीको अविरल आतङ्कबाट प्रताडित हुदै ढुङ्गा र काठसितै क्रमशः सड्दै गएर एकदिन मर्छन् यस्ता चौतारा साहित्य । अझ बेहालत र एकाकी छ चिहानसाहित्य त । कसले पढ्ने चिहानमा पुगेर सिमेन्टमा कोरिएका अक्षरहरू ? न सम्पादक छन्, न प्रकाशक छन् ? न त पाठक र समालोचक नै छन् ? को छन्–यस्ता बाँस, चौतारा र चिहानसाहित्यका आफन्त र संरक्षक ?

हामीलाई ट्रकसाहित्यको पाठक बनाएका छन् सङ्कलक सुविद गुरागाईंले । उत्साही युवासर्जक (कविता र गजल विशेष) सुविद गुरागाईंको सङ्कलन, सम्पादन र प्रकाशनमा २०६८ भदौमा प्रकाशित ‘ट्रकसाहित्य’ मा ४३४ र ३१५ गरी जम्मा ७४९ मुक्तक र सायरी सङ्कलित छन् । अघिल्ला ४३४ मुक्तक/सायरीमा ट्रकका नम्बरसमेत उल्लेख भएकाले आधिकारिकताको पुष्टि हुन्छ भने पछिल्ला ३१५ मा चाहिँ ट्रकनम्बरविनाका मुक्तक/सायरी छन् । सङ्कलक सुविद गुरागाईंको झण्डै एकदशक (२०५९–२०६८) को मिहिनेतपूर्वकको अथक खोजको परिणाम हो यो ‘ट्रकसाहित्य’ । विभिन्न पत्रपत्रिकाहरूमा ट्रकसाहित्य र सम्बन्धित फुटकर रचनाहरू यदाकदा आइरहेता पनि पुस्तकाकार रूपमा यो नै पहिलो कृति हुनु पर्छ सायद । नवीन र नौलो क्षेत्रमा सधैँ केही न केही गर्न चाहने जिज्ञासु र उत्साही (प्रयोगवादी पनि) गुरागाईंको खोज र सङ्कलनको यो धैर्यता उल्लेख्य र महŒवपूर्ण लाग्छ । सडकजिन्दगीका यातायातकर्मी मजदुरवर्ग (चालक र खलासी विशेष) का अन्तर्मनका जीवन्त भावनाहरू मर्मस्पर्शी र सर्वग्राह्य लाग्छन् । कविता, गीत, उखान–तुक्का, धार्मिक दर्शन, प्यारोडीगीत आदिबाट साभार र परिमार्जित समेत गरी ट्रकका अगाडि, पछाडि, दायाँ र बायाँ सबैतिर सुन्दर अक्षरमा लेखिएका हुन्छन् । यी लोकवाणीहरूका न त सर्जक छन् न त लिपिकार ! सर्जक र लिपिकार त होलान् तर गुमनामी । यस्ता काव्यवाणीहरूलाई लोकसाहित्य भन्नु पर्ला सायद । दुईशब्दे छोटा वाक्यांशदेखि पाँचहरफे अनुच्छेदसम्मका ‘ट्रकसाहित्य’ भित्रका यी शब्द–कथन, मुक्तक र सायरी विविध भावभूमिका भएतापनि अधिकांश प्रेम र यौनमा केन्द्रित छन् । कतिपय त अश्लील र छाडावादी पनि लाग्छन् । यौन र प्रेम सम्बन्धी केही मुक्तक/सायरीलाई पुस्तकभित्रबाट यसरी टिप्न सकिन्छ :

न श्रीमतीको माया न सालीको प्यार ।
दसचक्के ड्राइभरको जिन्दगी बेकार छ यार ।
ना ३ ख ७०६०

गाडी हो दसचक्के हावा दिन्छ फाइबरको ।
दुनियाँका छोरी पोइल जान्छन् दोष किन ड्राइभरको ।
ना २ ख १६५१

मुसुक्क मस्की नहेर कान्छी हरनको तालैमा
अचेलको ड्राइभर उत्ताउलो हुन्छ–किस खाला गालैमा ।
ना २ ख ८२४८/ना २ ख ५००७

कान्छी मुसुक्कै, पैसा भुसुक्कै
ना २ ख ७०१५/ना १ क १६०९

१९९ लाई सोल्टिनीले साथ दिए २०० हुन्थेँ ।
को १ ख १९९

फूल फूल्यो बास्ना दिन तिमी फुल्यौ किन
म फुलेँ माया लिन सक्छौ तिमी दिन ?
ना ४ ख १७११

ब् प् त् प् द्य ४ ६?
भारी बोक्न ४२० तयार छ ।

ओइली झर्छ फूल पहेँली जान्छ पात ।
मन मिले भयो के हुन्छ र जात ?

टिपेर साध्यै छैन, यस्ता प्रेमरूपि फूलहरू कति छन् कति ? अन्य विषयक जानकारीमूलक, सन्देशमूलक, भावनामूलक र राष्ट्रभक्तिका सूक्तिहरू पनि अलिकति हेरुँ :

हातैभरि ठेला उठ्यो तिरपाल डोरी कस्दा ।
आधा जीवन त्यसै बित्यो हुडमा बस्दा–बस्दा ।
ना १ ख ७२६३

सकिन्छ सपार, सकिँदैन नबिगार ।
ना ४ ख ९४५/बा १ ख ९५४१

दुस्मनसँग म आफैँ जोगिन्छु तर,
आफन्तसँग जोगाइदेऊ हे ईश्वर !
ना २ ख ७९७

राष्ट्रको माया गर अनि
राष्ट्रले तिमीलाई माया गर्छ ।
ना. ३ ख २६५८

पढेर, रूख चढेर, बाटो हिँडेर
कहिल्यै नसकिने रहेछ यात्रा गरेर ।

देखियो तिम्रो नयाँ नेपाल पनि ।

एउटा सडक बन्द हुँदा सयौँ मुख बन्द हुन्छन् ।

सोइ ढोले सोइ, हाम्रो संविधान खोइ ?

हारहरूको जुत्ता लगाऊ जीतहरूको टोपी ।
आशाहरूको माला लगाऊ निराशालाई छोपी ।

किन्न पनि गाह्रो भो श्रीमतीलाई फरिया ।
पहाडमा गाडी पुग्दा निराश भए भरिया ।

नरहे रहन्न ।

मुक्तक र सायरीका अतिरिक्त ट्रकबाट साभार गरी ट्रकसाहित्यमा सङ्गृहीत दुई–तीन शब्दे केही छोटा वाक्यांशहरू :
जनताको भरिया, उदयपुरे राजा, गरिब रथ, अधुरो मिलन, नटुङ्गिने यात्रा, हसाउँछ शेरेले, गरी खान पाउँ, छोइस् कि गइस् आदि ।
अङ्ग्रेजी र नेपाली भाषाको रोचक र अर्थपूर्ण सम्मिश्रण :

आइको याद गर्नु युको सम्झना,
तिम्रो जीवन ह्याप्पी रहोस्,
दिस इज माइ शुभकामना ।

अधिक कथनहरू सरल, तरल र लोकभाषाका छन् भने केही सांकेतिक र चित्रात्मक अभिव्यक्तिहरूको अर्थबोध गर्न निधार खुम्च्याउँदा पनि हम्मे–हम्मे पर्छ :

१३ को फूल ८९ को माला
पछाडि झुन्डिने ड्राइभरको साला ।
के हो यो–१३ को फूल ८९को माला भनेको ?
६३ ठीक ३६ बेठीक ।
अर्थ के – ६३ र ३६ को ?

बिरालोले बाटो काट्नु र कुकुरले बाटो काट्नु उस्तैउस्तै हो नानु !
यहाँ, के को प्रतीक हो कुकुर ?

यस्ता कैयौँ प्रश्नहरू हाम्रा लागि अनुत्तरित हुन सक्छन् र जवाफ यातायातकर्मीबाट मात्र आउन सक्छ । शब्द र चित्रमिश्रित कतिपय वाक्यहरू बुझ्न पनि निकै घोरिनु पर्छ । ‘च्यासिस’ जस्ता पारिभाषिक शब्दहरू पढ्दा पनि कुहिराको कागकै नियति आइलाग्छ ।

फर्की—फर्की नहेर कान्छी हरनको तालैमा
धादिङे ठिटो हरामी हुन्छ किस खाला गालैमा । ना २ ख १७७४

सडक छेउ बसेर नगर हाई
कन्डम छैन भने आजलाई बाईबाई । ना ३ ख ७०६३

एक दृष्टिमा अति अश्लील र फेरि अर्को दृष्टिमा सन्देशवाहक एवम् चेतनामूलक लाग्ने यस्ता द्विअर्थी अभिव्यक्ति पनि अनगिन्ती छन् । यस्ता मनोभावहरूको अर्थबोध पाठकको दृष्टिकोणमा हुने भयो ।
माया, प्रेम, यौन, पेशागत पीडा मात्र होइन समसामयिक विकृति, विसङ्गतिप्रति प्रहार गर्दै व्यङ्ग्यवाण छोड्ने रोचक एवम् घोचक यस्ता हरफहरू पनि पढ्न पाइन्छ :
सधैँभरि चक्काजाम, बन्द अनि हड्ताल ।

ढुङ्गा हान्ने, कुर्सी तान्ने यही हो नयाँ नेपाल ?

वर्षायाममा धेरै बस र ट्रकहरूलाई निल्ने त्रिशूली नदी दुर्घटनाको हाउगुजी भएको कुरा यातायातकर्मीहरूलाई पनि राम्ररी थाहा छ :

ढिलो गए साहुजीले पैसा कमाउँछन् ।
छिटो गए त्रिशूलीका माछा रमाउँछन् ।

सडकजिन्दगीका यातायातकर्मीका यस्तै—यस्तै मनोभावनाहरूलाई फूलवारीबाट छानी—छानी फूल टिपेझैँ मन परेका फूलहरू सुविद गुरागाईंले टिपे । सुविदको फूलको डालीबाट हातमा अटाउनेजति छानेर मैले यहाँ टिपेँ । सबै फूल टिप्न त फूलवारी (ट्रक) मै जानु पर्छ र अलिक बढि टिप्न सुविदको डाली (पुस्तक) मै पुग्नु पर्छ । सुविदले जस्तै अरुले पनि मिहिनेत गरेर खोजी दिए हामीले ट्रकसाहित्य जस्तै बाँससाहित्य, चौतारासाहित्य र चिहानसाहित्य पढ्न पाउँने थियौँ र यस्ता साहित्यहरू संरक्षित भएर भावी पुस्तामा हस्तान्तरण हुने थिए ।

ट्रकहरूबाट टिपेर, विशुद्ध पारेर हामी पाठकलाई पस्किदिए सङ्कलक, सम्पादक एवम् प्रकाशक सुविद गुरागाईंले । ‘यात्रा सुरू गर्नु अघि’ – सुविद गुरागाईंको सङ्कलनगर्भ, ‘देशान्तर हुँदै बबन’ – विक्रमश्रिको भूमिका र ‘हर्न प्लिज : फेरि भेटौँला’ रमेश खकुरेलको भूमिका ट्रकसाहित्यका जानकारी– मूलक खुराक हुन् । २०६६ मंसिरको ‘राजधानी–सौजन्य’ बाट साभार सुविदका दुईलेख (गुरुजीका यौनअभिव्यक्ति र दिन सजिलो लिन गाह्रो) मनाकार्षक छन् । कवि द्वय रमेश खकुरेल र श्यामलका ट्रककविताले पुस्तकको शोभा बढाएका छन् । ट्रकचालक रामहरि केसी, ट्राफिक प्रहरी प्रमुख प्रकाश लामा र पेन्टर सीताराम साह जस्ता सरोकारवालाका अनुभूतिहरू पनि बोधगम्य र सान्दर्भिक लाग्छन् । प्रत्येक पृष्ठको किनारामा चित्रयुक्त आकर्षक छपाइ लोभलाग्दो छ । केही मुक्तक/सायरीको पुनरावृति (पुनरुक्तिको दोष) र पछिल्ला ३१५ को स्रोत नखुलाउनु यो पुस्तकका कमजोरी पक्ष हुन् । पुस्तकमा सङ्गृहीत विद्वानहरूका भनाइ (कोटेशन), कवि–गीतकारका कवितांश र गीतांश, मुक्तक एवम् सायरी तथा विभिन्न धर्मग्रन्थबाट साभार उद्गारहरूका स्रोत (नामोल्लेख) समेत खुलाउन सकेको भए अझ सुनमा सुगन्ध हुने थियो । वाक्यका बीचमा घुसाइएका केही चित्राकृतिहरूको अर्थबोध गर्न पाठकलाई कठिन पनि लाग्छ । ट्रकसाहित्यको नेपाली परिवेशमा यो पुस्तक एउटा सानो गोरेटो भएकाले अब यसलाई राजमार्ग बनाउने आवश्यकता अपेक्षित छ । आमपाठकको मन छुने सङ्कलक सुविद गुरागार्इंको ‘ट्रकसाहित्य’ लाई यो क्षेत्रको अनुसन्धानमा कोसेढुङ्गा नै मान्न सकिन्छ ।

कृति : ट्रकसाहित्य : सङ्कलित सिर्जनाहरू
विधा : मुक्तक/सायरी
सम्पादक/प्रकाशक : सुविद गुरागार्इं
संस्करण : प्रथम, २०६८ भदौ
पृष्ठसङ्ख्या : १२०
मूल्य : रू. १००।–

रामविक्रम थापा
फाक्टाङ–२, खोटाङ
मो. नं. ९७५३००४३६०

Leave a Reply

Your email address will not be published. Required fields are marked *