बुद्धिजी ! तपाईँलाई मझेरी भलाकुसारीमा स्वागत छ । शुरुमा, आफ्नो व्यक्तिगत र साहित्यिक परिचय दिनुस् न ।
नमस्कार ! मझेरीको यो सुन्दर साहित्यमय मैदानमा भलाकुसारी गर्ने मौका दिनु भएकोमा मझेरीलाई हार्दिक धन्यवाद । ब्यक्क्तिगत परिचय भन्नु पर्दा बाबा शेरबहादुर मोक्तान र आमा वर्तमाया मोक्तानको कान्छो सन्तानको रुपमा मेरो जन्म चाँगे – ३, ताप्लेजुङमा भएको हो । रोजगारीको सिलसिलामा हाल म दक्षिण कोरियामा रहेको छु । साहित्य जीवनको अभिन्न भाग हो । साहित्यको विद्यार्थी भएकोले यसैमा रमाउदै केही कुरा सिकिरहेको छु ।
साहित्य क्षेत्रमा कहिले र कसरी प्रवेश गर्नुभयो ?
“बिज्ञानको विद्यार्थी साहित्यमा रुची”, म आफूलाई यसरी पनि भन्ने गर्छु । बिषयको रुपले म बिज्ञान संकायको विद्यार्थी हुँ । यद्यपि बच्चापनमा नै केही कोर्ने, अलि गम्भीर हुने, देखेका र सुनेका कुरालाई अलि नजिक बाट बुझ्न खोज्ने, बुझेका कुरा ओकलेर अरुलाई सुनाउने गर्थेँ । हुँदा हुँदै साहित्यको नशाभित्र पसेर होला अहिले यसैको बिद्यार्थीको रुपमा छु जस्तो लाग्छ ।
मझेरीमा तपाईँका धेरै जसो गजलहरू पढ्न पाइन्छ । अरू बिधा पनि लेख्नुहुन्छ कि ? अनि गजललाई नै मुख्य बिधा बनाउनुको कारण केही छ कि ?
मैले लेख्न सुरु गरेको मुख्य बिधा भनेको गद्य कविता र गीति कविता नै हो । साहित्यका सबै बिधामा म धेरै थोरै लेख्छु । हो, मझेरीमा मैले अलि बढी गजल राख्ने गरेको छु । गजल लामो गद्य कविता, लामो गीति कविता वा अरु कुनै लामो लेख रचनाको खारिएको रुप हो । छोटो तर धेरै भाव गजलले बोकेको हुन्छ । फेरि अहिलेको अवस्थाका पाठक (अनलाइन पाठक) सँग धेरै समय पनि हुँदैन साथै गजल गहन, जीवन्त र लयात्मक भई यो साहित्यको बिकास सगै युवावर्गमा बढी प्रभाव र थोरै हरफमा धेरै कुरा ब्यक्त्त गर्न सकिने, बुझ्न सकिने भएकोले मझेरीमा अलि बढी गजल राख्ने गरेको हुँ । लेख्न त म सबै बिधामा लेख्छु ।
गजल आदि लेख्नको निमित्त तालिम या विशेष कोर्स या स्वअध्ययन गर्नुभएको छ कि ?
हेर्नुहोस्, कुरा नघुमाई भन्छु । औपचारिक त्यस्तो कुनै कोर्स, तालिम र कक्षै त लिएको छैन । तर गजल गुरुहरूसँग केही भलाकुसारी बिचार आदनप्रदान, नेपाली गजलको बिकास, यस्का नीति नियमको अध्यान स्वअध्यान भने केही हदसम्म अवस्य गरेको छु ।
केको निम्ति लेख्नुहुन्छ ? लेखेर के पाउनुहुन्छ ?
हेर्नुहोस्, अहिलेसम्म म यसैको लागि लेख्छु भनेर सय प्रतिशत ठोकुवा गरेर भन्न सक्दिन । तर, तर जब कुनै सिर्जना सिर्जित गरिन्छ त्यहाँ पानी कागज झै छर्लङ्ग कुनै विम्वको चित्रण हुन्छ । त्यो सचित्र, त्यो रचना वा त्यो सिर्जनापछि आफूलाई कता कता हलुका भए जस्तो, कता कता फुर्ति जागे जस्तो, कता कता उत्साह थपिए जस्तो आनन्दको आभास हुन्छ । यी सबै कुरालाई बिचार गर्दा म आत्मसन्तुष्टिको लागि नै लेख्छु भन्ने निस्कर्ष निस्किन्छ । लेखिसकेपछिको त्यो पल साँच्चिकै आनन्दमय र मैले केही ठुलै काम फत्ते गरेँ भनेर सन्तोष मिल्नु नै आत्मसन्तुष्टि हो । म त्यो पाउने गर्छु आफ्नो लेखबाट । फेरि साहित्य भावनाको बगाइ हो । यथार्थ र कल्पना मिसिने हुँदा लेखाइमा हर्ष-बिस्मत, माया-प्रेम, मिलन-बिछोड, समर्थन-बिरोध, देश-परदेश, नदेखेको, नभेटेको मायालु, युद्धमा हराएको सिपाही सबै छिनभरमै लेखाइमा पाईन्छ । त्यसो त म लेखेर वा लेखाइमा जीवन र जगत पाउछु । जीवन र जगत बुझेर सिर्जना गरी आनन्दित हुनु र सन्तोषको स्वास लिनु नै आत्मसन्तुष्टि हो । लेखेर म त्यही पाउछु ।
नेपाली तथा अन्तराष्ट्रिय भाषाका साहित्यमा मनपर्ने र प्रेरणा पाएका लेखकहरूको नाम लिनु पर्दा कसलाई सम्झनुहुन्छ ?
साहित्यको विद्यार्थी हुँ, जुनै बिषयको गुरु पनि विद्यार्थीको लागि उतिकै महान, उतिकै आदरणीय र उतिकै सम्मानित हुन्छन । हिजोका कवि, लेखक, साहित्यकार भानुभक्त्त, मोतीराम, लेखनाथ, भुपि शेरचन तथा रबीन्द्रनाथ टैगोर र सी एस लुइसदेखि आजका सरुभक्त, श्यामल, श्रवण, ब्याकुल माइला तथा अरुण देव र अहिले मझेरी र फेस्बुकमै लेख्नु हुने समकक्षी सबै लेखकहरू मेरा प्रेरणाका श्रोत हुन । म वहाँलाई सम्झिनु भनेर एउटै नाम भन्न सक्दिन, सबैलाई सम्झिन्छु ।
अहिलेसम्म पुस्तकहरू निकाल्नु भएको छ कि ?
पुर्व तयारीमा छु, निस्किहालेको छैन ।
कोरियामा बस्नु हुँदो रहेछ । नेपालमा रहनु र बिदेशमा रहनुले तपाईँको लेखन र जीवनलाई कसरी फरक पारेको छ ?
इच्छा, चाहना, लगनशीलता र आत्मबिश्वास छ भने जहाँ रहे पनि भावनाको सागर तर्न सकिन्छ । सकिँदो रहेछ । नेपालमा समय स्वातन्त्रता अलि बढी थियो । बिदेशमा अलि बढी समय अरुलाई दिएर बचेँको समय मात्र मेरो हो । नेपालमा हुँदा केही कुरा मनभित्रैबाट निस्कनु खोजी रहेको छ भने कही कतै बसेर त्यस्लाई पूरा गरिहाल्थेँ । यहाँ (कोरिया) अलि ब्यस्त भइने हुँदा कुनै कुरा एकदम रामोसँग भित्रबाट निस्कनु खोजेको छ तर मौका, समय पाइएन । अनि ती कुरा त्यही समयमा कापीको पानासम्म आउन सकेन भने त्यो त्यतिकै हराएर, बिर्सेंर भुलेर गएका छन । जब व्यस्तता सकिन्छ, समय मिल्छ अनि त्यही पहिलेको कुरा लेख्छु नि त भनेर बस्दा पहिले जुन रुपमा शब्द, शैली, प्रस्तुति, भावना र भावहरू निस्किन खोजेका थिए त्यस्को २०% पनि लेख्न नसकेको अनुभव छ मसँग । यस्को मतलब नेपालमा हुँदा धेरै लेखिने राम्रो लेखिने यहाँ नलेखिने भन्ने चाहिँ होइन फेरि । पछिल्लो समयमा मैले लेखेका केही कविता, गीत, गजलहरू जो पाठकहरू ले राम्रो प्रतिकृयाहरू दिनु भएको छ ती यही बसेर लेखिएका हुन ।
तपाईँका रचनाहरूमा देशप्रेमदेखि लिएर माया-प्रीति र बिदेशिनुको पीडासम्म पढ्न पाइन्छ । कस्तो समयमा लेख्नुहुन्छ र कस्ता विषयमा लेख्न रुचाउनुहुन्छ ?
लेख्ने समय यस्तै हुनु पर्छ लेख्नको लागि भनेर मेरो कुनै निश्चित समय छैन । फेरि म अब यस्तो लेख्छु भनेर बसे भने त्यो आधा आधी भएर फ्याकिन्छन । म यहाँनिर तपाईंलाई मेरो वास्तविक कुरा भन्छु । आज म कविता लेख्छु वा एउटा गजल लेख्छु भनेर कापी र कलम लिएर बसी, लेखिएको एउटा पनि कविता छैन, एउटा पनि गजल पूरा गरेको छुइन । तर कुनै एक बिषय लिएर लेख्नुभन्दा पहिले धेरै सोच्ने, धेरै चिन्तन गर्छु यी कार्य म कुनै काम गर्द गर्दै वा बाटो हिड्दै नै हुन्छन । यसरी तयार भएको सचित्र म जुनसुकै भीड कोलहलमा पनि लेख्न सक्छु । अरुले देख्दा भीड हल्लामा पनि सजिलै कलम चलाउन सकेको देखे पनि मेरो तयारी बेग्लै किसिमले भएको हुन्छ । लेख्ने बिषयको बारे भन्नु पर्दा, म निसाशाबादी त्यती धेरै लेख्न चाहन्न । देशप्रेम, आफ्नो जीवन, आफू रहेको जगत, अनि मान्छेको रातो रगत वा मानवता यिनीहरूकै सत्य र तथ्य कुरा नै मेरो लेखाइको बिषय बस्तु हुन आउछन । सत्य कुरा नै लेखाइमा परुन भन्ने चाहन्छु, जस्तै:-
धर्ती उही टेके पनि किता फरक हुन्छ यहाँ ।
सँगै मरौ भने पनि चिता फरक हुन्छ यहाँ ।
सम्मानले लाखौंलाई ‘बाबा!’ ‘बाबा!’ भन तर
जन्म दिने जन्मदाता पिता फरक हुन्छ यहाँ ।
काँगडा र टिस्टा छोडी बचेँको यो सानो बिर्ता
टुक्रिएरै जान्छ भने फिता फरक हुन्छ यहाँ ।
आफ्नो लेखनबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
कत्तिबाट सन्तुष्ट छु । त्यस्तै कति चाहिँ अँझ यहाँनेर केही हुनु पर्थ्यो वा के हुनु पर्थ्यो के पुगेन भनेर खुल्दुली भएका पलहरू पनि छन । आफू सन्तुष्ट भएका लेख रचनाहरू पाठकमा स्वभावैले अलि प्रभाव पार्न सक्छ कि भन्ने पनि लाग्छ ।
फुर्सदमा के-कस्ता कुराहरू गरेर दिन बिताउनुहुन्छ ?
सानैदेखि आफूलाई ब्यस्त राख्न रुचाउने मान्छे हुँ म । फुर्सद भयो भने दर्शन देखि मनोरन्जनसम्मका किताबहरू पत्रपत्रीका पाएसम्म पढ्ने गर्छु, लेख्ने कुरा त छदै छ । गीत संगीत सुन्छु तर म फिल्म कहिले पनि हेर्दिन । बाहिर घुम्ने तर छिट्टै फर्केर आफ्नै कोठामा एक्लै बस्नु राम्रो लाग्छ ।
त्यहाँ केकस्ता साहित्यिक कार्यक्रम हुन्छन् ? र तपाईँ कत्तिको सरिक हुनुहुन्छ ?
दक्षिण कोरिया, अनि यहाँ पुगेका नेपालीहरू, फुर्सदको हिसाबले अरु मुलुक भन्दा फरक छ । छुट्टी हुँदै हुँदैन भने पनि हुन्छ रोजगारमा संलग्न नेपालीहरूको । मैले यी कुराहरू किन उल्लेख गर्दैछु भने, कोरियामा नेपालीहरू पुगेको धेरै समय भइसक्यो, धेरै बर्ष बित्यो, किन साहित्यका कुनै उलेख्य कार्यक्रम हुन सकेन त भन्ने प्रश्न र चासो सबैले महसुस गरे र हामीले पनि गर्यौ । जस्को एउटै कारण यहाको ब्यस्त जीवन हो, बिदा एकरुपातले नहुनु हो । पछिल्लो समयमा आएर नेपाली साहित्यको विश्वब्यापीकरण र साहित्य प्रतिको माया लगाब झुकाब, साहित्य अनुरागीहरूलाई एकत्रित गर्दै नेपाली भाषा नेपाली साहित्यको बिकास, साहित्यको माध्यमले बिदेशमा पनि नेपाल र नेपालीको एकता भाईचारा र सदासय कायम होस्, हुनु पर्छ भन्ने हेतुले कवियत्री प्रगती राईको संयोजकत्वमा नेपाली साहित्य समाज दक्षिण कोरिया गठन गरिएको छ । यस्ले श्रस्टाहरू बीचमा परिचयदेखि आफ्ना रचनाहरू वाचन गर्ने, लेखक, सर्जक वा श्रस्टाहरूको जो कोरियामा रहेकाछन कृति वा पुस्तकमाथि छलफल गर्ने जस्ता कार्यक्रमहरू संचालन गर्दै आएको छ ।
मेरो संम्लग्नताको बारे भन्नु पर्दा, भ्याएसम्म कुनै पनि नछुटाई सरिक हुन्छु, कत्ति समय नमिलेर छुटेका पनि छन । राजधानी सोल सउल म बसेदेखि धेरै टाढा छ, त्यहा हुने कार्यक्रममा सधैं सहभागी नभएतापनि स्थानीय रुपुमा बिभिन्न कार्यक्रम संचालन गरी, रचनाहरू सुन्ने सुनाउने, साहित्य सम्बन्धी सिक्ने र सिकेका, बुझेका र जानेका कुरा बाड्ने पनि गरेको छु ।
फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालहरूले कसरी उपयोग गरिरहनुभएको छ ?
यी खुल्ला विश्वबिधालय हुन । मेरो लागि त दर्हो प्लेट फर्म पनि । फेसबुक, टिवटरभित्र जस्तो सुकै र जुन सुकै सोच भएका मान्छेको हुल हुन सक्छ “म फेस्बुक र टिवटरका सबैलाई विश्वाश गर्छु र मलाई पनि गरुन ” भनेर भन्ने गरेको छु । आफ्नो रचना पोस्ट गर्ने अरुको पढ्ने, कृयाप्रतिकृयाहरू लिने, यो भन्दा ठुलो कुरा त अग्रजहरूले छोड्नु भएका सुझाबहरू मनन गर्ने जस्ता कार्य गरेर नै यि सामाजिक सन्जालको प्रयोग गर्दै आएको छु ।
भविष्यमा केही साहित्यिक योजना छन् भने बताइदिनुस् न ।
अवश्य ! कविता संग्रह, गद्य कविता संग्रह, गजल संग्रह प्रकाशनको तयारीमा छु, यसैको काम गर्दैछु । त्यस्तै आफूले कोरेका गजल गीतहरू कापि र किताबमा मात्र संग्रह नगरी, संगीत र स्वरले जीवन्त पारी श्रोतासम्म पुर्याउन गजलीय अल्बम बजारमा ल्याउने तयारीमा छु । बिभिन्न संगीतकार र गायक गायिकाहरूको स्वर रहने अल्बमका धेरै गजलहरू संगीत भरी रेकर्ड भइसकेका छन र केही हुन बाँकी छन, चाडै पूरा गर्ने योजना छ
अहिलेको नेपाली साहित्य जगतलाई कसरी हेरिरहनु भएको छ ? आशावादी रहने ठाउँ छ ?
अहिलेको नेपाली साहित्य पहिलेको अवस्थामा छैन । पहिले नेपाल अनि भारतका सिकिम, दार्जेलिङ, वनारस वा भारतका केही ठाउमा मात्र नेपाली साहित्य थियो । अहिले नेपाली नपुगेको संसारको ठाउँ कमै मात्र छ, जहा नेपाली पुगे आफ्नो पहिचाहन र साहित्य संगै लिएर गएका छन । यस्को मतलब यो हो कि नेपाली साहित्यको विश्व ब्यापीकरण भएको छ । पहिलेका कवि, लेखक वा रचनाकारले लेखेको कुरा किताब ननिस्की पाठकसम्म पुग्दै पुग्दैन थियो । पुस्तकको रुप दिन धेरै समय पनि लाग्दथ्यो । अहिले लेखि सक्दा संसार भरका पाठकसम्म तुरुन्तै पुर्याउन सकिन्छ यो प्रबिधीको बिकासले साहित्यको फैलावटमा पुर्याएको टेवा हो । अब पुस्तक निकालेपछि मात्र सार्वजनिक हुइन्छ भन्ने र पुस्तक निकालेपछि मात्र दुई चार जनाको बीचमा चिनिन्छ भन्ने दिन रहेन । त्यस्तै नव आगन्तुकहरूको प्रबेश, प्रत्येक दिन कुनै न कुनै कृति सार्वजनिक हुनु, लोकार्पण हुनु, कृती प्रकाशन हुनुले साहित्य जगतको म सुनौलो अवस्था देख्द्छु । पछिल्लो दिनमा कृति निकल्ने क्रम बढेको छ कतै फेसन झै एउटा फ्यास्स किताब निकाली फेरि सिर्जनामा नफर्किने सिर्जनाकारहरू पनि साहित्य जगतमा भेटिन्छ, यस्ले साहित्यलाई सही दिशामा सकारात्मक मोड दिन्छ भन्नु सकिन्दैन । मुलत: साहित्यको विश्वब्यापीकरण, प्रबिधिको बिकास र सिर्जनसिल युवा आकर्षणले नेपाली साहित्य जगत आशावादी रहने ठाउँ देख्दछु र म आशावादी पनि छु ।
तपाईँ-हामीजस्ता युवालाई साहित्यमा अरू आकर्षित गर्न अरू के भए हुन्थ्यो जस्तो लाग्छ ?
हो, धेरै युवाहरू अझ भनौ शिक्षित बेरोजगारी, कत्तिको समय क्यारेमबोर्डमा बितेको छ, कतिको समय लुडो, तीन पत्ति र एकाइस पत्तिमा बितेको छ । यदी त्यो क्यारेमबोर्ड राखिएको ठाउमा एउटा सानो पुस्तकालय र पत्र पत्रिका हुने हो भने ती युवाले पक्कै केही पढ्ने छन । सामान्य गाउँमा पनि एउटा पुस्तकालय होस, गाउँस्तरी नै भए पनि साहित्य समिति, साहित्य समाज होस्, जस्ले साप्ताहिक, पाक्षिक वा मासिक नै भए पनि कार्यक्रमहरू गर्ने, गाउँ ठाउँ अनुसारको राष्ट्रिय भाषा, स्थानीय भाषा, जात जाती भाषा जुनसुकैमा सिर्जना सिर्जित गरी वाचन गर्ने, सुन्ने, सुनाउने गरियो भने त्यहा दुई खाले सिर्जनाको पादुर्भाव हुन्छ । जस्तो कुनै गाउमा रबिले बन्दाकोपिको कविता सुनायो, धेरैलाई मन पर्यो चित्त बुझ्यो अनि त्यो कविता सुनेर हरिले, ओहो ! रबिले कवितामा भने जस्तै म कोपी खेती गर्छु, कविता आयआर्जनमुलक थियो भनेर खेतीपट्टि आकर्षित भयो भने सिर्जनसिल किसानको उदय हुन्छ । फेरि त्यही कविता सुनेर अर्को ब्यक्तिले रबिले कोपिको कविता लेख्यो सुनायो म फूलको कविता लेख्छु भनेर लाग्यो भने त्यहा साहित्यसिर्जनसिलको उदय हुन्छ । यी दुइखाले प्रतिभाहरू त्यो पुस्तकालय र त्यहाँ भएको साहित्यमय कार्यक्रमले गर्दा भएको हो । ति अघिका शिक्षित बेरोजगारीहरूलाई क्यारेमा, लुडो, एकाइस पत्तीबाट बिस्तारै बिस्थापित गरी सिर्जनामा आकर्षित गर्न सकिन्छ ।
स्थापित हुन खोजी रहेको कुनै ब्यक्तिलाई अझ आकर्शित गर्न, हौसला दिन वा उस्का प्रतिभाका कदर गर्न ब्यक्त्ती, संघ, सस्था वा राष्ट्रले लगानी गरेर भए पनि उस्का कृतिहरू प्रकाशन गरिदिनु पर्छ ।
कुनै युवा वा जो कोही ब्यक्ती, साहित्यिक यात्रामा छ, आशा लाग्दो सिर्जनाकार हुँदैछ भने उस्का सत्य, तथ्य कुराहरू कुनै नाताबाद कृपाबाद बिना संचार माध्यममा ठाउँ पाउनु पर्छ । यि नै कुराहरू गर्न सकियो भने वा यस्ता कुराहरू भइ दिए युवालाई साहित्यमा अरु आकर्षण गर्न सकिन्थ्यो कि जस्तो लाग्छ ।
तपाईँले गत दुई वर्षभन्दा अगाडिदेखि मझेरीमा रचनाहरू प्रकाशित गरिरहनुभएको छ । मझेरीलाई कस्तो मूल्यांकन गर्नुभएको छ ?
आँधी हुरी र बतासले हतास भएको यात्रीले एउटा न्यानो घरको ओत पाएको आभास हुन्छ मझेरीभित्र पस्दा । भित्र भित्रै उकुसमुकुस भएका भावना कहाँ र कता ओकलुँ भनेर भौतारिएको बेला सितल छहारी पाएको आभास हुन्छ मझेरी मलाई । मैले परदेश पुगेर मझेरी भेट्टाएको हुँ, नेपाली किताब र पत्र-पत्रिकाबाट टाढा भएको बेला मझेरी पाएँ जति बेलादेखि म आफ्नो घर प्रबेश गरेको छु जस्तो लागि रहेको छ । मझेरीले नवआगन्तुक र नयाँ सिर्जनाकारलाई उत्साह र हौसला दिने जुन कार्य गरेको छ यो एकदमै सह्रानीय छ । रचनाकारको रचनाहरू भण्डार गर्ने कार्य अरुतिर त्यती देखिन्दैन यो मझेरीले गरेको छ, जस्ले गर्दा सिर्जनाकारको रचनाहरू सुरक्षित हुन्छ भन्ने मैले ठानेको छु । म यहाँ एकपल्ट मझेरी र मझेरी संचालक समुहमा हार्दिक धन्यवाद टक्र्याउदछु ।
अन्य साइटहरू पनि प्रयोग गर्नुहुन्छ ?
गर्छु । नेपाली वेब साइटहरूमा साहित्यको पाटो भएको भित्तोसम्म नजर पुर्याउने गरेको छु । साइटको माध्यमले संसार जहाँ घुमे पनि अन्त्यमा न्यानो मझेरी घर पसेर मात्र सुत्त्ने वा आराम गर्ने त मेरो दिनचर्या नै भएको छ ।
मझेरी र अन्य साहित्यिक साइटमा देखा पर्ने लेखकहरूको नाम लिनु पर्दा कसलाई सम्झिनुहुन्छ ?
सबैलाई सम्झिन्छु । सबैको लेख रचना राम्रो लाग्छ । वहाँहरू सबैमा मेरो अति नै आत्मियता छ । धेरै समकक्षी साथीहरू हुनुहुन्छ, अग्रजहरू पनि हुनुहुन्छ सबैजना मेरो प्रेरणाको श्रोत भएको हुँदा म सबैलाई सम्झिन्छु ।
संसारभरि छरिएर रहनुभएका मझेरीका लेखक-पाठकलाई के सन्देश दिन चाहनुहुन्छ ।
मझेरी भित्रको महानता बुझेर संसारको जुन सुकै कुनाबाट नेपाली साहित्यलाई माया गरेर लेख्नु हुने सबै आदरणीय लेखकहरूको, म पाठक हुँ । सिर्जना ब्यक्त्तिको कला हो, कला ब्यक्तिको ब्यक्तित्व हो अनि ब्यक्तिको ब्यक्तित्व समाज र राष्ट्र प्रतिष्ठा हो । सिर्जनशिल र कर्मशिल भएर बाँच्नु नै साहित्यिक जीवन हो । साहित्यको सानो गोरेटोमा हिंडेका पाइलाहरूलाई फराकिलो पार्ने हात र अधिकार पाठक समक्ष सुरक्षित हुन्छ, म सम्पूर्ण पाठक वर्गमा उच्च सम्मान राख्दछु । बिकृत मनबाट माथि उठी जीवन, जगत र समाजलाई साकरात्मक बाटोमा उन्मुख गराए नेपाली साहित्यको पर्खालमा अवश्य केही ईट्टा थपिने छ ।
अन्त्यमा केही छ भने बताउनुहोला ।
ममाथि विश्वाश गरेर मझेरीले दर्शाएको यो महानताप्रति कृतज्ञ छु । मझेरी संचालक परिवार अनि सम्पूर्ण पाठकवर्गमा हार्दिक धन्यबाद ! अन्त्यमा जादा जादै म र मझेरीको तर्फबाट सम्पुर्ण साहित्य अनुरागीमा यी सेरहरू समर्पित गर्न चाहन्छु ;-
गीत लेख्छु, गजल लेख्छु, गोर्खे साँहिला हैन म त !
ब्यथा आफ्नै पोखे पनि, ब्याकुल माइला हैन म त !
साहित्यले नभरिने, सधैं रित्तो झोली भिर्दा
कथा भए बैरागीको, तर काइँला हैन म त !
धेरै छन दाजु दिदी, अग्रजहरू यो घरमा
कान्छो हुँ नि सिर्जानाकी, ठुले ठाइँला हैन म त !
पुगे कति धेरै माथि, सिँढी चढी साहित्यको
तलै देख्छु आफूलाई, दोश्रो, पहिला हैन म त !
सिर्जनामा बोधगम्य, ‘बुद्धि’ ‘विवेक छरेपछि
हावा चल्दा मेटी जाने, कुनै पाइला हैन म त !
धन्यबाद !!
बुद्धि मोक्तानका रचनाहरू
बुद्धि मोक्तानका रचनाहरू (सूची)
सम्पर्क – [email protected]
ब्लग – http://www.moktanbu.blogspot.com
मझेरीमा प्रिय र अथक श्रस्टा
मझेरीमा प्रिय र अथक श्रस्टा द्वय देश सुब्बा र बुद्धि मोक्तानसितको भलाकुसारी पढ्न पा उँ दा अत्यन्तै खुसी लाग्यो/ मझेरीलाई धेरै धन्यवाद र श्रष्टाहरुलाई सर्जकीय समृद्धिको शुभकामना!!
शरण आँसु
उर्जासिल सिर्जनाकार बुद्धी
उर्जासिल सिर्जनाकार बुद्धी मोक्तानको म नियमित पाठक हुँ । निकै मार्मिक रचना गर्नु हुने वहाँको आज यहाँ यस्तो भलाकुसारी पढन पाएँ जस्ले गर्दा मलाई प्रत्यक्ष साक्षतकार भएको अनुभुती भयो । श्रस्टालाई चिनाउने गुन लगाएको छ मझेरिले । श्रस्टा र माझेरी दुबैको सफलको कामना गर्दछु । धन्यबाद
प्रेम कौसल
मझेरीले गरेको भलाकुसारी अङ्क
मझेरीले गरेको भलाकुसारी अङ्क १३ पढिसेपछि यो प्यासी साहित्य मनलाई केहि प्यास मेटिए झै लाग्यो । पक्कै पनि यस्ता भलाकुसारीहरु नव साहित्यकारहरुका लागि प्रेरणा बन्नेछन ।
प्रेरणाको स्रोत भलाकुसारी
मझेरीले गरेको भलाकुसारी अङ्क १३ पढिसेपछि यो प्यासी साहित्य मनलाई केहि प्यास मेटिए झै लाग्यो । पक्कै पनि यस्ता भलाकुसारीहरु नव साहित्यकारहरुका लागि प्रेरणाका स्रोत बन्नेछन ।
मझेरीलाई धन्यवाद
अग्रज दाजु वुद्धिजीलाई यस मझेरी भलाकुसारीमा देखन् पाउँदा खुसी लागेको छ साथै मझेरीलाई ध न्यवाद दिदै दाजुको सफल साहित्यिक यात्राको कामना गर्दछु । शुभपल
भरत तिमल्सिना
उर्जासिल सिर्जनाकार बुद्धी
उर्जासिल सिर्जनाकार बुद्धी मोक्तानको म नियमित पाठक हुँ । निकै मार्मिक रचना गर्नु हुने वहाँको आज यहाँ यस्तो भलाकुसारी पढन पाएँ जस्ले गर्दा मलाई प्रत्यक्ष साक्षतकार भएको अनुभुती भयो । श्रस्टालाई चिनाउने गुन लगाएको छ मझेरिले । श्रस्टा र माझेरी दुबैको सफलको कामना गर्दछु । धन्यबाद
अग्नी देव
एक्दमै राम्रा मर्म लाई छुने
एक्दमै राम्रा मर्म लाई छुने खाल्का गजल र अन्य साहित्य हरु को म नियमित पाठक हु । बुद्दिमान अंकल अझ सफलताको कामना अनि मझेरिलाई पनि अब को दिन हरुमा पनि कार्यसफलताको शुभकामना सहित धन्यवाद ।
हार्दिक धन्यवाद प्रिय मझेरीलाइ
प्रिय मन (अस्यांग) बुद्धि मोक्तानको बारेमा धेरै जान्ने अवसर दिनु भएकोमा प्रिय मझेरिलाई हार्दिक हार्दिक धन्यवाद त्यसै गरि बुद्धि मोक्तान अस्यान्ग्लाई पनि धन्यवाद यहाँको साहित्यक यात्रा अझै अझै प्रगति पथमा लम्किन सफल रहोस मेरो हार्दिक शुभकामना पनि |
राजेश रुम्बा लामा ‘अतृप्त’
हार्दिक धन्यवाद
हौसलाको लागि महत्वपूर्ण शब्दहरु छाड्नु हुने सम्पूर्ण पाठक ,अग्रज, साथीभाइ ,साहित्यिक मनहरु र यो मौका दिलाउनु हुने मझेरी लाई हार्दिक धन्यवाद टक्र्याउदछु । धन्यवाद
i realy like
dherai ramro sir aagami dinharu ma ajhai badhi pargati ko kamana gardchu tapai ko piriya pathak ……..cm thapa
writer ko bare yati dherai
writer ko bare yati dherai jane ,thank you majheri,and all the best moktan sir!!
नेपाली साहित्याकाशमा उदयमान एउटा चम्किलो तारा…
नेपाली साहित्याकाशमा उदयमान एउटा चम्किलो तारा भन्न रुचाएँ बुद्धि दाई तपाईंलाई ! सकारात्मक विचारधारा एवं बिकसबदी सिद्दान्तले सजिएको तपाईंको हरेक सिर्जनशील सहित्यिक आविस्कारहरुले युगान्तकारी परीवर्तन ल्याउने कुरामा केहि संका नै छैन! प्रेरणा दायी भलाकुसारीसंग बहुतै रमाएँ ! अझ बढी प्रगतिको शुभकामना !
नेपाली साहित्याकाशमा उदयमान एउटा चम्किलो तारा…
नेपाली साहित्याकाशमा उदयमान एउटा चम्किलो तारा भन्न रुचाएँ बुद्धि दाई तपाईंलाई ! सकारात्मक विचारधारा एवं बिकसबदी सिद्दान्तले सजिएको तपाईंको हरेक सिर्जनशील सहित्यिक आविस्कारहरुले युगान्तकारी परीवर्तन ल्याउने कुरामा केहि संका नै छैन! प्रेरणादायी भलाकुसारीसंग बहुतै रमाएँ ! अझ बढी प्रगतिको शुभकामना !
Dhanyabad majheri lai ..ani
Dhanyabad majheri lai ..ani shubhakamana Buddi Moktan Dai nirantarta ka lagi.
आदरणीय साहित्यकार बुद्धि मोक्तान जी….
आदरणीय साहित्यकार बुद्धि मोक्तान जी,को बारेमा यति नजिक बाट जान्ने र नियाल्ने मौका प्रदान गर्ने “मझेरी”लाई मुरी मुरी धन्यवाद टक्र्याउन चाहन्छु,साथै सर्जक बुद्धि मोक्तान जी को सफलताको कामना गर्दछु/
मेरो नजरमा बुद्धि मोक्तान जी,सकारात्मक विचारधारा राख्ने देशको चिन्तन गर्ने,नारि पिडा समेट्ने,…….क्रमश:शब्द शब्द बाट सम्भावनाका बिज छर्दै बिकाशको मूल फुटाउन सक्ने एक ससक्त लेखक मान्दछु/याहाका धेरै जसो कबिता,गजल,गीतहरु,……बाचन गर्ने मौका पाएकी छु/मझेरी लगायत धेरै साईटहरुमा याहाका रचनाहरु खोजि खोजि पढ्ने गर्छु,किन कि याहाका लेखाईमा हरेक शब्दहरु जिवन्त हुन्छन,जोशिला हुन्छन,रसिला हुन्छन सिर्जना सिंगार्ने कला याहामा अनौठो छ जुन मैले आभास गर्ने गरेकी छु/……याहाका भलाकुसारी बाट पनि धेरै कुरा बुझ्ने मौका पाएँ,खुसि लाग्यो भाबी योजनाहरु ले सफलताको शिखर चुमोस यहि कामना साथै मझेरी संगको सुनौलो सम्बन्ध सदाबहार रहोस अटुट रहोस/
नमस्ते
हाम्रा चिरपरिचित आले बुद्दी मोक्तानको यो भकाकुशारी
मझेरीले फेरि अर्को एउटा पृथक धारमा लेख्न रुचाउनुहुने हाम्रा चिरपरिचित आले बुद्दी मोक्तानको यो भकाकुशारी अङ्कं हामी पाठका माझ ल्याउनुभएकोमा मझेरी परिवारलाई धन्यवाद दिदैं लेखकको उज्वल भविष्यको कामना गर्दछु ।
गजब लाग्यो
धर्ती उही टेके पनि किता फरक हुन्छ यहाँ ।
सँगै मरौ भने पनि चिता फरक हुन्छ यहाँ ।
सम्मानले लाखौंलाई ‘बाबा!’ ‘बाबा!’ भन तर
जन्म दिने जन्मदाता पिता फरक हुन्छ यहाँ ।
बार्ता पनि सार्है गजब लाग्यो ,धन्यबाद मझेरी अनी मोक्तान जि