Skip to content

पदयात्रा गर्ने रहर जाग्दा

  • by


सानो छँदा सोच्थेँ कि, वरिपरिका डाँडाकाँडाहरू काटेर जान पाए कहाँसम्म पुगिन्छ होला ? ठूला मान्छेहरूले मधेस जाने, मधेस जाने भनेको नसुनेको पनि होइन । अन्ततः गाउँ वरिपरिका डाँडाकाँडाहरू काटेर मधेस पनि गइयो । जहाँ पुग्नलाई आफ्नो गाउँघर सम्दु ७ संगपू (सुम्दावा सङबो)देखि देखेका डाँडाकाँडाहरूबाहेक पनि अन्य थुप्रै डाँडोहरूलाई कयौँ दिन लगाएर काट्नु परेको थियो भने सिमरबाट तम्बरखोलाको तीरैतीर लाबरबोटेमा पुगेपछि बल्ल जीप भेटेर चढ्न पाइएको थियो । जुन निक्कै कष्टप्रद यात्रा थियो । बाटामा खुटा सुन्निएर हिँड्नै नहुने भएको थियो ।

समय क्रममा एकदिन राजाको गाउँ पनि आइपुगें । राजाको गाउँ आइपुगेपछि मलाई ट्रेकिङ अर्थात् पदयात्रामा जाने खुबै रहर लाग्यो तर त्यसको लागि कहाँ सम्पर्क राख्ने ? कसरी जाने ? केही अत्तोपत्तो थिएन किनभने सानो छँदा हाम्रो गाउँमा आएको एकजना गोराले राति आकाशतिर फर्काएर दुरबिनले ताराहरू हेरेको देख्दा आलु ताछ्दा पनि हात वा नङले नताछेर छुरीले (अहिले थाहा पाउँदा स्विस नाइफले) ताछेर खाएको र ऊसँग हिँड्ने नेपाली दाजुले देखाएको शान र फूर्तिफार्तीले गर्दा पनि मलाई बढी नै आकषिर्त गरेको थियो, रहर जागेको थियो- गोरासँग हिँड्नलाई तर कसरी जाने ? कहाँ सम्पर्क गर्ने ? केही अत्तोपत्तो थिएन । तथापि ‘खाने मुखलाई जुँगाले छेक्दैन’ वा ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेझैँ म दरबारमार्ग, ठमेल आदि ठाउँहरूमा धेरै दिनसम्म घुम्नसम्म घुमेँ तर अहँ कतै भेटिन, ट्रेकिङ अफिस । बरु एकदिन चाबहिलतिर घुम्न जाँदा जयवागेश्वरीमा एउटा बोर्ड देखेँ, जहाँ लेखिएको थियो- ‘इनवाइल्डरनेस ट्रेकिङ ।’ अनि त के थियो र? मलाई ढुङ्गो खोज्दा देउता मिलेझैँ भयो । अफिसको गेटभित्र छिरेँ । चिनजानका मान्छे कोही थिएनन् । तै पनि आँट गरेर सोधेँ, काम पाइन्छ ? त्यो बेला ०४९ को मङ्सिर अन्तिम भइसकेको थियो तर पनि दुईजना स्पेनिस बूढा-बूढीको ग्रुप चोमोलुङमा अर्थात् सगरमाथा क्षेत्रमा जाँदै रहेछन् । त्यो बेला कसैले पनि मलाई ट्रेकिङ जान योग्य उम्मेदवार ठानेनन् । एक किसिमले लोकसेवा नै लिए । कसै गरे पनि म योग्य ठहरिन सकिन । कारण एउटै थियो कसैले नपत्याने बच्चा अर्थात् फुच्चे हुनु । अन्तमा सरदारले नै “यस्तो फुच्चे रहेछ हुँदैन” भनेपछि म निराश भएर फर्किएँ । तै पनि ममा भएको तीव्र इच्छाशक्तिलाई दबाएर राख्ने कुरै थिएन । अतः मेरा दुई कान अगाडि कहाँ, कतिखेर र कुन गाडी आउँछ भन्ने खुलस्त भएकोले म भोलिपल्ट बिहान भालेको डाँकमा अफिस अगाडि गएर बसेँ । म पुग्दा गाडीसमेत आइपुगेको थिएन । गाडी आएपछि म हत्तपत्त गाडीभित्र छिरेँ । मलाई अरू स्टाफ आएपछि जबरजस्ती घिसारेर बाहिर निकाल्न खोज्दै थिए । म जब्बर भएर गाडीभित्र बसिरहेँ । अन्ततः सबै आइपुगेपछि बस आफ्नो गन्तव्यतर्फ लम्क्यो । बाटोमा मेरो मनमा अनेक थरीका विचारहरूले घर गरिरह्यो । कतै यिनीहरूले बीच बाटोमा रोकेर ओराल्ने त होइन ? फेरि मङ्सिर पुसको चिसो ठिहीले पनि सताइरहेको थियो । जेहोस् बसले लामोसाँघुमा विश्राम लियो । सबैले खाना खाए । मलाई पनि खाना खान ओर्ल भने तर मलाई भने निकाल्ला र नलइजालान् भन्ने डर थियो त्यसैले म खाना खान पनि ओर्लिइन । बेलुकी गोधुली साँझमा जिरी पुग्यौँ । त्यो दिन बस पनि जिरीमै बास बस्यो । साँझको खानापछि भोलि मलाई पनि बससँगै फर्काउने भनेर भन्न थाले । म भने साँच्चै होला भनेर मेरो हुर्मतले भ्याएसम्म नफर्काउन अनुनय विनय गरिरहेेँ । बिहान भएपछि भने सरदार आङफुरी दाजुले- यसलाई पनि हलुका भारी दिनु भन्ने उर्दी जारी गरेपछि भने मेरो मन खुसीले फुरुङ्ग भयो किनभने अब भने मेरो गाउँमा हुँदादेखिको, बच्चादेखिको एउटा ठूलो सपना पूरा हुँदै थियो ।

आफ्नो रहर वा सपना त पूरा हुने भयो तर मसँग न शरीरमा लगाउने न्यानो लुगा नै थियो न राति ओढ्ने लुगा नै थियो । तै प्रमोद दाजुले धुस्सा ओढ्न दिनुभो ट्रेकभरिको रू. तीन सय लिने र टे्रकभरि नै बोक्ने सर्तमा तर अचम्म नाम्चे पुगेपछि प्रमोद दाजु ‘ओढ्न पनि दिन्न, पैसा पनि लिन्न’ भनी बम्किए किनभने उनले गोप्यरूपमा मसँग रु. तीन सय लिने सहमति गरेका थिए । म नाथे कच्चा केटो न परँे ! उक्त गोप्य कुरा भनौं वा सहमति सरदारलाई सुनाई हालेँ । अब फसादै पर्‍यो ! प्रमोद दाजु पनि सुनुवार (किराँत) न पर्नुभो जोड-जोडले बम्किँदै मलाई कुट्न नै तम्सिए । एकछिन सोचौँ त ! यदि मैले ओढ्न नपाएको भए मेरो के गति हुन्थ्यो ? जे होस् मेरो र प्रमोद दाजुको बीचमा एकछिनपछि धुस्सा ओढ्न पाउने सहमति भयो । नाम्चे पुगेपछि पहिलोपल्ट मैले मुस्ताङ कफीबारे थाहा पाएँ । लोकल रक्सीमा चिनी र घ्यू मिसाएर घोलेर झैँ गरेर पिइने खोयाबिर्केलाई नै ‘मुस्ताङ कफी’ भनिने रहेछ । नाम्चे पुग्दा पुसको दोस्रो हप्ता भइसकेको थियो । त्यस्तो कठ्याङ्िग्रदो ठिहीमा आम्मै! आम्मै!! आम्मै!!! जाडोको त कल्पनै गर्न सकिएन । बिहानै हाम्रो यात्रा नाम्चेबाट गोक्योतर्फ लम्कियो । भाग्यवश मौसमले साथ दिएकोले हिउँ परेन र प्राकृतिक विपत्तिमा पर्नु परेन । हामी गोक्योबाट लोबुचेतर्फ हान्नियौँ । लोबुचेमा भने मलाई मध्यरातमा टाउको दुख्यो । होटल धनी दिदीले दिएको औषधिले मेरो टाउको दुख्न त ठीक भयो तर मैले त्योभन्दा माथिको यात्रा तय गर्न सकिन अर्थात् कालापत्थरबाट संसारकै अग्लो ८८४८ मिटर अग्लो चोमोलुङमा अर्थात् सगरमाथाको नजिकबाट दर्शन गर्न पाइन । सरदार र ग्रुप कालापत्थरसम्म गएर आए ।

यसरी पहिलोपटकमै मैले नेपालको मात्रै होइन, संसारकै अग्लो टाकुरो चोमोलुङमा (सगरमाथा) क्षेत्रको भ्रमण गर्ने जुन अवसर पाएँ । त्यसमा पनि मैले सानो हुँदा स्कुलमा पढ्दाको नाम्चेबजार कस्तो होला ? स्वभावतः कौतुहल जाग्थ्यो । जुन ठाउँ पछि आफ्नै नयनले नियाल्न पाएँ । निश्चय नै म आफूलाई भाग्यमानी ठान्छु तर त्यो बेला नाम्चेका मान्छेहरूमा, त्यहाँका नागरिकहरूमा साना नेपाली (भरिया आदि) प्रति भने नकारात्मक सोचको विकास भएको रहेछ । त्यहाँको पहिलो भ्रमणमा मैले देखेको अर्को रमाइलो पक्ष भनेको गोक्योको डाँडोबाट नियाल्दा आँखाले भ्याएसम्म जताततै हिमाल नै हिमाल देखिनु पनि हो । आहा, म कति भाग्यमानी अनि यही ठाउँमा सधैँ बस्न पाए कस्तो हुन्थ्यो होला ? एकछिन मनको लड्डु घ्यूसँग खाएँ । अनि त्यति उचाइको पोखरीमा (जहाँ हिउँदमा टम्म हिउँले ढाकेको हुन्छ) पनि पानीहाँस देख्दा मलाई अनौठो र आश्चर्य लाग्यो । त्यसो त यिनीहरूलाई हिम देवताको प्रतिनिधि ठान्दा रहेछन्, स्थानीय बासिन्दाहरू ।

त्यसपछि पनि धेरैपटक गएँ गोक्यो, लोबुचे, चोमोलुङमा (सगरमाथा) बेसक्याम्प टे्रक र भविष्यमा पनि गइ नै रहने छु, उक्त क्षेत्रको पदयात्रा अर्थात् टे्रकमा तर मेरो ज्यान बचाइदिने ती दिदीलाई भने अहिलेसम्म पनि केही लगिदिन सकेको छैन- कोसेलीको रूपमा । जो अहिले पनि लोबुचे नपुग्दैको थुक्ला भन्ने ठाउँमा आफ्नै सानो चिया पसल वा भनौं होटल चलाएर बसेकीछिन् ।

त्यो बेलाको अर्को रमाइलो र अविस्मणीय क्षण भनेको बुप्साडाँडामा बास बसेको रात माकुलु (महाकुलुङ) का कुलुङबन्धुहरूले ल्याएको सुँगुरको मासु टन्न खाएर पनि ती गोरा-गोरेनीलाई पेटको समस्या नपर्नु अर्थात् पखाला नलाग्नु, हामीले रातभरि नाचगान गर्दा ती दुई जोडीलाई नबोलाइएकोमा बिहानपख उठ्ने बित्तिकै उनीहरूले गरेको गुनासो, र्फकँदा पासाङ दाइको घरमा बास बस्दा जाँडले निम्त्याएको झगडा र त्यसमा स्थानीयताको आड लिएर र धाक देखाएर दादा देखाउने त्यो तामाङ केटो, (मिर्गे दोलखाका) जसले कुखुरो किन्न पठाएको पैसोले खोया बिर्के धोकेर बिनासित्ति मसँग निहुँ खोजेर भात भान्सा नै भाँड्यो । त्यसो त मैले पनि एकलात्ता खाएर भए पनि संयमता अपनाएको भए त्यो दिनको भात भान्छा भाँडिन्थेन कि ? उसो त जाँडको रन्कोले सबैलाई फन्को मारिसकेको थियो । पासाङ दाइ पनि आफ्नी आमासँग घरायसी कुरोको निहुँमा बम्किरहेका थिए । म मात्रै त्यो बेला जाँड नखाने भएकोले सग्लो थिएँ भनुँ न । नत्र त यतिसम्म भएको थियो कि, गोरा-गोरेनीको अनुहारमा समेत जाँडको विशेषतः निगारको करामतले चमकता वा भनौं लालीपना छाइसकेको थियो ।

कस्तो भयो भने, कुखुरा किनेर ल्याउ भनेर कुक (सुम्बा दाइ)ले तीन सय दिएर जिरीबाट लगेको (मान्छे)? लाई गाउँ पठाए तर उनले कुखुरा ल्याउनुको सट्टा उक्त पैसोले जाँड धोकेर आयो । सबै आ-आफ्नै सुरमा थिए । त्यसपछि पासाङ दाइकै घरको कुखुराले हाम्रो लागि बलि चढ्न पर्ने भयो । सबै काम मैले नै गर्दै थिएँ । ती दोलखे तामाङ साथीलाई कसैले केही भनेकै थिएन । उसले आफैँ मप्रति लक्षित गर्दै, ‘यो ग्रुपमा एक जनाले मसँग निहुँ खोज्दैछ भन्यो ।’ म आफू सग्लो मान्छे भएकोले मैले हो र ? भनी हाँसेर टारेँ तर उसले मलाई अठ्याईँ हाल्यो । त्यसपछि त मैले पनि सहेर बस्ने कुरै भएन । अन्ततः केही क्षण मारमङुग्री चल्यो । गोरा-गोरेनीलगायत सबैले मिलेर छुटाए भने सबैले मेरो गल्ती नभएको जिकिर गरे तर उसले स्थानीयताको आड लिँदै धम्कीको भाषामा भन्यो ‘तँलाई पख, जिरी त पुगौँ ठीक नपारी कहाँ छाड्छु र ! म भने निडरताका साथ ‘हेरौँ न तेरो पाइन’ भन्थेँ तर अरू सबै दाइहरूले भने जे भए पनि उसको गाउँ हो । तँलाई अब मार्छ । त्यसैले मिल्नुपर्छ, मिल भन्थे । म भने घमण्डका साथ भन्थेँ- ‘हेरौँ न त यसको पाइन । के गर्न सक्दो र हेछ । त्यसै मान्छे मार्न पाइन्छ र तर जिरी आइपुगेपछि त अचम्मै भयो बा उसले काट्ने मार्ने कुरा होइन कि, जाँडको तालमा जे भयो भयो साथी अब म पनि काठमाडौँ जान्छु । बरु तिम्रो कोठामा मलाई पनि राख भन्दै उल्टै उनले बक्सिस पाएको मोजा दिएर पो मलाई पनि काठमाडौँ लैजाउ भनी अनुरोघ गर्छ । मैले तत्काल हुन्छ त भनेँ तर, काठमाडौँ आएपछि मैले उनलाई मेरो कोठामा भने लगिन । पछिसम्म पनि काठमाडाँैमा बाटोतिर भेट्दा बोल्न खोज्थ्यो, बोलाउन खोज्थ्यो तर म भने सधैँ नचिनेझैँ गर्थेँ, तर्किन्थें । यसरी मेरो पहिलो पदयात्रा अर्थात् ट्रेकिङ गर्ने रहर समाप्त भयो, नेपालको मात्रै नभएर संसारकै उच्च भूमिबाट मेरो पहिलो पदयात्रा अर्थात् टे्रकिङ मजदुरीको सुरुवात भयो ।

नोट- हाल आङफुरी, सुम्बा र प्रमोद दाजुहरू यो धरतीमा छैनन् । अर्थात् स्वर्गवासमा गैसके ।
लेखक हिउँमाथि भारी बोक्दै – लेखक

मधुपर्क पुष, २०६५

Leave a Reply

Your email address will not be published. Required fields are marked *