Skip to content

र अन्तत: म पोइल हिंडें


आक्कल झुक्कल अफिसको ढोकैमा भेटिंदा म उसका आँखा नियाल्थें। अनगिन्ती अनुहारसँग यो आँखा ठोक्किन्छ तर केही खास अनुहारका खास आँखाहरूले मलाई तुरुन्तै कैद गर्छन । यसरी मेरा आँखालाई कैदी बनाउने अत्यन्त सीमित आँखामध्ये उसका ती दुई शान्त आँखा पनि थिए । सामान्य चिनाजानी थियो हामी बीच । म त्यो सामान्यलाई प्रगाढ बनाउने प्रयत्नमा थिएँ । एउटा नजानिँदो आकर्षणको सिर्सिरे बतासले मलाई हल्का छोएझैं भान हुन्थ्यो जसले उसलाई छुँदै आएको होला । उसका बोलीको मधुरता, उसका हाउभाउका शिष्टता ओहो! केही त छ उसमा । म अनुमानै गर्न सक्दिनथें उसका बारे । जहा त्यति चंचल हाउभाउ छ त्यहाँ भारी गम्भीरता पनि छ किन? निर्दोष ती आँखाहरूमा नछोड्ने तर बुझिनसकिने रहस्य भएझैं किन? तर असहज थियो त्यसरी एकाएक कसैमाथि गहिरो चासो राख्नु । एकोहोरो हेरिदिनु ।

कसो कसो एकदिन सम्मुख पर्यौं र मैले राम्ररी नियालें ती चंचल-गम्भीर आँखाहरू । तत्क्षण मैले यो पनि भुलेछु कि हामी एक अर्कालाई धेरै चिन्दैचिन्दैनौ । उसलाई पनि निकै अप्ठेरो र अचम्म लागेछ र त हठात् पछाडि फर्केर ती मेरा प्रिय आँखाहरूलाई भीडतर्फ कता हो कता हुत्याइदिएको देखें मैले । म पनि एक खालको हतप्रभ भएँ र सम्हालिएँ । निकैबेर पछि कसैले पछाडिबाट बोलायो । फर्केर हेरें तिनै प्यारा दुई आँखा थिए । अलिक अत्तालिएर मैले “भनें माफ गर ! मैले त्यसरी तिमीलाई नियाल्न नहुने । अँ तिम्रो नाम बिर्सिएँ, सम्झाउ न !”

“मेरो नाम शुभश्री! एउटा कुरा सोधुँ तपाईलाई!”

“सोध न!”

“तपाईं केटी मान्छे भएर केटीलाई नै किन यसरी नियाल्नुहुन्छ कुनै नवजवान ठिटो जस्तो?” उसका प्रश्नले मलाई थोरै लज्जित पनि बनायो । कतै मलाई सुभश्रीले समलिंगी महिला त ठानिन?

“शुभश्री! तिमी मेरो बारे धेरै जान्दिनौ र मलाई पनि तिम्रो बारे थाहा छैन । यदि तिमीलाई अप्ठेरो लाग्दैन भने एक दिन हामीसँगै बसेर चिया खाजा खाउँ न! मलाई तिम्रो बोलीचाली मन पर्छ । तिमी म जस्तै एक महिला । मसँग तिमी डराउनुपर्ने त केही छैन नि ।”

एकछिन अकमक परी अनि टाउको कन्याउदै भोलिपल्ट त्यही समयमा अलिक पर्तिर टिफिन बेकरीमा चिया खाने वाचा गरी । हेर्दा अत्यन्त सोझी र लाटी देखिने शुभश्री यथार्थमा त्यति लाटी छैन भन्ने मलाई अनुमान भैसकेको छ । लेख्ने मान्छे न परें, कतै केही गतिलो बिषय मिल्छ कि त्यो पनि महिलाकै बारेमा एक यथार्थ भोगाई! मेरो स्वार्थ भनेपनि जे भने पनि त्यति नै थियो शुभश्री बारेको चासो ।

भोलिपल्ट समयमै अफिस पुगें । अफिस भनेपनि प्राय फिल्डमै कुद्नु पर्ने हो । तर त्यस दिन कतै नजाने तालिका मिलाएँ । हाम्रो अफिसकै फ्ल्याटमा अर्कोपट्टी एक नाम चलेको फाइनान्स छ जहा शुभश्री पियनको काम गर्छे । यसो नियालें सुभश्री झाडु लगाउदै रहिछे ।

“गुड मर्निंग सुभ! टिफिन बेकरी सम्झेकी छौ नि!”

“हजुर! गुड मर्निंग म्याम! सम्झेकी छु ।”

एकछिन यताउता काम गरें । समय कतिबेला बित्ला र टिफिन समय होला भन्ने मेरो ध्यान थियो । जब समय भयो म भने फोनमै भुलेछु । सुभश्रीले ढोका ढक्ढक गर्दा पो झसँग भएँ । हत्तपत्त ब्यागमा डायरी, पेन, र रेकर्ड टेप राखें र निस्किएँ । टिफिन बेकरी खचाखच छ । उसैपनि दिउसोको खाजाको समय । मलाई अलिक एकान्त चाहिएको । अलिक कुनाको टेबलमा पुग्यौं र सुभश्री र म सम्मुख बस्यौं ।

“के लिन्छौ शुभ!”

“अँ हजुर नै भन्नु न! एउटा कुरा भनुँ? हजुरले मलाई बोलाउँदा ‘शुभ’ मात्रै भनेको मलाई एकदम मन पर्छ। मेरो बाबाले पनि मलाई शुभ नै भन्नु हुन्थ्यो ।”

भोक त थियो नै समयपनि कटाउनु थियो । हल्का गर्मी मौसमको आदेश अनुसार कोक, समोसा+तरकारीअर्डर गरें दुई भाग । शुभ आज अलिक बेसी नै चंचल लाग्दै थिई । सामान्य कुराकानी भयो । कुरो कहाबाट सुरु गरौँ भन्ने अनमन्यस्क अवस्था पर्यो । एक छिन फेरि नियालें उसका ती प्यारा आँखा । असाध्यै निर्दोष, असाध्यै चंचल पनि अनि गम्भीर पनि । सायद मैले जिन्दगीमा पहिलोपटक यस्ता आँखा भेटें हुँला जो एकसाथ गम्भीर र चंचल छन । एकै पल असाध्य चम्किला ती आँखा उसैपल भर्खर भर्खर निर्दयी हावाको झोंकाले हठात् निभाइदिएको मैनबत्तीको शिखा जस्तो जहाँ अँझै निम्स्याइलो थोरै धुवाँ फुस्स सकिंदै छ । मैले अनुमान लगाइसकेको छु कि एक साधारण फाइनान्समा पियन को काम गर्ने साधारण शुभश्री जति साधारण देखिन्छे त्यति वास्तबमा ऊ छैन । उसभित्र केही हुर्हुराउँदो मुस्लो, केही उकुसमुकुसका गुम्फनहरू, केही कहालीलाग्दा विगतहरू या त जबर्जस्ती दबाइएका उच्च आकांक्षाहरू अवश्य छन् । मेरो उद्देश्य तिनै केही पत्र उधिन्ने र उसको मनको बोझ अलिक आफूले सुनिदिएर आफ्नो गतिलो लेख तयार पार्ने थियो ।

“शुभ! तिमीले मलाई कसरि लिएकी छौ मलाई थाहा छैन । तर तिम्रो जानकारीको लागि, म एक साधारण तिमीजस्तै महिला हुँ । मेरो काम पत्रिकामा लेख्ने हो । खासगरी म महिलाहरूकै बारे लेख्छु, अँझै जो दबिएका छन्, हेपिएकाछन् उनका बारे धेरै लेख्छु । यसो गर्दा एक त समाजभित्र महिलाहरूको यथार्थ के हो भन्ने देखिन्छ भने अर्कोतिर सम्बधित महिलाहरूलाई बर्षौ देखि गुम्स्याइरहेको छटपटी भोगाई ब्यक्तागर्दा मन हलुको हुन्छ । बोझ कम्ति हुन्छ र साहस बृद्दी पनि हुन्छ भन्ने म मान्छु । तिमीलाई कुनै दबाब होइन मेरो तर्फबाट तर यदि तिमीमा त्यस्तो केही ब्यक्तगर्न, फुकाउन चाहिरहेको कुनै पाटो छ भने मलाई शेयर गर । त्यसको साथै मलाई एक राम्रो साथी मान्न सक्छ्यौ, आफ्ना दुख मसँग बाँटन सक्छौ । अरु खास कुनै कारण होइन मैले तिमीलाई बोलाउनुमा । तिमी एकदम स्मार्ट छ्यौ । मलाई तिम्रो हाउभाउ तरिका मन पर्छ ।”

अरु के के फत्फताएँ कुन्नि शुभश्री एकाएक चंचलपनलाई कतै थक्याएर अत्यन्त गम्भीर बनिसकेकी थिई । “म्याम! मलाई थाहा छ हजुर लेख्ने मान्छे भनेर । मलाई पनि हजुरले म प्रति राखेको चासोले खुसी बनाउछ । मैले नै हजुरलाई केही कुरा भन्न खोजेको निकै भयो तर आँट आएकै थिएन । तर जब हिजो हजुरले त्यति भन्नु भयो अनि मैले साहस गरें । मेरोबारे जति हजुरलाई थाहा छ त्यति मात्रै म अवश्य होइन । म असलमा के हुँ र को हुँ भन्ने कुरो यो डायरीमा लेखेर राखेको छु । यो पढ्नुहोला । र लेख्न मन लागे लेख्नुहोला । तर कृपया कतैपनि यो पात्र म हुँ भनेर नखुलाउनुहोला । तर एक शर्तमा । यदि यो डायरी पढिसकेर हजुरले मलाई घृणा गर्नुहुन्न भने मात्र । किनकि यो पढेपछि हजुरको नजर म प्रति बदलिन पनि सक्छ जो म चाहन्न ।”

त्यसबेला म अव्यक्त खुसी भएँ । मलाई शुभश्रीले गरेको विश्वासले झनै भावुक बनायो । मैले कसैगरी उसलाई घृणा नगर्ने र मेरो लेखमा उसको प्रत्यक्ष जिकिर नगर्ने वाचा पछि अहिलेलाई यतिनै भन्दै हुत्तिएर बिदा भई । निकै बेर त्यो याक चुरोटको पेटीको गाता भित्र लुकेको थोत्रो डायरी मुसारिरहें मानौ कोलम्बसले लामो यात्रा पछि हठात् अमेरिका भेटाएका हुन् र त्यो कोलम्बस म आफैं हुँ ।

साँझ डेरा फर्केर हात मुखै नधोई बिस्तारामा पल्टिएँ र बिस्तारै पल्टाएँ शुभश्रीको राज याने कि उसैको डायरी । डायरी खास दैनिकी लेखिएको थिएन । थियो त एक लामो न लामो संस्मरण थियो ।

========

म शुभश्री । कस्तो राम्रो नाम! तर म कहिल्यै कसैकोलागि शुभ साबित हुनसकिन । पूर्बी नेपालको गाउँमा जन्मेर हुर्केपनि मैले पढ़नेलेखने वातावरण पाएको थिएँ । गरिब परिवारमा जन्मे पनि छोराछोरीलाई पढाउने कुरो बाबाआमाको प्राथमिकता थियो । म आफैंलाई भाग्यमानि मान्थे। नौ कक्षा पुरा गरेकै दिनबाट मेरो जिन्दगी बदलिन थाल्यो । मलाई लाग्छ तब देखि म शुभश्रीबाट अशुभ बनें हुँला । टाढाका आफन्तले मेरो बिहेको कुरो चलाए । ठीकैको हुनेखाने परिवार, सभ्य र राम्रो खानदान, लायक केटो यस्तै यस्तै फतुर लाएर मेरो बिहेको लागि बाबाआमालाई राजी बनाएछन । एक त गरिबी अर्को हुर्केकी छोरी । हुर्केकी त के भन्ने भर्खर १५ लागेकी थिएँ तर गाउघरमा त्यो उमेर त्यसबेलाको लागि हुर्केकै हुन्थ्यो । छोरीलाई पनि पढाउनुपर्छ भन्ने मेरा बाबाआमाको आँखामा आफन्तले त्यसबेला के त्यस्तो पट्टी लगाइदिए हुनन्, मेरो बिहेजस्तो कुरो मलाई एकै वचनपनि नसोधी तय गरिदिए । म रोएँ, बिरोध गरें तर त्यसको केही अर्थ थिएन । हतारोहतारो मै बिहे भयो र म जीवनमै पहिलोपटक त्यति टाढा काठमाण्डौ नजिकै एक गाउँमा नौली बुहारी बनेर भित्रिएँ । न त मलाई बिहेको खुसी थियो न केही उमंग । सुरुका केही समय सामान्य नै बिते । पछि थाहा लाग्यो मेरा दुलाहालाई टीबिरहेछ । जुन कुरो मेरा माइतीलाई पनि ढाँटिएको थियो । तर समय गुज्रिसकेपछि औषधी त बेकाम हुन्छ भने त्यो पक्रिएको झुटको के कुरा! गरिबमा मेरो घर माइतिभन्दा गरिब थियो । चार छोरा, तीन छोरी मध्ये म माहिली बुहारी । घर एक खालको कलहखाना झैँ लाग्थ्यो । सबै प्राणि कर्कस, झर्कोफर्को, बुहारी भनेको काम गर्ने मेसिन जस्तो । जिन्दगीले सुम्पेको तितो यथार्थसँग दिन बित्त्दै थियो म गर्भवती बनें । दुखका पहाड झन् झन् चुलिंदै गयो । करकापमा जोडिएको नाताले हो या के हो मलाई त्यो घर, परिवार र यहासम्मकि आफ्नै दुलाहाको पनि अन्तरहृदयदेखि कहिल्यै माया लागेन । यत्ति हो कि त्यो मेरो कर्म घर हो । म वफादार र जिम्मेवार हुनुपर्छ भन्ने सोच्थें बाँकी आफ्नोपन कहिल्यै कहिल्यै ममा पलाउन सकेन । ती टीबीले खटारो बनाइएका दुलाहा प्रति मेरो मानवीय समबेदना पक्कै थियो तर प्रेम थिएन । जुन दिन मेरो सहमति बिना मेरो बिहेको टुंगो लगाएर आफ्नो बोझ हल्का गर्दै मलाई पराइको गाउँमा पठाइदिए त्यसदिन देखि मलाई बाबाआमा समेत पराइ नै लाग्थ्यो । चाहेर पनि मैले त्यो अनिच्छित जिन्दगीसँग सम्झौता गर्न सकिरहेको थिइन तर त्यही नै मेरो नियति थियो । छोरी जन्मी । केही खुसी लाग्यो तर उसको भबिस्य आफ्नैसँग दाँजेर म सधैँ तर्सिन्थे ।

जीवन चल्दै थियो भनुँ चलाउने प्रयत्नमा थिएँ । त्यही तिबिग्रस्त मेरा पति र म बीच कुनै सुमधुर सम्बन्ध स्थापित हुनैसकेन । उसलाई आत्मग्लानी हुन्थ्यो या हिनताबोध या त जिन्दगी प्रति दिक्क, तर त्यो सबैको भडास मेरो शरीरमा हिलैमैलै जुत्ता सहित लात्तीले बजाएर निकाल्ने गर्थ्यो सानो सानो निउमा । मलाई थाहा थियो यो सब मैले सहनु जरुरि छैन । किनकि मेरो केही दोष थिएन । ऊ गरिब थियो, रोगी थियो र थियो कर्कस सुकेको रुख जस्तो तर त्यो सबमा म कारण थिइन । सायद त्यही नमिठो पनाले होला मैले कहिल्यै सम्बन्ध मिठो बनाउने रहर पनि गरिन । यस्तैमा एक दिन ढाँ कुट्न मेलमा जाँदा बाटोमा एक युवक भेटिए । ती अविवाहित र शहरमा पढ्दै रहेछन । सामान्य चिनाजानी भयो । केही महिनाको लागि गाउँ फर्किएका ती युवकसँग मेरो भेटघाट बाक्लिंदै गयो । तिनले मेरो बारे सब सोधीखोजी गरिसकेपछि पनि निक रुची र सम्मान देखाइरहे । मलाई लाग्यो मेरो प्रेम त्यही युवक हुन सक्छन न कि मेरो रुखो रोगी पति । तिनले एक साँझ म र मेरो छोरीलाई लिएर शहर जाने र बाँकीको जिन्दगीसँगै बिताउने भनेपछि मैले आँखा चिम्लेर हुन्छ भनिदिएँ । मलाई थाहा थियो मैले गलत गर्दैछु तर नचाहेको, कामना नगरेको, सपनै नदेखेको रुखो रोगीसँग चुपचाप जिन्दगी बिताउनुभन्दा कामना र सपनाको मान्छेसँग रुँदै हाँस्दै बाँच्नु उचित सम्झेर एक रात चुपचाप छोरी बोकेर तिनै मायालुसँग शहर पसें । त्यसपछि मलाई र मेरा मायालु ‘प्रतिक’लाई यो गन्दे र अन्धो समाजले भयानक गालि र घृणा दियो । प्रतिक त आफ्नै परिवारबाट बहिस्कृत नै भए । तर मलाई खास नमिठो लागेन न त पश्चाताप नै भयो । जिन्दगीमा सम्झौता या आवेग को नाममा श्रीमती गिंडने या जलाउने यही समाजका लोग्ने मान्छे हुन । रात दिन पिटेर कुटेर कसैको जीवनको मूल्य नदेख्नेहरूको माझमा मैले मन नपरेपनि कहिल्यै कसैलाई कुटिन, पिटिन, जलाइन । कुनै बहानामा मैले हिँसा गरिन । न त आफ्नो बाध्यतामा सन्तानको घाँटी दबाउने आमाहरू जस्तो केही गरें । आफ्नो लामो जिन्दगीको लागि स्वेच्छाले रोजेको मायालुसँग आफ्नो मुटुको टुक्रा छोरी बोकेर चुपचाप हिंडिदिएँ त के अपराध गरें ?

हो मैले यस्तो सोचेर आफूलाई बलियो बनाइरहें ।

अब त प्रतिकको पनि बढुवा भएको छ जागिरमा । छोरी कृसा स्कुल पढ्न थाली । प्रतिक कति मायालु र सहनशील छ, आज उसैको मायाले मैले र मेरी छोरीले पुनर्जीवन पाएका छौं । समय घर्किन कति बेर! अब १२ पास गर्ने बितिकै म योभन्दा राम्रो काम गरुँला । अनि त जिन्दगी चलिहाल्छ नि ! भो अब मलाई पछाडि फर्केर त्यो कालो समय सम्झनु छैन । तर यत्ति याद आउँछ कि अँझै पनि त्यो समाजले मलाई ‘पोइल गएकी’ भनेर नाक खुम्च्याउन छोडेका छैनन् । र बिर्सिन सक्दिन, त्यो सारा उकुसमुकुस गुम्फन जिन्दगीबाट निस्सासिएँ निस्सासिएँ र अन्तत: म पोइल हिंडें ।

+++++++++++

अबेर साँझ डायरी पढिसकें तर मन रंथन्निरह्यो रातभर र आँखामा फ्ल्यास्ब्याक भैरह्यो शुभश्रीको कहानी, ती शान्त तर चंख आँखाका रहस्य अनि डायरीका अन्तिम वाक्य, “… र अन्तत: म पोइल हिंडें।”

दीप्स शाह

2 thoughts on “र अन्तत: म पोइल हिंडें”

  1. 😀 ramro katha ….समय घर्किन
    😀 ramro katha ….समय घर्किन कति बेर! अब १२ पास गर्ने बितिकै म योभन्दा राम्रो काम गरुँला । अनि त जिन्दगी चलिहाल्छ नि

  2. सम्बन्ध जबरजस्ति टिक्दैन
    सम्बन्ध जबरजस्ति टिक्दैन !

    जाउ माईली गरिखाउ ।
    शुभकमना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *