Skip to content


मानव सुखशान्ति प्राप्तिको लागि जङ्गलमा गएर घोर तपस्या गरेछ । धेरै नै दुःख पीडा सहेछ । आफ्ना साना साना छोराछोरी, आफ्नै दाजुभाइ, दिदीबैनीहरूलाई वलि चढाएछ ।

यावत कार्य देखेर भगवानलाई त्यो मानवदेखि दया जागेछ । भगवान प्रकट भएर भन्नु भएछ, “हे मानवर्, म तेरो तपस्या देखी खुसी भए । तँलाई के चाहियो ?”

मानव पनि खुसी हुदै भनेछ, “हे भगवान, जगतका सृष्टिकर्ता मलाई सबै जीवजन्तुको भाषा बुझ्न सक्ने बनाइदिनुहोस् ।”

भगवानलाई यो कुनै ठूलो कुरा भएन, “तथास्तु” भनेर जानु भएछ । मानव वर पाएर खुसी हुदै आफ्नो घरमा आएछ ।

धेरै दिनदेखि जङ्गलमा बसेको भोको मान्छे घर आएर सधै मिठो मिठो मासुभात खान थालेछ । ऊ घरको मालिक हुने रहरले यो वर माँगेको थियो । उसले कुकुर र बिरालो पनि पाल्ने टोपलियो । खाना खाने समयमा कुकुर र बिरालो बिच एक टुक्रा मासु फालिदिने गरेछ । चोर बिरालो चलाख र धुर्त पक्का पक्क खाइदिएछ । बिचरा घरको रखवाला गर्ने सोझो कुकुर हेरेको हेर्यै भयो ।

कुकुरले बिरालोसँग भनेछ, “हेर म हिजोदेखि भोकै छु । तँ त अर्काको घरमा गएर पनि खान्छस् । म त सक्दिन । ममाथि अन्याय भयो ।”

बिरालोले भनेछ, “हेर कुकुर, पिर नगर, आज मैले खाइहालेँ, भोलि मालिकको कुखुरा मर्छ । त्यो तँ खालास् ।”

कुकुर मख्ख भएर, हुन्छ त भनेर चित्त बुझाएछ । कुकुर बिरालोको कुरा सुनेर आफुले पाएको वरको उपयोग गर्दै बाठोटाठो बुद्धिवाला टोपलिएको मानवले त्यही दिनमा बजारमा लगेर आफ्नो कुखुरा बेचेछ ।

भोलिपल्ट खाना खाने बेला भयो । वरिपरि कुकुर र बिरालो पनि आए । बिरालोले आज पनि केही भन्छ कि भन्दै, मान्छेले बिरालो नजीक एक मासुको टुक्रा फालेछ । बिचरा सोझोसिधा, देला र खाउँला भनेर पर्खने कुकुरको के लागोस् । चोर बिरालोले आज पनि आफैले खाइदियो । कुकुरले अन्तिमसम्म पर्खेछ । तर त्यो मानवले हिजोअस्ति देखिको भोकै रहेको कुकुरको पिर ब्यथा बुझेन । वास्ता गरेन ।

निराश भएर कुकुरले भनेछ, “आज पनि तैले खाईस् । म अस्तिदेखि भोकै छु । मालीकले पनि मेरो भोको पेट कहिल्यै देखेन । अब म के गर्ने ? के खाने ? त जस्तो चोरेर खान पनि जान्दिन । म के गरेर बाँच्ने ? म त अकालमा मर्छु के हो ?”

बिरालोले भन्यो । हेर चिन्ता नगर जे हुनु भयो । भोलि मालिकको खसी मर्छ त्यो खालास् । भोलिको आशमा भरोसा राख्दै हुन्छ भनेर कुकरले फेरि पनि चित्त बुझायो । पशुपन्छीको भाषा बुझ्ने मानव त्यो कुरा सुनेर त्यही दिन बजारमा लगेर आफ्नो खसी बेचिदियो ।

भोलिपल्ट त्यसरी नै खाना खाने समय भयो । सबै जना जम्मा भए । आज पनि मालिकले आफ्नो घरभित्रको कुरा थाहा पाउने जूक्तिसाथ चलाख भएर एक टुक्रा मासु फाल्यो । सोझो देला र खाउँला भनेर पालो पर्खने कुकुरको के लागोस् ? आज पनि चोर बिरालोले नै खाइदियो । जति रिस उठे पनि, अर्को टुक्रा खान नदिए पनि, बिचरा कुकुरले मालिकलाई केही गर्न नसक्ने भयो । यो बिरालो नभएको भए । मैले नै खान पाउँथे भन्ने कुकुरलाई मनमा लागेछ । बिरालोलाई मार्न भनी झम्टियो ।

डरले बिरालो ले भनेछ, “हे कुकुर यसमा मेरो के दोष छ र मलाई मार्न खोज्छस् ? तलाई र मलाई पाल्न भनेर आएको यो घरको मालिकले नै तलाई खाना दिएन । एक टुक्रा दिएको छ । एक टुक्रा त मेरो हक हो । मैले मेरो हक खाएको छु । तेरो भाग त खोसेको छैन । ब्यर्थमा त मलाई मारेर पाप किन बोक्छस् । तेरो भाग नदिने त तेरो मालिक हो । म होइन । मेरो हातमा केही छैन । म पनि उसकै भरमा बाँचेको छु । म पनि त जस्तै हुँ ।”

कुकुरले सोच्यो, “हो, ऊ पनि म जस्तै हो । एक टुक्रा त उसको हक हो । मेरो हक नदिने त यो पापी अधर्मी बेईमान मालिक हो । यत्रो दिनसम्म भोक भोकै रहेर घरको रखवाला गर्ने मलाई यसले खानासम्म पनि दिएन । मेरो दुःख, पीडा, दर्द कहिल्यै देखेन ।”

त्यसमाथि बिरालोले थप्यो, “हो, कुकुर तमाथि अन्याय परेकै हो । मालिकले गाई आज बेचेन भने भोलि यसको गाई मर्छ । त्यो तैले पेटभरि खान पाउनेछस् ।”

यो कुकुर र बिरालोको बार्तालाप सुनेर बिरालोलाई धन्यवाद दिदै भाषा बुझेको फाईदा उठाउँदै आज पनि मानवले गाई बजारमा लगेर बेचेर आयो ।

भोलिपल्ट खाना खाने समय भयो । सधै झैं तीनै जना जम्मा भए । मालिक भाषा बुझेको फाइदा उठाए भनेर मख्ख पर्दै मिठो मिठो मासुभात खाई रह्यो । अब घरमा मालिक, कुकुर र बिरालो मात्र बाँकी रहे । आज पनि मालिकले दुई जनाको बिचमा एक टुक्रा मासु फाल्यो । चलाख चोर बिरालोले खाइदियो ।

कुकुर रिसायो, “हेर यत्रो दिनदेखि म भोकै छु । हरेक दिन तँ खाने, अब मालिकको घरमा केही पनि छैन । अब म के खाने ? अब त आशा राख्ने ठाउँ पनि छैन । म त भोक भोकै मर्ने भए । यत्रो दिन मालिकले देला र खाँउला भनेर भोको पेटमा पनि घरको रखवाला गरेर बसेँ । मालिक र घरको रक्षा गरेँ । तँ र म बिचमा एक टुक्रा मात्र दियो । तँ चलाख सधै तैले पेट भरिस् । तँ त चोरेर अर्काको घरमा गएर पनि खान सक्छस । तँ त बाँच्छस् । म मर्ने भए । म त धेरै दिनदेखि भोकभोकै छु । अब म के गर्ने ? हे भगवान !”

कुकुरले भगवान पुकार्यो, “हे भगवान ! यो मान्छेको घरमा म भोक भोकै मर्ने भए । मालिकले मलाई मुखले पाल्छु भन्यो तर खाना कहिल्यै दिएन ।”

यस्तो बिलौना सुनेर बिरालोले भन्यो, “हे कुकुर तँ घरको रखवाला, मभन्दा यो घरलाई तेरो आवश्यकता छ । हो म त बाहिर गएर चोरेर पनि पेट पाल्न सक्छु । यो मान्छेले तलाई खाना नदिएर घोर अन्याय गर्यो । अब तैले यो मानवसँग आशा राख्ने ठाउँ पनि छैन । हामी दईबिच दुई टुक्रा दिएको भए तँ पनि बाँच्ने थिइस् । सबै देख्ने भगवान हुनुहुन्छ । हामी तीन जनामा तँ सत्य होस् । तँ यत्रो दिन भोक भोकै रहेर आज भगवानको नाम लिइस् । मसँग चेतना छैन । यसमा मेरो केही दोष छैन । चेतना भएको मानवले न्याय गरेन । तेरो हक दिएन । सधै आफुमात्र मिठो मिठो खायो । म चोरेर खाने बिरालोलाई कुरा भन्छ भनेर मेरो अगाडि मासुको टुक्रा फाल्थ्यो । यो मान्छे म चोर बिरालोभन्दा पनि धुर्त रहेछ । यसले हामीलाई गोप्य कुरा पत्ता लगाउने हेतुले पालेको रहेछ । यसले हाम्रो भाषा बुझ्ने रहेछ । स्वार्थी निदर्यी रहेछ । हाम्रो अधिकार र स्वतन्त्रता दिन्छु भनेर फकाएर हामीलाई झुक्यायो । हामी बेकारमा यसको पछि लागेर आयौं । यसले हामीलाई ठुलो धोका दियो । हेर हाम्रो जीवनको अमुल्य समय यसको पछि लाग्दैमा बित्यो । यो धोकेवाज हो । उसले फालेको त्यो एक टुक्रा म खाई दिन्थेँ । मेरो करा सुनेर ऊ मख्ख थियो । आफु र आफ्नो घरको रखवाला गर्ने तलाई यो मानवले चिन्न सकेन । यसका आफ्ना भन्ने कुनै बस्तुहरू पनि अब बाँकी छैनन् । स्वयम यसका कर्मले गर्दा यसलाई यो घरमा बस्ने कुनै अधिकार पनि छैन । म पनि अर्को घरमा जान्छु । चोरेर पनि पेट पाल्न सक्छु । यो मानव भोलि मर्दैछ । यो घरमा नयाँ मालिक आउने छ । पुरानो मालिकको मासु खाएर त आफ्नो भोक मेट्नेछस् । अन्जानमा मबाट केही गल्ती भए मलाई माफ गरिदिनु ।”

यति भन्दै बिदा मागेर बिरालोले त्यो घर छाडिदियो ।

यो सबै बार्तालाप सुनेर मानव आतिदै भगवानलाई पुकार गर्यो । भगवान आउनुभयो ।

भगवानले सोध्नु भयो, “के भयो मानव ? यत्रो दिन पछि आज याद गर्यौ ।”

“हे भगवान ! म भोलि मर्छु रे । के यो सत्य हो ?”

भगवानले भन्नु भयो, “हो सत्य हो ।”

“त्यसो हो भने, ममाथि अन्याय भयो ।”

भगवानले सोध्नु भयो, “कसरी ?”

“म जवान छु । मेरो उमेर अझै बाँकी छ । म योग्य छु । यो धर्ती र यो घरको खाना त खायौ नि ?”

“हजुर, खाएँ ।”

भगवानले सोध्नु भयो, “यो कुकुर कति दिनदेखि भोकै छ । थाहा छ ?”

“हजुर थाह छ । धेरै दिनदेखि भोकै छ ।”

“यसलाई कसले पाल्ने जिम्मा लिएको हो ?”

“मैले जिम्मा लिएको हुँ ।”

“यो कुकुर कसको घरमा बस्छ ?”

“मेरो घरमा बस्छ ।”

“यसलाई अन्याय भएको छ की छैन त ?”

“भएको छ । अहो, भगवान मबाट गल्ती भयो । मलाई माफ गरिदिनुस् ।”

“ठिक छ, म माफ गरुला । तर यस कुकुरको भोक मेट्न तिम्रो घरमा तिमीसँग के छ ?”

मानव सोच्न थाल्यो । उसले झस्किएर भन्यो, “एक बिरालो थियो । त्यो पनि घर छाडेर केही समयअघि हिँडिसक्यो । अब मसँग केही पनि छैन । म र ककुर मात्र यस घरमा छौ ।”

“तिमीलाईभन्दा यस कुकुरमाथि बढी अन्याय भएको छ । ल, तिमी आफै भन, म के गर्न सक्छु ?”

मानव भगवान सामु नतमस्तक भयो । आफ्नो गल्तीको महसुस गर्यो । तर समयले नाटी काटिसकेको थियो । कुनै उपाए बाँकी थिएन । आजको सत्ताको जस्तै ।

अस्तु

धन्यवाद

बसन्तमोहन अधिकारी
यूएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *