Skip to content

बन्दकीमा बाँधिएको टारबारी


“युन्छोमीको बा !
सिरबन्दी र कण्ठ बेचेर
निखन्नु टारबारी,
भो बरु म
लाउदिन गहनापात” ।
सुमसुम्याउदै सयनमा
युन्छोमीकी आमाले
माङ्हाङ्लाई भन्थी,
माङ्हाङ परदेश हिंड्ने बेलामा ।

कता कता
स्वाभिमान बेचिएको नामर्दो
आभास गर्दै अध्यारोमा
युन्छोमीकी आमालाई सुमसुम्याउदै
लामो श्वास तानेर बिस्तारै
माङ्हाङ स्वाभिमान बोल्यो
आफ्नो अर्धाङ्गिनीसँग ।

“अ:ह बेच्नु हुँदैन,
सिरबन्दी र कण्ठ
हाम्रो प्रेमको निसानी हो,
म कसरी बेचु ?”

माङ्हाङको अघिल्तिर
प्रस्नै प्रश्न उभियो
फालेलुङ् हिमाल जत्रो ।

झिसमिसे बिहानीमा
युन्छोमीको आमाले हालिदिएको
एक झोला माया बोकेर
हानिन्छ माङ्हाङ परदेश ।

माङ्हाङ्ले टारबारी निखन्नु छ जसरी ।

बाबु बाजेको निसानी
पुर्खाको नासो
टारबारी भरी भरी पोखिएको छ,
उसले उठाउनु छ – पुर्खाको सिर ।

आफ्नो टारबारीमा
अर्काले
जोर-जोर हल गोरु नारेर
जोत्दै गारेको
माङ्हाङ हेर्न सक्दैनथ्यो,
सहन सक्दैनथ्यो,

सहन सकोस पनि कसरी ?
टारबारीको फाट् भरी भरी
टारबारीको डिल भरी भरी
आफ्नो पुर्खा उभिएर
रोइरहेको देख्थ्यो उ ।

अनी त
माङ्हाङ ! आज
बन्दकीको साङ्लोले बाँधेको
टारबारी निखन्नलाई
जिन्दगी लड्दैछ उ,
त्यो समुन्द्र पारीको
बिरानो देशमा ।

८ फेब्रुअरी २०१३
बिरानो देशबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *