Skip to content


”सृजना घरमा हुनुहुन्छ?” मेरो यस प्रश्नले रुमी झस्किन्छे ।

”सृजना दिदी यहाँ हुनुहुन्न दिदी त आफ्नै घर बुटवलमा बस्नुहुन्छ । बस्नुसन्. कति कामले आउनु भा’को ।”

”सृजनाको विवाह भैसक्यो?” मेरो प्रश्नमा रुमी भन्छिन्, ”हो भैसक्यो, अब त दिदीको बच्चा पनि भैसक्यो ।” रुमीको त्यस्तो कुरा सुनेपछि मलाई सपना हो वा विपना हो छुट्याउन गार्‍हो लाग्यो । कति कति सपनाहरु बोकेर काठमाडौं देखि यहाँ पोखरासम्म आएको थिएँ । आफ्नै हातले सृजनाको सिउँदो सिन्दुरले पोत्न आएको तर मलाई के थाहा, मेरो यस प्रेमको संसारमा भूकम्प गएर प्रेमको मन्दिर भत्किन्छ भन्ने कुरा अनि आफ्नै विश्वासमा आगो लागेर खाक हुन्छ भन्ने कुरा । मलाई त्यहाँ एकक्षण पनि बस्न मन लागेन । दिनभरिको यात्राले थाकेको शरीर म झन रुमीको कुराले थकित भएँ । मेरो नयन नजिकैको माछापुच्छ्रे पहाडमा गई टक्क अड्छ, आज किन हो कुन्नि माछापुच्छ्रेलाई कालो बादलले आफ्नो घुम्टोभित्र लुकाउने चेष्टा गरिरहेको थियो ।

”के हेर्न लाग्नु भा’को प्रकृतिका अनेक रुप हुन्छन्, जति हेरे पनि र जति चिन्न खोजेपनि बुझ्न सकिंदैन । बस्नुसन् भित्र कोठमा म चिया लिएर आउँछु ”रुमीको आवाजले म झस्किन्छु, र भन्छु-

”भयो ! म अब जान्छु ।” सृजनाको घरमा आएपछि एक कप चिया त पिएर जानुस्, मेरी दिदीले बनाएको चिया र मैले बनाएको चियामा केहि फरक पर्दैन । हैन तपाईंलाई उदास उदास देख्छु, के तपाईंले पोखरामा पाईला राख्ना साथ सेती, गण्डकी, माछापुच्छ्रेसँग मितलाई सक्नु भयो – फेरी तपाईंका परेलाहरु पनि भिजेका जस्ता छन् ।” रुमीको प्रश्नले गर्दा मैले आफ्नो हृदयभित्रका यथार्थ कुराहरु बताउन चाहेर म भन्छु- ”मनभरिका विश्वासहरुमा आगो लागेर आस्थाका फूलहरु झरेछन्, आँखाभरिका सपनाहरु भत्किएर पुरीएछन्, अनि मुटुभरिका चाहनाहरु शिशाझैं टुक्रा टुक्रा भएर छरिएछन्, दिनको बत्ती निभेर मनको मझेरीमा रात परीसकेछ । अब म यो अन्धकारमा कसरी बाँच्न सक्छु र ? त्यसैले मलाई सत्कार गर्नु पर्दैन भो म जान्छु ।” मेरो कुराले रुमीलाई निकै दुःख लाग्यो होला, त्यसैले उनी एकनासले मलाई हेरी रहन्छे । पुनः म भन्दै जान्छु ”मैले भत्केको सडकमा पाईला चालेछु, ठेस लागेर मुटु टुक्रा टुक्रा भयो, त्यसैले भिजेको परेला र दुःखेको मुटु बोकेर म यस आँगनबाट बिदा लिन्छु । बैनी तिम्रो दिदीलाई म आएको कुरा नभनी दिनुस् मेरो यहि अनुरोध ।” बीचैमा रुमीले भन्छिन्- यो के भन्नुभएको मलाई बैनी भनेर तपाईंले गल्ती गर्नुभयो । अनि के एउटा फूल झर्‍यो त के भयो, अर्को वसन्त आउँदैन र- स्नेह र ममतामा अर्को प्रेमको बत्ती बल्दैन र… ?”

आजभन्दा करीब तीन वर्षपहिलेको कुरा हो । एकदिन मेरी दिदी सृजना यस घरको आँगनबाट, सुकुमारी संसारको सीमारेखादेखि पर सिन्दुरको देश जाने दिन थियो । त्यो दिन कुन्नी कामले हो म दिदीको कोठाभित्र पस्न पुगेछ । कोठामा दिदी एक्लै रोईरहनु भएको रहेछ । दिदीको हातमा एउटा फोटो थियो । म कोठाभित्र पस्नासाथ दिनी झन रुन लाग्नु भयो र मलाई तपाईंको फोटो र डायरी दिएर अर्को कोठामा जानुभयो । म एकनाशले तपाईंको फोटो हेरिरहें अनि डायरीका पानाहरु पल्टाउन थालें । डायरीमा तपाईंले काठमाडौंबाट पठाउनु भएको पत्र दिदीले सारेर राख्नु भएको रहेछ । अनि एउटा पानामा दिदीले मलाई पत्र लेख्नु भएको रहेछ ।
पत्र यस प्रकारको थियो ।

स्नेही बहिनी रुमी,

यो दिदीको तर्फबाट तिमीलाई केही दिन नसके पनि म तिमीलाई अनमोल मायाले पोतेर सजाएको एउटा तस्वीर दिएर जान्छु । त्यो तस्वीरलाई जसलाई तिमीले स्नेह र ममताले पोतेर सजाउनु । तिम्री दिदीले एउटा ठूला अपराध गरी, अन्याय अनि पवित्र प्रेममा आगो लगाएर बदनाम गरी, त्यसैले रुमी मेरो मन मन्दिरको देवतालाई मायाले सिँचेर सजाएको तस्वीरलाई फूलले पूजा गर । नत्र तिम्री दिदी यस विशाल संसारमा बाँचेर पनि मरेतुल्य हुन्छे । भित्र-भित्रै सल्केर खाक हुन्छे । त्यसैले रुमी मैले गरेको अपराधलाई क्षमा देऊ ।
उही तिम्री दिदी
सृजना ।

मैले दिदीलाई बिदा दिने बेलामा दिदीको आँसु आफ्नो अञ्जुलीमा थापेर भने ”दिदी म तपाईंको देवतालाई आजन्म पूजा गरिरहन्छु । अनि त्यसदिन देखि मैले तपाईंलाई पत्र पठाउन थालें, नयाँ ‘सृजना’ बनेर । कहिले काहिँ दिदीले मलाई पत्रमा लेख्नु हुन्थ्यो, प्रतीक्षाले पठाएका पत्रहरु डायरीमा लेखेर राख्नु अनि म आए भने तेरो देवताको पत्र हेरुँला भन्नु हुन्थ्यो ।”

रुमीको कुरा सुनेर मैले एकछिन चुपचाप रुमीलाई हेरिरहें । कोठा मौनताले छाएको थियो भने रुमीका गहबाट निर्दोष निष्कलंक आँसुले परेली भिजाउँदै बगिरहेको थियो । मैले त्यो रुमीको आँसु हेर्न सकिन् । रुमीका ती निष्कलंक, स्वच्छ आँसुलाई आफ्नो अञ्जुलीमा थापेर भने- ”म तिम्रो सदा पूजा गर्छु अनि म तिम्रो आँसु कहिले कहिल्यै पनि खस्न दिन्न …….. ।”

रुमीले भनेझैं एक नयाँ वसन्त प्रवेश गर्छ अनि पहिलेको भन्दा पनि अझ राम्रो फूल फुल्छ र कहिले कहिल्यै ननिभ्ने बत्ती बल्न थाल्छ । म रुमीलाई हेरिरहन्छु, उनी पनि मलाई हेरिरहन्छे । उनका आँखामा प्रेमको गुराँस फक्रिएको थियो, नयाँ संसार सृजना गर्ने आशाका रेखाहरु कोरिएको देखिन्थे ।

हाम्रो ‘अमर-प्रेम’ लाई देखेर नै होला, माछापुच्छ्रे पनि मुस्कुराई दिन्छे, कोइलीहरु गाइदिन्छन्, बोट विरुवाहरु हल्लाई हल्लिई नाचिदिंन्छन् । रुमी र म कहिले एकअर्कालाई कहिले बाहिरी माछापुच्छ्रेको मुस्कुराहटलाई हेर्दै हुन्छु, केवल हेर्दै……… ।

-जनभावना साप्ताहिक २०४४ साउन ४ मा प्रकाशित ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *