Skip to content


आदरणीय दिदी कमली

परिवर्तित समाज हेर्न रुचाउने त्यो आकांक्षालाई अभिवादन ।

यहाँ त हामीहरू सबै दुःख र सुखलाई आफनै सहयात्री ठान्दै जीवनरथ हाँकिरहेका छौं । तपाईँको खोज खवर, हालखवर केही नपाउँदा तपाईँलाई जन्मदिने आमाबाबुको हालत कस्तो भएको होला त्यो यहाँ वर्णन गरी साध्य छैन । म त तपाईँको गाउँले भाइ हुँ । तर तपाईँको सोचले म आभारी भएको र तपाईँका विगतका क्रियाकलाप र अग्रगामी सोचले म प्रेरित भएकोले यी आस्थाका शब्दहरू जोडजाड गर्दै सार्वजनिक गर्दे छु । कतै यी शब्दहरू तपाईँका नजरमा पुगे भने अवश्य विगत सम्झेर वर्तमानमा सम्पर्कमा आउनु हुनेछ भन्ने आशा छ र आफ्नो वास्तविक विगतका क्षणहरू अरु चेलीहरूलाई सुनाएर आम चेलीहरूलाई सचेत पार्नुहुनेछ । तपाईँको जीवनलाई बर्बादीमा पुर्याउने कुकर्मीहरूलाई दण्डको दायरामा ल्याउनुहुनेछ ।

दिदी कमली ! तपाईँ कमलको फूलझैँ हुनुहुन्थ्यो । सबै गाउँलेहरूकी आँखाकी नानी हुनुहुन्थ्यो । सत्य तीतो छ। दिदी म यस पत्रमा तीतो सत्य ओकल्दै छु । यो पत्र केवल तपाईँको नाममा भए पनि आम कमलीहरूको भएकोले म त्यसै अनुरुप लेख्दै छु । बुझ्न सक्नु भएन भने कसैलाई सोधेर बुझनु हुनेछ र पत्रको मर्म अनुरुप काम गर्नुहुनेछ भन्ने आशा छ ।

दिदी कमली ! म त सानै थिएँ । अपरिपक्क मानसिकतालाई परिपक्क बनाउने ध्याउनमा दौडधुप गर्दै थिएँ । त्यती खेर तपाईँले भन्नुभएको थियो-‘माइला भाइ ! तिमी त छोरा बनेर जन्मियौें । तिमीसँग संसारको सृष्टि थाम्ने प्राकृतिक गुण छैन । हामी नारी नै सृष्टिमा श्रेष्ठ हुनुपर्ने हो तर शारीरिक कमजोरी ठानेर नारीलाई तिमीहरू कमलपित्ते आखाँले हेर्ने गर्छौं । यो तिमीहरूको भुल हो । नारीमा कति शक्ति हुन्छ भन्ने बुझ्न धार्मिक मिथकहरू प्रयाप्त छन् । धेरै कुरा गरेर म स्वयम् अग्ली देखिन खोजेकी हैन म आफैँ अग्ली छु । मेरो नारी चेतना नै अग्लो छ । हामी नारीहरूले पनि आफ्नै स्वेच्छाले जीवन चलाउन पाउनुपर्छ । तपाईँको यो कुराको प्रतिकार गर्दै मैले प्रश्न सोधेको थिएँ-‘दिदी ! तपाईँ बिहे गर्नुहुन्न र भिनाजुको नियन्त्रणमा नियन्त्रित हुनुहुन्न र ?’ त्यसको प्रत्युत्तरमा तपाईँले कड्रकदै भन्नुभएको थियो ‘‘भिनाजु को भिनाजु ? मेरो कथित श्रीमान्लाई तिमी भिनाजु भन्दछौं ? त्यो त मेरो श्रीमान् हो । म पछि मात्र ऊ आउँछ । त्यसैले दिदीको श्रीमान् भन । भिनाजु होइन । एउटा कुरा बुझेका छौं ? जब म पच्चीस वर्षकी हुन्छु । हरतरहले परिपक्क हुन्छु । अनि जागिर पनि खान्छु । जीवन चलाउन अर्थोपार्जन गर्न सक्षम भएपछि मैले बिहे गरेर कसैको घरमा जानुपर्दैन । मसँग बिहे गरेर मसँगै बस्न पनि सक्छ पुरुष । महिला पुरुषको घरमा जाने हैन । पुरुष नै महिलाकहाँ बस्ने प्रणालीको विकास म गर्छु । यो मातृसतात्मक पद्धतिको थालनी मेरै जीवनबाट सुरु हुन्छ र अरु चेलीहरूलाई प्रेरित गर्ने मेरो धर्म हुनेछ । म संसारमा यही नारी उत्थानका लागि आएकी हुँ । तिमी कुरा बुझ र मेरो दैनिक क्रियाकलापलाई हेर्दै जाऊ । भविष्य तिम्रो र हाम्रो हातमा छ । ठूलो उद्देश्य लिएर अघि बढ्नुपर्छ । यो कुरा सम्झदा म जुनसुकै कदम उठाउन पनि तयार छु भन्ने लागेको छ । तर तिमीहरू जस्ता ज्ञानी व्यक्तिले मेरो मनको आकांक्षा बुझ्न पर्यो र अरुलाई बुझाउन पर्यो । मेरो यस पवित्र बाटोमा गोमन साँप भएर तिमी पुरुषहरू देखियौ भने यस नारीको नाडीमा पनि इमानको रगत बगिरहेको छ । जस्तोसुकै कदम पनि चाल्नेछु । पौराणिक ग्रन्थहरू पढेकै हौला । मैले धेरै कुरा भन्नु नपर्ला । अन्यायी राक्षसहरूलाई नाश गर्न देवीले कस्तो रुप लिएकी थिइन् ? हो, नारीमा शक्ति छ अनि अन्यायी राक्षसहरू मारिए । तसर्थ हामीलाई कमजोर ठान्ने घृष्टता नगनृर्् नै वेस हो ।’’

तपाईँको यस महान् उद्धगारविपरीत कक्षा -९ मा पढ्दा पढ्दै १५ वर्षको उमेरमा तपाईँका बुबाआमाले बिहे गर्दिनुभयो । तपाईँको श्रीमान् पनि अरुका आँखामा त सोझै रहेछन् । सामान्य लेखपढ गरेको भए पनि अरुहरूका पीरमार्का राम्ररी बुझ्ने मानिस भनेर सबैले प्रशंसा मात्र गरेको सुनियो । परिवारका अन्य सदस्यहरूसँग तपाईँको सम्बन्ध कस्तो थियो ? मलाई त केही थाहा भएन । विवाह गरेको दुई वर्ष वित्दा पनि कुनै पारिवारिक बन्धनको अफ्ठेरोपन बारे स्वयम् तपाईँका माता पिता अनविज्ञ हुनुहुँदो रहेछ । छोरी सुखैमा होली भन्ने उहाँहरू ठान्नुहँुदो रहेछ । नबोलीनबोली रहन्थी । अर्काको मनोकांक्षा कसरी बुझ्ने हामी ईश्वर हुन सकेनौँ । काँइली छोरीले आँशु पिएर युो बुढेसकाल काट्न वाध्य पारी । तपाईँका मातापिताको कथन यही हो । अब कुरा आफै बुझ्नुस् । यहाँको परिस्थितिलाई आफनै धनुले मृ्ल्यांकन गर्नस् र संसारलाई बदल्ने आफनो त्यो सोचलाई साकार पार्नुस् ।

दिदी कमली ! अहिले तपाईँको त्यो कुरा सम्झदा गहभरि आँसु आउँछ । तपाईँको इच्छाशक्तिलाई बुझ्ने, तपाईँमा भएको सचेतता र जागरुकतालाई पर्गेल्ने व्यक्ति कतै भे्टिएनन् । सबैको सोच त कमली सामान्य हैसियतकी नवयुवती हो भन्ने पाइएको थियो । तपाईँलाई परिवारले कुनै प्रकारको पीडा दिएको पनि हामीलाई ज्ञात भएन । तर आकस्मात् तपाईँ अलप हुनुभयो । तपाईँ आफै अलप हुनुभयो कि अलप पारिनुभयो । कसैलाई थाहा छैन । धेरै समय त भिन्न किसिम, किसिमको मत राख्नेहरू धेरै थिए । कसैलाई थाहा हुने कुरै भएन । वास्तविकता के हो ? शंका गर्न वाहेक कसैसँग आधिकारिक जानकारी छैन । तपाईँको भिनाजुसँग के कस्तो सम्बन्ध थियो ? मलाई त केही थाहा भएन । विवाह गरेको दुई वर्ष वित्दा पनि कुनै परिवारिक बन्धनको नराम्रो कुरा कतैबाट पनि आएको थाहा भएन । यहाँको भयावह अवस्थाको वर्णन गरी साध्य छैन । म त तपाईँको गाउँले भाइ न हुँ । तर तपाईँको सोचले म आभारी भएको र तपाईँका विगतका क्रियाकलाप र अग्रगामी सोचले म प्रेरित भएकोले यी आस्थाका शब्दहरू जोडजाड गर्दै सार्वजनिक गर्दे छु । कतै यी शब्दहरू तपाईँका नजरमा पुगे भने अवश्य विगत सम्झेर वर्तमानमा सम्पर्कमा आउनु हुनेछ भन्ने आशा छ र आफ्नो वास्तविक विगतका क्षणहरू अरु चेलीहरूलाई सुनाएर आम चेलीहरूलाई सचेत पार्नुहुनेछ । तपाईँको जीवनलाई बर्बादीमा पुर्याउने कुकर्मीहरूलाई कानुनी दायरामा ल्याउन पनि तपाईँ सार्वजनिक हुनैपर्छ । यहाँ तपाईँको खोज धेरै खबर भयो । तपाईँको अभाव र अनिश्चिततामा पूरै गाउँ रोयो । तपाईँका आफन्तजनको हालतको त वर्णन गरी साध्यै छैन । त्यस दुःखदायी घटनाबाट म कसरी अक्षुतो रहन सक्थेँ र ! सबैको मनमा खुल्दुली नै खुल्दुली सलबगाउन पुग्यो । उता तपाईँका घरतिर पनि संभावित संकट देखेर ठृ्लो हलचल मच्चियो । कहिल्यै नभोगेको अनष्टितालाई सहन गर्ने सामर्थ्य मैले कसैसँग देखिन ।

दिदी कमली ! मान्छे न हुन, आफ्नो मनमौजी सोच्ने मान्छे पनि देखिदै गए । कसैले तपाईँलाई मात्तिएकी थिई भनेर शंका गरे । यो सोझो लोग्नेसँग जीवन चलाउन सकिन्न भनेर कुन लक्का जवान केटो टिपेर पोइल हिँडी होली भनेर कसैले भने । कसैले आफनो मनोकांक्षा पूरा नहुनेदेखि हिनताबोधले ग्रसित भई सप्तकोशी नदीमा हाम फालेर जीवन लीला नै समाप्त गरी होली पनि भने । दिदी ! कसैले भने त्यो गाउँले ठिटी विचरी सोझो तवरले सोच्थी । आफ्नै धुनमा व्यस्त हुन्थी । त्यसलाई पक्कै कुनै लफुङ्गोले ललाईफकाई गरेर इण्डिया लगेर बेच्यो होला । यो कोशीको धारमा अनगिन्ती पुरुषहरू आउँछन् । को कस्तो छ, किन आएको कसलाई के थाहा ? गाई गोठालो जाँदा उतैबाट जवरजस्ती भगाए होलान् । विचरी सोझी चेलीको जीवनलाई नै मानवताविरोधी गद्दारहरूले बर्बाद पारे होलान् भन्नेहरू पनि मनग्यै भए । शंका र शोकमा पुरै गाउँ डुविरह्यो ।

तत्कालीन प्रशासनले पनि परिवारका सदस्यहरूलाई मात्र दुःख दियो । छानविनका नाममा धेरै गाउँलेहरूले दुःख पाए । दिदी कमली ! तपाईँप्रति नराम्रो धारणा राख्नेहरूको संख्या पछि धेरै भयो । तपाईँका श्रीमान्ले साह्रै दुःख पाए, शारीरिक र मानसिक यातनाले विक्षिप्त भएर पारिवारिक रहस्यमय कुराहरू खोले । तर उनी आफृ् दोषी देखिएनन् । प्रमाणविना कसलाई दोष लगाउनृ् र ! कानूनले कसैलाई दोषी नदेखेपछि दोषी त तपाईँ आफै ठहरिनुभयो । साँचो कुरा ज्ञात नभए पनि दोषी तपाईँलाई देखियो । दिदी ! तपाईँको श्रीमान्ले भनेका एकाध कुराहरू उनकै भाषिक लवजमा म यहाँ राख्न रुचाउँछु । उनले भनेका थिए-‘मैले केही विराएको छैन । उनलाई माग्न जाँदा उनी केही बोलिनन् । पारिवारिक सम्झौतामा बिहे भयो । यहाँ आएर पनि मसँग दोहोरो कुरा कहिल्ये गरिनन् । म एकोहोरो बोल्थेँ । मेरो कुरा उसले कहिल्यै काटिनन् । तर साँच्चै मैले उसको स्पष्ट आवाज पनि कहिल्यैे सुन्न पाइन । बिहेमा आक्कल झुक्कल व्यवहार भयो होला तर यहाँ आएपछि न उनी कहिल्यै मेरो सामु आइन्, न मैले नै उसको सामु जाने घृष्टता गरेँ । उनले पनि कुनै आत्मीय व्यवहार देखाएकी होइनन् । साँच्चै उनी अचम्मकी नारी थिइन् । मैले पनि मनमनै कसम खाएको थिएँ । जबसम्म उनी मसँग खुलेर कुरा गर्दिनन्, जबसम्म अन्तरहृदयदेखि नै मलाई श्रीमान्को रुपमा स्वीकार्दिनन््् तबसम्म म आफृ्लाई उसको श्रीमान् हुँ भन्ने ठान्दै ठान्दिन ।’’ उनको यो कुराले सबैलाई चकित पार्याे । कुनै प्रशासनिक र सामाजिक निकायबाट दोषी नदेखिएपछि पनि उनी साह्रै विचलित थिए रे । तपाईँको सम्झना गरिरहने र आँसु वगाईरहने गर्थे रे । मैले सुनेको – अहिलेसम्म उनले अर्काे बिहे गरेका छैनन. रे । जीवनमा एक पटक बिहे हुन्छ, त्यो बिहे मैले कमलीसँग गरिसकेँ, अब माथि गएर नै उनीसँग भेट्छु होला र यो जीवनको दुःखको पोको खोल्छु भन्छन् रे । मैले चाहिँ उनलाई भेटेको पनि छैन । देखेको पनि छैन। बेहुलाको रुपमा तपाईँलाई लिन आउँदा देखेको हुँ । अहिले त सबै कुरा उनले पनि विर्सिए होला ।

दिदी कमली ! मैले यो लामो राम कहानी त सुनाएँ । यो कहानी सुनाउनुको मेरो अर्थ कतै तपाईँ कुनै ठाउँमा कुनै अवस्थामा हुनुहुन्छ कि भन्ने झिनो आशा छ । तपाईँ चाडै फर्कनुहोला । अर्थाेक नभए पनि नेपालमा अब जागरण आएको छ । १० वर्षे गृह द्वन्दले प्रत्येक नेपालीको मनमा नयाँ चेतना पसेको छ । नेपालमा नेपालीहरू पछि पर्नु र नेपालको अवनति मात्र हुनुको मुल कारकतत्व फेला परेको छ । सामन्तीवर्ग र उसका धुपौरेहरूको मनमौजी खेलले नेपाल र नेपाली कंगाल भएका रहेछन् । १३/१४ हजार ज्ञात अज्ञात सपुतहरूको रगत र लाखौं वीर वीराङ्गानाहरूको पसिनाले नेपालको इतिहास लेखिरहेको छ । नेपालीहरूको भाग्य निर्माता नेपाली नै हुन् भन्ने प्रमाणित भइसकेको छ । नयाँ नेपालको निमार्ण गर्ने महान् कार्यमा पूरै मुलुक जोडतोडले हरेकवर्ग सक्रिय भएर लागेको छ । अझै ! सहिदको रगतले संकेत गरेको फल पाउन तपाईँ जस्ता जागरुक व्यक्तिहरू पर्दा बाहिर आउनु अति नै जरुरी छ । तसर्थ मेरी हृदयकी श्रद्धेय दिदी चाडै फर्किनुस् । दिदी कमली ! फर्कनुस् नयाँ नेपालको नयाँ नक्सा कोर्न चाडै फर्कनुस् । पहिलेको मलाई दिएको बचन पूरा गर्न ढोका खुला भएको छ । यही पत्रलाई आधिकारिक चुनौती सम्झेर हाम्री दिदीलाई वेपत्ता पार्ने तत्वहरू हेसियार बन र दिदीलाई चाडै छोडी देओ । ज्यान नै लिइसकेर कायरता प्रदर्शन गरिसकेका छौ भने पनि आधिकारिक सूचना देओ । दिदी ! यो कुरा पनि तपाईँकै पत्रमा समेट्दै म अहिलेलाई विदा भए । हवस् त धन्यवाद ।

तपाईँको सदा खातिर गर्ने भाइ

नन्दलाल आचार्य

(तपेश्वरी १,उदयपुरबाट २०५० सालतिर वेपत्ता भएकी एक गाउँले दिदीको अझैसम्मको अज्ञात अवस्थाबाट चिन्तित भई उनकै सम्झनामा यी शब्दहरु समर्पित गरेको छु । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *