Skip to content

कल्पनाको गाउँ


पहाडी वातावरण, एकदम सुनसान शिवाय केही पनि थिएन; तै पनि घरिघरि कतैबाट चरा चुरुङ्गीको कलरव ध्वनी भने कानमा ठोक्किरहन्थ्यो । कुनैकुनै बेला, सर्र चिसो हावाले शरीरभरि काडा उमारी दिन्थ्यो । यो पहाडी वन भिरालो धरातल, घरि पसिना आउँछ । घरि जाडो हुन्छ, मैले आफ्नो झोलाबाट स्वीटर झिकेर लाएँ । यो याम शिसिर ऋतुको याम, जमिनको माटो सुख्खा छ; तै पनि हावा भने कति चिसो भएको होला । रुखका पातहरू, चिसो हावाका कारण होला आफ्नो स्थान छाडेर हरर हरर झर्दै गर्थे । म ती पतहरू हेरेर भन्ने गर्थें “कठैबरी ! यिनीहरूको म्याद सकियो यी फलिए, हामी पनि यस्तै त हों नि; बुढो हुन्छौं । यसै गरी हम्रो पनि चोला उठेको दिन जानु पर्छ तर यी पातहरू जस्तो एकै चोटी जान भने हामीले पर्दैन ।

मेरो यात्रा एकदम सुन्यमा हराउँदै जान्छ । म एकलै त्यो घना जंगल पार गर्न मलाई हम्मे हम्मे परिरहेको हुन्छ । कुनै कुनै बेला भने फाट्ट फुट्ट मान्छेहरू पनि बाटामा हिडिरहेका हुन्छन् । मलाई कसैको पर्बाह छैन, कसैको सथलागेर हिड्न पनि मन छैन । कुनै सथि पनि चाहिएको छैन । म एकै किसिमले, एकोहोरो हिडिरहन्छु । म कतै बिश्राम पनि गर्दिन । कतै बसिहलें भने पनि म लामै समय एकै ठाउँमा बसिरहेको हुन सक्छु । यसरी बौलाहा झैँ म बेहोस बेहोस जस्तो; त्यो घना जंगल पार गर्न हिडिरहन्छु । लामो यात्रापछि बल्ल म जंल पार गरेर पहाडको टुप्पामा भनु या फाँटमा निस्किन्छु । डाँडा माथिबाट, वरिपरी निहाल्दै म हेर्न थाल्छु । पर क्षितिज पारी अर्को अर्को घुर्मैलो डाँडो देखिन्छ । म त्यसैलाई निहाल्न थाल्छु अनि सम्झिन्छु “कल्पनाको गाऊँ” ।

कल्पना र म एउटै कक्षामा पढ्ने गर्थ्यौ । हाम्रो डेरा पनि सँगै थियो अनि ? मेरो र उनीको बिचमा धेरै गहिरो सम्बन्ध थियो । आपसमा हामीले के के बचा बाँधेका थियौँ त्यो । के त्यो कल्पना अझै पनि होली त ? त्यही बाचा बन्धनले, उसलाई अल्झाइ राखेको होला त ? यदि उसले त्यो अतीतको प्रतिज्ञालाई चोखै राखेकी होली त ? मनमा अनेकानेक कुरा खेलाउँदै म चप्लेटीमा बस्छु । मोरे मन कल्पनाको गाऊ तिरै एकोहोरिएको हुन्छ । यसरी मलाई अतीतको यादले सताइनै रहेको हुन्छ । मेरो मन भित्र एउटा यस्तो सुन्दर गाऊँ स्थापित हुन पुग्छ; जुन क्षितिजभन्दा पनि पर कुनामा अबस्थित छ । मेरो त्यो कल्पनाको गाऊँ, जुन एउटा काल्पनिक गाऊँ, म भावनामा बग्दै बग्दै त्यही गाऊँमा पुगिसकेको हुन्छु । त्यहाँ मसँग कल्पनाको भेट हुन्छ ।

जुन कल्पनालाई भेट्न म आतुरताका साथ जादैछु, । त्यो कल्पना हो; जसले मेरो निम्ति के के गरिन ? उसको र मेरो भेट नभएको पनि झण्डै दुई वर्ष भैसकेको छ । यो अवधिमा करिब पनि मैले दुई दर्जनभन्दा बढि नै चिठी पठाएँ होला; तर सबै ब्यर्थ, कुनै पनि चिठीको जवाफ पाएन सकिन । यसरी मैले पठाएका चिठीहरू कहाँ गए मैले पत्तोसम्म पनि पाउन सकिन । मेरो चिठी नपाए पनि उसले मलाई कुनै प्रकारले सम्झिन सक्थी । चिठी लेखेर पठाउन सक्थी । समयले बुढो बनाउदै लान्छ, समय जति छिप्पिदै जान्छ पुराना कुराहरू त्यति नै हराउदै जान्छन् भने झैं; यो अन्तिम समयमा मैले नपाएको कुरा प्राप्त गरें । त्यो के हो त भने, बर्षौंको प्रतिक्षा पछि, मैले कल्पनाले लेखेको चिठी प्राप्त गरें । पुनश्चः मैले एउटा चिठी पठाएको थिएँ । त्यही चिठीको जवफमा मलाई कल्पनाले एउटा चिठी पठाएकी थिइन् । चिठीको मूख्य आसय भने, मेरा अभिभावकलाई भेट्न आउनु भन्ने मात्र हौ ।

कुरा त ठिकै पनि हो, कल्पनासँग मात्र भेटेर त पक्कै बिहे हुदैन । बिहेको लागि त उनका अभिभावकसँग कुरा गर्नै पर्ने हुन्छ । उनले पनि अभिभावकसँग सल्लाहा गरिन् होला । तै पनि मलाई केही डर त लागि नै रहेको छ । म त्यहाँ झट्ट गैहाल्नु पनि हुदैन । म साच्न बध्य भएँ, बरु म त्यसै कल्पी कल्पी मर्न सकुँला तर त्यति सजिलै जान भने असमर्थ छु । म धर्म संकटमापरेको थिएँ “नखाउँ भने दिन भरिको शिकार, खाएँ भने कान्छा बउको अनुहार ” भने झैँ लाग्यो ।

म ठाडै आरालो झर्दै छु, मेरो मन भित्र केही चिज गरौं भएर बसेको झैँ लागिरहेको छ । म बिचार मात्र गर्छु, उनको चिठ पाउने बित्तिकै म किन त्यहाँ जान सकिन ? आजसम्म कल्पना पर्खेरै बसेकी होली त ? उनको चिठी पाएको पनि झण्डै डेड वर्ष जस्तो भै सक्यो । आजसम्म उनी के गर्दैछिन् होला ? कै कल्पना अझैँ पनि मलाई नै पर्खेर ? मेरो टाउको जोडले दुख्न थाल्छ । म लुखुर लुखुर ओरालो झरिनै रहेको हुन्छु ।

दिनका ती चम्किला आँखा पनि पश्चिम कोल्टो परेर सुतिसकेका थिए । केही छिनमै चरा चुरुङ्गीहरू पनि बासको खोजीमा चिर्बिराउँदै आ— आफ्नै गुडतिर लाग्दै थिए । मेरो पनि अब कतै गएर बासको टुंगो गर्नु पर्ने थियो ।

हो म अहिले कल्पनाको खोजी गर्न गैरहेको होइन, न कि अब कुनै दिन कल्पनासँग एकै ठाउँमा बसेर जिन्दगी बिताउने चाहाना नै छ । छ त केवल एउटैमात्र उद्देश्य, जहाँ गएर मैले जागिर खानु छ । म अहिले कति बिलखबन्दमा परेको छु ; कस्लाई पो थाहा होला र । त्यो लोक सेवा आयोगले पनि मलाई किन त्यही जिल्लामा खटाउनु परेको होला ? म कसरी कल्पनासँग भेट गर्नु, भेटै नभए त ठिकै हुन्थ्यो यदि दैबसंयोग भेट भैगयो भने मैले के भन्ने ? म उनीसँग कसरी प्रस्तुत हुने ? आफ्नो घर छाडेर हिडेको पनि दुई दिन भैसक्यो, अझै एक दिन लाग्ला जस्तो छ । यो डाँडाबाट हेर्दा धेरै परको क्षितिजलाई निहाल्नु पर्छ । मलाई त्यो क्षितिज पार गरेर जानु छ । हेर त त्यो आकाश र धर्ति मिलेको ठाउँ; म अझै पनि डराइरहेको छु, किन होला ? मेरो त गल्ती नै होइन नि, मैले कति चिठी पठाएँ; उसैले त हो नि! मेरो बाध्यता हो, मैले जागिर खानु पर्ने धन कमाउनु पर्ने । हो त यो हाम्रो संस्कार नै हो, पढे पछि जागिर त खानु नै पर्छ । नत्र समाजले खिसी गर्न थालिहाल्छ । फलानाको छोराले त्यत्रो पढेर पनि जागिर खान सकेन आदि आदि ।

बरु म जागिर खान्न; किन मलाई त्यहीं जनु पर्ने ? तन्यत्र नै पठाएको भए पनि त । कल्पनालाई म के भन्न जनु ? खै त त्यो मेरो उनी संगको प्रतिज्ञा ? मैले किन आफ्नो बाचा पुरा गर्न सकिन ? मैले उनीसँग कसरी मुख देखाउनु ? तर्केर हिड्नु पनि कति दिनसम्म होला ? के उस्ले मलाई चिन्ली ? के म उसलाई चिनुला ? उसले त बिर्सी पनि त होला नि । उसले बिर्से पनि म त कहिल्यै पनि बिर्सीन सक्तिन । त्यो बाटुलो अनुहार, चिटिक्क परेको जिउ, बरुले कम्मर, स्याउ जस्ता गाला, मुसुक्क हाँस्ता खोपिल्टा पर्ने गाला साथै दारिमका बियाँ झैँ मिलेका दाँत अनि फक्रिदै गरेका कमलको फूल झैँ जवानी आहा ! त्यो बेलाको मिलन आज सपना । बाफ रे बाफ ! उसको अंग प्रत्यंगको बर्णन म कसरी गरुँ ? कतै म कल्पनै कल्पनाको यो बिसाल मरुभुमिमा हराउँदै कुनै अर्को कल्पनाको खोजी गरिरहेको त छुइन ? यो साँचो हो कि, मलई कतै अतीतको भुतले लखेटिरहेका त छैन ? सम्झेर ल्याउँदा कति दिन र रात बितेर जान सक्छ तर पनि यो मेरो अतीतको स्मरण सकिन्दैन खै किन हो; मलाई यत्रो त्रास । म उसका हृदयबाट कतिचोटी मरिसकें होला । ऊ त अब अर्कैको नासो भैसकी होला तर खै कसरी हुन सक्छ र यस्तो उसले र मैले त यो जुनीमा मात्र नभएर अर्को जुनीमा समेत नछुट्टिने बचा गरेका थियौं, के त्यो बाचा ऊसँग अझै कायमै होला त ? हो त उसले मसंगको पहिलो भेटमा जुन शब्द उच्चारण गरेकी थिई त्यो शब्द अझै पनि मेरै कानमा गुञ्जिरहे झैं लाग्छ । कति मिठो वाक्य, “तपाईको घर चैं कहाँ हो नि दाजु” यही वाक्य हो, मैले उसको मुखबाट सुनेको पहिलो आवाज । सम्झिन्छु अझैँ र मैले पनि सहज तरिकाले उत्तर दिएको थिएँ ।

“मेरो घर खाँदबारी हो, अनि बहिनीको चैं कहाँ हो नि”— मैले उत्तर सँगसँगै प्रश्न पनि जोडेर भनेको थिएँ ।

“मेरो पनि उतैतिर त हो नि”— उनले मन्द मुस्कानका साथ जवाफ दिएकी थिइन् ।

यसरी धेरैबेरसम्म वार्ता भै रह्यो, ।

उतैतिर भेनेकोले म पनि आफ्नै जिल्ला, संखुवासभातिर रहेछ भन्ने सोचेर ढुक्क भएँ । हाम्रो बगैंचामा पनि यस्तो सुन्दर फूल फुल्दो रहेछ भन्ने मनमा लाग्यो । उनी सोध्दै थिइन् । बिभिन्न प्रश्नहरू, र म उत्तर दिइनै रहेको थिएँ । मैले जीवनमा पहिलो चोटी यस्ती राम्री र फर्साइली तरुनीसँग सामिप्य हुने मैका पाएको नै त्यो पहिलो चोटी थियो । हुन त त्यस्ती कलकलाउँदो बैंसले भरिएकी सुन्दरी; त्यसमा पनि आफैँ आएर मसँग बतमार्न थालेकी, म पनि अरु कुनै युवाभन्दा कम चैं छु जस्तो लाग्दैन थ्यो । यस्तो अवस्था भेट्दा कुन चैं युवा पुरुषको मनमा आनन्द पलाउदैन होला र ? त्योभन्दा पहिले त, त्यस केटीलाई मैले यादै गरेको थिइन; केटीहरू त धेरै थिए तर कुनै पनि केटीको छेउमा म उभिएको पनि थिइन । त्यो दिन नै हो, म कल्पनासँग बोलेको पनि । कल्पना कक्षामा सबैभन्दा राम्री थिई । खै मलाई मात्र त्यस्तो लागेको हो वा अरु सबैको नजरमा पनि त्यस्तै लाग्छ । धेरै केटाहरू कल्पनासँग नजिकिन खाज्थे ता पनि ऊ, मसँग मात्र नजिकिन्थी । कयौं चोटी मेरो र अरु केटाहरूको बिचमा भनाभन पनि नभएको होइन । सबैको मनमा कल्पनालाई

आफ्नी बनाउन पाए हुन्थ्यो भन्ने थियो । कसैले ऊमाथि कर्के नजर लायो कि म त्यस माथि सिधै जाइलाग्ने गर्थें । कल्पनाको रुपको बर्णन गरेर कहिल्यै पनि सकिने होइन; जुन सुकै युवाको मुखबाट कल्पनाको रुपको तारिफ सुनिन्थ्यो ।

त्यस दिन मैले उनका धेरै कुराहरू सुने तर आफ्नु कुरा भन्ने मौका भने पाइन कि खै मैले नै केही भन्न खोजिन; खै मलाई नै थाहा भएन ।

“उतैतिर त भन्यौ, तर कहाँ हो नि; त्यो गाउँ चैं ? ”— मेरो यो प्रश्न सुन्ने साथ, उनले गम्भिर हाँसो छर्दै, आफ्नो ठेगाना बताइन् । उनको मधुर मुस्कानले के अर्थ लगाउन खोजें मैले । मेरो त हृदय नै, बिह्वल बिह्वल भैसकेको थियो । अहिले म त्यस बेलाको आनन्दलाई कुनै पनि शब्दमा उतार्न पनि सक्तिन । मेरो प्रश्नको उत्तर त उसले त्यही मुस्कानले टारिदिएकी थिई । धेरैबरसम्म हामी दुबै मौन ?

“खै त ! मैले मागेको कुरा; मैले त तिम्रो सुकिलो मुहारको, मोहनी लाग्दो मुस्कान त मागेको थिइन अनि”— मैले पुरा वाक्य नै सिध्याउन पाएको थिइन, उनले हतारमा मलाई रोक्दै भन्न थालिन् ।

“मेरो घर त ओखलढुंगा जिल्ला हो । जुन सगरमाथा अन्चलमा पर्छ ”— उनले यो बेलि बस्तिार लगाइन् । खै कहाँको खाँदबारी कहाँको ओखलढुंगा, उनले त मेरो पनि उतै हो दन्दा त उतै खाँदबारीको छेउछाउ नै पो होला भन्ने लागेको थियो । म मनमनै छक्क पर्दै थिएँ । खाँदबारी भन्ने ठाउँ कते अर्को पनि रहेछ, कतै उनके जिल्लाको एउटा गाउँ पो हो कि; भन्ने लाग्यो ।

“उतैतिर भनेको होइन ? अनि खाँदबारी त संखुवासभा जिलको सदरमुकाम पो हो त, त्यो त कोशी अञ्चलमा पर्छ ”—मैले यती कुराभन्दा उनी त खित्का छोडेर हाँस्न पो थालिन् ।

“अनि खाँदबारी र ओंखलढुंगा एकैतिर होइन त ? हाम्रो बोली चालिरहनसहन सबै एकै हैन र ?” मैले केही जवाफ दिन चाहिँन, चुपचाप बसिरहें ।

“अब अर्को दिन बात मारौंला है !”— भन्दै उनी आप्नो बाटो लागिन् ।

एक दिनको कुरा हो, म एकलै डेरामा बसिरहेको थिएँ । मेरो मन मस्तिस्कमा एउटा बिचत्रिको तस्बिर सलबलाउन थाल्छ । म त्यसबाट मुक्त हुन चाहान्छु । तैपनि मेरो अघिल्तिर तिनै कल्कना को चित्र देखा पर्छ । अनेक तरहले म त्यहाँबाट पर भाग्न खोजे पनि, म कल्पनाबाट उम्किएर पर भाग्न नसक्ने अवस्थामा हुन्छु । पुस्तक पल्टाउँछु, पानाभरि कल्पनाको चित्र मात्र हुन्छ । मलाई के भएको हो ? पढ्न मनै लाग्दैन, राति उठेर बत्ती बाल्छु ; बत्तीको उज्यालोमा पनि तिनैलाई देख्छु । बत्ती निभाइदिन्छु अँध्यारोमा पनि उनैलाई देख्छु । सुतेर जबरजस्ती आँखा बन्द गर्छु तै पनि उनी त्यही मुस्कुराइरहेकी हुन्छिन् ।

अर्को दिन क्याम्पसमा उनीसँग भेट हुन्छ, उनको अघाडी गएरबोल्न मलाई कस्तो कस्तो अप्ठ्यारो लाग्दै थियो । “प्रकाश दाजु ! म तपाईसित केही कुरा गर्न चाहान्छु । एकछिन समय दिनु हुन्थ्यो कि”— एक्कासी उनको यस्तो कुरा सुन्दा मलाई, कतै डर लागे जस्तो त कतै खुसि लागे जस्तो एउटा कस्तो बिचित्रको अनुभूति प्राप्त भयो ।

खुसिभन्दा पनि मलाई त बडीमत्रमा डर नै थियो । खै किन डराएको होला ? मेरो पापी मन; मेरो मनको कुरा मात्र त हो नि, न त यस्तो कुरा अरुकसैलाई थाहा छ न त उनलाई नै । उनी अघि अघि म पछि पछि अलिक परसम्म गयौं । कोही पनि बोलेका छैनौं, दुबैजना चुपचाप चुपचाप; म कुनै अपराधी हुँ जो आज मेरो साथमा पुलिस छ । मेरो मुटु ढुकढुक गरिरहेको छ । सास पनि एकोहो भए झैँ लाग्छ । म एक अपराधी, आज मलाई पुलिसले भेको छ । म बयान गर्न ठानामा जाँदैछु । आज मेरो हबिगत कस्तो होला ? म बिलखबन्दमा परिरहेको छु ।

हामी अलिक परको एकान्तमा पुग्यौ; उनी ठिङ्ग उभिइन् र मतिर फर्किएर रातो अनुहार पारिन् । मेरो त झन् होस हवास नै हरायो । त्यो एकान्त ठाउँ, साथमा तरुनी केटी । मैले डराइ डराइ एकचोटी उनको शिर देखि पाएसम्म अबलाकन गरें । उनको शरीर केही कामेको जस्तो अनि अनुहार र आँखामा लाली चढे झैँ देखिन्थ्यो । मलाई त अझै डर अनि त्रास ।

“मैले तपाईंलाई यहाँ किन ल्याएको थाहा छ ? ”—उनले यसरी प्रश्न गरिन् म हठात पर हटें उनी अघि बढिन् म अझै पछि हटें ।

उनका आखा अझै राता राता देखिन थाले । मलाई कुनै अज्ञत भयले छोप्न थाले झैँ के गरुँ र कसो गरुँ जस्तो लाग्न थाल्यो । म डराएको कुरा उनलाई थाहा नै भएन तर मलाई भने उनी पक्कै पनि रिसाएकी नै हुन् भन्ने भन पर्यो ।

“दाइ ! म तपाईलाई मायाँ गर्छु,, कृपया मलाई”— वाक्य पुरा गर्न नपाउँदै मन भक्कानियो, आँखा बर्षियो उनको त हास हवास नै गुम; म भने रुनु न हाँसनु भने झैँ भएँ ।

उनले मलाई घ्याप्प अँगालोमा बाँधिन् । मैले ओरिपरी आँखा घुमाएँ, एउटा भयले अघिसम्म दुख दिइरहेको थियो अब भने अर्कै ।

“धत् ! यस्तो पनि गर्ने हो त ? म पनि त तिमीलाई माया गर्छु नि ”—उनको पासबाट मुक्त हुदै मैले भने ।

उनी बल्ल सम्हालिन पुगिन् । म पनि अलिक पर सरें ।

“आज मेरो कोठामा जाऔं न है ! ”—उनले बिनम्र भावमा उसले भनी ।

मैले पनि उसको करा स्विकार गर्दै तयो दिन उसैको डेरामा गएको थिएँ । त्यस दिनको रात म उस्कै कोठामा बसें । गफै गफमा मैले कोठाको भाडा कति तिरेको छ सोधेँ ।उसले महिनाको रु.५० तिरेको कुरा सुनाइन ्रम आफूले चै रु। ४० मात्र तिरेको कुरा सुनाएँ र केही दिन पछिदेखि कल्पनाको र मेरो एउटै घरमा डेरा भयो । घर एउटै भए पनि कोठा भने छुट्टै नै थियो । हाम्रो बिचमा गहिरो माया प्रीति बसिसकेको थियो । हाम्रो घनिष्टता झन् गाढा हदै गएकोले हामी एकआपसमा छुट्टिएर बस्न नसक्ने स्थितिमा पुगिसकेका थियौँ । यस्तो अबस्थाका हामी प्रतिकुल परिस्थितिको कारणले गर्दा चाँडै बिछोड हुन पुग्यौँ ।

मलाई अझैँ कल्पनाको गाउँ पुग्न दिभरि नै लाग्ने रहेछ । ओखलढुंगा त एउटा जिल्लाको नाउँ हो, म जुन जिल्लामा जागिर खान जाँदैछ । अहिले मलाई एउटा सानो कौतुहलले सताइ रहेको छ । कल्पना जो मेरी प्यारी आज उनलाई मैले जवाफ दिने शब्दहरू कहाँ छन् ? म समस्यामा परेको छ । मलाई भित्र मुटुमा केले हो च्वास्स च्वास्स घोच्न थाल्छ जब कि म जति दुरी छोट्याउँदै जान्छु, त्यति नै आशंका र भयले सताउन थाल्छ । यदि मेरो र कल्पनाको जाँदा जाँदै जम्काभेट भैहाल्यो भने ।

दिनले कोल्टो फेरिसकेको छ । म त्यो ठाउँमा पुग्छु । मलाई सम्बन्धित कार्यालय पत्तोलगाउन त्यति गारो परेन । कार्यालयमा पत्र बुझाए पछि, म त्यसै दिनदेखि हाँजिर भएर काम गर्न थालें । म कल्पनाको गाउँमा आएको पनि अब त धेरै दिन भैसक्यो । एक दिन कुराको शिलसिलामा मैले कल्पनाको कुरा निकालें । एकजना साथीले कहाँ चिनेको त्यो कल्पनालाई ? भन्यो हामी त सँगै पढैका हौं भनें । सबै साथीहरू एकापसमा मुखामुख गर्न थाले । कल्पनाको बारेमा सबै परिचित रहेछन् । एकजना साथीले भन्यो म भोलि कल्पनाको घर देखाइदिन्छु भन्यो ।

कुरैकुरामा मैलै कल्पनाको र मेरो मित्रताको बारेमा सुनाएँ अनि सारा हाम्रा अतीतका प्रेमकथाहरू सुनाएँ, उसले पनि मलाई अभागीको संज्ञा दिदै सान्त्वनाको पाठ पढायो तै पनि उसले कल्पनाको बारेमा केही पनि बताएन । मलाई कौतुहलता जागि नै रह्यो । दिन बित्तै गयो हप्ता हुदै महिना पनि बित्यो फेरि एक दिन मौका पारेर त्यही साथीलाई बोलाएँ । साथीसँग कल्पनाको बारेमा केही कुरा बताउँन अनुरोध गरेँ । उसले मलाई कल्पनाको बारेमा बास्तकिता भन्न अझै पनि चाहेन । केही दिन फेरि मैले उसलाई कल्पनाको बारेमाभन्न अनुरोध गरें ।

ऊ कल्पनाको छिमेकिरहेछ, मैले बाध्य पारे पछि उसले भन्यो —“हेर्नुस रमेश जी, अब कल्पना यो सन्सारमा पक्कै पनि छैन होला, ऊ बिपत्ता भै केबल तपाईंकै प्रतिक्षामा धेरै समय बिताई । तपाईले उसलाई धोका दिनु भो बअ उसको घरमा गएर केही पाउनु हुन्न केवल पाएनु हुन्छ गाली र अपमान ” ।

के अब कल्पना यो संसारमा छैन त ? मेरो मनमा एउटा आँधीबेहरी चल्न थाल्यो । मैले आँखा देख्न छाडें, म ढलपल गर्न थतलेंछु । साथीले सम्हालेर मलाई कोठामा पुर्याएछन् ।

कल्पनाको बारेमा म फेरि पनि सोच्न बाध्य भएँ । मैले दिराटनगरमा बसेर पढ्दाको उसको र मेरो निकटता सम्झन थालेँ । त्यहाँ न त कुनै स्वार्थ थियो न त कुनै बैंसको उन्माद नै थियो, मात्र एउटा समर्पण थियो अनि चोखो प्रेम; मात्र प्रेम अनि थियो एउटा कथा … । थियो त्यहाँ लैला मजनुको अनि लाल हीराको साथै त्यहाँ मधुमालतीको नभए के थियो भनु त्यहाँ मुना मदनको कथा थियो । म अहिले त्यहाँ के थियो के थिएन भन्नुभन्दा पनि त्यहाँ त सारा संसारका प्रेम कहानी अटाउँने ठुलो ब्रम्हाण्ड अनि … ।

दिन बित्दै गयो, हप्ता मैना गर्दै समय आफ्नै गतिमा चलिरहेको थियो । एक दिन फेरि उही साथी मसँग थियो । मैले कल्पनाको बारेमा कुरो निकालें । उसले त्यसै टार्न खोजिरहेको थियो । म ढिपी गर्न थालें, उसले फेरि बयान गर्न थाल्यो ।

“कल्पना जो अति नै राम्री केटी थिई, उसलाई सबैले मन पराउँथे । सबैले माया पनि गर्थे, उसको सबैसँग राम्रो सम्बन्ध थियो । पढे लेखेकी हुनाले राम्रै ठाउँबाट माग्न पनि नआएका हैनन् । तर पनि उसले कुनै केटासँग विहे गर्न मानिन । उसको एउटैमात्र भनाइ के थियो भने … ।”

बोल्दा बोल्दै उनी टक्क रोकिए मलाई अझै कुरा सुन्ने इच्छा थुप्रै भएको हुनाले, फेरि भन्ने अनुराध गरें ।

ऊ भन्दै गयो “एक दिनको कुरा हो कल्पनाले आफ्नी आमासँग भनिछे; मैले बिराटनगरमा एउटा केटासँग पहिले नै बिहे गरिसकेकी छु । उसको कुरा सुनेर आमाले उसलाई निकै केरकार गरिछिन् । केटा को हो कुन् जातको हो ?भन्दा जात त आफ्नै हो तर ऊ अहिले कहाँ छ मलाई थाहा छैन । त्यस पछिका दिनमा घरका सबैले ऊसलाई हप्काउने दप्काउने र त्यो केटाको बारेमा सोधि खोजी गर्न थाले । आफ्ना नाता गोता सबैले उसलाई नराम्रो दृष्टिले हेर्न थाले । कसैले यो त बौलाउन पो लागी भनेर भने भनें कसैले धामी लाउने कुरा गरे अनि कसैले चैं डाक्टरी उपचार गर्नु पर्ने कुरा गर्नथालेका थिए । गाउँमा यस्तो हल्ला मात्र के चल्न थालेको थियो, एकदिन त उसैले त्यो व्यवाहार देखाइछे”—भन्दा भन्दै साथी फेरि चुप भयो ।

मेरो अनुरोधमा उसले फेरि भट्याउन थाल्यो —“आमाले भैंसीलाई घाँस हाल्न भनेर काम अराएको रहेछ, उसले त भैंसीको थलामा लगेर एक डोको कागज (किताब कापी) हाल्दिछे । अनि त गाउँलेहरूले देखिहाले; हो रहेछ यो त बौलाही नै हो भनेर हल्ला फिँजियो ” ।

मैले जतिनै ढिपी गर्दा पनि साथीले यहाँभन्दा कुरा बडाएन चाहेन । म भने साँझमा कोठामा पुगेर खानपिन नगरी कनै ओछ्यानमा घोप्टो परेर लडेँछु । मध्यरातमा ब्युझिएर यसो छामेको त मेरा आँखाबाट खै कति आासु झरे कोनि आछ्यान पुरै भिजेको थियो । मेरो मनले सहन सकेन अझै दुई आँखाका कोषबाट बलिन्द्रधारा खस्न लागे, मेरो मुटुबाट भक्कानु छुटेर आयो । मुखबाट आवाज ननिकालुँभन्दा भन्दै पनि मेरो मुखबाट ह्वाँ ..वाँ … गरेको आवाज निस्कियो । म फेरि घाप्टो परेर लडेँ; मुखबाट निस्किएको आवाजलाई भित्रै देखि दवाएर गुडुल्किएँ ।

बैसाखको दिन रहेछ बिहानका झुल्के घाम देब्रे पँधेराको ढुङ्गेधाराको चप्लेटीमा बसेर मलाई पर्खेकी कल्पना, मलाई देखेर लाजले मुन्टो बटारेकी परैबाट देखेँ । म उनलाई देख्ने बित्तिकै मुसुक्क हाँस्तै दायाँ पटिको सानो सिमालीको बुटाबाट एउटा सानो हाँगो भाँचेर मुखले टक्दै उनी भए तिरै गएँ । उनले मलाई केही पनि नभनी एउटा कागजको पानामा लेखेको चिठ्ठी मेरो हातमा दिएर दुईहातले मुख छोपेर घुँक्क गरेर रुँदै, वनतिरको बाटो लागिन् । कल्पनाले दिएको त्यो कागजमा लेखेको अक्षरहरू पढ्न सक्ने अवस्थाका भने थिएनन् तै पनि पढ्ने कोशिस गरेँ । उनी गएको बाटातिर हेरेँ; हेर्दा त त्यहाँ अरु थुप्रै केटीहरू मलाई आक्रमण गर्ने बिचारले लठ्ठी र खुकुरी सहित म तिरै आउँदै थिए । म त्यहाँबाट भागेँ ।

हतार आँखा मिचेर घडी हेरेँ बिहानको चार बजेको रहेछ । अधिको कुरा सम्झें मनमा अलिअलि डर अनि केही पश्चात्ताप साथै केही आसंका अझैँ मैले केही बिचार गर्न सकिरहेको थिइन । सपना त हो नि ! भनेर म आफू नै पनि बिश्वस्त हुन सक्ने अवस्थामा नभएकोले झट्टै केही निर्णय गर्न सकिन ।

बिहानको झुल्केघाम हुँदा त म लुखुर लुखुर वनको बाटो आफ्नै गाउँघर ताकेर हिँडिरहेको थिएँ ।

२०३९।०१।०६

तुम्लिङटार

संखुवासभा

Leave a Reply

Your email address will not be published. Required fields are marked *