Skip to content


ओ चित्रकार !
तिमीले जुन चित्र बनाइरहेछौ
त्यो मेरो होइन ।

त्यहाँ मेरो शिर, हात र खुट्टाहरू छैनन्
त्यहाँ मेरा आँखा, नाक र ओठहरू छैनन्
त्यहाँ मेरा सुख-दुःख
आँसु-हाँसो
प्रेम-घृणा
र, राग-विरागहरू छैनन् ।

ओ चित्रकार !
तिमीले जुन चित्र बनाइरहेछौ
त्यो मेरो होइन ।

त्यहाँ मेरा ढुकढुकी र सुस्केराहरू छैनन्
त्यहाँ मेरा घात-प्रतिघात, उहापोह र द्वन्द्वहरू छैनन्
त्यहाँ मैले हिँडेको बाटो
मैले गाएको गीत
मैले बजाएको बाजा
मैले नाचेको नृत्य
मैले खेलेको खेल
मैले देखेको सपना
केही पनि छैनन् ।

ओ चित्रकार !
ओ मेरो समयका नायक !
तिमीले जुन चित्र बनाइरहेछौ
त्यो मेरो होइन ।

ओ चित्रकार !
तिमी चित्र बनाइरहेका छैनौ
त्यसको विनिर्माण गरिरहेछौ ।

अंक: ५३३ | २०६९ फाल्गुन ६ | Feb 17, 2013

Leave a Reply

Your email address will not be published. Required fields are marked *