Skip to content

सरुभक्तको “पागल-बस्ती” अब विद्युतीय संस्करणमा

  • by
20130313_RishiBastakoti_News


नेपाली साहित्यका पुस्तकहरूलाई विश्वभर फैलाउने उद्देश्यले स्थापित इबुकभण्डारले आफ्नो पहिलो कोसेली स्वरुप प्रसिद्ध साहित्यकार सरुभक्तको मदन पुरस्कार प्राप्त बहुचर्चित उपन्यास “पागल-बस्ती”को विद्युतीय संस्करण (ebook) बजारमा ल्याएको छ । यो किताब आइप्याड, आइफोन, आईपड टच आदिमा पढ्नको लागि एप्पलको इ-बुक भण्डारमा किन्न सकिन्छ भने कम्प्युटर, अन्ड्रोइड ट्याब्लेट र फोनमा पढ्नको लागि गुगलको इ-बुक पसलमा किन्न सकिने कुरा इबुकभण्डारले जनाएको छ ।

विश्वभर छरिएर रहेका नेपालीहरूका लागि नेपाली साहित्यका कृतिहरू पढ्ने समान अवसर प्राप्त होस् भन्ने उद्देश्यले प्रकाशित विद्युतीय संस्करणहरू सबै जसो कम्प्युटर, ट्याब्लेट र फोनहरूमा पढ्न सक्ने गरी बनाइएका छन् ।

विद्युतीय प्रकाशनका लागि प्राबिधिक कार्य क्यानाडाबाट इ-बुकभण्डारडटकम (ebookbhandar.com)ले गर्ने भए पनि यसको बिक्री वितरण गुगल र एप्पल जस्ता स्थापित किताब पसलहरूमार्फत हुने हुनाले पाठकहरू ढुक्क भएर यी किताबहरू किन्न सक्ने कुरा इ-बुक भण्डारका संस्थापक सदस्य क्यानाडाको क्याल्गरी निवासी डा ध्रुब त्रिपाठी बताउनुहुन्छ ।

नेपाली साहित्यिक कृतिहरूको विद्युतीय प्रकाशनको आवश्यकतामाथि प्रकाश पार्दै डा त्रिपाठी थप्नुहुन्छ, “अहिले बिदेशमा रहने सबैजसो नेपालीहरूसँग इ-रिडर, ट्याब्लेट, स्मार्टफोन वा ल्यापटप कम्प्युटर आदि किताब पढ्न मिल्ने ग्याजेट हुने हुनाले कागजी किताबको साटो इ-किताबको बजार बिस्तार गर्न शुरु गर्ने योभन्दा राम्रो समय अरु हुनै सक्दैन ।“

किताब किन्न पसल जानु नपर्ने र इन्टरनेट जोडिएको कुनै पनि डिभाइसबाट नयाँ किताब किन्न मिल्ने, एक पटक किने पछि जहाँसुकै र जुनसुकै डिभाइसमा पनि पढ्न सकिने हुनाले इ-किताब परम्परागत कितावको तुलनामा निकै सजिला छन् । कागजको प्रयोग नहुने हुनाले बाताबरणमैत्री समेत हुने हुँदा इ-किताबहरूले चाडै नै पाठकको मन जित्ने कुरामा डा त्रिपाठी ढुक्क हुनुहुन्छ।

विद्युतीय प्रकाशनको आवस्यकता औल्याउदै नेपाली साहित्यलाई विश्वव्यापी बनाउनको लागि अब समयसापेक्ष प्रविधिको प्रयोग गरी विश्व बजारको प्रतिस्पर्धामा उत्रिनुपर्ने बेला आइसकेको कुरा साहित्यकार सरुभक्त बताउनुहुन्छ । विश्वभरि छरिएर रहेका नेपाली साहित्यप्रेमीहरूका सामु नेपाली साहित्यका कृतिहरू पुर्याउनुका साथै अंग्रेजीमा समेत अनुवाद गरी विश्वबजारमा प्रवेश गर्न सके नेपाली साहित्यलाई अन्तरराष्ट्रिय स्तरमा चिनाउन सकिने कुरामा सरुभक्त विश्वस्त हुनुहुन्छ ।

इ-बुक भण्डारले यस अभियानबाट आर्जित आय पनि नेपाली साहित्यका स्रष्टाहरूको संरक्षण र साहित्यको विकासमै खर्च गर्ने योजना बनाएको र सरुभक्त सरोकार केन्द्रसंगको सहकार्यमा प्रकाशित पागल-बस्तीको बिक्रीबाट जम्मा हुने सम्पूर्ण आम्दानी केन्द्रमार्फत साहित्यकार सरुभक्तका थप कृतिहरूको प्रकाशन र अनुवादमा खर्च गरिने कुरा इबुक भण्डारका प्रवर्तक ऋषि बस्ताकोटी मार्फत थाहा भएको छ । बस्ताकोटीका अनुसार निकट भविष्यमा अरु साहित्यकारहरूका लोकप्रीय कृतिहरू पनि इबुकभण्डारमा थप्दै जाने र इच्छुक महानुभावहरूले यी पुस्तकहरू ebookbhandar.comमा क्लिक गरी सशुल्क पढ्न सक्ने व्यवस्था मिलाइएको छ भने इच्छुक लेखकहरूले प्रकाशनको लागि सिधै इबुकभण्डारमा सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *