Skip to content

पुराणको अन्यायमा परेका इन्द्र


हिन्दुहरूका एउटा देवताको नाम इन्द्र हो । इन्द्रको सामान्य चिनारीमा उनी असुरपुत्री शचीका पति हुन् । शचीलाई पनि उनले अपहरण गरेरै ल्याएका होलान् । उनी असाध्यै स्त्रीलम्पट पनि छन् । स्वास्नीमान्छे देख्नै नहुने । उनी अत्यन्तै काँतर पनि देखिन्छन् हिन्दी टेलिशृङ्खलामा । जहिले पनि असुरहरूले अमरावतीमा आक्रमण गर्ने, इन्द्रलाई पराजित गरेर भगाउने र अमरावतीका अप्सराहरूको भोग गर्ने कथा हिन्दु समाजमा छ्यास्छ्यास्ती छरिएका छन् । असुरको आक्रमण भयो कि डरले आत्तिँदै इन्द्र कहिले शिवको कैलासमा, कहिले ब्रहृमाको ब्रहृमपुरीमा त कहिले विष्णुका क्षीरसागरतिर कुदेको देखिन्छ । हामीले बेहोरेको अन्धविश्वासमा इन्द्र आकासमा विचरण गर्छन्, उनको अमरावती पनि आकासतिरै छ । उनका अप्सरा चिताइनसक्नुका सुन्दरी छन्- तर तिनको काम इन्द्रलाई आनन्द दिनु र इन्द्रको आदेशमा ऋषिमुनिहरूको ध्यान भङ्ग गराउनु मात्रै हुन्छ । एकप्रकारका भोगका पुतलीजस्तै देखिन्छन् तिनीहरू ।

तर वेदले इन्द्रको अर्कै तस्बिर प्रस्तुत गर्दछ र पुराणले भनेभन्दा उल्टो व्यक्तिको रूपमा प्रस्तुत गर्दछ ।

वेद मातृसत्ता समाप्तिपछिको लोकगीतहरूको सङ्कलन हो । यो कुनै एउटा कालखण्डमा तयार पारिएको महाकाव्य होइन । वेदको रचना आरम्भ, जसलाई ऋग्वेद भनिन्छ, आजभन्दा चार हजार वर्ष पहिले भएको थियो । त्यतिबेलासम्म लिपिको आविष्कार भएको थिएन । त्यसैले वेदका गीतहरू श्रुतिकाव्यका रूपमा सिन्धु उपत्यका तरेर यताको भावरतिर लागेको हो र विद्वानहरूको भनाइ अनुसार व्यास ऋषिले पहाडी भूभागको कुनै गुफामा बसेर यसको सम्पादन गरेका हुन् । आˆनो सम्पादन कार्यलाई उनले आˆनो लेखन पनि भन्नसक्थे । तर यसो नगरेर उनले अलग अलग ऋषिहरूको सिर्जनाकै रूपमा वेदको सम्पादन गरेका छन् । उनको यो कर्मले नै उनलाई अति सम्मानित स्थानमा पुर्‍याएको पनि छ । वेद उनको नामसँगै गाँसिएर आएको छ- वेदव्यास भएर ।

वेदमा भिन्न भिन्न ऋषिले रचेका श्लोकहरूलाई मन्त्रका रूपमा सम्पादन गरिएको छ । सबै ऋषिले इन्द्रलाई अत्यन्तै बलशाली, शूरवीर र रक्सी चुसिरहनु पर्ने योद्धाका रूपमा चित्रित गरेका छन् । इन्द्र कुनै एउटा देवता अथवा एउटा मानिसको नाम होइन भन्ने सत्य पनि वेदले स्पष्ट पारेको छ । किनभने एउटा इन्द्र गोठालाको नायक बनेको छ । अर्को इन्द्र शूरवीर गणनेता बनेको छ । एक ठाउँमा इन्द्र मुकुटधारी सरदार पनि बनेको छ । सबै ऋषिहरूले इन्द्रलाई सहयोगी र परोपकारी तथा समाजको अगुवा मानेका छन् ।

जस्तो पृष्ठ तीनमा, मधुच्छन्दा वैश्वामित्र ऋषिको भनाइ छ- मिठो दूध दिने गाईलाई गोठालले दिनहुँ बोलाए झँै हामी विश्वामित्र आदि ऋषिहरू आˆनो संरक्षणका लागि सुन्दर र यज्ञ सम्पन्न गर्ने इन्द्रलाई आहृवान गर्दछौँ । यिनै ऋषि पृष्ठ पाँचमा इन्द्रलाई यसरी आहृवान गर्दछन्- हे इन्द्रदेव, बलिया खालका किल्लाबन्दी भत्काउन सक्ने तिनै तेजस्वी मरुतहरूका सहयोगले तिमीले गुफामा लुकाइएका गाई खोजेर निकाल्यौ । तिनै ऋषि इन्द्रको प्रशंसा गर्दै पृष्ठ आठमा भन्दछन्- स्तुति गर्ने स्तोताहरूले तिमीलाई पूज्य मानेर मन्त्रोच्चारद्वारा आदर गर्दछन् । बाँसका चोकेमाथि चढेर चटक देखाउने नट वा नर्तकजस्ता ब्रहृमा नामका ऋत्विकले श्रेष्ठ स्तुतिगान गर्दै तिमीलाई प्रोत्साहित गर्दछन् ।

वेदको सामान्य अध्ययनले पनि हामीलाई आˆनो काँधमाथि बोकेका अन्धविश्वासबाट मुक्त गर्दछ । हाम्रो अन्धविश्वासी ज्ञानले ब्रहृमालाई जगत्पिता मानेको छ, सृष्टिकर्ता मानेको छ । तर वेदले ब्रहृमालाई बाँसको चोकेमा चढेर चटक देखाउने नटजस्तै मानिस मानेको छ ।

अनि ब्रहृमालाई जगत्पिता मान्नेहरूले वेदको खण्डन कहीँ गर्नसक्ने कुरो पनि भएन ।

इन्द्रको यथार्थ परिचय खालि एकजना ऋषिले मात्र दिएका छैनन् । अर्का ऋषि जेतामाधेच्छन्दस पनि इन्द्रको शक्ति र गौपालनको क्षमताको प्रदर्शन गर्दै पृष्ठ नौमा भन्दछन्- हे वज्रधारी इन्द्रदेव, तिमीले गाई चोर्ने असुरका व्यूह नष्ट गराइदियौँ । -तिम्रो शक्ति अनुभव गरेर) असुरहरूबाट पराजित भएका देवताहरू तिमीसँग आएर सड्ढठित भए ।

धेरै वैज्ञानिक अनुसन्धानले सिन्धु नदीपारिको मध्य एसियाबाट स्वर्गका कथा सुरु हुने कुरो प्रमाणित भइसकेको छ । नेपालीमै पनि मोदनाथ प्रश्रतिको देवासुर सङ्ग्राम महाकाव्य, मदनमणि दीक्षितको भूमिसूक्त उपन्यास, बालकृष्ण पोखरेलको खस जातिको इतिहास जस्ता अनुसन्धानमूलक कृतिहरूले हामीलाई स्वर्ग र नर्कको, सुर र असुरको, देवता र राक्षसको ज्ञान दिइसकेका छन् । आˆना भौतिकवादी सोचले सिर्जना गरेका पुस्तकहरूका कारण हाम्रा यी वरिष्ठ लेखकहरू मुलुकमा सम्मानित हुन अझै सकेका छैनन् । तर प्राचीन वेद र वर्तमानको वैज्ञानिक अनुसन्धानले तिनैका तर्कहरूलाई लगातार पुष्टि गर्दै गइरहेका छन् ।

अध्ययनलाई ज्ञानका रूपमा लिनुपर्छ र ज्ञानलाई सार्वत्रिक बनाइनु पर्दछ । आफूले जानेको कुरो अरूलाई नसिकाउने पुरातनपन्थी सोचले ज्ञानको हत्या गर्ने काम मात्र गर्दछ । त्यसैले आफूभित्रको सामन्ती चिन्तन र त्यो चिन्तनको उपज रहेको अन्धविश्वासबाट मुक्त हुन नेपालीले वेदको अध्ययन गर्नैपर्ने रहेछ । किनभने हामीले सुनेका कण्व ऋषिले पनि इन्द्रलाई पृष्ठ १४ मा यसरी चिनारी गराएका छन्- हे सयौँ असल काम गर्ने इन्द्रदेव, तिमी हाम्रा गाई र घोडासित सम्बन्धित कामना पूर्ण गरिदेउ । तिनै कण्व ऋषि पृष्ठ १९ मा इन्द्रको स्तुति यसरी गाउँछन्- मनजत्तिकै वेगवान र हज्जार आँखा भएका बुद्धिका अधिपति इन्द्र र वायुदेवलाई ज्ञानीहरू आˆनो सुरक्षाका लागि आहृवान गर्दछन् ।’

यहाँदेखि अगाडि इन्द्र खालि पशुरक्षक मात्र देखिँदैनन् । शुनःशेेप अजिगर्तको पालामा आइपुग्दा इन्द्रको रूप बेस्सरी फेरिएको छ । पहिले उनी शूरवीर, गोठालाका नायक देखिन्छन् । उनका सबै पौरखी कामहरू पशुपालनसँग जोडिएका छन् । उनको घोडा शक्तिशाली छ, उनी गाईको रक्षा गर्छन्, चोरहरूले चोरेर लगेका पशुहरू खोसेर ल्याउने युद्धको नेतृत्व गर्छन् । शुनःशेपमा आइपुग्दा उनी गणको घोषित नायक हुन पुग्दछन् । ऋषि शुनःशेप इन्द्रको परिचय यसरी दिन्छन् – हे इन्द्रदेव, तिमी शक्तिशाली र शिरमा मुकुट लगाएका छौ । तिमी बलका अधीश्वर हुनाले ऐश्वर्यशाली छौ । तिम्रो कृपा हामीले सधैँ पाइरहौँ ।

शुनःशेपको यो वर्णनलाई अङ्गरिस ऋषिले पनि यसरी सकारेका छन्- हातमा वज्र लिएका इन्द्रदेव मानिस, पशु आदि सबै स्थावरजङ्गमका राजा हुन् । शान्त एवम् क्रूर प्रकृतिका सबै प्राणीहरू उनका चारैतिर चक्रका धुराको वरिपरि गज -भनेको हात्ती) घुमेझँै घुम्ने गर्दछन् ।

इन्द्रको यही वर्णनले नै सायद हाम्रा देशका राणा र शाह राजाको स्तुतिगान गर्ने परम्परा आरम्भ भएको होला ।

देवता र असुरहरूको लडाइँमा पनि इन्द्रको शूरवीरता अरु कसैको भन्दा माथि छ । पृष्ठ ३१ मै अङ्गरिस लेख्छन्- आफूलाई अद्वितीय योद्धा मान्ने मिथ्याभिमानी वृत्रले महाबलि, शत्रुनाशक इन्द्रदेवलाई चुनौती दियो, तर उसले इन्द्रदेवको प्रहार खप्न सकेन र उ ढल्यो ।

कालिदास, वाण भट्ट जस्ता संस्कृतका महाकविहरूले तत्कालीन राजाहरूको प्रशंसा पनि यस्तै भाकामा गरेका छन् ।

तर सबै ऋषिहरूले इन्द्रलाई एउटा ठाउँमा समान ढङ्गले चित्रित गरेका छन् र त्यो ऐक्यता देखाउने पदार्थ हो- रक्सी । रक्सीलाई वेदमा सोमरस भनिएको छ । सुरुदेखि अन्तसम्मका सबै इन्द्रहरूलाई रक्सी ज्यास्तै मन परेको देखिन्छ । सभ्यताको बहाव उत्तरपश्चिमबाट पूर्वदक्षिण आएको हुनाले पनि त्यस्तो भएको हुनसक्छ । जाडोमा रक्सी सबैका लागि सामान्य हुने नै भयो । दक्षिणतिर आइपुग्दा इन्द्रवंश शक्तिशाली राजा भइसकेको थियो र राजाका लागि रक्सी सेवन फेसनकै कुरो हुने भइहाल्यो ।

तर जे भए पनि पुराणले इन्द्रलाई यसरी अन्याय गर्न मिल्दैनथ्यो । उनलाई कापुरुष देवता बनाउन पनि मिल्दैनथ्यो । पुराणको गल्तीलाई वेदको अध्ययनद्वारा सच्याउँ ।

1 thought on “पुराणको अन्यायमा परेका इन्द्र”

  1. भूमिसुक्तबारे
    मदनमणि दीक्षितको उपन्यास भूमिसुक्तको खोजीमा छु । धेरै अगाडि पढेको थिएँ, पुस्तक र पैसा उसैगरी डेरा सरेर हैरान । दोहोर्‍याएर पढ्न मन थियो, बजारमा खोजी गरेको पाइएन। भूमिसुक्तका प्रकाशकबारे केही जानकारी पाइन्थो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *