Skip to content

जादुमय कलमका योद्धा- कृष्ण सेन र पत्रकारिता

  • by


भारतको देहरादुनमा २०१३ सालमा जन्मेर पत्रकारिता क्षेत्रमा समर्पण हुँदा शहादत हुन पुगेका कृष्ण सेन ‘इच्छुक’ ‘जनादेश’ (साप्ताहिक), ‘कलम’ (त्रैमासिक साहित्यिक पत्रिका) र ‘जनदिशा’ (दैनिक पत्रिका)को सम्पादक हुन् । उनका ‘शोकाञ्जली’, ‘इतिहासको यस घडीमा’, ‘बन्दी र चन्द्रागिरी’ (कवितासङ्ग्रह) प्रकाशित छन् । उनी सफल कवि, समीक्षक, भूमिका लेखक, गद्य लेखक, संस्मरण लेखक र पत्रसाहित्य लेखक थिए । सेनको योगदानको कदर गर्दै ‘कृष्ण सेन अनलाइन’ खोलिएको छ । मरणोपरान्त उनलाई साहसिक पत्रकारिता पुरस्कारले समेत सम्मानित गरिएको छ । उनको योगदानका बारेमा यस पिँढी र आउँदा पिँढीलाई यथेष्ठ जानकारी दिन विभिन्न सङ्घसंस्थाले स्मृति ग्रन्थ निकाल्दै छन् ।

हाम्रा स्वरहरूमा प्रतिबन्ध लाउँदै
हाम्रा ओठहरूमा ताला झुन्ड्याउँदै
तिमी भन्छौं गाऊ न त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौं ।

रेडियोबाट यो गीत सुनेपछि मेरो ध्यान एकाएक २०५९ असार १२ गतेको जनआस्था साप्ताहिक पत्रिकातर्फ मोडिने गर्छ, जहाँ एक दुःखदायी समाचार छ । जसको शीर्षक छ – ‘कृष्ण सेन पशुपतीमा खरानी’ । २०५९ साल जेष्ठ १३ गते महेन्द्र पुलिस क्लबमा कृष्ण सेन मारिएको खबर सो शीर्षकमा अटाइएको छ । उनको अपराध भने जनताको पक्षमा कलम चलाउनु पहिलो हो । शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा विद्रोह दमन गरी मुर्दाशान्ति भित्र्याउने क्रममा युग थाम्ने अक्षरकर्मीको कलमलाई घातक हतियार ठानिएको यो पहिलो पटक भने होइन । यस निस्कृष्ट एवं पाशविक कार्य विपरीत जति खेद प्रकट गरेपनि कमै हुन्छ । सेनको हत्या पूर्व पनि अक्षरकर्मीहरूलाई राज्यले दुःख दिएका त थिए तर हत्यासम्मको राक्षसी व्यवहार देखाएको भने थिएन । अन्धकारमा जघन्य अपराध गर्दै आएको राज्य अक्षरहरूबाट भएको उज्यालोदेखि आत्तियो र अक्षरकर्मीहरूको भौतिक लिला समाप्त गर्न तम्सिएको हो भन्ने ठहरमा मेरो मन पुग्यो । इतिहासका पानामा मर्कपर्व साहित्य क्षेत्रमा चर्चित छ । सुब्वा कृष्णलाल अधिकारीले मर्कको खेती शीर्षकको पुस्तक प्रकाशन गरे वापत जेल जीवन बिताउनु परेको थियो । जेलमै उनले शहादत प्राप्त गरेका थिए । साहित्य क्षेत्रका पहिला सहिद भनेर उनी नै कहलिन्छन् । कलमकर्मीहरू धरापमा पर्नु र ज्यान दिन बाध्य पारिनुभनेको हिटलर र मुसोलिनीको शासन शैली फर्काउनु हो । द्वन्द्वकालदेखि आजसम्ममा दर्जनौं पत्रकारहरूले ज्यान गुमाउनु र केही अज्ञात अवस्थामा नै रहनुले राज्य आतङ्क, भ्रष्टचार र दण्डहीनतालाई प्रश्रय मिलेको छ । नेपाल पत्रकार महासंघद्वारा प्रकाशित प्रतिवेदनका अनुसार जनादेश साप्ताहिक पत्रिकामा आवद्ध भएर कार्य गर्ने १० जना पत्रकारहरूको जीवनलीला समाप्त भएको छ । ती हुन्- देवकुमार आचार्य, कृष्ण सेन, कमल एसी, अम्बिका तिमल्सिना, विनोद सजना चौधरी, नगेन्द्र पोख्रेल, बद्री खडका, आनन्दकुमार थापा, चीनबहादुर बुढा र जगतप्रसाद पण्डित । त्यस्तै जनविद्रोही साप्ताहिकसँग आबद्ध रहेर मोहन खनाल र इश्वर ढुंगाना र गणतन्त्र एफ.एम. का संवाददाताका रूपमा कार्यरत रहेर भीमबहादुर धर्ती र सुभाष मैनाली जस्ता कलमजीविहरू शहादत भएका छन् । लोकेन्द्र बुढाथोकी (सप्तरी, झुण्डिएर आत्महत्या गरेको कुरा प्रकाशमा आए पनि रहस्यमय ढङ्गले मारेर झुण्ड्याइएको आशङ्का), कञ्चन प्रियदर्शी, शम्भु पट्टेल, राजकुमार केसी, नवराज शर्मा, कुमार घिमिरे, ज्ञानेन्द्र खडका, गोपाल गिरी, पदमराज देवकोटा, डिकेन्द्रराज थापा, धनबहादुर रोकामगर, खगेन्द्र श्रेष्ठ, महेश्वर पहाडी, वीरेन्द्र साह, पुष्करबहादुर श्रेष्ठ, रेडियो टुडे एफएमकी उमा सिंह, झापाका यादव पौडेल जस्ता पत्रकारहरूको रगत यस धर्तीमा बगिसकेको छ । यी कलम र वाणीका धनी सरस्वतीका सन्तानहरूको उच्च शहादतले स्वतन्त्रताको विश्वसनीयता, तर्कपूर्णता र नैतिकताको आधारहरू नै स्वतन्त्र सञ्चारको सारत्व हो र नियन्त्रित सञ्चार भनेको तानाशाही भ्रमको अव्यखित रूप हो भन्ने कार्लमाक्र्सको भनाइलाई खिल्ली उडाएको छ । यस छोटो लेखमा तिनै शहादत प्राप्त गर्ने मध्येका एक कृष्ण सेन इच्छुक को राजविराज (सप्तरी) जेल बसाइका क्रममा अनुभूत भएका एकाध कुरा, प्रसंगहरू उल्लेख गर्ने जमर्काे गर्दै छु ।

२०५६ साल बैशाख ६ गते काठमाडौंमा कृष्ण सेन गिरफ्तार भएका थिए । पछि उनलाई एक थान अवैध बन्दुक र चारवटा गोली सहित प्रहरी गस्ती टोलीले पक्राउ गरेको झुट्टा मुचुल्का तयार गरी मुद्दा लगाइयो । यस्तो किसिमको राज्य आतड्ढप्रति रूष्ट हुँदै पत्रकार मनऋषि धितालले २०५७ चैत्र महिनाको दिशाबोध मासिक पत्रिकामा लेखेका छन् -अवैध हातहतियार बोकेको झुट्टा प्रमाण जुटाई एउटा कलमको सिपाहीलाई बन्दुक बोकेको आरोपमा गैरकानुनी थुनामा राख्नु स्वयम् सरकारको पंचायती शैली थियो । पञ्चायतकालमा पनि धेरै निर्दोष नागरिकलाई एक स्थानबाट निहत्था गिरफ्तार गरी अर्काे स्थानमा लगेर प्रहरीसँग मुठभेड गरेको आरोपमा या त हत्या गरिन्थ्यो अथवा आजीवन काराबासको सजाय दिने प्रयत्न गरिन्थ्यो । वर्तमान (तत्कालिन) सरकारले पनि बहुदलीय व्यवस्था स्थापना भएको एघार वर्षभित्र हजारौ त्यस्ता घटनाहरू दोहोर्याइसकेको छ ।

कृष्ण सेनलाई सिराहा जेल हुँदै राजविराज जेलमा ल्याइयो । त्यस बेला म पत्रकारिताको छात्र थिए । वकिल मदन बरालको मद्दत र प्रोत्साहनले कलम साहित्यिक, त्रैमासिक, जनादेश साप्ताहिक र महिमा साप्ताहिक पत्रिकाहरूका प्रत्येक जसो अड्ढहरू पढ्थेँ । डा. ऋषिराज वरालका कथा, ईश्वरचन्द्र ज्ञवालीका कविता र महिमा र जनादेशमा प्रकाशित पत्रहरूले मेरो दिमाखमा अमिट छाप पारेका थिए । कथा, कविता र पत्रहरू चाहिँ म पटकपटक पढ्थेँ । अरू राजनैतिक लेखहरूमा ध्यान एकोहोर्याउन सकेको थिइन । हुनत, त्यसबेलाका कविता, निबन्ध कथा पत्रहरू सबैमा राजनीति मुछिएको हुन्थ्यो । जताततै जनयुद्धको लहर फैलिएको थियो । ती पत्रिकाका सम्पादक कृष्ण सेन राजविराजमै छन् भन्ने सुनेपछि भेटघाट गर्ने रहर जागेको थियो । त्यस्तो हैसियत बनाउन नसकेको परिप्रेक्ष्यमा उत्ति साह्रो सहज काम थिएन । स्थानीय सत्यापन साप्ताहिक पत्रिकामा म कविताहरू लेख्थेँ । त्यस वेलाका सम्पादक गोविन्द अधिकारी मेरा कविताहरूलाई प्राथमिकता दिएर छाप्थे । पछि सत्यापनका सम्पादक व्यासशंकर उपाध्याय भए । उनले पनि मेरा धेरै कविताहरू प्राथमिकताका साथ छापिदिएर प्रोत्साहन दिएका छन् । हो त्यही पत्रिकामा एक कुनामा मेरो कविता छापिन्थ्यो भने अर्काे कुनामा कृष्ण सेन इच्छुक को कविता छापिन्थ्यो । उनका ती कवितामा आञ्चलिकता झल्किन्थ्यो भने मेरो सिकारू कवितामा राष्ट्रिय दृश्य परिदृश्यका कुरा अपरिपक्व तवरले प्रस्तुत हुन्थे । कृष्ण सेन जस्ता ख्यातिप्राप्त लेखकका कविताहरू छापिने पत्रिकामा आफ्ना पनि कविताहरू छापिएको पाउँदा म असाध्यै गौरवान्वित हुन्थेँ । साहित्य क्षेत्रमा हेलिने रहन मनमा तीव्र थियो । त्यसैले सेनका आञ्चलिकता प्रदर्शन गर्ने कविताहरूबाट मैले धेरै प्रभाव ग्रहण गरेँ । एक दिन मनभरि अथाह जिज्ञाशा बोकेर सेनलाई भेट्न कारागारतर्फ मेरो गोडा लम्किए । त्यस बेलाको मेरो अपरिपक्व मानिसकताले जिज्ञासा प्रकट गर्ने सामर्थ्य नै राखेको थिएन । क्याम्पसमा सँगै पढ्ने प्रहरी साथीको कार्यक्षेत्र नै त्यही थियो । त्यसैले उनकै सहयोगले सेनसँग साक्षात्कार गर्ने मेरो रहर पूरा भयो । छोटो भेटमा मैले जिज्ञासा राख्ने हिम्मत नै गरिन । सेनले मेरो कविता सत्यापनमा त्यो पढेको कुरा गरे । समाजवादी यथार्थवादका धरातलमा रहेर कविता लेख्न प्रोत्साहन गरे । जनादेश, महिमा र कलममा पनि कविता पठाउन भने । जनताको पक्षमा र जनताको हितमा कलम चलाउने कलमजीवि कालजयी हुन्छ भन्ने कुरा गरे । त्यस बेला मैले साहित्यका विराट प्रतिभाहरू सिकारू कलमजीविहरूलाई उकास्न, मलजल गर्न कुनै कसर बाँकी राख्दा रहेनछन् भन्ने थाहा पाएँ । उनको नम्र बोलिवचन, स्पष्ट र निष्कलंक व्यवहारबाट प्रभावित हँुँदै अर्को पटक भेट हुँदा जिज्ञासाको पोको खोल्ने विश्वास लिएर उनीबाट विदा भएँ । तर त्यो अर्को भेटको समय कहिल्यै आएन् । उनी महोत्तरी जेल पुर्याइएछन् र त्यहीबाट रिहा भएछन् ।

सप्तरी जिल्लालाई नै कर्मथलो बनाएर कलम र वाणीका आधारले जीवन चलाइरहेका पत्रकाहरू- वरिष्ठ पत्रकार शिवहरि भट्टराई, वैद्यनाथ झा, व्यासशंकर उपाध्याय, मनोहर पोखरेल, श्यामसुन्दर यादवहरूसँग सेनजीका बारेमा सोधखोज गर्दा केही मननीय कुराहरू फेला पारेको छु । एक पत्रकारको हैसियतले झुट्टा मुद्दामा बन्दी बनाइएका सेनको रिहाइको लागि पहल भने गरिएको रहेछ । दशैं, तिहार, होली जस्ता विशेष चाडपर्वहरूमा यहाँका पत्रकार मित्रहरूले दिएको फलफूल लगायतका खाद्य सामग्रीहरू सेनले सबै कैदीहरूलाई बाँडेर मात्र आफू ग्रहण गर्दा रहेछन् । साना हुन् या आफू समान वा आफूभन्दा उच्च कोटीका सबैसँग उत्तिकै र उस्तै प्रिय व्यवहार गर्दा रहेछन् । पक्षधर कित्ताका आस्थाका बन्दी हुन् या प्रतिकित्ताका मानिस हुन् दुवैथरीका प्रिय व्यक्ति भएर सेनजीले राजविराज जेलमा जीवन बिताएछन् । लोभ, पाप, द्वेष र इष्र्यारहित निस्वार्थी मान्छे हुन् कृष्ण सेन भनेर वरिष्ठ पत्रकार वैद्यनाथ झा कृष्ण सेनको प्रशंसा गर्दछन् । सर्वाेच्च अदालतले कृष्ण सेनलाई रिहाई गर्न आदेश दिएको समयमा प्राविधिक कठिनाइका कराणले सेनलाई रिहाई नगरीकन जेल सरूवा गरिदै छ भन्ने सप्तरी जिल्ला प्रशासनको कुरो सुनेपछि वरिष्ठ पत्रकार शिवहरि भट्टराईले भनेका कुरा घत लाग्दा र मननीय छन् । त्यसबेला प्रशासन समक्ष उनले भनेको थिए – सेनजीलाई रिहाई गरे पनि सरूवा गरे पनि हाम्रो रोहबरमा हुनुपर्छ । भट्टराईज्यूले यसो भन्नुमा रहस्य लुकेको थियो । त्यस बेला प्रशासन सेनजीलाई वेपत्ता पार्ने सुरमा थियो । यसको प्रमाण पत्रकार एवं तत्कालिन नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष वैद्यनाथ झा हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ- कृष्ण सेनलाई सिरहा जेल सरूवा गर्दा साथ म थिएँ । सिरहा पुग्न ९ कि.मी. मात्र बाँकी थियो । एकाएक गाडी रोकेर माथिको आदेश भन्दै सेनजीलाई फेरि राजविराज फिर्ता ल्याइयो । सेनजीलाई राती जेल बाहिर आउन भनिदो रहेछ तर उनी मान्दा रहेनछन् । फागुन २८ गते बिहान चार बजे अफिसबाट बोलावट हुँदा सेनले उज्यालो नभइकन जेलबाट ननिस्कने खबर पठाएछन् । ५ः३० बजे बिहान पुनः आग्रह गर्दा उनले भनेछन् -म सधैँ अँध्यारोको विरूद्ध उज्यालोको लडाइँमा सामेल हुँदै आएको छु । त्यसैले जेलभित्र पनि अँध्यारोको विरूद्ध संघर्ष गर्न नछाड्ने, उज्यालो नभइकन र पत्रकारहरूको उपस्थिति बिना चोर बिरालो जस्तो लुसुक्क अँध्यारोमा निस्किदिन । अन्त्यमा सेनजीलाई हातपाउ समातेर झ्याइकुटी खेलाउँदै बाहिर लग्न खोजिएछ । यो दृश्यबाट आजित भएर एक कैदीले भनेछन् -तपाईले यसरी आफ्नो बेइज्जती गराउनु भएन, हाम्रो अगाडि त हिँडेर गइदिनुस् । यसको प्रतिकार गर्दै सेन कुर्लिएछन् -अन्यायको प्रतिकार जहाँ जसरी गर्न सकिन्छ गर्ने हो । तपाईहरू प्रजातन्त्रको सच्चा रूप हेर्दै जानुस् । अन्यायको विरोध गर्नु शर्म र लज्जाको कुरा नभएर ठूलो इज्जत र गर्वको कुरा हो । त्यसपछि कसैलाई सुइको नै नदिई सेनजीलाई जलेश्वर पुर्याइएछ । तीन हजारको संख्यामा पत्रकारहरूले पूरै नेपालभरि विरोध गरेपछि चैत्र २ गते पत्रकार रविन्द्र उप्रेती, दशरथ भण्डारी, इन्सेकका प्रतिनिधि निरञ्जन बरालको रोहवर र जिम्मामा सेनलाई जेल मुक्त गरिएछ । ती पत्रकार मित्रहरूले उनलाई चैत्र ३ गते हवाइमार्गद्वारा काठमाडौं पुर्याएछन् ।

वर्तमान पत्रकारिता

जायज मागहरू राखी सरकारसमझ वैचारिक आन्दोलन गर्नु हरेक वर्गको अधिकार-क्षेत्र हो । आन्दोलनका नाममा सामाजिक सद्भावमा प्रश्न चिह्न लगाउने, कानुन मिच्ने र अमनचयन छिन्ने छुट कसैलाई पनि छैन । आन्दोलनकारीले आन्दोलनको तारो कुन निकाय हो, त्यसको हेक्का राख्नैपर्छ । भीडले जे भन्छ, त्यही गर्नुपर्छ भन्ने छैन । भीडमा मान्छेको होस हराउँछ, जोसमात्र थपिन्छ । थपोट होसविहीन जोसले विध्वंसात्मक कार्यकलाप गर्न/गराउन उक्साउँछ । यस प्रकार नाजायज कार्य हुँदा जायज कार्य र कुराहरूसमेत ओझलमा पर्ने खतरा हुन्छ । हरेक कुरा प्रणालीगत ढङ्गले लैजानुपर्छ । प्रणालीविहीन रूपमा गएका र भएका कामकुराले उद्देश्यमा पुर्याउँदैनन्, प्रतिफलविहीन तुल्याउँछन् र आफैँलाई कुरूप बनाउँछन् ।

अतः वैचारिक असन्तुष्टिका उपायहरू अङ्गालौँ । फोड्न सजिलो छ तर जोड्न गाह्रो छ भन्ने कुरा बुझौँ । मुलुक रहे मात्र हामी रहन्छौँ । मुलुकको साख गिराउनु आफ्नो खुट्टामा आफैँले बञ्चरो हान्नु हो भन्ने नबिसौँ । जुनसुकै राष्ट्रमा पनि आदिवासीहरू पहिलो वर्गमा आउँछन्, राष्ट्रले सम्मान गर्नुपर्ने हुन्छ । त्यसो भन्दैमा आपसी सद्भाव स्खलन हुने कार्य गरी एक नेपालीले अर्को नेपाली लखेट्ने रणनीति अख्तियार गर्र्ने छुट कसैलाई छैन । नेपाललाई भुटानीकरण गर्ने सोच विल्कुलै नाजायज छ । आफ्नो अधिकारको उपयोग र उपभोग गर्दा अर्काको अधिकार पनि लुटियो कि भन्ने तर्फ पनि हेक्का राखौँ । सबैको भलो यसैमा छ ।

मुलुकको सर्वाङ्गीण विकासका लागि राष्ट्रको चौथो अङग मानिने पत्रकारिता जगत् शक्तिशाली र सम्मानयोग्य हुनु जरूरी हुन्छ । समाजका सौम्य र कुरूप पाटाहरू ऐनाले झैं हुबहु देखाउनु पत्रकारिता क्षेत्रको एक धर्म हो । समाजलाई सही सूचना, जानकारी र खबरले सुसुचित पारी राष्ट्रोन्नतिमा कोशेढुङ्गा सावित हुनु पत्रकारिता जगत्को गम्भीर दायित्व हो । कुनै समूह, दल वा सङ्गठन निकट रहेर हैन, समाजप्रति सापेक्ष रही कार्यसम्पादन गर्नु साँचो अर्थमा पत्रकारिता हो । एक थरिलाई काखा र अर्को थरीलाई पाखा पार्ने गरी पीत-पत्रकारिता गर्ने पत्रकारको मुखुण्डो लगाएका एकाध पत्रकारहरूका अराजक क्रियाकलापले वर्तमान पत्रकारिता कतिपय आन्दोलनकारीहरूको नजरमा हलुङ्गो क्षेत्र ठहरिएको छ । त्यसैले त एकाध कुराहरूलाई तीलको पहाड बनाई पत्रकारलाई धम्की दिने, पिटपाट गरी अङ्गभङ्ग तुल्याउने, त्यतिले पनि नपुगी ज्यानै लिने कामहरू भइरहेका छन् । अझ आफ्ना गतिविधि नछाप्ने वा छापे पनि प्रतिकूल कुराहरू छाप्ने गरेका पत्रिकाहरू जलाउने, पत्रिका बोक्ने साधन नै तोडफोड र आगजनी गर्ने जस्ता भत्र्सनायोग्य कामहरू हुँदै आएका छन् । यस खाले कार्य गर्नुपूर्व विरोध जनाउने विकल्पका बाटाहरू खोज्नुपर्नेमा त्यसो नगरी पत्रकारिता जगत्लाई नै तारो बनाई उसैसँग मूर्खतापूर्ण लडाइँ लडिएको वर्तमान हामी सामु छ ।

पत्रकारिता जगत्लाई पैतलाले कुल्चेर कस्तो निरङ्कुस शासन व्यवस्थाको परिकल्पना गरिएको हो, त्यो गम्भीर खोजीको विषय बनेको छ यत्तिखेर । जनतालाई सुसुचित तुल्याउन सरकारी सञ्चार माध्यमहरू असफल भएको परिप्रेक्ष्यमा निजी सञ्चार गृह र त्यससँग सरोकार राख्ने निकायलाई सही बाटामा हिँड्न/हिँडाउन खबरदारी गर्नु स्वभाविक पक्ष हो । तर, भौतिकरूपले नै समाप्त गर्न खोज्नु इतिहासले समेत माफी नदिने घोर अपराधिक कार्य हो । पत्रकारिता राष्ट्रको साख हो, यसको सम्मान गर्नु र निर्बाध काम गर्न दिनु हाम्रो दायित्व हो ।

विविध क्षेत्रका आन्दोलनका क्रममा भएको क्षतिको भरणपोषण गर्ने सरकारी निकायको निर्णयले पत्रकारिता जगत् केही आश्वस्त त भएको छ तर त्यसकै आडमा अराजक कार्य हुने अर्को खतरा समेत बढेर गएको छ । दिनदिनै हुने भौतिक क्षति र गाली-बेइज्जती एवं मानसिक त्रासले पत्रकारहरूले निर्भीक भएर कार्य सम्पादन गर्नु फलामका चिउरा चपाउनुसरह भएको छ । भौतिक सम्पत्तिको क्षतिपूर्ति होला तर मानसिक त्रास र शारीरिक पीडाको क्षतिपूर्ति दिएर दिन सकिने कुरा होइन । यो निदानको मार्ग होइन । बालबालिकाहरूलाई ललिपप चटाएर एकक्षण फुल्याउने कार्य मात्र हो ।

नन्दलाल आचार्य
लिटिल फ्लावर सेकेण्डरी स्कूल, राजविराज-९, सप्तरी
मो. नं. ९८४२८२९२०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *