Skip to content

कर्याङकुरुङको देश


मैले आफ्नो अनुहारमा देखें –
कर्याङकुरुङको अनुहार
अनि
गंगाको पानीले मुख धोएँ
तथापि –
मैले त्यो कुरुप अनुहार
पखाल्न सकिन ।

मैले आफ्ना विचारहरूमा
कर्याङकुरुङका संक्रमित विचार देखें

आफ्ना स्वर्णीम सपनाहरूमा
कर्याङकुरुङको धुमिल सपना देखें ।

मेरा खुल्न नसकेका विचारहरू
अनि फुल्न नसकेका सपनाहरू –
कर्याङकुरुङको लस्कर जस्तै
घुर्मैलो आकाशमा उडिरहे ।

मौनताको खास्टो ओढेर
वर्षौंसम्म –
उही ठाउँ र उही परिवेशमा
ठिङ्ग उभिएँ ।

मेरो मौन धारणाको
चीसो धुवाँ
फैलिन पाएन-
कुनै देश देशान्तरहरूमा ।

अरुको समय पारि पुग्दा
शोकमग्न , सर्वहारा मेरो समय –
महान् मारा नदीको वारि किनारा
मृत्युस्नान गरेर हाँसिरह्यो –
नरमाइलो हाँसो ।

पापीहरूको दौराको फेर समाउँदै
चुपचाप लुरुलुरु हिंडिरह्यो –
मेरो समय ।
निष्पाप मनमा कटकटिएका
दु:खका पाप्रा उप्काएर
नरमाइलरी तन्किरह्यो –
मेरो समय ।

मेरै समयको आहारा निलेर
अघाए टन्न ती –
कर्याङकुरुङ ।
अनि मेरो विरासत ,
मेरो माटोलाई –
उनीहरूले आफ्नै वीर्ता भन्ठाने ।

विवश थिएँ म –
आम मान्छे ।
कर्याङकुरुङको आदेश बमोजिम
मैले माटोमा उनकै
स्वार्थहरूको काँक्रो रोपें ।
मैले माटोमा उनकै
इच्छाहरूको फर्सी रोपें ।

काँक्राफर्सीका लहरै लहरा
माटोका विरुद्ध धावा बोल्दै
अर्धऔपनिवेशिक ,
अर्धनग्न गणतन्त्र फुल्न थाल्यो ।
म यो देशको जाबो कवि
अनागरिकताको घाम तापेर
शरणार्थी शिविरमा बस्न थालें ।

यद्यपि –
कामचोरहरूको भागमा हाँसो ,
कामदारहरूको भागमा आँसु –
यो प्याराडोक्स’
वस्तुसत्यको निरुपण
गर्न सकेन – समयले ।
अनि
मेरो निदाएको माटो छामेर
मैले अनुभूत गरिरहें –
ओहो !
म त यी अतिथि चराहरूको भ्रमण क्षेत्रमा
अथवा
देश बाहिरको देशमा
अथवा
कर्याङकुरुङको देशमा छु ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *