मेरो छोरा !
एकदिन तैँले मसँग
वा मेरो मृत्यु भएमा
स्वयम्सँग
एक प्रश्न गर्ने छस् ।
मेरो छोरा !
मसँग प्रश्नको केही उत्तर छैन !
सिर्फ छ, एक सन्तुष्टि
बल्ल मेरो परम्पराले थिचेका
प्रश्नहरू
तेरो मुखबाट निस्कन सके ।
मेरो छोरा !
तेरो युगको प्रभातमा
मेरो अन्धकार
मेरो मृत्युसँगै मरिसकेका हुनेछन् ।
र तैँले बुझ्ने छैनस्
तेरो पितालाई स्वयम्को अस्तित्त्वसँग पनि शङ्का उठेको थियो ।
तँलाई पत्यार पार्न सक्ने छैन त्यसबेला
म कस्तो उत्तेजनाहीन
निष्क्रिय र निर्बल थिएँ ।
तैँले सायद कहिल्यै पनि बुझ्ने छैनस् होला
कि सङ्घर्षको सिर्जन निम्ति
शरीरका रगतका अन्तिम बूँद पनि भुल्किनुपर्छ –
केन्द्रित हुनुपर्छ – प्रत्येक क्रिया
एक लक्ष्यमा ।
म त झण्डै लक्ष्यहीन थिएँ
सिवाय एक प्रयासको ।
मैले तँलाई जन्माउने प्रयास गरिनँ;
र लुकाइराखेँ आफैँमा
एक अज्ञात अपरिचित अनिश्चित अवसरको निम्ति ।
म भन्न सक्दिनँ, म बिल्कुलै असमर्थ छु –
तँलाई जन्म लिनु दिन ढिला गरेर
मैले, आफैँसँग
वा तैँसँग
वा तेरापछि आइरहने कैयन्-कैयन् वंशसँग
नजन्मेको मेरो छोरा !
तेरो जन्मभन्दा
कति अघि
कति अघिदेखिन्
तेरो प्रश्न
मकहाँ आएर फर्केको छैन ।
http://www.shankarsmriti.blogspot.com/
daami lekh ko pradashan garnu
daami lekh ko pradashan garnu bhayeko chha
wow daami lekhnu bhayeko chha
wow daami lekhnu bhayeko chha hajur le aaune din haru ma maile pani hajur ko saath dine chhu thanks