Skip to content

वाह ! राष्ट्रियता

  • by

जनतामा आश मरेको बेला
नेतृत्वले घात गरेको बेला
स्वाधीनता बसाइँ सरेको बेला
राष्ट्रियता बन्धकमा परेको बेला
दुखेको छ प्रत्येक नेपाली मन ।

राजनीतिका नाममा लाजनीति
अनेक तन्त्रका नाममा छाडातन्त्रले
कुहिरोको काग छ भविष्य
दुख्दैन भ्रष्ट, स्वार्थीहरुलाई
सीमा मिचिँदा
थिचिँदा गरीबीले जनहरू
अभावले छट्पटिँदा मनहरू ।

स्वार्थकै लागि लड्ने बुज्रुकहरू
निर्लज्ज प्रश्न गरिरहेछन्
इतिहाससित
एकताको प्रतीकसँग
भुलेर दूरदर्शिता र अठोट
कदम गलत थियो भनेर
भुलले फूलमै अल्झिनेहरू
सायद माला रुचाउँदैनन् ।

बेचेर सम्पदा देशको खानेसँग
स्वार्थपूर्तिका लागि सति जानेसँग
समृद्धिको नारामा
भुलाएर सारालाई
जो खोक्रो राष्ट्रियता भुकिरहेछन्
र विपत्तिमा लुकिरहेछन्
तिनैबाट नयाँ नेपालको आश
आकाशको फल देख्छु ।।

लिङ्कनको प्रजातन्त्र
ड्युनाको त्याग
पृथ्वीको धैर्यता र एकता मोह
मन्डेलाको राष्ट्रियता र जातिप्रेम
बुद्धको साधना
भुलेर यी सबै
कहाँ बुझिन्छ राष्ट्रियता ?
कहिले चुलिन्छ देशभक्ति ?

साँच्चै नयाँ नेपाल
समान नियमको होस्,
होस् शान्ति र सिर्जनाको
हात पसार्न नपरोस् कसैसँग
हटोस् छुवाछुत, छाउपडी र बोक्सी
जस्ता कुप्रथाहरू
अन्धविश्वास र विकृतिका कारण
नपरोस् दिदी, भाउजूहरू जिउँदै जल्न
अनि बहिनीहरुको नहोस् भु्रण हत्या
अभाव र छट्पटिले पिल्सन नपरोस् कसैलाई ।

दुनियाँले भनोस्, वाह राष्ट्रियता !
वाह राष्ट्र !

परोपकार, मानवता
शिष्टता अनि भुलेर क्षमाभाव
कहाँ बच्छ र अस्तित्व ?
बचाउन यी सबै सबै
सच्चा मानवको खोजी
गरिरहेछ देश ।

मुकुण्डो भिरेकाहरुसँग
डरमा छिन् नेपाल आमा
निर्धक्क बाँच्न, बचाउन हाँस्न, हँसाउन
पाइयोस् सधैँ
श्रमको मूल्य खोज्दै
सडकमा लम्पसार परेका जयनन्दलाल
भोको पेटमा भारी बोकिरहेका हर्षमान
सिटामोल नपाएर छोरा गुमाएकी कान्छीमाया
सबैलाई अनुभूत गराउन पाइयोस् राष्ट्र रहेको
राष्ट्रिय एकता ए कता नहोस्
सदा कायम रहोस् राष्ट्रिय एकता ।

गोपाल खनाल
तारकेश्वर गापा –१,
दाङसिङ नुवाकोट
हाल पोखरा–११

Leave a Reply

Your email address will not be published. Required fields are marked *