Skip to content

मास्टर आखिर मास्टरको मास्टरै न त ऊ सुब्बा नै हुन सक्छ


हो साँच्चै ऊ एउटा मास्टर ! उसको सारा मस्तिस्क सुकाएर पनि ती, साना साना भाइ बहिनीहरूलाई हँसाइ खुसाइ सधैं पढाइरहन्छ । आफ्नो ब्यबहारिक परिस्थितिले गर्दा, उसको मनमा सधैं एउटा कर्तब्यबोधको पीडा रुमल्लिरहेको हुन्छ ।

यस्तै अनौठो परिस्थितिको बिचमा पनि आफ्नो कर्तब्य पुरागर्न निरन्तर लागिरहन्छ । संझनामा सधैं तिनै स–साना नानीहरू ; बिचरा दुर्गम गाउँ । आफ्नो पनि हालत त त्यस्तै त थियो नि; जब बालक छँदा आफू…… । आफ्नो पनि त्यस्तै स्थिति थियो । जब गुरुले सिकाएको कुरा बिर्सिन्थ्यो अनि मुटुमा ढ्याङ्ग्रो ठोक्न शुरु हुन्थ्यो । मनमा अझै झल्झली गुरुले पिटेको कुरा मनभरी उब्जिन थाल्दा, मनमा छटपटी मात्र बढ्न थाल्छ ।मनभरीको आत्म कथा लिएर ती मसिना नानीहरूलाई सुनाइरहन्छ । एकादेशको कथा बनाएर । त्यही कथा सधैं दोहोर्याई तेहर्याई भनिरहन्छ । उसले कहिल्यै पनि ती विद्यार्थीहरूलाई कुटेन, गाली गरेन ; सिकाइ मात्र रह्यो । उसले मनमा अझै पनि आफूले पाएको दुख कष्ट अनि सारा हण्डरहरू बिर्सीन सकेको छैन ।

ऊ सधैं आफ्ना शिष्यहरूलाई फकाई फुल्याई सिकाइरहन्छ, सम्झइरहन्छ । उसको एउटैमात्र ध्यान सधैं केटाकेटीहरूको बारेमा मात्र लागिरहन्छ । यिनीहरूलाई कसरी आफूजस्तै शिक्षक बनाऊँ आदि कुरा उसको मनमा खेलिरहन्छ । यिनीहरूलाई कसरी असल र कर्मठ नागरिक बनाउँनु भन्ने ध्याउन्नमा नै सधैं सोचिरहेको हुन्छ ।

बिचरा उसको त्यो पारिवारिक समस्या खै ! कसले देख्ने ? जुन उसको मुटुमा कोरिएको एउटा सानो चित्र छ, त्यो कसले हेरिदिने ? कसले बुझिदिन ? जब उसको एक महिना बित्छ, अनि आफ्नो हातमा आउने रकमको हिसाब गर्न थाल्छ । चामल, दाल, तरकारी अनि आमा, पत्नी । अर्को हिसाब गर्छ ; उधारो सामान ल्याएको । बजेट अझै कम्ती नै हुन्छ । अझै पनि साहुलाई ढाँट्नु पर्ला । सोचिरहन्छ; टोलाउँन थाल्छ बिचरा सधैं यस्तै यस्तै ।

बल्ल बल्लको जागिर, उसले कहिल्यै पनि पुरानो ऋण चुक्ता गर्न सकेन । आफूले पढेको, बहिनीको बिहे गरेको । अमाको उपचारमाखर्च गरेको त्यसको ब्याज जोडिदै गएको यस्तै यस्तै सधैं मनमा कुरा मात्र खेलाउने गर्छ । भेट हुँदा साहु सधैं भन्ने गर्छ, क्याहो त सर ! छोटो उत्तर दिन्छ ऊ,– “अँ जम्मा गर्दै छु” हो त ऊ सधैं जम्मा गरिरहन्छ । धन हैन उसले त अझै पनि ऋण मात्रै जम्मा गरिरहेकोछ । बिचरा साहु उसले के बुझ्यो होला ?

ऊ विद्यालय जान्छ, अनि हेर्छ त्यो कालोपाटीमा क ख ग । हिजो अस्ति नै लेखिराखेको त्यो मेटिएको छैन। अझै पनि त्यो मेटिने छैन यसरी त्यो अनन्त कालसम्म निरन्तर चलिरहने प्रकृया निरन्तर निरन्तर चिरकालसम्म अझै पनि चलिनै रहन्छ । ऊ निरन्तर थापिरहन्छ सयौं नानीहरूको नमस्कार मात्र । नमस्कारले नै उसको शीर ठडिएको हुन्छ । हेर्छ एउटा बलक रुदैछ । बालक आफैतिर आइरहेको हुन्छ । त्यसलाई अन्याय परेको छ, ऊ न्यायको निम्ति आउदैछ । बिचरा मास्टर ऊ न्यायधिस हो । उसले सबैलाई न्याय दिनुपर्छ । उसले सधैं न्यायको पक्षमा उभिनु पर्छ । उसले कतिलाई सजाय पनि गरेको छ तर उसले गर्ने सजायमा कहिल्यै पनि जेल र नेल भने तोक्दैन खालि साधारण सजाय जसले मान्छेलाई सुध्रिने मौका मात्र दिन्छ । यो उसको आफ्नै पाराको सजाय दिने तरिका हो । यसमा कसै प्रति पूर्वाग्रह पनि राख्दैन नत कुनै प्रकारको भेदभाव वा पक्ष विपक्ष यहाँ निस्पक्षताका साथ न्याय दिइन्छ । यो हो शुद्ध न्याय प्रणाली नत यहाँ कुनै किसिमक आर्थिक चल खेल नै हुन्छ । ऊ त न्यायधिस मात्र कहाँ हो र ! कलाकार पनि हो । साहित्यकार, चित्रकार सबै थोक हो । ऊ अभिनय गर्न जान्दछ, नाच्न गाउँन सबै जन्दछ, कविता लेख्छ, कथा सुनाउँछ, चित्र कोर्छ सबैलाई सिकाउँछ, मानौ ऊ सुगा हो सधैं भनिरहन्छ गोपी कृष्ण को हौ ?

बल्ल बल्ल हप्तामा एउटा शनिबार आउँछ । उसको बिश्राम गर्ने दिन, तै पनि उसलाई भ्याइ नभ्याइ हुन्छ । उसको मनमा कहिलेकाहीं घरको पनि याद आउने गर्छ । आमा, पत्नी छर छिमेकी संझिएर ऊ घर पुग्छ । दिन भरिको बाटो लखतरान भएर साँझमा ऊ आमाको अघिल्तिर टुक्रुक्क बस्छ, हेर्छ सबैतिर अभाबै अभाबले घेरिएको संसार । उसले आमाको कुरा सुन्छ, पत्नीको मनोभाव बुझ्छ, मनभरिको बेदनाजति जम्मै थुपारिदिन्छ आमा र पत्नीको अगाडि तर पनि निरास हुन दिन्नन् आमाले । सहनशिलता र धैर्यताकी खानी आमा एक आदर्श नारी अनि एक बिरङ्गना नेपालकी । समस्या अनेक छन् ता पनि आमाको आशिर्बाद र समयको चक्र दाहिने पटि नै घुमिदिएकोले सबै कुरा अनुकुल नै देख्ने गर्छ । यता पत्नीको चित्त पनि बुझाउनै पर्नेछ उसले । पत्नी घर धन्दामा ब्यस्त हुन्छिन् कुराकानी गर्न भ्याएको पनि हुदैन । साँझको बेला भात खाने समय भयो । अरु बेलाको जस्तै नेपालीहरूले खाने खाना त्यही । कति दिन पछि उसले आज मिठो खाना खाएको महसुस गर्छ । खाइसकेपछि ऊ सधैं झैं अगेनाको डिलमा बस्छ । बाँसका भाटाले बालेको आगो हुर्रर बलेर उज्यालो छरिरहेको हुन्छ । आमाको कुरा एउटा छ “अब खेती लाउने बेला भयो, पानी परे पछि सबैले मकै छर्छन् । बरी बाँझो छ, बीउ पनि छैन, हली गोरु कहाँ हो यस्तै…… । ऊ सुनिरहन्छ आमा भट्याउँदै जान्छिन् । पत्नी पनि घरि घरि उसैको अनुहारमा पुलुक्क पुलुक्क हेर्दै गर्छिन् । उनी पनि केही भन्न चाहान्छिन् तर पनि भन्न भने सकिरहेकी छैनन् । उसले सबैको मनोभाब बुझिसकेको छ । समस्यै समस्याको थुप्रो उसको अघिल्तिर बग्रेल्ती थुप्रिरहेका छन् । हो उसलाई थाहा छ । पोहोरसाल दशैंमा किनिदिएको सारी, अझैसम्म पनि अर्को कपडा हालिदिएको छैन । पत्नीको मौन भाषा पनि ऊ बुझिरहेको छ । राम्रो मात्र नभएर शरीर ढाक्न मात्रै भए पनि उनलाई । उनलाई लुगा कपडा मात्र नभएर गर गहना पनि त चाहिएको हुन सक्छ । सबै साथी सङ्गीहरूको आफू ।

यी सबै कुरा संझिए पछि ऊ झसङ्ग हुन्छ । यतिबेला उसका बालबच्चा छैनन् र त यस्तो हालत छ भने, पछि गएर उसलाई पनि जन्जाले घेर्ला । भबिष्य के कस्तो होला ? मन पीरो भएर आउँछ, उपाय केही पनि सुझिरहेको छैन । महिनामा आउने तलब अनि खर्च हिसाब गरेर साध्ये हुदैन । कर्तब्यबोधले गर्दा ऊ फेरि पनि पुग्छ आफ्नै कार्य थलो । तिनै केटाकेटी अनि त्यही शब्द दाहोर्याइ तेहेर्याइ अझै भनिरहन्छ उस्तै पारा गोपी कृष्ण को हौ ? ऊ डेरामा पनि काम गरिरहन्छ । लेखी रहन्छ । भनिरहन्छ, पाठ योजना, शिक्षण सामग्री, चित्रहरू, निरिक्षण फारम,मुल्याङ्कन आदि इत्यादि ।

ऊ साँच्चै एउटा शिक्षक नै हो । ऊ एउटा दुर्गम गाउँको शिक्षक,उसले कुनै दिन खानसम्म पाएको हुदैन । यो कुरा कसैलाई पनि थाहा हुदैन । ती सानानानीहरू । बिचरा अनजान तिनीहरूलाई के थाहा; यो सरलाई भोक लागेको छ भनेर । मात्र थाहा छ उनीहरूलाई –“मास्टर हो, पढाउँछ ” तर यसले के खान्छ ? कसरी जीबिका चलाउँछ कसैलाई पत्तो हुदैन । अबिभाबकहरू उसको कामको मात्र चासो राख्छन् ।

एबम् रीतले उसको जागिरे जीबन चलिरहेको हुन्छ । उसको घर ब्यबहार पनि त्यत्तिकै छ । जुन स्थिति पहिला थियो । साहुको ऋण जस्ताको तस्तै छ । मनभरि कुरा खेलिरहन्छ । सङ्गैको साथी जिल्ला कार्यालयको खरिदार । एकैचोटी जागिर खान थालेको, उसको इज्जतै अर्को । संझिन्छ त्यो अदालतको बिचारी । अनि भन्सारको पियन । हेर त ! तिनीहरूको सान, मान, प्रतिष्ठा, धन, दौलत र समाजले हेर्ने दृष्टिकोण ? शिक्षक एउटा रुपीको बथानमा मिसिएको बकुल्लो; ऊ एकोहोरो कराउछ । ऊ फलाक्छ आफ्नै मात्र भाषा; ऊ एक्लो छ, एकलै कराइरहन्छ । तै पनि ऊ सबैलाई खुसी तुल्याउँछ । त्यसैले ऊ मास्टर हो । ऊ एकलै बस्न सक्दैन । सधैं ऊ केटाकेटीहरूको बिचमा बस्न रुचाउँछ । ऊ नानहिरुको बिचमा आफैंलाई हराउँन चाहान्छ । उसलाई यही कुरामा गौरब लाग्छ जब उःसले आफूलाई म गुरु हुँ भन्ने महसुस गर्छ ।

कुनै बेला उसको मनले बिपरित पनि सोचिदिन्छ । आः यो मास्टर; जहिले पनि भोक भोकै बस्नु पर्ने । कहिले त भोकको ज्वाला मात्र भएपनि निभाउनै पर्ने हुन्छ । जहाँ जे पाइन्छ त्यही खाएर विद्यालय जान्छ । गाउँमा केह पनि पाइदैन पाए पनि त्यही आलु मात्र । त्यो पनि सधैं पाए त हो । पन्ध्र दिनमा एउटा हाट लाग्छ हाटमा पनि चाहिए अनुसार खाद्यन्न पाउन सकिने होइन । चामल किन्न सदर मुकाम नै झर्नुपर्छ । यो भनेको समस्या माथि थपिने समस्या नै हो ।

शिक्षक त्यही हो, अझै पनि ऊ जहाँको त्यहीँ छ । जहिले पनि एकै ठउमा हुन्छ, एउटै काम गर्छ, एउटै शब्द बोल्छ त्यसैले ऊ शिक्षक हो । हरेक दिन ऊ सयौं केटाकेटीको साथमा हुन्छ । दिन भरिको थकाइले ऊ साँझमा कोठामा फर्किएर पुर्लुक्क पल्टिन्छ जहाँ उसलाई मिठो निन्द्रा लाग्छ । मास्टर हो मास्टर ! ऊ त्यही मास्टर हो । कहिल्यै पनि उँभो नलाग्ने मास्टर । नत उसले धन कमाउन सक्यो नत ज्यान नै कमायो । जहिले पनि उस्तै सबैले जीउडल हेरेर नै चिन्छन्, यो मास्टर हो भनेर । खर्दारको जस्तो ज्यान र सुब्बाको जस्तो मान मास्टरको कहिल्यै पनि हुन सक्दैन । खर्दारमा जागिर खाएको भए आज ऊ सुब्बा भैसक्ने थियो होला । आज सुब्बा सहेब भएर गमक्क परेर ठुलो घर बनाएर ऐस आरामले बसेको हुन्थ्यो । आफू मास्टर हुदा मुखिया भएको रामकुमार अहिले सुब्बा भैसकेको छ । त्यसले कत्रो घर बनायो बजारमा । जग्गा जमिन जोड्यो, अर्कै तहमा पुग्यो । आफूलाई हिनताबोधले सताएर खर्लप्पै पार्दा पनि ऊ निरास नभै आफ्नो कर्तब्यबाट आफ्नो काममा जुटिरहन्छ ।

सुब्बा राम बाबुको अगाडि, एकैचोटीका साथीहरू ऊ मास्टर भै रहँदा उसलाई नराम्रो त लाग्छ नै । के गर्नु आफ्नो कर्म, खानु पर्ने नै कर्मको फल त हो नि । अखिर ऊ मास्टर नै हो । उसले बनाउनु पर्ने देशका कर्णधार यही नै खुसिको कुरा हो । धन नकमाए पनि आत्म सम्मान पाएको छ । भोलिका सुब्बा, अधिकृत, सचिब लगायतका कैयौं राष्ट्र सेबकहरू उत्पादन गर्ने प्ररम्भिक कारखाना हो ऊ । ऊ सुब्बा हुन सक्तैन त के भो ? उसले कैयौं सुब्बा उत्पादन गर्न सक्छ । अखिर ऊ मास्टर हो ऊ सधैं मास्टरै भैरहन्छ, हो त ऊ साँच्चै मास्टर नै हो नत ऊ कहिल्यै सुब्बा नै हुनसक्छ ।

२०३९।१२।५ तुम्लिङ्टार

संखुवासभा

Leave a Reply

Your email address will not be published. Required fields are marked *