Skip to content

दर्पण रैछौ दुई दिने


तँलाई पापी नर्क जान्छस्
भनी मलाई झर्की गयौ ।
दर्पण रै छौ दुईदिने
हेर्दा हेर्दै चर्की गयौ ।।१।।

कमजोरी थिएँ होलान्
स्वीकारेथेँ गल्ती मैले ।
तिम्रा लागि ज्यानै सुम्पी
रित्याइदिएँ खल्ती मैले ।।२।।

धनको मुली रैछौ के था ?
धनैतिर लर्की गयौ ।
दर्पण रै छौ दुईदिने
हेर्दा हेर्दै चर्की गयौ ।।३।।

झुटै सही माया तिम्रो
मन भित्र संगालेथ्येँ ।
तिम्रो सबै गल्ती भुली
तिमीलाई अंगालेथ्येँ ।।४।।

म नै जुठो चोखो पार्न
सुनपानीले छर्की गयौ ।
दर्पण रै छौ दुईदिने
हेर्दा हेर्दै चर्की गयौ ।।५।।

आर्शिवाद खै के दिनु
मलाई बिर्सी बाँच्न सिक्यौ ।
दुनियाँको ऐस् आराम
भोग गरी हाँस्न सिक्यौ ।।६।।

खुसी थिएँ थोपा हुदाँ
बलेसीमा दर्की गयौ ।
दर्पण रै छौ दुईदिने
हेर्दा हेर्दै चर्की गयौ ।।७।।

तँलाई पापी नर्क जान्छस्
भनी मलाई झर्की गयौ ।
दर्पण रैछौ दुई दिने
हेर्दा हेर्दै चर्की गयौ……….दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *