Skip to content

मान्छे देखेर मान्छे भाग्यो


मरुभूमि लटरम्म फलेछ
===============

एक्लै एकान्तमा हाँस्नेसँग
अँगालो मार्न खोजें
ऊ दुर्गन्धले भरिएको थियो
आंग छोप्ने थाङ्ग्नाहरू च्यातिएका थिए
घिन मानिन मैले ऊ मान्छे थियो
तर ऊ पर सर्यो उसले घिन मान्यो
ऊ डराएको थियो मान्छेसँग

अलिक पर
एकान्तमा एक्लै रुँदै थियो
मैले समिप भएर
उसको आँशु पुछ्न खोजे
उसलाई सुम्सुम्याउन खोजें
तर ऊ तर्सिएर भाग्यो
मान्छे देखेर मान्छे भाग्यो
म अनमयश्क भएँ
उसको तनमा चरचरी घाउहरू थिए
रगत तप्किरहेथ्यो

एक्लै हिड्नेसँग
दान्जिएर हिड्न खोजें
ऊ तर्कियो गल्लीको छेउ लाग्यो
गोरेटो छोडेर कान्लामा हाम फाल्यो
भुतभुताउदै थियो
सँगै हिडेर के गर्नु
कहाँ छिर्के लाएर लडाउछ
मान्छे हो के गर्छ के गर्छ ?

जमिनको मल्मलमा
ढुंगाको भुवामाथि सिरानी लाएर
आकाशलाई टिम्बा बनाएर
एक्लै सुत्नेसँग छेउमा सुतें
उ ननिदाइकन निदाएको बहानामा
निदाए जस्तो भएको थियो
घरी घरी पेट सुम्सुम्याउथ्यो
घच घच्याएर हेरें
उसले पत्याएन
सपनामा बोले जस्तै भुत भुताउदै थियो
मान्छे छेउमा आयो भने जोगिनु पर्छ
जमाना खराव छ …
लमतन्न म पनि
आकाश ओढेर उसँगै सुते
निदाए जस्तो गरेर निदाइदिए
केही लागेन ऊ थाकेन
म आँफै थाकेर
अर्कै बाटो लागें

अब मैले थाहा पाएँ
विश्वाशको खेतीमा
मरुभूमि लटरम्म फलेछ
सबै मरुभूमि भएछ

लुकेर एक्लै खानेसँग मैले खाना मांगें
खोस्छ भनेर मुन्टो बटार्यो
भुँडी उसको ठुलो थियो
थाल समेत हतारमा तान्यो
लाग्थ्यो थाले समेत खायो होला

अलिक पर अर्को चढ्दै थियो
म पनि कुददै पछि लांगे
बिचैमा मलाई झारी दियो
कहासम्म पुग्यो त्यो चढेर
भर्खरै खबर आयो
धेरै माथि चढ्यो भन्थे
त्यसले पनि भुईंमा ओच्छ्यान लायो अरे

यो मरुभूमिको खेतीमा
विश्वासका बाँधहरू भत्केका छन्
भुँडीहरू अस्वाभाविक बढेका छन्
सिंढीहरू धेरै चुलिएका छन्
आखिर आखिर बुझाइहरू
साँगुरिएर खिइरहेछन खिइरहेछन
शास्वत छ आखिर त्यो अनन्त !!
====================

क्यालिफोर्निया

Leave a Reply

Your email address will not be published. Required fields are marked *