Skip to content

राजको अन्तिम पत्र आशालाई


पराई प्रेयसी आशा……

रेगिस्तानबाट अन्तिम प्रेमोपहार, नयाँ जीवनको शुभकामना सहित ।

आशा र म एकै छिमेकका बसेरा हौ । मैले थाहा पाए अनुसार आशाले मलाई मनपराउथी तर भन्न डराउथी । हामी दुईकै पानी भर्ने पधेरी एकै थियो । एकदिन साँझपख उनको र मेरो पधेरीमा भेट भयो । मैले उसलाई छेड हानेँ, “के हो, आशा यति साँझ पधेरीमा ? चक्रर छ जस्तो छ नि ?”

ऊ पनि के कम थिई र तुरुन्त जवाफ फर्काइहाली “छ नि ? तिमीलाई कस्ले भन्यो यस्तो नचाहिने कुरा ?” केहीबेर पछि थोरै लजाउँदै फेरि भनिन्, ” अँ छ त किन जलन भयो र ?”

मैले आशाको मुहारमा हेरें । नशालु आँखाबाट बैशालु सपनाहरू छचल्किरहेको थियो । “हैन सोधेको मात्र हो, आजभोलि तिमी निक्कै राम्री देखिदैछौ तिमीमा परिवर्तन आएको छ नि ।”

आशाले जवाफ नफर्काई पानीको गाग्री भरियो । उनी गाग्री टिपेर घरतिर लागिन् जाने बेलामा मात्र लजाउदै यति भन्न भ्याई, “भोलि पनि यही समयमा भेटुँ है ।”

म अक्क न बक्क भएँ केही असामान्यजस्यता र उत्सुक हुदै मैले पुनः सोधे “यही समय किन भेट्ने आशा ?”

निरुत्तर आशा हाँस्दै-हाँस्दै मेरो नजरबाट ओझेल परी ।

ममा कौतुहलता र वेचैनी बढ्यो । एक प्रकारको तरङ्ग पैदा भयो । यो भोलि कतिखेर आउँछ होला ? समय किन यति धिमा गतिमा बित्दैछ आज म हतास भएँ । आशाको अन्तिम आग्रहले म मदहोस र पागल भइरहेको थिएँ ।

हरेक सूर्यदयले एउटा नयाँ बिहानी बोकेर ल्याउँछ । मेरो लागि पनि त्यो बिहानीले केही ल्याएको होला यही बिश्वासका साथ म भोलि त्यही समय पधेरीमा गएँ । आशा म पुग्नु अगावै आइसकेकिरहेछिन् । प्रायः हामी भेट्नेक्रममा औपचारिक बोल्नको लागि त्यस्तो कुनै गाह्रो कुरा कहिल्यै भएन । कहिले आशा त कहिले म नै बोलचालको क्रम सुरु गर्ने गरेका थियौं । तर आज यो के भइरहेको छ आशाको अगाडि म कति सजिलै प्रस्तुत हुने मान्छे आज गला आफै अवरुद्ध भइरहेकोछ । आशाले पनि मलाई ठाडो शीर गरेर हेर्न सकिरहेकी छैन । हाम्रो भेटको पाँच मिनेट सुन्यतामा नै सकियो ।

मैले बोल्ने शाहसमात्र के गरेथें उनले मलाई एउटा बन्द खाम दिई अनि भनी, “भोलि फेरि यही समय यसको जवाफ लिएर आउनु है ।”

मलाई उत्सुकता भयो । खाम भित्र के होला ? तर मैले उनीलाई प्रश्न गर्न सकिन म अवाक् मूर्तिवत उभिइरहें । उनी मलाई एकपटक पनि नहेरी बिलिन भइन् । के दिई आशाले मलाई के हुन सक्छ यो खाम भित्र म यस्तै प्रश्नहरू मनभरि बुन्दै घरको आगनमा पुगेछु । आमाले कराउँदा पो मेरो सुद्धि फिर्यो, “हैन राज खालि गाग्रो बोकेर फर्केको । पानी खै त ?”

“अहो !” लाजले मर्नुको जुनी भयो पधेरोबाट त पानी नै पो नलिई आएछु । बित्यास पर्यो अब के गर्ने होला ? मैले तत्काल झुट बोलेँ, “आमा बाटोमा जादाजादै टाउको दुखेर आयो । अनि मत आधा बाटोबाट नै फर्केको ।”

यति भनेर मैले गाग्रोलाई त्यही छाडेर सरासर आफ्नो कोठामा पसें । कोठामा पस्ने बित्तिकै चनाखो भएर झ्याल ठोका बन्द गरें एकपटक बाहिरको वातावरणलाई बिचार गरें त्यसपछि आशाले दिएको खाम बिस्तारै खोलें । सुन्दर अक्षरहरूले सजाएर उनले मेरो सामुन्ने प्रत्यक्ष भन्न नसकेका भावनाहरूलाई पत्रभरि पोखेकिरहेछिन् । जुन शब्दहरू सबै यहाँ उल्लेख गर्न असमर्थ छु तर सारशंमा भन्नु पर्दा आशाले प्रेम प्रस्ताव राखेकी रहिछिन् । उस्ले दिएको बन्द खाम प्रेमपत्र रहेछ । जुन स्वभाविक प्रकृया हो । तर म यो पत्र पढिसकेर निक्कै रोमान्चित बनेको थिएँ त्यो रात । त्यो समय त्यो पल । सायद जीवनको पहिलो प्रेमपत्र र पहिलो प्रेम प्रस्ताव भएर पनि होला ।

निलो आकाशमा केही बादलका सेतो धब्बा बाहेक अरु केही छैन आज । म अलिक मौन तर हर्ष मिश्रित अनुहार बोकेर आशालाई भेट्न पधेरी गएँ । उनी सधैकोभन्दा भावुक देखिन्थी । मुस्कुराई रहने उनको मुहार आज सावनको झरी जस्तो बनेको दृश्य साँच्चै हृदयविदारक थियो । सायद प्रेम अस्वीकारको सामना गर्नु पर्ने हो कि भन्ने डर र त्रासले पनि हुनसक्छ । हामी केही बेर मौन सुन्यतामा मनोवाद गरिरह्यौ । लाली गुराँसको थुङ्गा जस्तो उनको सौन्दर्य आज फिका देखें मैले । तर उस्को आँखामा प्रेम अनुनयको प्रतिक्षारत आग्रह प्रस्ट देख्न सकिन्थ्यो । मैले उसलाई धेरै तड्पाउन चाहिन बिस्तारै भन्न थालें, “आशा प्रेम प्रस्ताव राख्नु या प्रेम गर्नु अपराध होइन । यो प्राकृतिक नियम हो तर यो समयको पनि दोष हो की हामी यो उमेरमा प्रेमभन्दा धेरै आशक्ति र आकर्षणबाट प्रभावित हुन्छौ ।”

म बोलिरहेको थिए आशा मेरो कुरालाई ध्यान दिएर सुनिरहेकी थिई । मानौ म शिक्षक र उनी विद्यार्थी हुन म फेरि भन्दै गएँ, “आशा यति छिटै यस्तो निर्णय गर्नु उचित हुदैन । हामीले एक अर्कालाई बुझ्न जरुरी छ । जीवन धेरै लामो छ बाँच्नको लागि अनेक बाहना होला तर सार्थक जीवन बाँच्न सही बाटो हिड्नु सक्नुपर्छ । प्रेम स्वीकार गरे सम्बन्ध जोड्नु ठुलो कुरा हैन । जोडिएको सम्बन्धलाई जीवन्त पार्न सक्नु पर्छ किनभने हामी सम्बन्ध जोडिदा जति खुशी हुन्छौ तोडीदा त्योभन्दा बढि दुखी हुनेछौ । आजको सानो भूलले भोलि जीवन नरक बन्न सक्छ । हामी सामाजिक प्राणी हौ । हाम्रो समाजको केही सामाजिक नियम र संस्कार छ । हामी दुईको सानो गलत कदमले भोलि यो समाज र हाम्रो पारिवारिक संरचना भत्किन सक्छ । हाम्रो परिवारले यो सम्बन्धलाई अस्वीकार पनि गर्न सक्छन् ।”

म बोलिरहदा आशाको अनुहार मलिन थियो । यो सब भनिरहदा मैले आफूलाई सयौंपटक मुटुमा भाला रोपेको थिए किनभने म पनि आशालाई मन पराउथें ।अब धेरै आशा नतड्पाई उनलाई स्वीकार गर्ने पक्षमा थिएँ ।

“आशा म पनि तिमीलाई मायाँ गर्छु । तर डर लाग्छ यो समाजदेखि कहीं हाम्रो प्रेमको बाधन बनेर हाम्रो चोखो प्रेमको सुरुवाद अगावै अन्त पो हुने हो कि ?”

मेरो शब्दहरू पुरा नहुदै आशाले मेरो मुख थुनिदिई अनि मलाई प्रेमिल नयनले हेरिहरी । आशाको गहभरि आँशु छल्किएको थियो । मैले पनि आफूलाई रोक्न सकिरहेको थिइन ।

अनायस आशाले मलाई अंगालो हालेर भनी “राज म यही शब्द सुन्न बर्षौ देखि आतुर थिएँ । आज मेरो तपस्या पुरा भएको छ । तिमी केही नबोल बस्, हामी एकअर्कालाई मायाँ गर्छौ यो समाज र परिवार हामीले बनाएको हौ । साँचो प्रेमले यी सबैको अवरोधहरूको सामना गरेर अगाडि बढ्ने छ ।”

हामी त्यो समय निक्कैबेरसँगै रोएका थियौं सायद मानिस खुशीमा पनि रुँदोरहेछ । मैले त्यही बेला अनुभव गरेको थिए । परस्त्रीको मदहोश वासना त्यही समय महशुस गरेको थिए । धेरैबेर अंकमाल गर्यौ, केही लजायौं, केही धकायौ । तर प्रेमको पराकाष्ठ र सामाजिक मर्यादालाई तोडेनौं ।

हाम्रो मायाको संगमस्थल त्यही पधेरी थियो । दुख सुख हाँसो रोदन हामी त्यही पधेरीमा साट्थ्यौ । घण्टौ-घण्टौ त्यही पधेरीमा बिताउथ्यौं । कति बसन्त बित्यो कति शिशिरले काचुली फेर्यो । तर हाम्रो प्रेम अजम्बरी फून बनेर तिनै पाखा पखेरी बनजंगल र पधेरीमा फुलिरह्यो । समयको पदचापलाई कस्ले रोक्न सक्छ र उमेर बढ्दै जादा ममा पनि पारिवारिक जिम्मेवार थपिन थाल्यो । आशालाई विवाह गरेर नयाँ जीवनको सुरुवात गर्न अगावै म आत्म निर्भर हुन चाहन्थे । तर देशको बिग्रदो अशान्तमय बातावरणमा केही गर्न सक्ने अवस्था थिएन । धेरै सोच बिचार पश्चात मैले बैदेशिक रोजगारीमा जाने निर्णय लिएँ । मेरो कुरा सुनेर आशाले इन्कार गरी म बिना बाँच्न नसक्ने आशक्ति देखाई । तर मैले जीवन प्रेमले मात्र नचल्ने बाँच्नको लागि गर्नु पर्ने संघर्षहरूको बारेमा बताएँ । प्रेम प्राप्ति हैन समर्पण र त्याग पनि हो भन्ने कुरा सम्झाएँ । मेरो परिवार र आशा प्रति उत्तिकै उत्तरदायित्व रहेको कुरा भनेपछि उनी मौन भई त्यस दिन हामीले हाम्रो प्रेम हाम्रो वर्तमान र भविस्यको बारेमा धेरै कुरा गर्यौ । छुट्टिने बेलामा हामीले एकअर्कालाई साक्षी राखेर त्यही पधेरीको पानी छोएर कसम खायौं धेरै बेरसँगै रोयौं । हामीले सोचेको थियौं त्यो हाम्रो जीवनभरको लागि अन्तिम रुवाई अन्तिम बिदाइ होस ।

वैदेशिक रोजगार आफूले सोचेको जस्तो कहाँ हुदो रैछ र ? आफूले समेटेर ल्याएका सपनाहरू मरुभूमिको वालुवासँगै उडेर हावामा विलिन हुदो रहेछ । आशालाई चाहेर पनि मैले सम्पर्क गर्न सकिन । न हातमा मोवाईल थियो न त चिठी पत्र पठाउने ठाउँ नै । एक महिना उनीसँग सम्पर्क विनानै बित्यो । सायद त्यो एक महिना मेरो लागि आशासँग छुट्टिनुको पीडाभन्दा बिषाक्त बन्यो । हरेक रात आशाको नाममा चिठ्ठी लेख्थे अनि विहान साईडमा गएर समुद्रमा बगाई दिन्थे सोच्थे यो पानीले बगाएर मेरो आशाको हातमा पुर्याउने छ । तर म कति मुर्ख थिए यो पानी कहिले पनि मेरो घर गाउँको आसपास पुग्ने छैन । हुनसक्छ मेरा सयौं प्रेमपत्रहरू हिन्द महासागरमा तैरिरहेका होलान् अथवा अन्टार्कटिका महादेशमा पानीसँगै जमिरहेको होला । तर पनि म थोरै खुसी छु मेरो प्रेमपत्रको थोरै अस्तित्व त छ । कुनै अन्य देशको अनेपाली नागरिकले भेट्यो भने एकपटक नजर त लगाउने छ । म सम्झने छु कसैले त हेर्यो मेरो प्रेमपत्र । धेरै समय पछि उनीसँग सम्पर्क भयो उनी धेरै दुःखी थिइन । मेरो वियोगमा मेरो जुन हातल थियो उनी पनि त्यसबाट बिमुख हुन सकिनछिन् । होस पनि कसरी एउटा मुटु दुई भागमा बाडिएको थियो । त्यसपछिको समय भने हाम्रो नियमित सम्पर्क भइरह्यो कहिले फोनमै त कहिले एसएमएसबाट ।

यसरी बितिरह्यो म बिदेश आएको केही समय । नयाँ ठाउँ नयाँ मानिसहरू अनि मेरो बिशिष्ट प्रेम ।

उनले एकदिन आफ्नो मोवाईल विग्रिएको जनाउदै अब नियमित सम्पर्कमा हुदिन होला भन्ने म्यासेज गरिछिन । त्यसको लगतै मैले रिप्लाई गर्न खोजे तर म्यासेज फेल भयो । त्यसपछि उनीसँग फेरि सम्पर्क टुट्यो । सम्पर्क हैन मेरो मेरो जीवनको तार टुट्यो जसरी सारङ्गीबाट तार चुडिन्छ त्यसरी नै मेरो जीवनसंगीतको सुर छुट्यो । मैले धेरैसँग सम्पर्क गरे साथीहरूसँग पनि बुझे । उनले मोवाईल नम्वर अरु साथीहरूलाई पनि दिएकी रहिनछिन । अरु कुनै बिकल्प नभेटेपछि उसको एकदमै नजिकको साथीलाई फोन गरेर अनुनय गरे सायद मेरो आँशुले उनलाई बगालेछ क्यार कसैलाई नभन्ने शर्तमा आशाको नम्बर दिई । तर सबै मेहनत ब्यर्थ भयो नत आशाले फोन रिसिभ गरी नत मेरो म्यासेजको जवाफ नै फर्काई । तर पनि मैले केही राहतको श्वास लिए आशाले मेरो फोन रिसिभ नगरे पनि मेरो मनको भावना त म्यासेज मार्फत पढिनै रहेकी छे । म यतिमा नै चित्त बुझाउथे ।

उष्ण प्रदेशको एक विहान मोवाइलमार्फत आशाको म्यासेज आयो । सायद धेरै दिनपछि म निक्कै खुसी भए । मैले मोवाईललाई पटक-पटक चुम्बन गरें । तर मेरो यो खुसीको स्थायित्व म्यासेज हेरिसकेपछि समाप्त भयो । आज म रेगिस्तानमा निरिह एक्लो भएँ । सडकमा कुदिरहेको सवारी साधनहरू स्तब्ध भए ग्यास प्लान्टका साईरनहरू बन्द भए उर्लिरहेको अरव सागर मरुभूमिमा सुक्यो ४९ डिग्री तापक्रमसँगै मेरो सपनाहरू जलेर राख भयो । सपनाहरूको मलामी गएर प्रेमको अन्त्यष्टि गरे पनि जीवन त चलिरहदो रहेछ । यो प्राकृतिक नियमको अगाडि मैले रुनु र शोक मनाउँनु भनेको मध्यरातमा सूर्यको किरण खोज्नु जस्तै रहेछ । मेरो प्रेमको एउटा अध्यायको समाप्तिसँगै आशा मेरो जीवनबाट टाढा भइसकेकी थिइन् । मैले आशालाई गाली या श्राप गरेर मेरो चोखो प्रेमलाई श्रापित गर्न चाहन्नथे कि भने कुनै समय त्यही आशा र प्रेम मेरो लागि बरदान थियो । आज आशाले अर्को बाटो रोजेर मलाई छोड्दैमा उनी कसरी धोकवाज अथवा विश्वासघाति हुन्छे ? म िकमार्थ आशालाई गाली गर्ने पक्षमा छैन । किनभने आशाको शारिरिक प्राप्ति मलाई नहोला तर उनलाई मैले आध्यात्मिक मायाँ त गर्न सक्छु नि ? यो मेरो अधिकार हो चाहेर पनि कसैले खोस्न सक्ने छैन । उनले रोजेको बाटाहरूमा फूलैफूल बिछ्याएको होस् मैले दिन नसकेका असीमित सुखभोग उनको पतिले दिन सकोस् भन्ने कामना सहित नयाँ जीवनको शुभकामना ।

दुई बर्ष पछि………………।

हेमन्तमा झरेका फूल र पातहरूमा बसन्तको आगमनसँगै पाहुर र कोपिला लागे जस्तै समयले दिएको चोटलाई समयले नै पुरिदिदो रहेछ । प्रवासको बसाई सकिएपछि म आफ्नो देश आफ्नो जन्मभूमि गाउँ फर्के । स्वदेशको माटो गाउँको आत्मीय प्रेममा रेगिस्तानको दुःख र आशाको वियोग सप्पै विर्षे मैलें । बृद्धा बाबुआमाको अनुरोधमा छिमेकी गाउँकी कन्यासँग विवाह गरें । मेरो विगतको सबै कुरा उनलाई सुनाएँ किनभने म ईमान्दार पति बन्न चाहन्थे । मेरो कुरालाई उनले सहजरुपमा लिई । हामी बिच राम्रो समझदारी भयो । बिस्तारै हामी एकअर्कालाई अगाध प्रेम गर्न थाल्यौं सायद विवाह पछिको प्रेममा यही मज्जा हुदोरहेछ । तर पनि पहिलो प्रेमको असर जीवनको अन्तसम्म रहदो रहेछ ।

अचानक एक दिन हटियामा आशालाई देखें । म तीन छक्क परें । मैले बोल्न चाहदा चाहदैं उनी तर्केर हिडिन् । उनको पहिलाको सुन्दरता अँझ भनौ शरिरको बनावटमा पुरै परिवर्तन आएको थियो । एकछिन त मलाई चिन्न नै हम्मे पर्यो । मभित्र धेरै प्रश्नहरू आए आशा किन यस्तरी दुब्ली भएकी आशा पक्कै सुखी छैनन् भन्ने कुरा प्रस्ट थियो । बिस्तारै मैले आशाको बारेमा थाहा पाएँ की आशाको श्रीमानले अर्की विवाह गरेपछि आशा माइतीमा नै बस्दैछिन रे ।

अहो ! यो कस्तो दूरभाग्य ? किन आशाको जीवन नरक बन्यो ? म रातभर निरुत्तर प्रश्न लिएर छट्पटाइरहें मैले चाहेर पनि केही गर्न सक्दिनथे । किनभने हामी एक नदीको दुई किनारा भइसकेका थियौं । तर पनि म कसरी उनलाई यो हालमा हेर्न सक्थे म अँझै पनि त उस्लाई आत्मीय प्रेम गरिहेको थिएँ । उनको आँखाभरिको आँशुले मलाई कस्तरी हेरेकी थिई म सम्झिरहेकोछु । मेरी श्रीमतीले मेरो यो हाल देखेर सोधी “आज तपाईलाई के भएको छ ? सधैभन्दा आज तपाई भिन्नै देखिनु हुन्छ नि ।”

मैले “केही हैन, अलिक थकान लागेकोले मात्र हो,” भनेर टार्न खोजेँ ।

तर उनले मलाई राम्ररी चिनिसकेकी हुनाले यो मान्न तयार भइएनन् । अनि भन्न थालिन्, “म तपाईकी अर्धागिनी हुँ अर्थात आधा अंग । तपाईलाई पीडा हुदा मलाई दुख्छ । प्लिज भन्नुहोस न ।”

श्रीमतीको अनुरोध अगाडि म निस्तेज भएँ अनि आज भएको सबै घटना सबिस्तार भने । मलाई लागेको थियो उनी दुःखी हुनेछिन् अथवा मदेखि रिसाउँनेछिन् तर अचम्म भयो । उनी त मलाई नै पो सम्झाउँन थाली “राज तपाईले सोच्नु भएको होला यो सब सुनेर तपाईदेखि रिसाउँछु भनेर तर तपाई गलत हुनुहुन्छ । किनभने आशा तपाईको प्रेम हो । यो सत्य हो कि म तपाईकी श्रीमती हुँ । तर तपाईले या अरुले तपाईलाई चोखो प्रेम गर्ने अधिकार छ । प्रेमले बिध्वंस ल्याउनु हुदैन प्रेमले सद्भाव र आर्दश जीवनशैली ल्याउँनु पर्छ ।”

मैले आस्था मेरी श्रीमतीलाई हेरें ।

“आस्था तिमीले भनेको मैले बुझिन ।”

आस्था मलाई भन्दै थिई, “राज प्रेम पुण्य हो पाप हैन । तपाईले गरेको प्रेमले आज तपाईलाई परिक्षा माग्दैछ । म तपाईलाई यो परिक्षामा असफल हुन दिने छैन पुरा सहयोग गर्नेछु । तपाईले आशालाई अपनाउनुहोस् या विवाह गर्नुहोस म भन्दिन । तर तपाई र म मिलेर उनलाई नयाँ जीवनको बाटो खन्ने काममा उत्प्रेरित त गर्न सक्छौ नि । हामी आशाको सहमित्र भएर उनको जीवनमा आई परेको समस्याको सामाधान गर्न सक्छौ । फेरि आशालाई नयाँ सोच र नयाँ जीवनयापनका अनेकौं बाटो देखाएर जिन्दगीको रंगमाचमा अर्को पर्दा उठाएर नयाँ जीवनको थालनी गर्न सहयोग गर्ने सक्छौ ।”

आस्थाको कुराले मेरो पीडामोचनको काम गर्यो ।

म हिजोसम्म आस्थालाई प्रेम मात्र गर्थे आजबाट सम्मान र पूजा पनि गर्न थाले । मैले आस्थाको चिउडोमा समाएर उनको सजल आँखामा हेरें । त्यस आँखाभरि मैले अथाह मायाँको समुद्र देखें । आस्था कस्तरी लजाएकी जुन दृश्य मैले सुहागरातमा पनि देखेंको थिइन । त्यो हाम्रो प्रेमको निख्खर रात म अनि आस्थाको मिलन बिन्दुका रात । आशा यी सबै कुराहरू तिमीलाई किन सेयर गर्दैछु भने तिम्रो र मेरो प्रेम अमर पार्न जुन भूमिका आस्थाले मेरी पत्नी निभाइ त्यो सायद संसारका कुनै पत्नीले गर्लान् । आज तिमी भूगोलको अर्को पाटोमा बसेर सफल जीवन बाँचिरहेकी छौ त मेरो कृपा या सहयोगले हैन आस्थाको आर्दश प्रेमले हो । आशा यो हाम्रो अन्तिम प्रेमपत्र हुन सक्छ । तर पनि आत्मीय प्रेम सधै रहने छ । अब बाँकी उप्रान्त म मेरो सम्पुर्ण प्रेम आस्थामा खन्याउन चाहन्छु जसको हकदार उनी हुन । सम्झना तिमी सधै रहनेछौ । तर मेरो बर्तमान जीवनमा अब आस्थाको प्रेम बिश्वास र सद्भाव रहनेछ ।

अतितको प्रेमी
बर्तमानको सुभेच्छुक
राज

राजेश्वर ढकाल

1 thought on “राजको अन्तिम पत्र आशालाई”

Leave a Reply

Your email address will not be published. Required fields are marked *