Skip to content

ए बुढी छोरो त नेता बन्छ क्या हो!

  • by

आज भोलि यस्ले कसैलाई गन्दैन
गरीबलाई त मान्छे नै भन्दैन
आफ्नो कुरा सधैं जितेरै छाड्छ
सानो कुरामा गाउँ नै भाँड्छ
ए बुढी छोरो त नेता बन्छ क्या हो!

तर्क गर्न नसके तोडफोड गर्छ
महिनै पिच्छे जेलभित्र पर्छ
भ्रष्ट पुलिस प्रशासक सबैलाई चिन्छ
भोलिपल्टै छुट्छ छाती फुलाएर हिन्छ
ए बुढी छोरो त नेता बन्छ क्या हो!

आफ्ना जति छन् सबै राम्रो भन्छ
राम्रो जति छन् सबै हाम्रो भन्छ
आफ्नो मान्छेलाई काखमा लिन्छ
मन नपर्नेलाई दिनु दुख दिन्छ
ए बुढी छोरो त नेता बन्छ क्या हो!

बोलिमात्र रहन्छ काम नै गर्दैन
फाइदा नदेखी पाइलै सर्दैन
बिधा ज्ञानभन्दा धनै ठुलो भन्छ
शासन र सत्ता झनै ठुलो भन्छ
ए बुढी छोरो त नेता बन्छ क्या हो!

स्वार्थी छ अति दाउपेच खेल्छ
दया माँया छैन दुखिलाई पेल्छ
जति झुठो बोल्ननि लाजै मान्दैन
अरूको कुरा त सुन्नै जान्दैन
ए बुढी छोरो त नेता बन्छ क्या हो!

आफूलाई सधैं सर्वगुणि मान्छ
निमुखा पीडितलाई भेडाबाख्रा ठान्छ
सजिलै ढाट्छ भाषण छाट्छ
विवेक कम छ प्रशस्त आट्छ
ए बुढी छोरो त नेता बन्छ क्या हो!

गणेश घिमिरे
म्याग्दे गा.पा.,तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *