Skip to content

गुण्डाराज

  • by


बिर्खे एक्लो थियो । सानैमा उसका बाबु आमा बितेका थिए । पढ्न स्कूल त गएको पनि हो । ६ क्लास पढदा पढ्दै स्कूल छोडिदियो । राजनीतिमा जिन्दावाद मुर्दावाद भन्दै हिड्यो । सानोतिनो टोली नेता पनि भयो । गर्दा गर्दै दादाको संगत गर्यो । नेताहरूसँग पनि संपर्क बढ्यो । गर्दा गर्दै देशको नेता पनि भयो ।

भाग्यबश देशमा गुण्डाराज मौलायो । त्यही लहलहीमा मन्त्री पनि भयो । शिक्षामन्त्री । मन्त्रीको मुख्य काम भनेको सभा र सेमिनार त हो ।

गयो भाषण ठोक्न । र भनिदियो – “हामी स-साना राम्रो गरी पढ्न पाएनौ । अनि गुच्चा खेल्न लाग्यौ । अनि गुण्डा गर्दी गरेर यहाँसम्म आयौ । त्यसैले भाइ बहिनीहरू पनि तिमीहरू पनि गुण्डा गर्दी गर, कपाल पाल, मुन्द्रा लगाऊ ।”

गरर ताली बज्यो । अभिभावकले पनि ताली बजाए । देशमा गुण्डा गर्दी गर्नेको प्रोत्साहन गर्नेको दौड थियो । आज कतिले कति मुक्का हान्यो, कतिले कति मुक्का खाए गनिन्थ्यो ।

पिट्ने पिटिने साधारण कुरा । जसले जसलाई पिट्ने, थर्काउने, दादागिरी देखाउने ।

एकदिनको कुरा बिर्खे उदघाटन गर्न सेमिनारतिर गैरहेको थियो । गाडी दुर्घटनामा पर्यो । दौडाउदै अस्पताल लगियो । इमर्जेन्सीमा पुर्याइयो । १ जना डाक्टर थिए । तर उनले उपचार गर्न मानेनन् ।

सबैले सोधे, “किन ?”

डाक्टरले भने – “२ ० बर्ष पहिले मैले उहाको भाषण सुनेको थिएँ । तर उहाको पथमा हिडिन। कपाल पालिन, दादागिरी गरिन तपाईंहरूले नै उहाको उपचार गर्नुस् न १ मुक्का दिएर ।”

सबैजना विचलित भएर एक स्वरले चिच्याए – “बिर्खे !!”

चण्डी सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *