Skip to content


दोरण प्रसाद
झोक्राएर बस्थे
भन्थे
मेरो घरमा भुत आउँछ
तर्साउँछ
सताउँछ

एक दिन
अड्डामा टेबुल मुनि
घिस्रदै गरेको पैसालाई
तर्सायो रे
अर्को दिन
चेकमा सही गर्ने बेला
बैंकमा तर्सायो रे

फेरि अर्को दिन
पजेरोमा चढ्नेवेला
ढोका मै तर्सायोरे
बेलुकी
मस्तिमा डुबेको बेला
वाइनको विर्को मै तर्सायोरे

साझँ विहानै
तर्सायो रे
हर दिन
हर रात
हर पल
हर ठाउँमा
सतायो रे

आज बिहानै
दोरण प्रसाद मरेछ
हल्ला चल्यो
किचकन्नेले खायोरे

उसको घरको फलामे गेटमा
एउटा पर्चा टाँसेको देखियो
लेखिएको रहेछ
“मुर्दावाद” २०६९/११/१६

नेपाल साप्ताहिकमा प्रकाशित
राजु स्याङतान
महोत्तरी खयरमारा

Leave a Reply

Your email address will not be published. Required fields are marked *