Skip to content


एउटा गाउमा धेरै घनि जमिन्दारको सुन्दर परिवार थियो । जमिन्दारले आफूसित भएको हिरा मोती सुन गहना आफ्ना तीन छोरा जेठो माइलो र कान्छोको जिम्मा दिएका थिए ।

एक दिन अचानक जमिन्दारको देहबसान भयो । तीन दाजुभाइमा सम्पति बाँडफाँडको कुरोलाई लिएर झगडा सुरु भयो । उनीहरूको घर झगडा वाद विवाद लामो समयसम्म चलिरह्यो । कुनै भाइ अर्कोलाई आफूसित भएको न दिने तर अर्कोसित भएको भाग लगाउनु पर्ने कुरोमा अडिग थिए । उनीहरूको झगडाले यस्तो बिकराल रुप लियो कि सगोलमा बसेका त्यो परिवारका नोकर चाकर मात्र होइन उनीहरूका श्रीमती र सन्तान समेत घर छोडेर हिंडे । निक्कै लामो समयसम्म एकले अर्कोलाई दोष थुपार्दै झगडा गरिरहे ।

त्यो घरको झगडा बुझेको र सुनेको छिमेकी गाउको जमिन्दार एक दिन उनीहरूको घरमा पुगे । तिनै दाजुभाइले उनको स्वागत गरे र आ आफ्नो गुनासो र दुख पोखे । उनीहरूको कुरो पालै पालो सुनिसकेपछि छिमेकी गाउको जमिन्दारले कुरो बुझे कि ती तीन भाइमा एकसित हिराको पोको, अर्कोसित मोतीको पोको र अर्कोसित सुनले भरिएको बक्सा रहेछ । तिनै दाजुभाइ आफूसित भएको नदिने नदेखाउने तर अर्कोसित भएको भने भाग लगाउनु पर्ने माग गर्दै झगडा गरिरहेका थिए । उनीहरू छिमेको जमिन्दारलाई घर झगडा मिलाइदिन पालै पालो बिन्ती गर्न थाले । छिमेकी जमिन्दारले दिएको कुनै सुझाब र सल्लाहले ती तीन दाजुभाइ सहमतिमा आउन मानेनन ।

अन्तमा चलाख छिमेकी जमिन्दारले कुरो बुझे ल त्यसो भए यसो गरौ तिमीहरूसित भएको सम्पतिको पोका मेरो सामुन्ने लिएर आओ । म यो धनुषले तीन बाण तिनतिर एकै दुरीमा हान्छु । जसले पहिले बाण फेला पारेर लेराउछ उसले सबैभन्दा महँगो सम्पतिको पोको पाउने छ । अनि दोस्रोले र तेस्रोले । ती तिनै दाजुभाइलाई आफू निक्कै छिटो कुद्न सक्छु भन्ने घमन्ड थियो । तिनै जनाले आफूले धेरै मूल्य भएको पोको हात पार्ने विश्वास मनमन नै सोचे र त्यो प्रस्ताबलाई सहर्ष स्विकार गरे । उनीहरूले आफूसित भएको अमूल्य सम्पतिको पोको र बक्सा लेराएर छिमेकी जमिन्दारको अगाडि राखी जिम्मा लगाई दिए ।

त्यस पछि छिमेकी जमिन्दारले तीन बाण पूर्व, पश्चिम र दक्षिण तिनतिर हाने । तिनै दाजुभाइ तिनतिर कुदे । तर ती दाजुभाइले बाण फेला पार्न सकेनन । उनीहरू लामो समयसम्म पनि न फर्किए पछि ती जमिन्दारले भरिया बोलाई सबै सम्पति आफ्नो घर लिएर गए । बाण फेला पार्न न सकेपछि खाली हात फर्केर आई फेरि ती दाजुभाइ एक अर्कोलाई दोष दिदै झगडा गर्न थाले । उनीहरूको खेत बारीमा पनि यो मेरो र यो तेरो भन्ने झगडा गरी रेखदेख गर्न न सकेपछि गाउलेहरूले बाँडेर खेतीपाती गर्न थाले । घर खण्डहर भयो । ती दाजुभाइ कहाँ पुगे के गरे गाउलेलाई आजसम्म पत्तो छैन ।

शेखर ढुङ्गेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *