Skip to content

चमेरे गुफाको सास्ती

  • by

यो घटना हामी पृथ्वीनारायण क्याम्पसमा आई.ए. पढ्दै गर्दा ५१/५२ सालतिरको हो। हामी चार जना साथीहरू म, शिव, सरोज र अर्को एक जना थियौं, क्षमा चाहन्छु धेरै पुरानो संस्मरण हुनाले नाम याद भएन, छुट्टी मनाउन भनी कास्कीकै चमेरे गुफातर्फ प्रस्थान गर्यौं।

बाटोमा पर्ने अन्य सुन्दर ठाउँको अबलोकन गर्दै लगभग तीन घन्टा पछि हामी चमेरे गुफा पुग्यौं । भित्र निकै अध्याँरो हुने कारणले एक जना टर्च वाला को आवश्यकता पर्ने रहेछ । हामीले ५० रूपैयाँ तिरेर एक जना स्थानीय को सहयोगले गुफाभित्र अघि बढ्यौं ।

ती स्थानीय दाजु निकै रमाइला रहेछन् । उनी बोल्न, ठट्टा गर्न निपुण रहेछन् । टर्च देखाउदै गुफाको भितामा रहेका आकृतिहरू हात्ती, सर्प, शिबलिङ्ग, बाघ, देवि आदि को वर्णन र ब्याख्या गर्दथे। एउटा अनौठो कुरा गुफाको माथिको भागमा हजारौं चमेराहरू झुन्डिदा रहेछन्। हामीलाई ती आकृति र चमेरा झुन्डिएको दृष्यले सोचेभन्दा मोहित, उत्साहित र जिज्ञासु बनायो। रमाउदै, हाँस्दै, ठट्टा गर्दै हेर्द‌ैथियौँ मस्त थियौं कुनै चिन्ता थिएन ।

अचानक ती टर्चवाला दाइले चमेरा रिसायो भने त चिथार्छ, कोपार्छ, आक्रमण गरेर घाइते बनाउँछ भनेर तर्साइदिए। अब हाम्रो चर्को बोल्ने शैली फेरियो र बारम्बार चमेरातर्फ ध्यानाकर्षण भयो। यात्रा कल्पना गरेभन्दा आनन्दित र रमणिय थियो । अब त्यसमा थोरै तनाब, डर र सतर्कता पनि थपियो। लगभग आधा घन्टा गुफा भित्र भुलिसकेछौं, बाहिर निस्कने बेला पनि भएछ।

गुफाको प्रवेशद्वार फराकिलो भएपनि निकासद्वार अत्यन्तै सांगुरो रहेछ। टर्च देखाउने सहयोगी दाइ अघि अघि हिड्नैपर्यो, साथीहरू उनको पछि-पछि थिए । सञ्योगले म अन्त्यमा परें। बाहिर निस्कने द्वार सानो भएको कारणले सहयोग बिना निस्कन निकै गार्‍हो रहेछ र मोटो मानिसलाई त झन् असम्भव नै रहेछ। पहिला टर्चवाला निस्के अनि पालैपालो धकेल्ने र तान्ने काम सुरू भो सहज भो।

सबै साथी निस्के, म ती मध्ये मोटो चाहिँ अन्त्यमा लौ बित्यास पर्यो अब ! मलाई धकेल्ने चाहिँ कोही भएन। एक जना साथीले तानेको थियो तर बिडम्बना मेरो जुत्ता चिप्लियो र घुँडा चट्टानमा ठोकियो। एक मनले टर्च मागेर पुन : प्रवेशद्वारबाटै निस्कन्छु भन्ने सोचें तर चमेराले कोपार्छ भनेको सम्झें छाती ढक्क भो आँट नै आएन। जसरी हुन्छ त्यहीँबाट निस्कनु को बिकल्प थिएन।

अर्को पटक दुईजना साथीले एउटा एउटा हात समाती न्वारानदेखिको बल लगाई ताने । मेरो खुट्टा काँपिरहेको थियो भने साथीहरूको अनुहार पनि कालो, निलो भैसकेको थियो । यो पटक भने म बाहिर निस्केँ।

म बाहिर निस्केपछि साथीहरू पेट मिचीमिची हाँस्न थाले। मेरो भने अनुहार भरि चिटचिट पसिना आइरहेको थियो । तर यति खुशी थिएँ कि देवलोक नै प्राप्त गरेजस्तो भो। हामी साथीहरू बीच त्यो घटनाको लामो समय सम्मै चर्चा चल्यो।

अहिले पनि मलाई त्यो निकासद्वारको सम्झना आइरहन्छ ।आजकल पनि त्यो निकासद्वारमा मोटा पर्यटकहरू सास्ती खेपिरहेका छन् कि फराकिलो पारी सहज पारियो होला ?

गणेश घिमिरे
म्याग्दे गाउँपालिका, तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *