Skip to content


जाडोको मौसम थियो । एउटा छेपारो बिहानी पखको न्यानो घाम ताप्दै थियो । आफूले घाम तापिरहेको छाप्रोको टाटीसित साधुको छाप्रो थियो । गोठालो आएर दूध दुहुने सुरसार गर्दै थियो । दूध निचोर्न थाल्नुअघि गोठालोले गाईको थुनबाट दूधका केही धारा यता उति फाल्दै थियो । यस्तैमा एउटा धारा छेपारोको मुखमा परेछ । पहिले त छेपारो दूधको न्यानो धारबाट झस्क्यो । पछि उसले मुखमाथिको दूध चाट्न थाल्यो । दूधको स्वाद उसलाई मीठो लाग्यो । अनि ऊ बाछोको भाग्य देखेर दङ्ग पर्‍यो । यसपछि उसलाई पनि बाछो हुन पाए हुन्थ्यो भन्ने कुरा मनमा उठ्न थाल्यो ।

एकदिन उसले घाम ताप्न बसेका साधुनगिच घस्रँदै भन्न थाल्यो – “साधुबाबा मलाई आफ्नो यस जीवनबाट उराठ लाग्न थाल्यो । जाडोमा कीरा-फट्याङ्ग्रा खान नपाउँदा मैले भोक-भोकै बस्नुपर्छ । हेर्नोस्, कत्ति दुब्लाई सकेँ म । रङ पनि कालो भइसक्यो । मेरो उद्धार गरिदिनु पर्‍यो ।”

‘कसरी,’ साधुले सोधे ।

‘हजुर त साधु बाबा, मलाई बाछो

बनाई दिनसक्नुहुन्न ?’ – छेपारोले भन्यो ।

‘तेरो यस्तै इच्छा छ भने बाछो बनाइदिन्छु’ भन्दै साधुले कमण्डलुबाट जल लिए र ‘अर्को जीवनमा तँ बाछो बनेस्’ भन्दै उसमाथि जल छर्के ।

एकदिन छेपारो मर्‍यो । उता साधुको गोठको गर्भिणी गाईबाट छेपारोले बाछोको रूपमा जन्म लियो । दुई-चार दिन त उसले पेटभरि दूध चुस्न पायो । त्यसछि गोठालोले बिघौती बनाउन जम्मै दूध लैजाने र थुनमा उसका लागि अड्कलेर दूध छाड्ने गर्‍यो । यसो हुँदा उसको पेट भरिन छाडेछ र उसले भोक मेटाउन छेउ-छाउका हरिया घाँस चर्न थाल्नुपर्‍यो । दुई/चार दिनमै उसलाई यो जिन्दगी पनि चिताएजस्तो राम्रो नरहेको लाग्न थाल्यो । किनभने उसले त बाछो भएपछि पेटभरि दूध चुस्न पाउने र गाइको वरिपरि उप|mी-खेली बस्ने सोचेको थियो तर यति चाँडै साधुसित आˆनो दिक्दारी बताउनुपनि भएन भन्दै केही दिन उसले बाछोको जिन्दगी नै बिताई बस्ने फैसला गर्‍यो ।

एकदिन जोताहाले उसलाई हाँक्दै खेततिर लग्यो र हलोमा जोत्न थाल्यो । गोरु नार्ने जुवामा बाँधिएर खेतमा हिँड्नुपर्ने र हिँड्न अबेर हुँदा जोताहाले कहिले ली बर्साउने त कहिले पुच्छर बटार्ने गरेको अनुभव हुँदा ऊ विरक्तिन थाल्यो । दिनदिनै उसलाई यो नयाँ जीवन पनि बोझ लाग्न थाल्यो । झन् गर्मीको मौकामा सुक्खा घाँस चपाउनुपर्दा उसको सातोपुत्लो नै उड्थ्यो ।

एकदिन साधु खाएर विश्राम गर्न भनी घाममा पल्टेका थिए । बाछो पनि खेत जोतेर लखतरान भई बसेको थियो । उसले यो एउटा उपयुक्त मौका ठानी भन्यो – “साधु बाबा एउटा कुरा बिन्ती गरुँ ?”

“भन् न ।” साधुले भने ।

“हजुरको कृपाले गर्दा मैले यो जीवन पाएँ तर मलाई बाछोको जीवनले विरक्त पार्‍यो । योभन्दा गोठालोको जीवन पाए राम्रो हुन्थ्यो कि भन्न लाग्यो । मानिस भएर म धेरै थोक गर्न सक्तछु भन्ने लाग्छ । हजुरको कृपा हुन्छ कि भनी बिन्ती गरेको । छेपारोबाट बाछो भएको प्राणीले भन्यो ।

“भइ हाल्छ नि तेरो यो इच्छा पनि अर्को जुनिमा पूरा होस्” भन्दै साधुले कमण्डलुको जल उसमाथि छर्की दिए ।

एकदिन बयलगाडा तान्दै नदी पार गर्न लाग्दा खुट्टा चिप्लिएर पानीमा घोप्टिँदा निस्सासिएर उसको प्राण गयो तर साधुको आशीर्वादले गर्दा उसलाई मानिसको जुनिमा जन्म पाउन गाह्रो भएन र ऊ गोठालोकै घरमा कान्छो छोराको रूपमा जन्म लिन पुग्यो । कान्छो छोरो भएकोले सबै उसलाई माया गर्थे, बोक्थे, खेलाउँथे । दूध-दही पनि कचौराभरि खान पाउँथ्यो तर ठूलो भएर स्कुल जानुपर्दा, स्कुलबाट फर्केर गृहकार्य गर्नुपर्दा, जँाचको लागि रट्नुपर्दा र बेलाबखत खेतमा बाबुका लागि रोटी-तरकारी ओसार्नु पर्दा उसलाई साह्रै विरक्त लाग्दथ्यो । गर्मीको बिदा हुँदा त चर्को घाममा गाई चराउनु, गाईको पछि-पछि खेतमा हिँड्नु त उसलाई मरेतुल्य लाग्थ्यो । बेला-बखत आमासित गुनासो गर्न पुग्थ्यो तर आमा भन्ने गर्थी – ‘गोठालो परिवारमा जन्मेपछि त बाबु, यति नगरी सुखै छैन । भोलि, हामी बूढो भएपछि घरको भार तैँले नै त सम्हाल्नुपर्छ ।’ आमाको कुराले उसलाई झन् दुःखी बनायो ।

एउटा कोठामा बसेर रुँदै उसले आˆनो पुरानो दिनलाई सम्झ्यो । उसलाई लाग्यो – ‘मानिसको जीवन पनि के जीवन ? बालख हुञ्जेल त ठीक छ तर त्यसपछि कचकचै-कचकच स्कुलको काम, घरको काम, खेतको काम । जतिबेला पनि काम । केही बिरायो भने कि त हप्काई-दप्काई, कि चाहिँ कुटाइ-पिटाइ । यो हप्की-दप्की र कुटाइ-पिटाइ खाएर बिताउने जीवन पनि के जीवन ? हरहर-खटपटबिनाको जीवन पो जीवन ।’ यी सब सोच्दै उसले भोलि नै साधुसित छेपारोको जीवनका लागि बिन्ती गर्ने निर्णय गर्‍यो तर उसलाई एउटा नयाँ चिन्ताले पनि सताउन थाल्यो – साधुले फेरि अर्को जुनिमा छेपारो भएस् भनी आशीर्वाद दिए भने मानिसको यो कष्टकर जिन्दगी कहिलेसम्म बिताउनुपर्ने हो ? तर गरोस् त के ? आफैँले निम्त्याएको दुःख न हो ।

यी सब कुरामा घोत्लिँदै र मानव जीवनको दैनिक मर्काहरू सहँदै उसले एक दिन साधुसित आˆनो मनको व्यथा र चाहना व्यक्त गरिहाल्यो । साधुले सोधे “मानिसको जस्तो राम्रो र उत्तम जिन्दगीबाट तँलाई किन उराठ लाग्यो ?”

उसले आफ्ना सबै व्यथा-वेदना र पीरमर्का बतायो ।

साधुले भने – ‘तँजस्तो असन्तोषीलाई मानिसको जुनीका लागि आशीर्वाद दिँदा मलाई लागेको थियो, तँ यो जीवनसित सुखी हुन सक्तैनस् । किनभने सुखी हुनका लागि सन्तोषी हुनुपर्दछ । मिहिनेती हुनुपर्दछ । गोबरको कीरालाई गोबर नै मन पर्दछ । तँजस्तो कामचोरका लागि मानिसको जुनी दुःखको नै घर हुन्छ । ल जा अर्को जुनिमा तँलाई छेपारोको जीवन प्राप्त होस् ।”

यति भनी साधुले एकपल्ट फेरि उसमाथि कमण्डलुको जल छर्की दिए ।

मुना मासिक
पुस, २०६५

Leave a Reply

Your email address will not be published. Required fields are marked *