Skip to content

रिसले देखाएको बाटो


समयको बहाबसँगै कैयौं दिन र रातहरू सुटुक्कै सकिए । ऋतुहरूमा बादलाब आयो उजाडिएका बृक्षहरूमा नया पालुवा पलायो बसन्तको आगमनसँगै हराभरा रंगी चंगी फूल फुले तर राजुको स्वभाव भने बदलिन सकेन । सधै उस्तै बदलियो त केवल शारीरिक रुप मात्र …ठुलो हुदै गयो झनै समस्या बनेर तेर्सियो परिवारका लागि उस्को स्वभाव सधै जसो कुनै न कुनै कुरालाई लिएर रिसाइरहेको हुन्थ्यो । बिना कारण कहिले घरमा त कहिले छिमेकीसँग सानोभन्दा सानो कुरामा निहुँ झिकिरहन्थ्यो । उसको व्यवहार देखेर येस्तो लाग्थ्यो कि सारा संसारका सबै मान्छे उसका दुश्मन हुन । ऊ ठान्थ्यो सबै मान्छे ढोंगी हुन र सब देखावटी माया गर्छन ….सबै मुखले मात्र ठिक्क पार्छन । न त उसलाई प्रेममा नै विश्वास थियो न त भगवान माथि नै । सायद ऊ भित्र एक प्रकारको असंतुस्ठी हुनुपर्छ जुन कुरा जति लुकाउन खोजे पनि कहीं न कहीं आलोचनाको रुपमा बाहिर आउने गर्थ्यो । ऊ आफ्नो समस्या कसैसँग बताउथ्यो न त अरुको नै सुन्थ्यो । हावा छिर्न पनि नसक्ने गरी झ्याल ढोका थुनेर एक्लै बसिरहन्थ्यो ।

आजभोलि राजु पहिलेभन्दा झनै रिसाहा बन्दै गैरहेको थियो । कहिले यो किनिदे त कहिले ऊ किनिदे… उसका फर्माइस पुरा गर्दा गर्दै बाबु हैरान भैसकेका थिए । कुन बाबु आमाको चाहना हुन्न र छोरा छोरी ठुला भैसकेपछि आफूलाई बुझुन….. ती इच्छा आकांक्षा स्वप्न जस्तो लाग्न थालिसक्यो तै पनि आशा भने मारेका थिएनन् तेसैले बाबु सधै सम्झाउने गर्थे “हेर छोरा एति धेरै रिसाउनु ठिक होइन अलिकति दिमाग ठण्डा बनाउने गर रिसले त आफैलाई खान्छ दुख पाउलास है ।” केही दिन देखि यता ऊ घरमा मोटरसाइकल किनिदे भनेर जिद्दी गरिरहेको थियो । बाबु एक सामान्य अफिसमा सानो तिनो नोकरी गर्थे यसकारण पनि समयमा भन्ने बित्तिकै किनिदिन सक्ने हैसियत थिएन पर्ख पर्ख भन्दै थिए । फेरि आज् भोलि उनी बिरामी छन । अस्वस्थ्यको कारणले राम्ररी बोल्न पनि सकिरहेका छैनन् ।

यस्तै एकदिनको कुरा हो ऊ कलेजबाट साँझ अबेर मात्र घर फर्कियो । घर फर्किदा मोटरसाइकलमा कोही साथी छोडन आएको थियो । बाबुलाई देखाउदै भन्यो ” बुबा हेर्नोस त मेरा सबै साथीहरू मोटरसाइकालमा चढेर हिड्छन ” आज सधैभन्दा बढी नै जिद्दि गरिरहेको थियो । साचिकै रिस उठेपछि मान्छे एकोहोरो हुदोरहेछ दायाँ बायाँ कतै हेर्दैन सुन्दैन पनि राखी दिएको खान पनि नखाई सुत्यो आमाले निकैबेर सम्झाइन तर केही सिप लागेन ।

केही बेर पछि आमाले बाबुसँग भनिन “कहिलेसम्म यसरी टाल्ने यसरी कति महिना देखि जिद्दी गरिरहेको छ । बाबुले भने – एउटा समस्या टाल्ने बित्तिकै फेरि अर्को फेरि सुरु हुन्छ बरु भनन कहिलेसम्म यसरी आवस्यकताहरू पुरा गर्दै जाने अब ऊ केटाकेटी हैन उसले पनि हामीलाई बुझ्नु पर्छ “जे भए पनि कलेज जान सजिलो हुन्छ ।आखिर अर्को को छ र हामीले दिनु पर्ने त्यही एउटा त हो नि किनिदिउन –आमाले निकैबेर जिद्दी गरिन ।

बाबुले केही नभनी फनक्क फर्केर उनको आँखातिर हेरे मात्र बस यो बिषयमा अरु कुनै कुरा गर्न चाहेनन ।

बाबु रातभर सोच्दा सोच्दै अबेर सुते । सधैभन्दा आज सुत्न गाह्रो भइरहेको थियो । दुखाइ पनि बढिरहेको महशुस गरिरहेको थियो तर कसैलाई केही भनेन । पत्नीको आँखामा आफू प्रति धेरै आशा अनि भरोसा देखेको थियो त्यही कुरा दिमागमा फन्फन्ती घुम्न थाल्यो ।

दोस्रो दिन, बाबु अफिस गएर ऋणको बरेमा सोधपुछ गरे । साँझसम्म लोनको कागज पनि भरियो । अर्को दिन पुरै पैसा निस्कने भयो साँझ घरमा गएर पत्नीलाई सुनायो “ऋण को निम्ति सबै तयारी भैसक्यो भोलिसम्म त घरमा मोटर साइकल आइपुग्छ ।”

छोरा घर आयो आज पनि ऊ रिसाइरहेको थियो । अँध्यारो अनुहार लाएर झर्केर छिटो छिटो खाना खाएर कसैलाई केही नभनी ढोका थुनेर बस्यो ।

“आज हजुरले केही पनि खानु भएन अनुहार पनि अँध्यारो देख्छु आज कतै लोन लिन जाने भएर दौडधुपले गारो त भएन ? बाबुले कुरा लुकाएर भने –”छैन केही भा छैन मलाई म एकदम ठिक छु ।”

तेस्रो दिन, साँझ राजु पुग्दा मोटरसाईकल घरमै थियो आमा सारीको सप्कोले बाइक पुछ्दै थिइन । साँझ पर्न लागेको थियो । बाबुको अनुहार मलिन देखिए पनि हाँस्न खोजिरहेका देखिन्थे । उनी कुर्सीमा शान्त बसिरहेका थिए । राजु घर आइपुग्दा मोटर साइकल देखेपछि खुसीले पागल भइरहेको थियो । बाबु आमा कसैलाई नहेरी सिधा चाबी उघारेर “म साथीलाई देखाउन हिडे भनेर घरबाट बाहिर निस्कियो ।

आमा बाबु हल्का मुस्कुराहटका साथ एक अर्कालाई हेर्दै थिए । दुवै अत्यन्त खुसी देखिन्थे ।

ऊ मोटर साइकल तेज हावा जस्तै उडाउदै थियो । घर देखि निकै टाढा पुगिसकेको थियो । कानमा एयर फोन एक हातमा क्लज र हावामा हात हल्लाई हल्लाई साथीसँग जोडले बात मार्दै शहरी इलाकामा प्रबेस गर्दै थियो । संगीतको धुनमा नाच्दै गरेको जस्तो बुझिन्थ्यो ।

“हैन यो मान्छेलाई गाडी चलाउन पनि आउदैन कि क्या हो ! साला के हो यो बयलगाडी हो कि गाडी कुदाएको हो येस्तो …गाडी चलाउन नजान्नेलाई तेस्का बाउले किन किनिदिएका होलान ! (वरपर हेदै ) अस्लिल शब्दमा गाली गर्दै जोडजोडले हाँकिरहेको थियो । प्लेनको रफ्तारमा दौडाएको गाडी रेड लाईट क्रस गरेपछि भीडले चिच्याएको सुन्यो ब्रेक लाएर पछाडि फर्केर हेर्यो । मान्छेको भीड अनि रगतले लत्पतिएको मान्छेको शरीर देख्यो ” आजकलका केटाकेटीहरू कसैको कुरा सुन्छन र गाडी नै हेर्दै नहेरी क्रस गर्छन त्यो पनि रेड लाइट बलेको बेला फूल स्पिडमा … ” –कसैले भन्दैथियो ।

लामो शास फेरेर अनुहारको पशिना पुछ्यो …यसको कारण म पनि हुन सक्छु यहाँ बस्न ठिक हुन्न भनेर फेरि हावाको बेगमा बाइक उडाउन थाल्यो । अलिपर पुगेपछि सेतो रंगको एम्बुलेन्ससँग प्रतिस्पर्धा गर्न थाल्यो । एम्बुलेन्सले उसको बाइकमा ठोक्काएर अघि बढ्यो मुस्किलले ऊ बच्यो बाइक गाडीलाई पिछा गर्दै गाडीको अगाडि गएर रोक्यो र गाडीको ड्राइभरलाई उतारेर मुक्का हान्यो । ऊ बडो रिसाहा थियो जबसम्म उसको रिस मरेन तबसम्म उसले ड्राइभरलाई छाडेन गाडीको शिसा जम्मै फुटाली दियो जब रिस उत्रियो अनि माफी मगाएर बल्ल छाडीदियो । करिब आधा / पौने घण्टासम्म गालीगलौज हातपात भए पछि थोरै शान्त भयो र ऊ फेरि आफ्नो साथीको घर तर्फ बाटा लाग्यो ।

जब ऊ घर जादै थियो त्यसबेला साँझ पर्न लागिसकेको थियो । परैबाट देख्यो … घर बाहिर थुप्रै मान्छेहरूको भीड अचम्म लाग्यो ! त्यहा के हुदैछ किन भेला भएका होलान उसको समझमा आउन सकिरहेको थिएन छिटो छिटो गरेर बाइक बाहिरै अड्याएर हतार हतार भित्र पस्यो । भित्र बाबुलाई भुइमा लडाइरहेको थियो ।कल्पना पनि गरेको थिएन यो स्थितिको …..जहाज पल्टिएर किचे जस्तो भो एक्कासी भाउन्न भएर आयो थर रहर काँपे र हात खुट्टा लुला भएर भुइँ छाडिसकेको थियो । आँखा तिर्मिर भएर केही देख्न छाड्यो थचक्कै बस्यो । उसका बाबु यो धर्तीलाई छाडेर परलोक भैसकेका थिए । आमालाई यता उति खोज्यो पर केही महिलाहरूले उसलाई घेरेर बसेका थिए । एकछिन पछि उसले थाहा पाउदा उसलाई मान्छेहरूले वरिपरी घेरेर सम्झाउदै थिए– त्यो भीडमा कसैले भन्दै थियो –”बाबु केहीदिन देखि बिरामी थिए लोनका लागि दौडदा अलि धपेडी परेछ क्यारे त्यतिखेर चाहिं “HEART ATTACT” भएको थियो रे कसैले शहरबाट गाडी मगायो ( एम्बुलेन्स ) त्यो पनि समयमा आइ पुगेन पौने घण्टा पछि मात्र आइपुग्दा बाबुको प्राण बितिसकेको थियो । ड्राइभरले भन्दै थियो – “बाटोमा केटाहरूले रोकेर आउनै दिएनन ” गाडीको शिसा पनि झर्याम झुरुम फुटेको,अनि ऊ पानी घाइते अवस्थामा आइपुगेको थियो ।

ऊ आजकल शान्त शान्त देखिन्छ । मोटर साइकल पनि प्राय घरमै राखिराखेको देखिन्छ ।

लिला रिजाल (सुबेदी)

2 thoughts on “रिसले देखाएको बाटो”

  1. pratikiya
    कथा रसिलो,सरल र शिक्षाप्रद लेख्नु हुँदो रहेछ बधाई छ ! कलम नरोक्नु होला किन कि तपाइसंग कथा साहित्यका धेरै सम्भावना भएको मेरो बुझाई छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *